कोरोना महामारीको तेस्रो लहर उत्कर्षमा थियो । दैनिक संक्रमितको संख्या १० हजार नाघ्दै थियो । चिकित्सकहरूले बिरामीलाई ज्वरो र अक्सिजनको मात्रा नाप्न सुझाव दिइरहेका थिए । काठमाडौं कोटेश्वरका प्रमोद खड्का पल्स अक्सिमिटर खोज्दै त्रिपुरेश्वरस्थित एक मेडिकल पसल पुगे । त्यहाँ उनले भने, ‘संक्रमित हुने सबैले शरीरमा अक्सिजनको लेभल नाप्नुपर्छ भन्छन्, त्यसैले म अक्सिमिटर खरिद गर्न आएको हुँ ।’ त्यहाँ उनले अक्सिमिटर मात्रै किनेनन्, प्रयोग गर्ने तरिका पनि सिके । कोरोना महामारीपछि अक्सिमिटर, थर्मामिटर खोज्नेहरूको संख्या बढेको त्रिपुरेश्वरस्थित हिमालयन सर्जिकल हाउसका सञ्चालक आशिष मल्लले बताए । पछिल्लो समय हरेक व्यक्तिले यस्ता उपकरणहरू घरघरमै राख्न थालेका छन् ।’ बानेश्वर थापागाउँस्थित एक फार्मेसी सञ्चालिका कमला घिमिरेको भनाइ पनि उस्तै छ । चिकित्सकीय डिजिटल सामग्रीहरूबाट घरमै परीक्षण सुविधा लिन सकिने भएकाले धेरैले खरिद गर्न थालेको उनले बताइन् । ‘द्रुत गतिमा प्रविधिको विकाससँगै मानिस पनि त्यहीअनुसार प्रविधिमैत्री हुन थालेका छन्’ उनले भनिन्, ‘विशेषगरी पल्स अक्सिमिटर, थर्मामिटर, ग्लुकोमिटर, ब्लड प्रेसर जाँच्ने मेसिनहरू धेरैको घरमा पाइन थालेका छन् ।’
कोरोना महामारीपछि त झनै यी उपकरणहरूको माग र आवश्यकता बढेको छ । घरमा आइसोलेसनमा बस्दा अक्सिमिटर त अनिवार्यजस्तै बनिसकेको छ । यो उपकरणले शरीरमा अक्सिजनको लेभल थाहा पाउन सहयोग गर्छ । बानेश्वरकी रमिला न्यौपानेले अघिल्लो वर्ष कोरोनाबाट उनको परिवार नै संक्रमित भएपछि जोखिम कम गर्न उनले पल्स अक्सिमिटर खरिद गरेकी थिइन् । उनले भनिन्, ‘शरीरको अक्सिजन लेभल घरमै नाप्न सकिने भएकाले महामारीको जोखिम न्यूनीकरणमा सहज हुने रहेछ ।’ औंलामा राखेर अक्सिजनको मात्रा पत्ता लगाउने यो उपकरण पछिल्लो समय हरेकको घरमा पुग्न थालेको छ ।
नेपाली बजारमा ६ सय ५० देखि ६ हजार रुपैंयाँसम्मका अक्सिमिटरहरू उपलब्ध छन् । ब्रान्ड र कम्पनीअनुसार मूल्यमा केही फरक छ । बजार चिनियाँ कम्पनीका अक्सिमिटरले ओगटेको छ । नेपाली बजारमा जर्मन र स्विसमा निर्मित अक्सिमिटरहरू पनि पाउन सकिन्छ । पछिल्लो समय अनलाइनमार्फत पनि अक्सिमिटरहरू खरिद गर्ने सुविधा छ ।
अक्सिमिटरमा ‘फोर साइड भ्यु डिस्प्ले’, ‘पल्स रेट इन्डिकेटर’, ‘अलार्म सेट अप’, ‘अटो पावर अफ’ जस्ता विशेषता हुन्छन् । उपभोक्ताहरूले आ–आफ्नो आवश्यकता र इच्छानुसार अक्सिमिटर रोज्ने गरेका छन् । केही छोटो समय र केहीले लामो समयका लागि यी उपकरण खरिद गर्ने गरेको पाइएको छ । बिक्रेताहरूका अनुसार ‘अल्कलाइन ब्याट्री’ भएको अक्सिमिटर लामो समय टिक्ने हुन्छ । यसमा वारेन्टी/ग्यारेन्टीसहितका सुविधाहरू पनि छन् । बजारमा ३५ सय रुपैंयाँमा उपलब्ध हुने चिनियाँ कम्पनी ‘च्वाइसमेड’ को खरिदमा ग्राहकलाई दुई वर्षको वारेन्टीसमेत उपलब्ध छ । त्यस्तै, २३ सय मूल्य पर्ने ‘जम्पर’ को अक्सिमिटर खरिदमा पनि दुई वर्षको वारेन्टी छ । चिकित्सकहरूका अनुसार स्वस्थ व्यक्तिमा अक्सिजनको लेभल ९५ देखि १०० को बीचमा हुनुपर्छ । अक्सिमिटरलाई फरक–फरक हातमा लगाएर पनि अक्सिजनको लेभल थाहा पाउन सकिन्छ । नङमा पालिस लगाइएको अवस्थामा यसको प्रयोग गर्नुहुँदैन ।
अक्सिमिटरसँगै बजारमा बढी बिक्री हुने उपकरणमा ‘डिजिटल थर्मामिटर’ पनि पर्छ । पछिल्लो समय नेपाली बजारमा ‘डिजिटल’ र ‘गन’ थर्मामिटरको बिक्री बढी हुने गरेको छ । अधिकांश चिनियाँ थर्मामिटरहरू बजारमा उपलब्ध छन् । ‘डिजिटल’ थर्मामिटरको मूल्य एक सय ५० देखि ६ सय रुपैंयाँसम्म पर्छ । त्यस्तै, ‘गन’ थर्मामिटरको मूल्य १३ सय रुपैंयाँभन्दा माथि रहेको छ । कम्पनी र ब्रान्डअनुसार मूल्य फरक–फरक छ । डिजिटलमा ‘सिटिजन’ ब्रान्डको मूल्य ३ सय ५० र ‘माइक्रोलाइफ’ ब्रान्डको मूल्य तीन सय रुपैंयाँ छ । यसमा दुई वर्षको वारेन्टीसमेत छ । ‘गन’ थर्मामिटर अफिसियल प्रयोगका लागि उपयोगी छ । यो उपकरण निधार नजिक लगेर शरीरको तापक्रम नाप्ने गरिन्छ । यसको मूल्य पनि कम्पनी/ब्रान्डअनुसार विविधता छ । सबै उमेर समूहका लागि उपयोगी रहेको यो थर्मामिटरमा एलइडी डिस्प्लेसहितको अलार्म रहेको हुन्छ ।
पछिल्लो समय अव्यवस्थित दैनिकी, खानपान र जीवनशैलीका कारण धेरैमा उच्च रक्तचापको समस्या छ । रक्तचाप सही भए/नभएको जानकारी लिन धेरैले ब्लड प्रेसर नाप्ने उपकरण प्रयोग गर्छन् । यो उपकरणको मूल्य पनि ब्रान्डअनुसार फरक–फरक हुन्छ । बजारमा यसको मूल्य १५ सयदेखि ६ हजार रुपैंयाँसम्म पर्छ । नेपाली बजारमा ‘माइक्रोलाइफ’, ‘सिटिजन’, ‘रोसम्याक्स’ ब्रान्डका ब्लड प्रेसर नाप्ने उपकरण उपलब्ध छन् । यसमा पनि ‘डिजिटल’ र ‘नन–डिजिटल’ पाउन सकिन्छ । ‘युएसपी पोर्ट’ सहितका डिजिटल मेसिनहरू अटोमेटिक छन् । घरमै रक्तचाप नाप्दा विभिन्न कुरामा ध्यान दिन जरुरी हुन्छ । रक्तचाप नाप्नका लागि समय र पोजिसनलाई विशेष ध्यान दिनुपर्छ । सिधा बसेर नाप्नुपर्छ । नाप्नुअघि व्यायाम गर्न नहुने चिकित्सकहरूको सुझाव छ ।
यसैगरी पछिल्लो समय सर्वाधिक बिक्री हुने चिकित्सकीय उपकरणमा ‘ग्लुकोमिटर’ पनि हो । मधुमेहका बिरामीका लागि यो उपकरण अनिवार्यजस्तै छ । यसले शरीरमा चिनीको मात्रा नाप्न सकिन्छ । यसबाट चिनी नाप्दा प्रयोगशालामा भन्दा १० अंक तलमाथि हुनसक्ने चिकित्सकहरू बताउँछन् । ‘ग्लुकोमिटर’ ले खाली पेट वा खाना खाएको दुई घन्टापछि वा र्यान्डम नमुना लिई शरीरमा चिनीको मात्रा थाहा पाउन सकिन्छ । यो उपकरणले खाना खाएपछिको अंक १८० भन्दा बढी देखाएको अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्छ । बजारमा यो उपकरणको मूल्य १२ सयदेखि तीन हजारसम्म पर्छ । यसमा पनि कम्पनीअनुसार मूल्य फरक–फरक हुन्छ । यो उपकरणको खरिदमा सबै कम्पनीले वारेन्टीसमेत दिन्छन् । पहिलो पटक ग्लुकोमिटर खरिद गर्दा उपकरणसँग रगत परीक्षणमा आवश्यक पर्ने स्ट्रिप र निडल पनि कम्पनीले नै उपलब्ध गराउँछ । तर, पछि स्ट्रिप र निडल आफै खरिद गर्नुपर्ने हुन्छ । बजारमा ‘फिया बायोमेड स्यालुट’, ‘डीआर मोरेपेन’ र ‘क्लेभर चेक’ ग्लुकोमिटर पाइन्छ ।
डा. ज्योति भट्टराई
मधुमेह तथा हर्मन रोग विशेषज्ञ
पछिल्लो समय डिजिटल उपकरणहरूको प्रयोग बढ्दै गएको छ । बिरामीहरूका लागि घरमै आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन यी उपकरणहरू उपयोगी छन् । कसरी चलाउने र कति मात्रामा चलाउने भन्ने विषयमा मानिस सचेत नहुँदा कहिलेकाहीँ समस्या हुने हो । मधुमेहको केसमा इन्सुलिन लगाइरहेका बिरामी छन् भने दिनमा चार पटकसम्म ग्लुकोमिटर प्रयोग गरेर सुगरको मात्रा हेर्न सकिन्छ । तर इन्सुलिन प्रयोग नगरेकाहरूले भने सातामा एक पटक मात्र ग्लुकोमिटर प्रयोग गर्न सक्छन् । डिजिटल उपकरणले सहज बनाए पनि पूर्णरूपमा भर भने पर्नुहुँदैन । जुनसुकै डिजिटल उपकरण शरीरसँग म्याचिङ भने हुँदैन । यसका लागि ल्याबमा गएर चिकित्सकहरूसँग सल्लाह लिनुपर्छ ।