Successfully Copied

प्रणय दिवसमा भारतीय गुलाब

जाडो मौसममा गुलाब नफक्रिँदा आन्तरिक उत्पादनभन्दा आयातीतकै वर्चस्व गत वर्षको तुलनामा १५ प्रतिशत आन्तरिक उत्पादन बढ्ने अनुमान


हरेक वर्ष फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे (प्रणय दिवस) का रूपमा मनाउने गरिन्छ । फेब्रुअरी ७ अर्थात् माघ २५ देखि भ्यालेन्टाइन्स डे ‘विक’ सुरु भइसक्छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिकाले एक–अर्कालाई गुलाबको फूल दिएर प्रेम दर्साउँछन् । पछिल्लो समय नेपालमा प्रणय दिवसलाई लक्षित गरेर गुलाबको माग बढ्दै गएको छ । तर आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतीय गुलाबमै निर्भर हुनुपर्ने अवस्था छ । मौसम अनुकुल नहुँदा माघ–फागुनतिर नेपालमा गुलाबको उत्पादन कम हुन्छ ।
हरेक वर्ष भ्यालेन्टाइन्स डेका लागि गुलाबको फूल आयात नै गर्नुपर्ने अवस्था छ । यद्यपि नेपालमा गुलाबको व्यासायिक खेती नै नहुने भने होइन । भक्तपुरका रामेश्वर बासीले ४ रोपनी जग्गामा गुलाबको खेती गरिरहेका छन् । झन्डै १२ हजार वटा गुलाबका बिरुवा रोपेका बासी प्रणय दिवसमा भने धेरै गुलाब बेच्न नसकिने बताउँछन् । ‘माघ–फागुनमा चिसोले गर्दा गुलाब नै फक्रिँदैन, त्यसैले हरेक दुई दिन बिराएर गुलाबको फूल टिपिन्छ,’ उनले भने, ‘भ्यालेन्टाइन्स डेको अवधिमा गुलाब उत्पादन गर्न सके राम्रो हुन्थ्यो, मूल्य पनि पाइन्थ्यो ।’ माघमा सातामा ४ सय स्टिक (प्रति गोटा) गुलाब मात्रै टिप्ने गरेकोउनले बताए ।
उनले जर्बेरा र कार्नेसनसँगै गुलाबको पनि व्यावसायिक खेती गर्न थालेका छन् । यसपालि गुलाब बेचेर साउनदेखि माघसम्म ६ लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए । ‘अहिले गुलाबको बिरुवाको काँटछाँट गर्ने समय हो, वैशाखका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘गुलाबका लागि दिनको ३० र राति १५ डिग्री तापक्रम आवश्यक पर्ने रहेछ, त्यसैले जाडोमा गुलाब नै फक्रिँदैन ।’
एएस कटफ्लावर नर्सरीका म्यानेजर रमेश मरहठ्ठाले २० रोपनी जग्गामा गुलाब खेती गरिरहेका छन् । ‘पहिला जर्बेरा, कार्नेसन जिब्सीसहित गुलाब लगाउँथे, सबैले मिश्रित फूल खेती गर्न थालेपछि हामीले गुलाब मात्र लगाउन थाल्यौं,’ उनले भने, ‘गुलाबको मात्रै खेती गर्दा एउटै मलखाददेखि सबै एउटै हुने भयो । फूलअनुसार फरक गर्नुनपर्ने भयो ।’


यस वर्षको प्रणय दिवसमा करिब चार हजार वटा गुलाबका फूल बिक्री गर्ने उनले अनुमान गरे । ‘माघपछि सातामा दुई पटक मात्रै गुलाब टिप्ने हो, एक पटकमा दुई हजार वटासम्म टिपिन्छ, त्यसैले चार हजार वटाको अनुमान गरेका छौं,’ उनले भने, ‘जाडोले गर्दा गुलाब नै फक्रिँदैन । फक्रिने भए राम्रै व्यापार हुन्थ्यो ।’ प्रतिस्टिक १५ देखि ४२ रुपैयाँमा गुलाबको फूल बिक्री गर्ने गरेको उनले सुनाए ।
जाडो मौसमका कारण स्वदेशमा गुलाबको उत्पादन नहुँदा हरेक वर्षजस्तै यस वर्षको प्रणय दिवसमा पनि भारतीय फूलमै निर्भर हुनुपर्ने फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ । फेब्रुवरीमा पर्ने प्रणय दिवसको अवसरमा नेपालमा चिसो मौसम हुने र त्यसकारण गुलाब फूलको उत्पादन कमी हुने भएकोले भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ । ‘माघ–फागुनमा नेपालमा जाडो हुन्छ, गुलाबका फूलहरू फक्रिँदैनन्, त्यसैले आन्तरिक उत्पादन कम हुन्छ’ एसोसियसनका महासचिव हिरामणि शर्माले भने, ‘यसपालि अन्य वर्षको तुलनामा घाम लागेको हुनाले आन्तरिक उत्पादन बढ्नेछ ।’
यस वर्षको प्रणय दिवसमा चार लाख २५ हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । प्रणय दिवसमा आयातीत ७५ प्रतिशतर २५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने एसोसिएसनका महासचिव हीरामणि शर्माले बताए । ‘करिब तीन लाख १८ हजार ७५० स्टिक फूल भारतबाट आयात हुनेछ भने एक लाख छ हजार २५० स्टिक स्वदेशी गुलाब खपत हुने अनुमान छ,’ उनले भने ।
यसअघिका प्रणय दिवसमा १० प्रतिशत मात्रै आन्तरिक गुलाबले धान्ने गरेको शर्माको भनाइ छ । ‘यसपटक आन्तरिक गुलाबको उत्पादन पनि बढेको छ, मौसम पनि अनुकूल भयो, यसपालि २५ प्रतिशत गुलाबको माग आन्तरिक उत्पादनले धान्ने अनुमान गरेका छौं,’ उनले भने । यस वर्ष गुलाबको मागसँगै मौसम अनुकूल हुँदा आन्तरिक उत्पादन बढेको शर्माले बताए ।


हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्ने अनुमान रहेको एसोसिएसनले जनाएको छ । ‘प्रणय दिवसको साताभर चार करोड ६७ लाख रुपैयाँको कारोबार हुने अनुमान छ,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिगुलाब ९० देखि १२० रुपैयाँमा कारोबार हुने एसोसियनको अनुमान छ । गत वर्षको प्रणय दिवसमा चार लाख १२ हजार स्टिक गुलाबको फूल खपत भएको समेत एसोसिएसनले जनाएको छ ।
नेपालमा चाडपर्व बाहेक सामान्य दिनमा प्रतिदिन १० हजार स्टिक गुलाब फूलको माग रहने एसोसिएसनले जनाएको छ । ‘कोभिड महामारीका कारण ०७९ सम्म पुष्प उत्पादनमा ह्रास आएको थियो,’ एसोसिएनको भनाइ छ, ‘आजभोलि व्यवसायीहरूले लगानी गर्न थालेका छन् । त्यसकारण पनि आन्तरिक गुलाब फूलको उत्पादनमा बढेको छ ।’ काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र रूपन्देहीमा व्यावसायिक गुलाब फूलको खेती हुने गरेको छ भने अन्य जिल्लामा पनि गुलाब फूलको व्यावसायिक खेती विस्तार हुने क्रममा छ ।
एसोसियसनका अनुसार ०७६ को प्रणय दिवसमा दुई लाख वटा मात्रै गुलाब खपत भएको थियो । ०७७ मा कोभिडका कारण गुलाबको खपत घटेको एसोसियसनले जनाएको छ । यद्यपि ०७७ को प्रणय दिवसमा एक लाख २० वटा मात्रै गुलाब खपत हुने अनुमान गरिएकामा एक लाख ८० हजार वटा खपत भएकोतथ्यांक छ । गत वर्षको प्रणय दिवसमा तीन लाख ५० हजार वटा गुलाब खपत हुने एसोसियसनको तथ्यांक थियो । तर, चार लाख १२ हजार वटा गुलाब खपत भए ।

 Image