Successfully Copied

घरलाई स्वच्छ राख्न भेन्टिलेसन

घरभित्र प्राकृतिक रूपमा ताजा हावा आउजाउ गर्न भेन्टिलेसन जरुरी हुन्छ । त्यसैले घर निर्माण गरिरहँदा कहाँ, कसरी भेन्टिलेसन राख्ने ? पूर्वयोजना हुनैपर्छ ।



चार दिवारभित्रको संरचना मात्रै घर होइन । घरमा भावनात्मक सम्बन्ध हुन्छ, शारीरिक स्वास्थ्य पनि जोडिन्छ । धेरै समय हामीले घरभित्रै बिताउने भएकाले त्यहााको वातावरण स्वस्थकर हुन जरुरी छ । भान्सा, शयन कक्ष, बैठकदेखि बाथरुमसम्म यस्तो हुनुपर्छ, जहाँ बस्दा शरीरलाई कुनै किसिमको हानि नहोस् । यो कुरा खासगरी घरको स्वच्छतासँग जोडिन्छ । घर जति स्वच्छ एवं सफा हुन्छ, त्यहााको वातावरण उत्तिकै स्वास्थ्यमैत्री हुन्छ । यसका लागि भेन्टिलेसन अर्थात् वायुसञ्चारको खास भूमिका हुन्छ । घरभित्र प्राकृतिक रूपमा ताजा हावा आउजाउ गर्न भेन्टिलेसन जरुरी हुन्छ । त्यसैले घर निर्माण गरिरहँदा कहाँ, कसरी भेन्टिलेसन राख्ने ? पूर्वयोजना हुनैपर्छ ।

छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार भान्सामा उत्पन्न प्रदूषण निकै भयानक हुन्छ । यसले फोक्सोलाई चुरोटले भन्दा बढी हानि गर्न सक्छ । त्यसैले भान्सामा स्वच्छ हावा आउजाउ गर्ने ठाउँ पर्याप्त हुनुपर्छ । ‘गर्मीमा लामखुट्टे भगाउन धूप बाल्ने चलन छ भने जाडोमा हिटर राखिन्छ । सुत्ने कोठामा हावा आउजाउ गर्ने ठाउँ भएन भने कतिपय अवस्थामा त्यसले ठूलो जोखिम निम्याउन सक्छ,’ उनी भन्छन्, ‘गर्मी एवं जाडोमा खुला हावा आउजाउ गर्ने ठाउँ भएन भने दम, खोकी आदिको समस्या हुन्छ । श्वासप्रश्वासमा अवरोध आएर ज्यानै जान सक्छ । त्यसैले शयन कक्षमा भेन्टिलेसन अनिवार्य चाहिन्छ ।’

घरको भान्सामा गृहिणी वा परिवारका अरु सदस्यले लामो समय बिताउनुपर्ने हुन्छ । खाना पकाउन वा खानका लागि भान्सामा बस्नुपर्ने हुन्छ । ‘आगो, ग्यास आदिको राप र धूवाँ त्यहाँको वायुमण्डलमा फैलन्छ । त्यससँगै तेल तताउँदा वा कुनै पनि खानेकुरा पकाउँदा पैदा हुने धूवाँ पनि वातावरणमा मिसिन्छ,’ इन्टेरियर डिजाइनर सुशोभित रञ्जितकार भन्छन्, ‘भेन्टिलेसन नभई नहुने ठाउँ भनेको घरको भान्सा नै हो । यसैगरी सयनकक्ष अर्थात् बेडरुममा पनि हामी धेरैजसो समय बिताउँछौं । सामान्यतः७ देखि ८ घण्टासम्म सुत्ने गरिन्छ । यतिका समय बिताउने शयनकक्षमा ताजा हावा आउजाउ गर्ने ठाउँ नभई नहुने उनी बताउँछन् । बाथरुम पनि संवेदनशील ठाउँमध्ये एक मानिन्छ । खासगरी जाडोमा ग्यास, हिटर प्रयोग गरेर नुहाउँदा बाथरुममा दुर्घटना हुने गरेको घटना बारम्बार सुनिन्छ । यस्तो दुर्घटना त्यही बेला हुन्छ, जब त्यहाँ ताजा हावा आउजाउ गर्ने ठाउँ हुँदैन । त्यसैले बाथरुममा पनि भेन्टिलेसन चाहिन्छ । यसबाहेक बैठक कक्ष, बालबालिका पढ्ने ठाउँमा सहज रूपमा हावा आउजाउ गर्ने व्यवस्था मिलाउनुपर्छ ।


कहाँ राख्ने भेन्टिलेसन ?
सामान्यतः झ्याल वा ढोकासँगै जोडेर त्यसको माथिल्लो भागमा भेन्टिलेसन राख्ने आम चलन छ । झ्याल–ढोकासँगै भेन्टिलेसन राख्दा घरको डिजाइनमा बाधा पुग्दैन । कतिपयले आवश्यकतानुसार भित्ताहरूमा पनि भेन्टिलेसन बनाएका हुन्छन् । जे भए पनि घर निर्माण गरिरहँदा उपयुक्त ठाउँ रोजेर भेन्टिलेसन राख्न सकिन्छ ।
जोखिमरहित
भेन्टिलेसन बनाउँदा कतिपय अवस्थामा चोरी–डकैतीको जोखिम हुन सक्छ । झ्याल–ढोका फोर्नका लागि भेन्टिलेसन प्रयोग गर्न सक्छन् । यस्ता ठाउँबाट कहिलेकाहीँ सर्प पनि घरभित्र पस्न सक्छ । गर्मी याममा भेन्टिलेसनबाट लामखुट्टे आउन सक्छन् । त्यसैले भेन्टिलेसन बनाउँदा घरको सुरक्षालाई पनि ध्यान दिनुपर्ने हुन्छ । यस्तो ठाउँमा भेन्टिलेसन राख्न सकिन्छ, जहाँबाट झ्याल–ढोका सहजै खोल्ने वा फोर्न नसकियोस् । त्यसैगरी सर्प, लामखुट्टे आदि प्रवेश गर्न नदिन तारजाली लगाउन सकिन्छ ।

सुरक्षित डिजाइन
आधुनिक घर निर्माण गर्दा झ्यालको डिजाइन नै यसरी तयार गरिन्छ, जहाँबाट घरभित्र पर्याप्त ताजा हावा आउजाउ गर्न सकोस् । यसरी झ्यालको डिजाइन गर्दा त्यो सुरक्षित र सहज भने हुनुपर्छ । कतिपय आधुनिक प्रविधिको प्रयोग गरेर पनि घरभित्र ताजा हावा आउजाउका लागि व्यवस्था गर्न सकिन्छ । यससँगै एसी, पंखा आदि जडान गर्दा पनि उपयुक्त हुन्छ ।
घरलाई ताजा राख्नभेन्टिलेसनले घरलाई प्राकृतिक रूपले स्वच्छ एवं ताजा राख्छ । यसले बाहिरी हावालाई सहजै घरभित्र आउजाउ गर्न दिन्छ । साथै घरभित्रको धूवाँ, धूलो आदिलाई बाहिर निकाल्छ ।
भेन्टिलेसन राख्दा हावा आउजाउ गर्ने दिशाको पनि ख्याल गर्नुपर्छ । हिजोआज वास्तु विज्ञानअनुसार पनि भेन्टिलेसन कहाँ राख्ने भनी तय गरिन्छ ।

 Image