ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।

उँभो–उँभो जाँदा लेक लाग्यो
सुनपातीको सुगन्धले
पटुकी फुस्क्यो, जिउ सुक्यो
तीन तले घरको धन्दाले ......
पुरातन समाजमा गृहिणीको दुःखको चित्रण यो गीतमा छ । जति ठूलो घर, उति धेरै कामको बोझ । घरका सदस्यका लागि खाना पकाउनु, जुठा भाँडा माझ्नु, कुचो लगाउनु, लुगाफाटो मिलाउनु सबै एक्लै गृहिणीले नै गर्नुपर्थ्यो । पहिले महिलाहरू काम गर्दागर्दै हैरान हुन्थे । हुन त पछिल्लो समय पनि यस्तो दुःख पूर्णरूपमा टरेको छैन । तर अहिले धेरै समस्याको हल भएको छ ।
समाजको पारिवारिक संरचना केही बदलिएको छ । अहिले आमा वा बुहारीले मात्र घरको काम भ्याउनुपर्छ भन्ने छैन । सबैजना मिलिजुली भात पकाउने, कुचो लगाउने, लुगा धुने काम गरिरहेकै हुन्छन् । पछिल्लो समय यसमा आधुनिक विज्ञानका आविष्कार (घरायसी उपकरणहरू) सहयोगी बनेका छन् । घरको कामलाई सहज अनि छरितो पनि बनाइदिएका छन् ।
घरको सरसफाइमा कुचोको साटो भ्याकुम क्लिनर प्रयोग गर्न थालिएको छ । यसले घरको फोहोर–मैला र धूलो सफा गर्छ । वासिङ मेसिनले लुगा धुने झन्झटबाट मुक्त गराइदिएको छ । यस्ता धेरै उपकरण छन्, जसले घरको काममा सघाउँछन् । त्यस्तै ग्यास चुल्हो, रेफ्रिजिरेटर, मिक्स्चर ग्राइन्डर, डिसवासरले भान्सालाई छरितो बनाइदिएका छन् । धेरैको भान्सामा पानी तताउने कित्ली वा जगले पानी तताउन सजिलो र छरितो बनाइदिएको छ ।
चाडपर्वमा घरको बोझ कम गर्न विभिन्न कम्पनीले बजारमा विद्युतीय सामग्रीहरू ल्याएका छन् । सिजी इलेक्ट्रोनिक्सभित्र मात्र दशवटा ब्रान्ड छन् । त्यसभित्र आठ सयभन्दा बढी मोडलका सामान उपलब्ध छन् । कम्पनीका बजार प्रबन्धक गौरव हमालले पछिल्लो समय जीवनलाई सहज बनाउने उत्पादनमा जोड दिएको बताए । उनले भने, ‘अहिले मानिसहरूमा व्यस्तता बढेको छ । सबैतिर भ्याउनुपर्ने भएकाले कामको बोझ बढी हुन्छ ।’ अझ गृहिणीमाथि पूरै परिवारको स्वास्थ्यको जिम्मेवारी पनि भएकाले यस्ता उपकरणले उनलाई सहज बनाउने गौरव जिकिर गर्छन् ।
कम्पनीले स्वास्थ्यमैत्री उपकरण ‘भाइरोसिल’ बजारमा भित्र्याएको छ । कोरोनाको भय अझै कायम रहेकाले यो उपकरण यतिबेला उपयोगी हुन सक्छ । यसले भाइरस र ब्याक्टेरिया नष्ट गर्ने दाबी कम्पनीको छ । मिनी फ्रिज जस्तो साइज हुने भएकाले जहाँ पनि राख्न मिल्ने खालको छ । यसले सामानलाई किटाणुरहित बनाउँछ । यसभित्र सामान राखेर बटम अन गर्नुपर्छ । दुईदेखि छ मिनेटसम्ममा सामान किटाणुमुक्त हुन्छन् । परावैजनी किरण उत्सर्जन गर्ने यो उपकरण आइएसओद्वारा सर्टिफाइड छ । स्वचालित यो उपकरणको प्रभावकारिता ९९ दशमलव ९ प्रतिशत रहेको दाबी कम्पनीको छ ।
छरितो बन्यो भान्सा
विगतमा परम्परागत चुल्होमा खाना पकाउनुपर्ने बाध्यता थियो । हुन त अहिले पनि ग्रामीण क्षेत्रमा चुल्होमै खाना पकाइन्छ । तर, यो बाध्यकारी भने छैन । दूरदराजसम्म ग्यास चुल्हो उपलब्ध छन् । सबैजसोको भान्सामा ग्यास चुल्हो राम्रो विकल्प बनेको छ ।
त्यसो त ग्यास चुल्हो मात्र होइन, विद्युतीय चुल्होले पनि खाना पकाउने कामलाई सहज अनि छरितो बनाइदिएको छ । नाकाबन्दीका बेला इन्डक्सन चुल्होको प्रचलन व्यापक भयो । परम्परागत र ग्यास चुल्होको राम्रो विकल्प हो यो ।
ग्यास चुल्हो, इन्डक्सन चुल्होजस्तै खाना पकाउन राइस कुकर पनि हरेकको भान्सामा उपलब्ध छ । यसमा भात बसाइदिए पुग्छ । राइस कुकरमा भात बसाएर गृहिणीहरूले अरु काम पनि सजिलै सिध्याउन सक्छन् ।
खाना तताउन, पकाउनका लागि माइक्रो ओभन पनि सहज विकल्प बनेको छ । यससँगै बार्बी क्यु, ग्रील मेसिनले खानेकुरालाई भिन्न–भिन्न स्वादमा बनाउने सुविधा दिएको छ । अचार वा मरमसला पिस्नका लागि सिलौटो नै चाहिन्छ भन्ने छैन । ढुंगाको सिलौटो वा काठको ओखलमा मरमसला, अचार पिस्नुपर्ने बाध्यता मिक्स्चर ग्राइन्डरले हटाइदिएको छ । पछिल्लो समय अधिकांशको घरमा यो उपकरण उपलब्ध छ । त्यसो त अचार पिस्न मात्र नभै जुस बनाउन समेत यो उपयोगी छ ।
घरधन्दाको बोझ घट्दै
जुठा भाँडा सफा गर्नु, कुचो लगाउनु अनिवार्य काम हुन् । झट्ट हेर्दा सामान्य लागे पनि यस्तो कामले गृहिणीको दैनिकीलाई बोझिलो बनाइरहेको हुन्छ । पटक–पटक यस्तो काम गर्नुपर्दा उनीहरू हैरान हुन्छन् ।
दैनिक तीन–चार छाक खाना पकाउनु र उत्ति नै पटक जुठा भाँडा सफा गर्नु झन्झटिलो हुन्छ । तर, अब यो झन्झटलाई पार लगाइदिएको छ, ‘डिसवासर’ ले । यो स्वचालित रूपमा भाँडा धुने उपकरण हो । आधुनिक भान्साका लागि डिसवासर अनिवार्य बन्दै आएको छ । आफ्नो आवश्यकतानुसार ठूलो, सानो जस्तोसुकै आकार र गुणस्तरमा उपलब्ध हुने डिसवासरले जुठा भाँडा माझ्नुपर्ने बाध्यतालाई टारिदिएको छ ।
भान्साका खानेकुरालाई चाँडै सड्न, गल्न, कुहिनबाट बचाउन रेफ्रिजेरेटरले सहयोग गर्छ । सागसब्जी भण्डारण गरेर ताजा खानका लागि होस् वा बाँकी रहेका खानेकुरा राख्न, यो राम्रो विकल्प भएको छ । कुनै पनि पेयलाई अरु चिसो बनाएर खानका लागि पनि रेफ्रिजेरेटर उपयोगी छ ।
समय र श्रमको बचत
भात–भान्सा एवं घरधन्दाको काम निकै झन्झटिलो हुन्छ । झिनामसिना लाग्ने यी कामले श्रम र समय पनि निकै खर्च गराउँछन् । त्यसैले त कतिपय गृहिणी घरधन्दाको कामबाट दिक्क हुन्छन् ।
घरको काम गरिरहँदा अन्य काम गर्न भ्याउँदैनन् । उत्तिकै थकान पनि लाग्छ । तर, पछिल्लो समय उपलब्ध विद्युतीय उपकरणले गर्दा घरको काम सहज बनाइदिएको छ । यसले समय र श्रम बचाइदिएको छ । यी घरायसी उपकरणहरू बिजुलीबाट चल्ने भएकाले अन्य इन्धन खर्च हुँदैन । साथै गृहिणीको स्वास्थ्यमा पनि यसको सकारात्मक प्रभाव छ ।
यही कुरालाई मध्यनजर गर्दै विभिन्न कम्पनीले बजारमा नयाँ–नयाँ उपकरणहरू भित्र्याउँछन् । चाडपर्वका समयमा पाहुनाहरू आवतजावत गरिरहने भएकाले धेरै परिकार पकाइरहनुपर्ने हुन्छ । धेरै परिकार एकैपटक पकाएर राख्दा स्वादिलो नहुन सक्छ । यस्तोमा ‘एयर फायर’ उपयोगी हुन सक्छ । जसले गर्दा पर्खेर पकाइरहनुपर्ने र डढ्छ कि भनेर हेरिरहनुपर्ने झन्झट हुँदैन । यसमा मासु वा आलु फ्राई गर्न सकिन्छ । तेलमा तारेको जस्तै डिप फ्राई हुने भएकाले अहिले यसको माग बढेको बाल्ट्राका बजार प्रबन्धक सम्विद सौरभले बताए । बाल्ट्राको ‘एयर फायर’ विभिन्न मोडलमा उपलब्ध छ ।
छुट तथा अफर
चाडपर्वलाई लक्षित गरी विभिन्न ‘होम एप्लाइन्सेन्स’ ले छुट तथा अफर बजारमा ल्याएको छ । एलजी, टीएसएल, गोदरेज, साओमी, बाल्ट्रा, बेको, केन्टले नयाँ तथा पुराना उत्पादनमा नगद छुट र उपहार योजना ल्याएको छ ।
बाल्ट्राले सुनको सिटी अफर ल्याएको छ । यो योजनाअन्तर्गत कम्पनीले बाल्ट्राको कुनै पनि सामग्री खरिद गर्दा ‘लक्की ड्र’ मार्फत ग्राहकहरूलाई आकर्षक उपहार प्रदान गर्ने योजना छ । यसका लागि ग्राहकले बाल्ट्रा स्पेस प्यान वा भ्याट बिल नम्बर र आनो नाम टाइप गरी ३४००१ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले हरेक साता फेसबुक, इन्स्ट्राग्राम र युट्युबमार्फत लाइभ गरेर विजेता छनोट गर्ने जनाएको छ । विजेताले चार ग्राम तौल भएको २२ क्यारेट सुन पाउने कम्पनीको भनाइ छ । बाल्ट्राको कुनै पनि सामान खरिद गर्ने ग्राहक सहभागी हुन पाउनेछन् ।
त्यसैगरी एलजी, टीसीएल, गोदरेज, केन्टको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले पनि छुट तथा अफर योजना ल्याएका छन् । एलजीको ‘हार्दिक बधाई तपाईंलाई यस चाडबाड विशेष सबैलाई’, टीसीएलको ‘यस दसैं–तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’, गोदरेजको ‘नाउ इज वाउ फेस्टिबल, कम खर्च धेरै बचत’ र केन्टको चाडबाड विशेष योजना छ ।
एलजीले एसी, वासिङ मेसिन र हिटरको खरिदमा निःशुल्क जडान सुविधा, नगद छुट र उपहारको योजना ल्याएको छ । कम्पनीले एलजीका सामानमा ५ करोडभन्दा बढीको उपहार योजना ल्याएको छ । यसका साथै क्यास ब्याकको पनि व्यवस्था गरेको छ । गोदरेजले आफ्नो उत्पादनमा ३१ प्रतिशतसम्मको क्यास ब्याक दिनुका साथै तीन जना विजेताले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलइडी टिभी पाउनेछन् । त्यसैगरी टीसीएल ब्रान्डका कुनै पनि सामग्री किन्दा ५८ हजार ७ सय रुपैयाँसम्मको क्यास ब्याक जित्न सकिन्छ । यो योजनाअन्तर्गत बम्पर उपहारमा दुई जना ग्राहकले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलइडी टिभीसमेत जित्न सक्नेछन् ।
त्यस्तै, ‘यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ को नारासहित सीजीले कुनै पनि सामग्रीको खरिदमा क्यास ब्याक र उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले हरेक १५–१५ दिनमा लक्की ड्रमार्फत सीजीको डबल डोर रेफ्रिजेरेटर पाँच जनालाई र बम्परमा तीन जोडीले दुई रात र तीन दिनको मेघौली सेराइको प्याकेज पाउनेछन्, जित्न सक्नेछन् । यस कम्पनीको एलइडी टीभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, सोकेस, कुलर र भ्याकुमको खरिद गर्दा ग्राहकले दुई हजारदेखि चार हजार रुपैयाँसम्म क्यास ब्याक पाउने कम्पनीका बजार प्रबन्धक गौरव हमालले बताए ।