डा. गणेश दंगाल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ मोडल अस्पताल, काठमाडौं
महिला रोग विशेषज्ञ बन्ने सोच कसरी आयो ?
फिजिसियन बन्दा औषधिमूलोको मात्र डाक्टर, कार्डियाक बन्दा मुटु रोगको मात्र डाक्टर हुने, स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्दा ५० प्रतिशत भन्दा बढीको डाक्टर हुन पाइने मोहका कारण मैले यो विषय रोजेको हुँ । ठूलो जनसंख्यालाई सेवा दिन पाइने भएकाले पनि यसतर्फ आकर्षित भएको हुँ । मैले यो क्षेत्रमा काम गर्न थालेको २० वर्षभन्दा बढी भयो ।
अहिलेसम्म कति बिरामीको उपचार गरिसक्नु भयो ?
क्याम्प, अस्पताल सबै गरेर १ लाखभन्दा बढी महिलाको उपचार गरिसकें ।
महिलाको क्षेत्रमा काम गर्दाका सजिला–अप्ठ्यारा के–के छन् ?
पहिलेको तुलनामा अहिले महिलाको क्षेत्रमा काम गर्न निकै सहज छ । पहिले महिलाहरू आफ्नो स्वास्थ्य समस्या भन्न हिच्किचाउँथे । खुलेर आफूलाई भएको समस्या भन्न सक्दैनथे । त्यसले गर्दा उपचारमा केही असहजता हुन्थ्यो तर अहिले शिक्षा एवं जनचेतनाका कारण महिलाहरू आफूलाई परेको समस्या निर्धक्क भन्छन् ।
नेपाली महिलामा बढीजसो देखिने समस्या के हुन् ?
महिनावारीको गडबडी, पाठेघर खस्ने, पाठेघरमा ट्युमर पलाउने, ओभरीमा सिस्ट पलाउने, पाठेघरको मुखको क्यान्सर आदि । महिनावारी गडबड हुने, महिनावारी हुँदा पेट दुख्ने (डिस्मेनोरिया) यसैगरी प्रि मिन्स्ट्रुयल टेन्सन (महिनावारी हुनुअघि इरिटेट हुनु, कमजोरी महसुस हुनु) जस्ता समस्या पनि बढी देखिएको छ । पेल्भिक इन्फेक्सनको समस्या लिएर पनि धेरै महिला उपचारका लागि आउने गरेका छन् ।
आफ्नो परिवारमा कसैको उपचार गर्नुभएको छ ?
मैले ३ वर्षअघि श्रीमतीको पाठेघरको अप्रेसन गरेको छु । अरु डाक्टरसँगै म पनि अप्रेसनमा सामेल भएको थिएँ । उपचारका क्रममा बिरामी भन्ने मात्र महसुस भयो, श्रीमती भन्ने महसुस भएन । मैले उनको अप्रेसन श्रीमती भन्दा पनि एउटा बिरामीका रूपमा गरें ।
ग्रामीण तथा सहरी महिलामा के–कस्ता स्वास्थ्य समस्या देखिएका छन् ?
ग्रामीण महिलामा पाठेघर खस्ने, पाठेघरको संक्रमण बढी देखिएको छ । उनीहरू रोग फैलिसकेपछि मात्र उपचारका लागि अस्पताल पुग्छन् । यसैगरी सहरी महिलामा रक्तस्राव, ट्युमर, फाइब्रोइडको समस्या बढी देखिएको छ । फाइब्रोइड भन्नाले पाठेघरको मसल्स ट्युमरजस्तो भएर बस्नु हो । यो क्यान्सर भने होइन । यसमा धेरै पेट दुख्ने, रक्तस्राव हुने हुन्छ । यस्तो समस्या बढ्दै गए गर्भमा बच्चा बस्न गार्हो हुन्छ ।
आफूले उपचार गरेकामध्ये बिर्सन नसक्ने उपचार ?
एकपटक एउटा क्याम्पमा ९२ वर्षकी हजुरआमाको पाठेघर, रेक्टम झरेको समस्या आयो । उहाँलाई बस्न–हिँड्न असहज हुन्थ्यो । ती हजुरआमामा अन्य रोग भने थिएन । त्यस्तो अवस्थामा, त्यो उमेरमा, सीमित स्रोत–साधनका भरमा रिस्क लिएर उहाँको पाठेघर निकाल्ने अप्रेसन गरेको थिएँ । अप्रेसनको ३–४ दिनपछि हजुरआमा हिँडेरै घर फर्कनुभयो ।
पहिलेको तुलनामा स्वास्थ्य प्रविधिको विकास भएको हो ?
पहिले अप्रेसन भन्नासाथ चिरफार गर्नुपर्थ्यो । अहिले त्यो अवस्था छैन । लेप्रोस्कोपीका कारण सहज भएको छ । यसैगरी अहिलेको बेहोस पार्ने प्रविधि पनि बढी सुरक्षित छ ।
महिलाका लागि स्वस्थ रहने टिप्स
जीवनशैली एवं खानपानमा ध्यान पुर्याउनुपर्छ । नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । अहिले पाठेघरको मुखको क्यान्सर धेरै हुने भएकाले यसको स्क्रिनिङ वर्ष वा दुई वर्षमा गराइरहनुपर्छ । सरसफाइमा ध्यान पुर्याउनुपर्छ । मेनापज (महिनावारी सुक्ने) पछि हड्डी कमजोर हुने, मुटुमा समस्या हुने, पिसाबको इन्फेक्सन हुन सक्ने भएकाले नियमित रूपमा उपचार गराउनुपर्छ ।