रैथाने र परम्परागत खानासम्बन्धी व्यवसायमा नाराङ्ग हस्पिटालिटीले लगानी गर्दै आएको छ । व्यवसाय नाफामा गए केही प्रतिशत रकम कम्पनीले लिने र त्यो रकमबाट त्यस्तै खाले अन्य व्यवसायमा लगानी गर्नुका साथै सामाजिक कार्यमा समेत खर्च गर्छ । जीर्ण हुँदै गएका व्यवसायको पुनरुत्थान गरी नेपाली मौलिक स्वादलाई ब्रान्डिङ गर्नु कम्पनीको मुख्य उद्देश्य हो ।
त्यसो त यसले सीप, अनुभव र एकल स्वामित्व भएको जुनसुकै व्यवसायलाई पनि माथि उकास्ने काम गर्छ । यस्ता व्यवसायमा लगानी गरिदिएर नाराङ्ग हस्पिटालिटीले नेपालीको घर–घरमा स्थानीय स्वाद पुर्याउने काम गरिरहेको छ । यसका लागि कम्पनीले भोज, फुडमाण्डु र पठाओसँग सहकार्य गरेको छ । खानपान व्यवसायका साथै अन्य सामाजिक काममा समेत हात बढाएको नाराङ्ग हस्पिटालिटीले सदर चिडियाखानामा सारस पालिरहेको छ भने उदीयमान कलाकारका चित्रलाई बजारीकरण गर्ने कामसमेत गरिरहेको छ । कोरोनाले व्यापार ठप्प भएपछि बेरोजगार बनेका धेरै युवायुवतीलाई रोजगार प्रदान गरेको छ । कम्पनीका संस्थापक केरल पोख्रेलले आफूहरूको उद्देश्य भनेकै स्वरोजगार सिर्जना गरी युवालाई आर्थिक सशक्तीकरणतर्फ डोर्याउनु रहेको बताए । ‘कुनै पनि व्यवसायमा हामी हिस्सा लिने गरी साझेदारी गर्दैनौं तर लगानी भने हामी गर्छौं’ उनले भने, ‘सम्पूर्ण अधिकार व्यवसाय सञ्चालकको हुन्छ । लगानी गरिसकेपछि व्यवसायलाई स्थापित गर्ने र त्यसबाट आएको नाफाको केही प्रतिशत हामीले लिइसकेपछि त्यस्तै प्रकृतिका अन्य व्यवसाय वा नवीन सोच र रहर भएर पनि केही गर्न नसकेर समस्यामा परिरहेका व्यवसायीमा लगानी गर्छौं ।’
![](http://assets-cdn.ekantipur.com/images/nari/health/choila-26102021014808-1000x0.jpg)
पोखरामा समेत व्यवसाय सुरु गर्ने तयारीमा कम्पनी छ । मुलुकका अन्य स्थानमा पनि व्यवसाय संचालनको योजना रहेको कम्पनीले जनाएको छ । ‘परम्परागत पकवान र मौलिक स्वाद हाम्रा पुँजी हुन् । यिनको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो’ केरलले भने, ‘रैथाने खानपानलाई स्ट्यान्डर्ड बनाउँदै नयाँ ब्रान्ड सिर्जना गरी व्यवसायीलाई नाफा उपलब्ध गराउनु यसको मूल उद्देश्य हो ।’
![](http://assets-cdn.ekantipur.com/images/nari/health/Momo—4—26102021014806-1000x0.jpg)
कम्पनीले पोखरामा स्यान्डबीचमा काम गर्दैछ भने दाल, भात, तरकारी, थकाली खानाका साथै यमरी, बारालगायतका पुरातन खानपानलाई ब्रान्डिङ गर्ने योजना बनाएको छ । उपाय कार्गोसँग मिलेर यसले हाल किरण दाइको मःमलाई टोल–टोलमा डेलिभरी दिइरहेको छ । करिब ४० वर्षदेखि मम व्यवसायलाई निरन्तरता दिइरहेका किरण दाइको मःम पसलमा नाराङ्ग हस्पिटालिटी आइसकेपछि यसको मुहार मात्रै फेरिएको छैन राम्रो ब्रान्डिङसमेत भइरहेको छ ।
![](http://assets-cdn.ekantipur.com/images/nari/health/Kiran-dai—1—26102021014807-1000x0.jpg)
किरण श्रेष्ठ
संस्थापक सञ्चालक, किरण दाइको मःम पसल
मैले आठ वर्षको उमेरदेखि मःम बनाउन थालेको हुँ । अहिले म ५९ वर्षको भएँ । पहिले नारान दाइको मःम पसलमा काम गर्थें । पछि दुःख गरेर आफै खोलें । मेरो मःममा लोकल स्वाद छ । खाँदा मीठो छ र पनि यतिका वर्षसम्म मैले आफ्नो व्यवसायलाई ब्रान्ड बनाउन सकेको थिइन । जब नाराङ्ग हस्पिटालिटी जोडिन आयो मेरो रेस्टुरेन्टको सरसफाइदेखि खानाको स्तरमै परिवर्तन आयो । उतिबेला दैनिक २ सय ५० प्लेट मःम बेच्थें भने अहिले ४ सय ५० प्लेट मःम सहजै बिक्री भइरहेको छ । यो संस्थासँग जोडिएपछि मेरो मःम सबैले चिने, सफा र फरक स्वरूपमा फेरि यो विस्तार हुँदैछ । अहिले किरण दाइको मःम पसलमा नेता, अभिनेतालगायत नाम चलेका कलाकार समेत आउँछन् । कतिलाई त फर्काउनु परेको छ मःम नपुगेर । फुड इन्टस्ट्रिजमा सबैभन्दा ठूलो कुरा हाइजिन र स्वाद नै रहेछ । जुन कुरा मैले चार दशकमा पनि भेउ पाउन सकेको थिइन । अहिले मेरा तीन छोरा र श्रीमती यही व्यवसायलाई अगाडि बढाइरहेका छन् । थप १२ जनालाई रोजगार दिइरहेका छौं । सुरुमा कसैसँग सहकार्यमा जाने इच्छा थिएन नाराङ्ग हस्पिटालिटी आएपछि सम्पूर्ण स्वामित्व मेरैमा निहित हुने भएकाले सहकार्य गर्न हौसिएँ । यससँग जोडिएपछि मेरो मःमको स्ट्यान्डर्ड निकै बढेको छ । उहाँहरूकै लगानीमा बसेर खाने ठाउँ पनि फेरियो । अहिले यो निकै सफा र आकर्षक भएको छ । मेरा नियमित ग्राहक त आउने भइहाले अहिले नयाँ नियमित ग्राहक पनि थपिएका छन् ।
![](http://assets-cdn.ekantipur.com/images/nari/health/Momo—1—26102021014807-1000x0.jpg)