रञ्जना कायस्थ
एकेडेमिक डाइरेक्टर, टोड्लर्स इन्टरनेशनल स्कुल
तिनचुली, बौद्ध
शहर केन्द्रित बालबालिकाको अवस्था कस्तो देखिन्छ ?
अहिले सहर केन्द्रित बालबालिकाको पारिवारिक परिवेश, जीवनस्तर, खानपान, खेलकुद आदिमा आएको परिवर्तनले उनीहरूको स्वास्थ्यमा धेरै ठूलो अन्तर ल्याएको छ । आर्थिक सम्पन्नता एवं व्यस्तताले गर्दा सहरी जनजीवनमा बितेका २० वर्षमा उल्लेखनीय परिवर्तन आयो । त्यही परिवर्तनसँगै दैनिक जीवनमा आधारित रोग जुन वयस्कहरूलाई मात्र लाग्थ्यो अहिले त्यसले बालबालिकाहरूलाई समेत सताउन थालेको छ । अहिले बालबालिकाहरूलाई पनि मोटोपन, मुटु रोग, रक्तचापजस्ता समस्याले गाँजेको पाइन्छ ।
यस पछाडिका कारण के हुनसक्छन् ?
सहरी बाल–बालिकाको स्वास्थ्यको अवस्था विचार गर्ने हो भने सम्पन्नता, स्वतन्त्रता र स्वच्छन्द जीवन नै यी रोगका सम्वाहक देखिन्छन् । खेलकुद तथा शारीरिक परिश्रमको कमी अहिलेका सहरी बालबालिकाहरूले त्यति शारीरिक परिश्रम गर्नुपर्दैन भने खेलकुदमा सहभागी हुनेहरू पनि धेरै कम छन् । पढाइले गर्दा खेलकुदका लागि समय नहुने, उपयुक्त स्थान नहुने तथा खेल्ने साथी नहुने जस्ता कुराले खेलकुदको साटो घरैमा बसेर टिभी हेर्ने तथा मोबाइलमा गेम खेल्ने क्रम बढ्दो छ । अहिले बाल–बालिकाले धेरै समय आधुनिक ग्याजेटमा बिताउँदै आएका छन् । एकै ठाउँमा एउटै पोजिसनमा बस्ने वा शारीरिक परिश्रम त्यति नगर्ने हुनाले बालबालिकाहरूको शारीरिक विकासमा ठूलो असर पर्छ । मोबाइल तथा टिभीले गर्दा आँखा, कानका साथै मानसिक स्वास्थ्यमा समेत असर गर्ने हुनाले बालबालिकाहरूलाई ती सामग्रीको प्रयोग गर्ने छुट कहिले दिने र कति समय दिने भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
किन यस्ता हुन्छन् बालबालिका ?
राति अबेरसम्म नसुत्ने, निद्राको कमी तथा प्रतिस्पर्धात्मक पढाइबाट उत्पन्न हुने तनावजस्ता कुराबाट अहिलेका बालबालिकाहरू थाकेका हुन्छन् । घरदेखि स्कुलसम्मको लामो दूरी पार गरेर आउँदा–जाँदा उनीहरू प्रशस्त थाक्छन् र त्यसमा स्कुल तथा घरको पढाइ थपिँदा सुत्ने समय पनि कम हुन्छ । त्यसैले बालबालिकाहरू निद्रा नपुगेर दिउँसो क्लासमै पनि सुत्छन् । हिजोआजका बालबालिका आफ्नो पढाइका बारेमा चिन्ता बढी भएर तनावग्रस्त हुन्छन् । आफ्नो भविष्यका बारेमा तथा पढेर के गर्ने र के हुने भन्ने चिन्ताले उनीहरूलाई बढी नै सताउँछ ।
थप कारण पनि छन् कि ?
अहिलेका बालबालिकाहरू प्रशोधित खानेकुरा बढी खान्छन् । चाउचाउ, बिस्कुट, गुलियो मिठार्इं तथा गुलिया पेयपदार्थ पनि बढी नै उपभोग गर्छन् । खाना खाने समयको परिवर्तनले पनि शारीरिक तथा मानसिक रूपमा धेरै असर पारेको हुन्छ । बिहानको खाना (ब्रेकफास्ट) नखाने, घरबाहिरको तथा प्रशोधित खाना बढी खाने, दुब्लाउन डायटिङ गर्ने जस्ता कुराले पनि स्वास्थ्यमा असर पार्छन् ।
मानसिक तनावबाट कसरी छुटकारा दिलाउने ?
बालबालिकाहरूलाई अध्ययन तथा भविष्यका बारेमा बढी सोच्न नदिने तथा आमाबाबुले पनि बालबालिकालाई प्रेसर नदिने । बालबालिकालाई के गर्दा रमाइलो लाग्छ, के पढ्न मन लाग्छ त्यसमै केन्द्रित गराउने । आफ्ना बालबालिकाको तुलना अरू बालबालिकासँग तथा आमाबाबुको बाल्यावस्थासँग तुलना नगर्ने । स्वच्छ तथा स्वस्थ पारिवारिक वातावरणबाट नै बालबालिकाहरूको मानसिक एवं शारीरिक विकासका साथै प्रतिभा प्रस्फुटनमा सहयोग मिल्छ ।
यो समस्याको समग्र समाधान के होला ?
स्वस्थ खानामा जोड दिने, कसरत तथा खेलकुदमा सक्रिय हुने अनि पर्याप्त आराम गर्ने । यी तीन कुराको ब्यालेन्स भए बालबालिकाको वृद्धि विकासमा सकारात्मक असर पर्छ ।