Successfully Copied

गर्मीमा स्वास्थ्य सावधानी

बढी गर्मी हुँदा पसिना निस्कन्छ । यसबाट शरीरको तापमान नियन्त्रणमा रहन्छ तर कतिपय अवस्थामा अत्यधिक गर्मीका कारण शरीरको कुलिङ सिस्टम वा गर्मीलाई नियन्त्रण गर्ने व्यवस्था बिग्रिएर शरीरको तापमान बढ्छ ।

डिहाइड्रेसन

धेरैलाई डिहाइड्रेसन ठूलो समस्याजस्तो लाग्दैन यद्यपि गर्मीमा डिहाइड्रेसन स्वास्थ्यका दृष्टिले अत्यन्त खतरनाक साबित हुनसक्छ ।

 

कारण

- गर्मीमा शरीरबाट बढी पसिना आउँछ । पर्याप्त मात्रामा पानी नपिउँदा शरीरमा पानीको स्तर कम हुन्छ ।

 

लक्षण

-  मुख सुक्नु, छाला सुख्खा हुनु, मांसपेशीमा समस्या, टाउको दु:खाइ, पसिना नआउनु, पिसाबमा कमी, भोक नलाग्नु आदि ।

 

सुझाव

 - १०–१५ गिलास पानी पिउनुपर्छ ।

 

- मोही, फलफूलको जुस, मिल्क सेक आदि पिउँदा पनि शरीरमा पानीको कमी पूरा हुन्छ ।

 

- सलाद खानुपर्छ, सलादमा काँक्रा, टमाटर आदि समावेश गर्नुपर्छ ।

 - पानीको कमी भए कागतीपानी वा ग्लुकोजको घोल बनाएर पिउनुपर्छ ।

 - एसिडिटी बढाउने पेयपदार्थबाट टाढै रहनुपर्छ । चिया–कफी पनि कम गर्नुपर्छ ।

- अल्कोहल सेवन गर्नु हुँदैन । अल्कोहलको सेवनले पानीको स्तर कम गर्छ ।

- बालबालिकाहरू चाँड डिहाइड्रेसनको सिकार हुन्छन्, खेलकुदमा लाग्दा उनीहरू पानी पिउनसमेत बिर्सन्छन् । उनीहरूलाई समय–समयमा पानी पिलाइरहनुपर्छ ।

 

हिटस्ट्रोक

हिटस्ट्रोक अर्थात् लु लाग्नु गम्भीर समस्या हो । समयमै उपचार नभए यसबाट ज्यानसमेत जानसक्छ ।

कारण

 - बढी गर्मी हुँदा पसिना निस्कन्छ । यसबाट शरीरको तापमान नियन्त्रणमा रहन्छ तर कतिपय अवस्थामा अत्यधिक गर्मीका कारण शरीरको कुलिङ सिस्टम वा गर्मीलाई नियन्त्रण गर्ने व्यवस्था बिग्रिएर शरीरको तापमान बढ्छ ।

- यसरी तापमान बढ्दा भित्री अंगहरूमा नोक्सान पुग्ने सम्भावना हुन्छ ।

 

लक्षण

- थर्मामिटरमा शरीरको तापमान १०२–१०३ डिग्री देखिए त्यो खतरनाक स्थिति हो ।

 - डिहाइड्रेसन, अनुहार रातो वा फुस्रो हुनु, धड्कन तीव्र हुनु, रिंगटा लाग्नु, बेहोस हुनु आदि यसका लक्षण हुन् ।

 

सुझाव

 - बाहिरको तापक्रम बढी छ भने भरसक घरबाहिर निस्कनु हुँदैन ।

- बाहिर जानुपरे स्वयंलाई कपडाले राम्रोसँग छोपेर जानुपर्छ । छाता पनि साथमा लिएर जानुपर्छ । आँखालाई चर्को घामबाट जोगाउन सनग्लास प्रयोग गर्नुपर्छ ।

 -  तिर्खा लागेका बेलामा मात्र पानी पिउनु ठीक होइन, थोरै–थोरै पानी समय–समयमा पिइरहनुपर्छ ।

 - भरसक धेरै थकान महसुस गराउने क्रियाकलापमा सहभागी हुनुहुँदैन ।

 

आँखा पोल्ने समस्या

आँखा शरीरको सबैभन्दा संवेनदनील एवं कोमल अंग हो । गर्मीमा आँखाको विशेष ख्याल राख्नु आवश्यक छ । आँखामा पोल्ने, चिलाउने आदि समस्याले आँखामा नकारात्मक असर गर्छ ।

 

कारण

 - गर्मी, चर्को घाम तथा अल्ट्राभोयलेट किरणले आँखामा नकारात्मक प्रभाव पार्छ ।

 - चर्को अल्ट्राभोयलेट किरणले रेटिनालाई हानि पुर्‍याउँछ ।

 

लक्षण

 - आँखा रातो हुनु ।

 - आँखा सुन्निनु वा चिलाउनु ।

 - आँखाबाट गाढा तरल पदार्थ बग्नु वा लगातार पानी आउनु ।

 - आँखा सुख्खा हुनु आदि ।

 

सुझाव

 - केही समयको अन्तरालमा आँखामा चिसो पानी छर्कने ।

- घरबाहिर निस्कदा आँखालाई घामबाट जोगाउने । युवी प्रोटेक्सन भएको सनग्लास तथा छाता प्रयोग गर्ने ।

- कंजंकिटवाइटिसबाट ग्रसित भए संक्रमण फैलन नदिन बारम्बार हात धुनुपर्छ । आफ्नो रुमाल तथा चश्मा अरुसित सेयर गर्नु हुँदैन । आँखालाई हातले रगड्नु हुँदैन ।

- काँक्राको टुक्रा वा गुलाब जललाई कटन बलमा डुबाएर आँखामा राख्नुपर्छ । यसबाट आँखालाई शीतलता प्राप्त हुन्छ ।

- आँखालाई आराम प्रदान गर्न एवं स्वस्थ राख्न आठ घन्टा सुत्नुपर्छ भने नियमित रूपमा पौष्टिक आहार सेवन गर्नुपर्छ ।

 

स्टमक फ्लु

गर्मीमा ग्यास्ट्रिक वा स्टमक फ्लुको समस्या पनि हुन्छ । कारण यो मौसममा जीवाणु सहज रूपमा मौलाउँछन् ।

 

कारण

 - यो भाइरस दूषित पानी एवं खानाबाट फैलन्छ । गर्मीमा खाने कुरा चाँडै बिग्रन्छ ।

-  यो मौसममा लामखुट्टे वा झिँगा बढ्छन् जसले खानामा बसेर रोग फैलाउँछन् ।

 

लक्षण

-  पेटको पीडा, वाकवाकी, बारम्बार घाँटी सुक्नु, हल्का ज्वरो, कमजोरी, मांसपेशीमा तनाव, भोकमा कमी, थकान एवं आलस्यता आदि ।

 

सुझाव

- सडक किनारका ठेलाका वा खुल्ला खाना–खाजा नखाने, बासी खानाबाट टाढै रहने ।

- पर्सनल हाइजिनको ख्याल राख्ने ।

-  घर वरपरको सरसफाइमा ध्यान दिने ।

- तरकारीलाई राम्रोसँग धोएर पकाउने ।

- घरबाहिर खाना खाँदा सरसफाइमा ध्यान पुर्‍याउने ।

 

अन्य समस्या र समाधान

- गर्मीमा फुड पोइजनिङ हुने खतरा पनि बढ्छ । उच्च तापमान तथा नमीमा ब्याक्टेरिया तीव्र रूपमा मौलाउँछ । त्यसैले घरबाहिर भरसक खाना खानु हुँदैन ।

- दूषित पानी एवं खानाका कारणले टाइफाइड, जन्डिस जस्ता बिरामी हुने खतरा हुन्छ । अफिसमा पनि घरबाट पानीको बोतल र टिफिन लिएर जान सकिन्छ ।

- गर्मीमा चिकनपकस पनि तीव्र रूपमा फैलन्छ । यसबाट जोगिन भीडभाडबाट टाढै रहनुपर्छ । बाहिरबाट घर आएपछि हातखुट्टा राम्रोसँग धुनुपर्छ ।

- पसिनाका कारण शरीरबाट दुर्गन्ध आउनु स्वाभाविक हो । यो समस्याबाट जोगिन दिनमा दुई पटक चिसो पानीले स्नान गर्नुपर्छ । स्नानपछि मेडिकेटेड टेलकम पाउडर प्रयोग गर्न सकिन्छ । पानीमा ह्वाइट भिनेगर वा गुलाबजल हालेर नुहाउँदा पनि पसिनाको दुर्गन्धबाट छुटकारा प्राप्त हुन्छ ।

- यो मौसममा धेरैजसो मानिस स्वीमिङ गर्न चाहन्छन् । लामो समयसम्म पुलमा रहँदा कतिपय अवस्थामा कानमा पानी पस्छ र फंगल इन्फेक्सन हुने खतरा बढ्छ । स्वीमिङ गर्दा इयर प्लग लगाउनुपर्छ वा कानलाई क्यापले छोप्नुपर्छ ।

- गर्मीमा लामखुट्टे तथा झिंगाको संख्या बढ्छ । तिनले टोक्दा छाला रातो भएर सुन्निन्छ । यसबाट जोगिन घरवरपर सफा र सुख्खा राख्नुपर्छ । कुनै कीराले टोके उक्त स्थान सफा गरी बरफ दल्नुपर्छ । यसबाट सुन्निएको कम हुन्छ । यति गर्दा पनि आराम नभए चिकित्सकको सहयोग लिन सकिन्छ ।  

 Image