होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
हाम्रो समाजमा चाहिने नचाहिने सबै शिक्षा र अधिकारका बारेमा बहस हुन्छन् । पुस्तक लेखिन्छन्, सेमिनार–गोष्ठी हुन्छन् तर अत्यावश्यक र चाहिने कुरामा शिक्षा दिने वा जनचेतना जगाउने काम कमै हुन्छन् । त्यसमध्ये एउटा प्रमुख विषय यौन तथा प्रजनन्का विषयमा खुलेर दिइनुपर्ने महत्वपूर्ण शिक्षा पनि हो । महिनावारी महिलाहरूमा किशोरावस्थामा सुरु हुने एउटा प्राकृतिक प्रक्रिया हो । १०–१५ वर्षको उमेरमा सुरु हुने र लगभग ४५–५५ वर्षको बीचमा रोकिने यो प्रक्रिया स्वस्थ महिलाको एउटा गुण पनि हो । महिनावारी महिला प्रजनन्का लागि सक्षम छन् भन्ने शुभ संकेत हो । यद्यपि हाम्रो समाजमा अझै पनि महिनावारी अर्थात् मासिक धर्मलाई नकारात्मक रूपमा लिइन्छ अर्थात् पापका कारणले हुने कुराका रूपमा व्याख्या गरिन्छ । त्यसैले त छाउपडी प्रथाले महिलाको मनोभावनामा असर पुर्याएको मात्र होइन ज्यानसमेत गएको समाचार सुन्नुपर्छ ।
कायरता, भय र अन्धविश्वास
ए तिम्री छोरी रजश्वला भइन् ? लुकाएनौ कि क्या हो ? आफ्नो संस्कार त मान्नुपर्छ नि । छुवाछूत, पूजाआजा, घरमा दाइ थियो, दाइसँग पनि लुकाएनौ ? भगवान्को ख्याल गर्नुपर्छ जति पढेलेखे पनि आफ्नो संस्कार छोड्नुहुँदैन । मेरै परिवारका, शिक्षित, जानेबुझेका, देश–विदेश घुमेका सदस्यहरूले गरेका प्रश्नहरू हुन् यी । यिनीहरूको पापको परिभाषा के हो ? मेरी छोरीले महिनावारी नबारे पनि, मैले घरमा महिनावारीलाई सामान्य रूपमा लिए पनि अहिलेसम्म कुनै पाप लागेको छैन । पाप भन्ने शब्द प्रयोग गर्दै विज्ञान र मनोविज्ञान नबुझ्नु त कायरता, भय र अन्धविश्वासलाई त्याग्न नसक्नु हो ।
संयोगवश मेरी छोरीको पहिलो रजश्वला हुँदा म जापानमा थिएँ, छोरी नेपालमा । सँगै भएर उनलाई हौसला, ढाडस अनि शिक्षा दिन र त्यो समयलाई रमाइलो बनाइदिन पाइन मैले । जीवनमा सार्है दु:ख लागेको दिन थियो त्यो दिन तर स्काइप र भाइबरमार्फत हामीबीच संवाद हुन्थ्यो । हामी दुवै खुब रोएका थियौं । छोरीले पहिलो पटक असहज महसुस गरेको, चिन्ता गरेको क्षण, आमा सँगै भएको भए धेरै ढाडस हुन्थ्यो भनेर महसुस गरेको समय र मैले पनि म सँगै भएको भए यसलाई सहज प्रक्रिया हो भनेर परामर्श दिन्थें, उत्प्रेरणा जगाउँथें प्रत्यक्ष रूपमा भनेको क्षण । यतिबेला छोरीलाई मेरो साथ चाहिन्थ्यो भन्ने कुराले दु:ख लाग्यो मलाई ।
यद्यपि बाबा र दादा कुरा बुझ्ने र सहयोगी भएकाले १–२ दिनपछि छोरीले पनि यसलाई सहज रूपमा लिइन् । हामीले छोरीलाई कतै लगेर लुकाएनौं बरु उनको आफ्नै कोठामा सधैझैं आराम गर्ने, सरसफाइमा ध्यान दिने, ल्यापटप, आइप्याडबाट त्यसका बारेमा जानकारी लिने र रमाइला कुराहरू हेर्ने तथा सिक्ने कुरा सिकायौं । ४–५ दिन विद्यालय नगई आराम गर्न लगायौं । उनलाई मनपर्ने तथा उनको मनोभावना बुझेर काम गर्यौं । उनीसँग धेरैभन्दा धेरै समय रमाइला कुरा गरेर बितायौं ताकि यी दिनहरू बितेको पत्तो नहोस् । खाना बनाउने र अरू काम उनले गरिनन्, आराम गरिन् तर अरु छुवाछूतमा हामीले रोक लगाएनौं र त्यसका बारेमा बताएनौं पनि । त्यसै पनि उनी ५ वर्ष जापानको स्कुलमा पढेकी हुनाले धेरै व्यावहारिक ज्ञान पाइसकेकी थिइन् । उनलाई सजिलो र बुझ्ने वातावरण थियो घरमा । अर्को महत्वपूर्ण कुरा हाम्री छोरी महिनावारी हुनु भनेको अब उनी सृष्टिका लागि योग्य ठहरिइन् भनेर हामीलाई त यसले उत्सवमय बनायो । सबैले महिलाको यो शुभ घटनालाई पाप र छोइछिटोका रूपमा नहेरी महिनावारी र यसको विज्ञान अनि मनोविज्ञानलाई नयाँ आयाममा हेर्नु जरुरी छ अर्थात् महिलाको महिनावारीलाई उत्सवका रूपमा लिनुपर्छ ।
मनोविज्ञान बुझ्ने शिक्षाको कमी
महिनावारी भएका महिलाले माझेका भाँडा सुनपानी छर्केर चोखो बनाउने प्रयास गरिन्छ हाम्रो समाजमा तर छपक्क सुन लगाएर बसेका महिनावारी भएका महिला अशुद्ध कसरी भए ? सन्तान दिइन् बुहारीले भनेर मक्ख पर्ने सासू–ससुरा छोरा जन्माउने बुहारीप्रति अझ खुसी हुन्छन् भने महिनावारीलाई छोइछिटोका रूपमा लिइन्छ । महिनावारी नभई कसरी सन्तान जन्माउन सक्छन् महिलाले ? यस्तो छ चेतनाको स्तर हामीकहाँ अझै पनि । शिक्षा र चेतनाको विकास हुँदै गएको भए पनि महिनावारीलगायतका अन्य संस्कार एवं परम्परामा अझै अन्धविश्वास तथा गलत मान्यताहरू विद्यमान छन् । तिनमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन ।
महिनावारी उमेरअनुसार महिलामा हुने एउटा प्राकृतिक प्रक्रिया हो । यस्तो समयमा परिवारका सदस्यलगायत विद्यालयका शिक्षक–शिक्षिका तथा वरपरका सबैले कुरा बुझेर सहयोग गर्नुपर्छ । यस्तो बेलामा मन एकाग्र नहुने, चिन्ता एवं डर लाग्ने अनि पेट दुख्नेजस्ता शारीरिक असहजता उत्पन्न हुनसक्छन् । त्यसैले किशोरी वा महिला जोसुकैलाई भए पनि उनीहरूको मनोभावना बुझेर व्यवहार गर्नु जरुरी हुन्छ । विद्यालयमा किशोरीहरूले कक्षामा शिक्षकले पढाइरहँदा पनि बाथरुम जाऊँ भनेर सोध्दा अहिले होइन कक्षा सकिएपछि भनेर जवाफ पाउँछन् । त्यतिबेला धेरै किशोरीले आफ्नो महिनावारी भएको बताउन सक्दैनन् तर उनीहरूलाई छिट्टै बाथरुम जानुपर्ने बाध्यता हुन्छ । कहिलेकाहीँ धेरै पेट दुखेर बीचमै कक्षा छोडेर हिँड्नुपर्ने हुनसक्छ । किशोरीहरू आफैले यो कुरा बताउँदैनन् तर शिक्षक तथा अभिभावकले यसलाई बुझ्नुपर्छ । उनीहरूलाई खुलेर महिनावारी भएको जानकारी दिने तथा आफ्नो समस्या व्यक्त गर्न सक्ने बनाउनुपर्छ ।
महिनावारी प्राकृतिक प्रक्रिया हो
महिनावारी शारीरिक रूपमा परिपक्व भएपछि महिलामा देखापर्ने एउटा प्राकृतिक प्रक्रिया हो भन्ने कुरा घरपरिवार तथा समाजले पनि बुझिदिनुपर्छ । वैज्ञानिक हिसाबले हेर्दा यो समयमा सरसफाइ र आराममा ध्यान दिनुपर्ने हुँदा मन्दिर नजाने, भान्सामा नजाने आदि संस्कार बसेको हुनसक्छ तर मन्दिर गए पाप लाग्छ । खाना पकाएर ख्वाए पाप लाग्छ भन्नेजस्ता कुरा भ्रम र सत्यता नभएका तर्क हुन् । महिनावारी त विनाहिंसा बग्ने रगत हो जो शरीरले स्वयं उत्पादन गर्छ । पशुपन्छीको बलि दिनेहरूले महिलाको महिनावारी पाप नभएर यो महिला सृष्टिका लागि योग्य भएको संकेत हो भन्ने कुरा बुझ्नुपर्छ ।
महिलाहरूमा सामान्यतया एक महिनाको अन्तरमा महिनावारी हुन्छ । कहिले २८ दिनमै हुन्छ त कहिले २–४ दिन यताउता र कहिले १–२ महिना ढिलो पनि हुनसक्छ । किशोरावस्थामा नियमित महिनावारी हुन्छ भन्ने छैन । औसतमा २८ दिनमा मासिक धर्म दोहोरिन्छ । त्यसै पनि महिनावारी भएका बेला केही गर्न मन नलाग्ने, एकोहोरा हुने, मनमा डर, चिन्ता, असहजता महसुस भै निराशासमेत उत्पन्न हुन्छ भने कतिपय अवस्थामा हीनताबोधसमेत हुन्छ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरूप्रति विशेष ध्यान पुर्याउनुपर्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।
यौन तथा प्रजनन् स्वास्थ्य
विद्यालय तथा कलेजका पाठ्यक्रममा यौन एवं प्रजनन् स्वास्थ्यसम्बन्धी विषय पनि समेटिनुपर्छ, ताकि किशोरीहरूले खुलेर यस विषयमा जानकारी लिन सकून्, भन्न सकून् र अरूलाई समेत सिकाउन सकून् । महिनावारी तथा प्रजनन् स्वास्थ्यसम्बन्धी पुस्तकहरू पढ्न दिनुपर्छ छोरीहरूलाई । जति जानकारी भयो त्यति नराम्रा घटनाबाट जोगिन सकिन्छ र नकारात्मक कुरा बाहिर आउन पाउँदैनन् । सृष्टिको सुरुवात, जीवनमा अत्यावश्यक तथा प्राकृतिक प्रक्रियालाई अतिरञ्जना र परम्परागत तरिकाले व्याख्या गरिनुभन्दा सही र उपयोगी ज्ञानमा जोड दिनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले यस विषयमा विभिन्न पुस्तक प्रकाशित गरेको पाइन्छ तर तिनका पाठक कमै भएको महसुस हुन्छ । जनचेतनाका लागि तिनलाई सर्वत्र पुर्याउनु अत्यन्त जरुरी छ ।
email:[email protected]