Successfully Copied

ज्वेलरी डिजाइनमा नैना

अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।

ज्वेलरी डिजाइनर काजल नैना शेरचन राईलाई सुहाउँदो गहना लगाएर हिँड्न जान्नु पनि एउटा कला हो भन्ने लाग्छ । हङकङमा बसोबास गर्ने काजल पेसाले डेन्टिस्ट हुन् । सेन्टमेरिज हाईस्कुलबाट स्कुलिङ, बिडिएस कलेज अफ डेन्टल सर्जरी मनिपाल इन्डिया तथा एमएफजिडिपी रोयल कलेज अफ सर्जन इंग्ल्यान्डबाट दन्त चिकित्सामा विशेषज्ञता हासिल गरेकी राईका दुई भाइ छन् । काजलले हङकङको पर्ल जिआइएबाट ग्रयाजुयट तथा सिंगापुरको जेडीएमआइएसबाट ज्वेलरी डिजाइनिङ, फेसन ज्वेलरी एवं मेटल स्मिटिङमा डिप्लोमा तथा सर्टिफिकेट लेभल उत्तीर्ण गरेकी छिन् ।

श्रीमान् सुरज राई हङकङस्थित अमेरिकन बैंकमा कार्यरत भएकाले उनी विवाहपछि उतै पुगिन् । तीन छोरी र घर–परिवारको रेखदेख गर्ने महिलाका लागि आफ्नै व्यवसाय उत्तम हुने भएकाले आफू यता मोडिएको डाक्टर काजल बताउँछिन् । ४ वर्षको जापान बसाइपछि गत वर्ष मात्र हङकङ पुगेकी काजलले त्यहाँ आफ्नै डिजाइनका गहनाको शोरुम संचालनमा ल्याएकी छिन् जुन छोटो समयमै लोकप्रिय भैसकेको छ ।

निकट भविष्यमै काठमाडौंको गहनापोखरी, टंगालवुडमा नयाँ आउटलेट खोल्ने तरखरमा रहेकी काजल विशेषत: डायमण्ड, गोल्ड, सिल्भर आदि गहनामा नेपालीपन झल्कने खालका डिजाइन तयार पार्छिन् । सउल बेल अवार्ड–२०१८ मा गोल्ड–प्लाटिम क्याटेगोरी अवार्डकी फाइनलिस्ट काजल ए डिजाइन अवार्ड २०१७–०१८ की कांस्यपदक विजेता हुन् ।

अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए । उनले सिंगापुरमा बिताएको आफ्नो जीवनका अनुभूतिलाई उक्त थिममा ढालेकी थिइन् ।

इटालीमा हालसालै सम्पन्न इन ज्वेलरी–आइवेयर एन्ड वाच डिजाइनमा काजलद्वारा सिर्जना गरिएको ‘माउन्टेन ब्युटी नेकलेस’ ले ए एन्ड थर्टी नाइन अवार्ड जित्न सफल भएको छ । परम्परागत नेपाली आर्ट एन्ड क्रफ्टलाई आधुनिकीकरणका लागि काजलले खेलेको भूमिका अतुलनीय छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली सौन्दर्य, कला तथा परम्परा प्रस्तुत गर्न सकेकोमा आफू गौरवान्वित भएको काजल बताउँछिन् ।

        

 Image