Successfully Copied

नेपालमा मस्तिष्क ट्युमरका बिरामीको संख्या बढ्दो, महिलामा उच्च जोखिम

प्रा. डा. राजिव झाका अनुसार, ‘मस्तिष्क ट्युमरसम्बन्धी उपचारका लागि अझ धेरै विशेषज्ञ उत्पादन, प्रविधिको आधुनिकीकरण र रोगीमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’


विश्व मस्तिष्क ट्युमर दिवस २०८२ (जुन ८, २०२५) को अवसरमा, नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज अन्तर्गतको वीर अस्पतालमा कार्यरत नेशनल ब्रेन ट्युमर सेन्टरले नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विशेष प्रेस विज्ञप्ति जारी गरेको छ ।
सेन्टरका अध्यक्ष प्रा. डा. राजिव झाले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी रोगको अवस्था, जोखिम, उपचारको चुनौती र अनुसन्धानको आवश्यकता औंल्याइएको छ ।
विज्ञप्तिअनुसार, नेपालमा महिलामा मस्तिष्क ट्युमर देखिने सम्भावना ६०–७० प्रतिशत सम्म हुने अनुमान गरिएको छ । पछिल्लो समय ३५ देखि ५० वर्ष उमेर समूहमा ट्युमरको सम्भावना बढी देखिएको छ ।
प्रेस विज्ञप्तिमा मस्तिष्क ट्युमर पहिचान गर्न सकिने सामान्य लक्षणहरू उल्लेख गरिएको छ, जसमा निम्न लक्षण प्रमुख छन् ।
टाउको दुखाइ – ४६ प्रतिशत
बान्ता हुने – ३५ प्रतिशत
झट्का लाग्ने, शरीर पक्षघात हुने, र दिशा गुम्ने लक्षण देखापर्ने
दृष्टि, श्रवण र सञ्चार क्षमतामा समस्या आउनु
ट्युमरको प्रकार
नेशनल ब्रेन ट्युमर सेन्टरका अनुसार नेपालमा देखिने मस्तिष्क ट्युमरमध्ये सबैभन्दा बढी ‘ग्लायोमा’ ३९ प्रतिशत रहेको छ । यसका अतिरिक्त, मेनिन्जियोमा (२९ प्रतिशत) र पिट्युटरी ट्युमर (६ प्रतिशत) पनि देखा पर्ने गर्छन् । ग्लायोमा ट्युमर प्रायः घातक हुने जनाइएको छ ।
उपचारको अवस्था र चुनौती
नेपालमा मस्तिष्क ट्युमर उपचारमा प्रविधि विस्तार भए पनि अझै विशेषज्ञ चिकित्सक र पूर्वाधारको अभाव रहेको जनाइएको छ। सेन्टरले न्युरोअनकोलोजी, न्युरोसर्जरी, रेडियोथेरापी, तथा केमोथेरापीजस्ता बहुआयामिक उपचार पद्धति अपनाइरहेको छ । सर्जरीका लागि स्क्याल्पेल–रहित प्रविधि समेत प्रयोगमा ल्याइएको छ ।
विज्ञप्तिमा नेपाल सरकार र स्वास्थ्यसम्बन्धी निकायहरूलाई मस्तिष्क ट्युमरसम्बन्धी अनुसन्धान र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरिएको छ । साथै, जनचेतनामूलक कार्यक्रम, समयमै पहिचान र प्रभावकारी उपचारको प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
प्रा. डा. राजिव झाका अनुसार, ‘मस्तिष्क ट्युमरसम्बन्धी उपचारका लागि अझ धेरै विशेषज्ञ उत्पादन, प्रविधिको आधुनिकीकरण र रोगीमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’

 Image