Successfully Copied

फूलबुट्टे छाता

पछिल्लो समय छाता फेसनका रूपमा विकसित हुँदै गएको छ । छाता युवतीहरूका लागि अनिवार्यजस्तै भएको छ । गर्मी होस् वा वर्षा ‘झोलामा छाता कहिल्यै छुटाउँदिन’ एक वित्तीय संस्थामा कार्यरत अशिष्मा श्रेष्ठ भन्छिन्, ‘छाताले अनुहारलाई सुरक्षित राख्नुका साथै शीतलता पनि प्रदान गर्छ ।’

पछिल्लो समय छाता फेसनका रूपमा विकसित हुँदै गएको छ । छाता युवतीहरूका लागि अनिवार्यजस्तै भएको छ । गर्मी होस् वा वर्षा ‘झोलामा छाता कहिल्यै छुटाउँदिन’ एक वित्तीय संस्थामा कार्यरत अशिष्मा श्रेष्ठ भन्छिन्, ‘छाताले अनुहारलाई सुरक्षित राख्नुका साथै शीतलता पनि प्रदान गर्छ ।’ कालो, नीलो र गुलाबी रंगका छाता उनलाई मन पर्छन् । विद्यार्थी पूजा देवकोटा पनि आफ्नो झोलामा छाता राखेर घरबाट बाहिर निस्कन्छिन् । उनको रोजाइ नै फूलबुट्टे छाता हो । उनी छाता किन्दा रंग र डिजाइनमा ध्यान दिन्छिन् । भन्छिन्, ‘मलाई फूलबुट्टे छाता निकै मन पर्छ । त्यसमा पनि म डिजाइन खोज्छु ।’ छाताले व्यक्तित्व झल्कने भएकाले पनि आफूले प्रयोग गर्ने छातामा विशेष ध्यान दिने गरेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय बजारमा विभिन्न डिजाइनका छाता पाइन्छन् । 

झरी परिरहेको समयमा होस् वा चर्को घाम लागेको बेलामा होस्, के गाउँ के सहर सबैतिर रङ्गीबिरङ्गी छाता ओढ्नेहरू बाक्लै भेटिन्छन् । त्यो पनि पुराना पाराका होइनन् चल्तीका फेसनेबल छाता धेरै तन्नेरीको हातमा देखिन्छन् । 

दशकअघि रिलिज भएको ‘कान्छीको छाता ढल्काइदेऊ यता घाम पर्‍यो निधारैमा....’ बोलको गीत अहिले पनि उत्तिकै चर्चित छ । विशेषगरी काठमाडौंको मौसममा घाम र पानीको टुङ्गो नहुने भएकाले छाता बोक्दा ढुक्क हुने युवतीहरूको भनाइ छ । छातालाई बहुउपयोगी वस्तुका रूपमा पनि लिन सकिन्छ । अझ तन्नेरी पुस्तामा छाताको फेसन बाक्लै छ । 

फेसनका रूपमा छाताको प्रयोग बढेसँगै फेसनेबल छाताहरू उपलब्ध हुन थालेको व्यापारीहरू बताउँछन् । विशेषगरी पसलहरूमा भन्दा पनि फुटपाथमा छाताको व्यापार फस्टाउँदै गएको उनको प्रतिक्रिया छ । असन चोकमा फुटपाथमा व्यापार गर्दै आएकी प्रमिला तामाङले वर्षायाममा छाताको व्यापार बढेको बताइन् । उनी जाडोमा कपडा र वर्षामा छाताको व्यापार गर्छिन् । पछिल्लो समय उनले विभिन्न रंग, डिजाइन र साइजका छाता बिक्री गर्छिन् । उनले भनिन्, ‘पछिल्लो समय फेसनका कारण ग्राहकहरूको रोजाइ नै फूलबुट्टे छाता भएको छ ।’ उनले बेच्ने छाताहरूको मूल्य १५० देखि ६५० रुपैयाँसम्म पर्छ । बजारमा बिक्री हुने विभिन्न रंग र साइजका छातामध्ये करिब एक तिहाइ ग्राहकले बुट्टे छाता किन्ने गरेको व्यवसायीहरूको भनाइ छ । ग्राहकहरूले आवश्यकतानुसार छाता खरिद गर्ने गरेको बानेश्वरका व्यापारी सुनील बाँस्तोलाले बताए । उनका अनुसार विद्यार्थी, जागिरेदेखि गृहिणीहरूको छुट्टाछुट्टै रोजाइ हुन्छ । विद्यार्थीहरूले फेसन र डिजाइनलाई बढी पछ्याउँछन् । जागिरेहरूले सादा कलरको छाता रुचाउँछन् भने गृहिणीहरूले ठूला साइजका छाताहरू छनोट गर्छन् । उनले २ सय ५० देखि १४ सय रुपैंयाँसम्मका छाता बिक्री गर्छन् । 

छाता घाम–पानी छेक्ने मात्र होइन सौन्दर्य संरक्षण गर्नसमेत प्रयोग हुन थालेका छन् । सौन्दर्यविद् शान्ति श्रेष्ठ भन्छिन्, ‘छाताले स्किनलाई ताजा राख्न मद्दत गर्छ ।’ विशेषगरी घाम–पानी छेक्ने छातालाई पछिल्लो समय सौन्दर्य संरक्षण गर्नसमेत प्रयोग गर्न थालिएको छ । उनका अनुसार छाता घाम–पानी दुवैबाट बच्चे उपयुक्त वस्तु भए पनि यसको गुणस्तरमा ध्यान दिनुपर्छ । बाहिर जस्तो रंग भए पनि छाताको भित्री रंग सेतो हुनुपर्ने उनको सुझाव छ । ‘कालो रंगको छाताले बढी पोल्छ,’ उनी भन्छिन्, ‘सकेसम्म बाक्लो र दुई तह भएको छाता छान्नुपर्छ । संवेदनशील छालाका लागि छाता अनिवार्य छ ।’ 

अहिले छाता पसल र फुटपाथमा मात्र अनलाइनमा पनि पाउन सकिन्छ । अनलाइनमा फूलबुट्टे छाताको मूल्य दुई सय र ट्रान्सप्यारेन्ट (पारदर्शी) छाताको दुई सयदेखि छ सय रुपैयाँ पर्छ । त्यस्तै, बालबालिकाको छातालाई सय रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म पर्छ । बजारमा आयल पेपर, कटन, सिल्क, प्लास्टिक, नाइलनबाट बन्ने छाता खरिद गर्न सकिन्छ । छाताका डन्डीहरूमा पनि विविधता पाइन्छ । अंग्रेजी अल्फाबेटको ‘जे’ र ‘सी’ आकारका डन्डी भएका छाताहरू बजारमा उपलब्ध छन् । 

नेपालमा विभिन्न देशबाट यी छाताहरू भित्रिन्छन् । यहाँ कमै मात्र छाताहरू उत्पादन हुन्छन् । विशेषगरी चीन, भारत, हङकङबाट छाता बढी भित्रिएका छन् । भन्सार विभागका अनुसार ०७८ साउनदेखि ०७९ वैशाखसम्म २० करोडका छाता भित्रिएका छन् । अघिल्लो वर्ष ३५ करोड रकम बराबरका छाता आयात भएको तथ्यांक विभागले जनाएको छ । 

छाताको छनोट

बजारमा विभिन्न साइज र डिजाइनका छाता पाइन्छन् । त्यसकारण आफूले कुन प्रयोजनका लागि छाता बोक्ने हो सोहीअनुसार नै छाताको छनोट गर्नुपर्छ । दैनिक प्रयोगका लागि छाताको छनोट गर्दा फोल्ड गर्ने छाता रोज्नुपर्छ । यसलाई आफ्नो ब्यागमा सहज रूपमा राख्न सकिन्छ । त्यस्तै, छाताको गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्छ । आफ्नो बजेटअनुसारको गुणस्तर र टिकाउपनमा ध्यान दिनुपर्छ । आफूलाई सहज हुने ह्यान्डलअनुसारका छाता छनोट गर्नुपर्छ । 

छाताको सुरुवात र विकास

हरेक वर्षको १० फरबरीमा छाता दिवस मनाइन्छ । छाताको सुरुवात भने चीनबाट भएको पाइन्छ । बजार चिनियाँ छाताको कब्जामा छ । सय वर्षसम्म छाताको उपयोग केवल घामबाट बच्नका लागि मात्र हुन्थ्यो । तर, पछि वर्षाबाट जोगिने साधनका रूपमा पनि प्रयोग गर्न थालियो । विश्वको आवश्यकता पूरा गर्न पहिलो पटक इंग्ल्यान्डको लन्डन सहरस्थित अक्सफोर्ड गल्लीमा ‘जेम्स स्मिथ एन्ड सन्स’ को नाममा खुलेको त्यही पसलबाट छाताको बजार बिस्तार भएको हो ।

 Image