विराटनगरकी मञ्जु ढकाललाई स्वास्थ्य बीमा बोर्डको बीमा कार्डले उपचारमा सजिलो भएको छ । उनी त्यही कार्डका आधारमा आफ्नो स्वास्थ्य परीक्षणसँगै औषधि समेत निःशुल्क ल्याउँछिन् । उनको परिवारले स्वास्थ्य बीमा गरेकाले उनले यो सुविधा पाएकी हुन् । त्यस्तै, पाल्पाका राम कार्कीले पनि स्वास्थ्य बीमाको सुविधा लिइरहेका छन् । उनी उच्च रक्तचापका बिरामी हुन् र उनले यही बीमा कार्डले उपचारमा धेरै सहज भएको बताए । सबै नेपालीले मञ्जु र रामले जस्तै यो सुविधा लिन सक्छन् । स्वास्थ्य बीमा कार्यक्रममा हाल ४३ लाख मानिस आबद्ध भइसकेका छन् । तीमध्ये पुरुष ४८ र महिला ५२ प्रतिशत छन् । स्वास्थ्य बीमा एक लोककल्याणकारी योजना हो । यसको उद्देश्य स्वास्थ्य सेवाबाट वञ्चित आमनागरिकलाई सहयोग गर्नु हो । स्वास्थ्यमा नागरिकको खर्च कम गर्ने उद्देश्यले यो बीमा योजना ल्याइएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला बताउँछन् । उनका अनुसार यो योजना २०७२ सालदेखि लागू भएको हो । निर्देशक बसौलासँग बीमाबारे गरिएको कुराकानी ः
स्वास्थ्य बीमामा कसरी आबद्ध हुन सकिन्छ ?
प्रत्येक स्थानीय तहका वडाहरूमा रहेको दर्ता सहयोगीमार्फत यो बीमामा आबद्ध हुन सकिन्छ । बीमित हुन चाहने परिवारले आफ्ना घरमुली तथा अन्य सदस्यको नागरिकता वा नेपाल सरकारबाट जारी परिचय अनिवार्य देखाउनुपर्छ । यसमा परिवारका सबै सदस्यको फारम र फोटोसहित आबद्ध हुन सकिन्छ ।
कति खर्च लाग्छ ?
पाँच जनासम्मको परिवारलाई वार्षिक ३५ सय र त्यसभन्दा बढी भएको परिवारलाई थप प्रतिसदस्यको सात सय रुपैंयाँ लाग्छ । ७० भन्दा बढी उमेर समूह, अति गरिब, अशक्त एवं कुष्ठ रोगी, एमडीआर, टिबी र एचआईभी संक्रमित बिरामी भएका घरपरिवारलाई योगदान रकममा पूर्ण छुट छ ।
यसमा के–के सुविधा छन् ?
पाँच जनासम्मको परिवारको वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार पाइन्छ । पाँचभन्दा बढी भए प्रति थप सदस्य वापत २० हजारको सुविधा वृद्धि हुँदै जान्छ र परिवार संख्यानुसार बढीमा दुई लाखसम्मको उपचार सुविधा पाउन सकिन्छ । ज्येष्ठ नागरिकले वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार सेवा लिन सक्छन् । यो बीमा सुविधा लिन हरेक वर्ष अनिवार्य रूपमा नवीकरण गर्नुपर्छ । यसअन्तर्गत बहिरंग, आकस्मिक तथा अन्य कक्षबाट प्रदान गरिने सेवाहरूका साथै ३३ सय प्रकारका औषधि बीमामार्फत पाउन सकिन्छ ।
उपचार कहाँ र कसरी गर्न सकिन्छ ?
यो बीमाको उद्देश्य नागरिकले पायक पर्ने स्थानमा उपचार गर्न सकून भन्ने हो । उपचारका लागि हरेक जिल्लामा दुई वटा स्वास्थ केन्द्र छन् । एउटा सरकारी अस्पताल हुन्छ । यसलाई हामी प्रथम सेवा बिन्दु भन्ने गर्छौं । प्रथम सेवा बिन्दुमा उपचार सम्भव नभए अन्य अस्पतालमा रिफर गरिन्छ । त्यसका लागि बीमा बोर्डले रिफर फर्म भर्नुपर्ने हुन्छ । बीमा गरेका व्यक्तिलाई थप सेवा आवश्यक परे प्रथम सेवा बिन्दुबाटै रिफर गरिन्छ ।
बीमितहरूले सहजै सेवा नपाउने गुनासाहरू पनि सुनिन्छन् नि ?
यसमा केही अठ्याराहरू पनि छन् । उचित व्यवस्थापन हुन नसक्नु र न्यून जनशक्ति हुनुले सेवाग्राहीलाई उचित सेवा दिन नसकेपछि गुनासाहरू आउनु स्वाभाविकै हो । आगामी दिनमा सहज ढंगले यसलाई अघि बढाउने प्रयास गरिरहेका छौं ।
बीमाप्रति नागरिकको जनचेतना कस्तो पाउनुभएको छ ?
बीमाप्रति नागरिकहरूको जनचेतना कमै देखिन्छ । हालसम्म १७ प्रतिशत नागरिकको मात्रै बीमा भएको छ । सरकारले बीमाका लागि बाध्यकारी बनाएको छैन । इच्छुक व्यक्तिहरू मात्रै बीमामा आबद्ध भएका छन् । बोर्डमार्फत हरेक क्षेत्रमा बीमाको महत्व र आवश्यकता नागरिकलाई बुझाउन पहल भइरहेको छ ।