Successfully Copied

महत्वाकांक्षा नराखी काम गरे सफल भइन्छ’

अहिले शिक्षा, स्वास्थ्य एवं रोजगारमा महिलाको सहभागिता क्रमशः बढिरहेको छ । महिला घरबाहिर काममा निस्कँदा पनि कामको क्षेत्र परिवर्तन भयो, उनीहरुको भूमिका तथा कामको सन्तुलित विभाजन हुन सकेन । महिलालाई दोहोरो तेहोरो बोझ भयो । महिलाको सहभागिता वृद्धिका लागि जिम्मेवारीमा साझेदारी (सेयर रेस्पोन्सिबिलिटी) जरुरी छ ।

राधिका अर्याल, प्रथम महिला संचार सचिव
काठमाडौंको काँठक्षेत्र हो, गोलढुंगा । चार दशकअघि यो गाउँ शिक्षा, सचेतना आदिमा पिछडिएको दुर्गमजस्तो थियो । यही गाउँमा ४७ वर्षअगाडि जन्मिइन्, राधिका अर्याल । निम्न मध्यम किसान परिवारमा उनका दाइ, तीन दिदी र एक बहिनी छन् । त्यो समय छोरीलाई पढाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच नै नभएकाले उनका दिदीहरूले पढ्न पाएनन् । तर, उनले भने मौका पाइन् । ४२ वर्षअघि २०३८ फागुन १७ गते प्रथम महिला कामु सचिव भएकी चन्द्रकला किरणले अवकाश पाएयता हालसम्म २० महिला सचिव भएका छन् । त्यसमध्ये १२ जनाले अवकाश पाए, न्याय सेवाकी सचिव निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्त भइन् । बाँकी सात भने कार्यरत छन्, तीमध्ये अर्याल एक हुन् । जीवनको लामो समय संघीय मन्त्रालयमा बिताएकी अर्याल एक महिनाअघि प्रथम महिला सञ्चार सचिव नियुक्त भइन् । उनको २० वर्षे सरकारी सेवा अनुभव, संघर्ष, सफलतालगायतका विषयमा गरिएको कुराकानी :
प्रस्तुति: उपासना घिमिरे
त्यो समय छोरीले बिरलै शिक्षा हासिल गर्थे, तपाईंले कसरी अवसर पाउनुभयो ?
बुवा किसान अनि निरक्षर र आमा स्वस्थानी–महाभारतका श्लोक अलिअलि पढ्न सक्ने साक्षर हुनुहुन्थ्यो । दाजुले स्कुलमा पढाउने भएकाले म र बहिनीले भने पढ्ने अवसर पायौं । पढ्न पठाए पनि त्यसबेला छोरीलाई घरको सबै काममा लगाउने र सानै उमेरमा विवाह गरेर पठाउने चलन हाम्रो गाउँमा पनि थियो । सुरुमा गोलढुंगास्थित एक स्कुलमा ७ कक्षासम्म पढें । त्यसपछि कन्या माविबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरें । त्रिचन्द्र क्याम्पसबाट आइएस्सी र बिएस्सी, कीर्तिपुर केन्द्रीय वनस्पति विभागबाट एमएस्सी गरें । यसैगरी जनप्रशासनबाट एमपीए गरें । नेपाल सरकारको मनोनयनमा विश्वबैंकको छात्रवृत्तिमा जापानको टोकियो विश्वविद्यालयमा सार्वजनिक नीति विषयमा स्नातकोत्तर दुई वर्ष अध्ययन गरें । हाल नेपाल संस्कृत विश्वविद्यालायबाट विद्यावारिधी गर्दैछु । त्यसबेलाको समयलाई हेर्दा शिक्षा हासिल गर्न परिवारबाट प्राप्त सहयोग र ममा रहेको दृढ इच्छाशक्ति नै महत्वपूर्ण रह्यो ।
विज्ञान विषय पढेको मान्छे, निजामती सेवामा कसरी आकर्षित हुनुभयो ?
यसको श्रेय मेरा दाजु (केदारप्रसाद अर्याल) लाई जान्छ । उहाँ पनि स्कुल पढाउन छोडेर निजामती सेवामा प्रवेश गर्नुभएको थियो । विज्ञान विषय पढेपछि डाक्टर वा अध्यापन गरिन्छ भन्ने थियो । त्यसो त क्याम्पस पढ्ने सिलसिलामा केही समय गाउँकै स्कुलमा हिसाब र विज्ञान विषय पढाएँ । स्नातकोत्तर पढ्दै गर्दा लोकसेवाको पाठ्यक्रम परिवर्तन भएर वस्तुगतबाट अलि बढी विषयगत किसिमले आयो । साथीभाइले पनि पाठ्यक्रम परिवर्तन भयो, सरकारीमा जाउ भन्न थाले, एक किसिमको प्रेरणा प्राप्त भयो । छोटो समयमै अध्ययन गर्दा पनि प्रारम्भिक परीक्षा उत्तीर्ण भएँ । दाजु र साथीभाइका कारण यो क्षेत्रमा आएकी हुँ ।
प्रथम महिला संचार सचिव हुँदा कस्तो महसुस भएको छ ?
पहिले महिलाको सहभागिता नै थिएन । महिलाको संख्या कम भएकाले अहिले पनि कति मन्त्रालयमा प्रवेश गर्नासाथ पहिलो हुन्छन् । ठूला भनिएका मन्त्रालय जस्तो गृह, अर्थ रक्षा आदिमा महिलाको पदस्थापन छैन । यो महिलाको सहभागिता वृद्धि हुँदै जाँदा प्राप्त हुने अवसर हो । यो मन्त्रालयको जिम्मेवारी प्राप्त हुँदा खुसी लागे पनि म पहिलो भएँ भन्ने छैन ।

हरेक क्षेत्रमा महिला सहभागिता कसरी बढाउने ?
यसका लागि अवसर नै दिनुपर्छ । निजामती सेवा ऐन औपचारिक रूपमा २०१३ सालमा आयो । महिलालाई बन्देज नभए पनि अन्य अवरोध (शिक्षा, घरायसी कामकाज) का कारण उनीहरु निजामती सेवामा आउन सकेका थिएनन् । अहिले शिक्षा, स्वास्थ्य एवं रोजगारमा महिलाको सहभागिता क्रमशः बढिरहेको छ । महिला घरबाहिर काममा निस्कँदा पनि कामको क्षेत्र परिवर्तन भयो, उनीहरुको भूमिका तथा कामको सन्तुलित विभाजन हुन सकेन । महिलालाई दोहोरो तेहोरो बोझ भयो । महिलाको सहभागिता वृद्धिका लागि जिम्मेवारीमा साझेदारी (सेयर रेस्पोन्सिबिलिटी) जरुरी छ । समान अवसर प्राप्त भएमा महिलाले काम गर्न र नेतृत्व लिन सक्छन् । राज्यका तीनै अंगमा महिलाको उपस्थितिले पनि यो प्रमाणित भइसकेको छ ।
यसो भए अघि बढ्नका लागि आरक्षण जरुरी छ त ?
समान सहभागिताका कुरा गरे पनि अझै आर्थिक, सामाजिक, राजनीतिक रूपमा महिलाको स्तर तलै छ । त्यसैले समान तहमा नपुगेसम्म आरक्षण जरुरी छ । तर आरक्षणलाई समीक्षा गरी समय सापेक्ष बनाउनु जरुरी छ । आरक्षण सँगसँगै सशक्तीकरण र क्षमता विकास पनि गर्नुपर्छ ।
सरकारी सेवा प्रवेशदेखि अहिलेसम्म कहाँ–कहाँ काम गर्नेर् अवसर पाउनुभयो ?
२०६१ सालमा शाखा अधिकृतका रूपमा तत्कालीन श्रम तथा यातायात मन्त्रालयमा प्रवेश गरेकी हुँ । ०६९ मा सहसचिव भएपछि वातावरण विभागमा उप–महानिर्देशकका रूपमा एक वर्ष काम गरें । त्यसपछि ०७१ वैशाखदेखि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करिब पाँच वर्ष र ०७५ मंसिरदेखि संचार तथा सूचना प्रविधि मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा काम गरें । ०७७ असोजदेखि बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि प्रदेश सचिवका रूपमा काम गरें । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिवका रुपमा करिब दुई वर्ष काम गरेपछि २०८० भदौ १२ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट लुम्बिनी प्रदेशको कायममुकायम प्रमुख सचिव भएँ र सोही वर्षको कात्तिक १६ गते राजपत्रांकित विशिष्ट श्रेणी सचिव पदमा बढुवा भइ लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा नै पदस्थापन भए । करिब नौ महिनापछि ०८० जेठ महिनामा सरुवा भइ तीन महिना उपराष्ट्रपति कार्यालयमा सचिवका रूपमा काम गरें । त्यसपछि हाल सूचना तथा संचार प्रविधि मन्त्रालयमा सचिवका रूपमा काम गरिरहेकी छु ।
काम गर्दै जाँदा कसरी सफलता मिल्ने रहेछ ?
निजामती सेवामा कानून र प्रणालीभित्र रहि काम गर्नुपर्छ । सानो तहमा काम गर्दा धेरैसिक्न–जान्न खोजिन्छ । माथिल्लो पदमा पुगेपछि सो का अतिरिक्त जिम्मेवारी र जवाफदेहिता बढ्दै जान्छ । मेरो सधै एउटै मान्यता रह्यो, काम गर्दा हाई प्रोफाइल नखोज्ने । जुन पद छ, त्यसमा लगनशील र इमानदार भई काम गर्दै जाने । यसले मलाई आजको दिनसम्म ल्याइपुर्‍यायो र सफलता दियो । धेरै महत्वाकांक्षा नराखी निरन्तर काम गरेमा सफलता हात पर्ने रहेछ ।
नीतिगत निर्णयमा तपाईंको कस्तो योगदान रह्यो ?
महिला मन्त्रालयमा काम गर्दा महिला समानताका लागि र महिला हिंसा कम गर्न धेरै ऐन–नियम तथा नीतिमा काम गरियो । नेपाल पक्ष राष्ट्र भएका महासन्धि रिपोर्टिङ गर्ने सन्दर्भमा सरकारी प्रतिनिधि मण्डलका रूपमा काम गर्न पाएँ । २०७२ को भूकम्पका बेला
राष्ट्रिय योजना आयोगले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि ‘पोस्ट डिजास्टर निड्स एसिस्मेन्ट’ गरेको थियो । यो क्षेत्रको नेतृत्व लिएर काम गर्ने अवसर प्राप्त भयो । दिगो विकासका लक्ष्य २०१५ कार्यान्वयन गर्ने सन्दर्भमा लक्ष्य ५ सम्बन्धी नेपालको राष्ट्रिय सूचक निर्माण, महिला बालबालिका तथा अपांगता भएका व्यक्तिसँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धीको प्रतिवेदन गर्ने काम भयो । लुम्बिनी प्रदेशमा काम गर्दा लामो समय रोकिएर बसेको निजामती सेवासम्बन्धी कानूनको निर्माण भइ कर्मचारीको तह र स्तर वृद्धि गर्ने र स्थानीय सेवाको विधेयक तयार गरी प्रदेश सभामा दर्ता गरियो । यो कामका लागि नेतृत्व मेरो भए पनि सबै राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक तहको साथ र सहयोगबाट सम्भव भएको हो ।
अहिले गर्नुपर्ने काम के–के हुन् ?
अहिले आमसंचार, दूरसंचार, हुलाक, चलचित्र, सुरक्षामुद्रण, सूचना प्रविधि गरी ६ वटा कार्यक्षेत्र छन् । यी सबै क्षेत्रभित्र रहेर काम गर्नुपर्ने हुन्छ ।
काम गर्दा आउने चुनौती के हुन् ?
महिलाको नेटवर्किङ कम छ । सूचना प्राप्त गर्ने क्षेत्र सीमित छ । कहिलेकाहीँ सीमित सूचनाका आधारमा गरेका निर्णय प्रभावकारी नहुन सक्छन् । त्यसैले महिलाले सूचनाको साँघुरो घेरा बढाउनु जरुरी छ ।
नारीका पाठकलाई दसैं सन्देश केही होला ?
प्रत्येक महिलाभित्र आफ्नै शक्ति, क्षमता छ । सधैं आफूलाई कमजोर ठान्ने, अरुको संरक्षण खोज्ने प्रवृति छोड्नु जरुरी छ । आफूमा भएको असीमित सम्भावनाको भरपूर उपयोग गर्नुपर्छ । नारीमा अन्तर्निहित शक्तिको उपासना गर्ने पर्व विजयादशमीको हार्दिक शुभकामना ।

 Image