Successfully Copied

ग्रो ब्यागमा तरकारी

ग्रो ब्यागमा गार्डेनिङ गर्दा धेरै फाइदा हुन्छ । यसमातरकारी रोप्दा जमिनमा जस्तो धेरै पानीको आवश्यकता पर्दैन । त्यसैगरी कहिलेकाहीँ पानी धेरै हुँदा पनि आत्तिनुपर्दैन । ग्रो ब्याग हावादार हुने भएकाले पानी छिटै सुक्छ ।


भक्तपुर गठ्ठाघरकी रिता थापाले कौसीवरिपरि ग्रो ब्यागमा तरकारी रोपेकी छिन् । यसले गर्दा धनियाँ, पुदिना, खुर्सानी कहिले किन्नु नपरेको उनी बताउँछिन् । मौसमअनुसार प्रायः सबै प्रकारका तरकारी उनको करेसाबारीमा देख्न सकिन्छ । उनी भन्छिन्, ‘आफैले रोपेको ताजा तरकारी खाँदा स्वास्थ्य पनि राम्रो हुन्छ । खाली समयको सदुपयोग पनि हुन्छ ।’ करेसाबारी नहुनेहरूले पनि ग्रो ब्यागमा तरकारी रोपेर खाँदा अर्ग्यानिक खान पाइने उनको भनाइ छ ।


रिताजस्तै विनु पोखरेलले पनि छतमा ग्रो ब्यागमा तरकारी रोपेकी छिन् । उनले बिरुवामा घरमै तयार पारेको कम्पोस्ट मल प्रयोग गर्छिन् । ‘मैले अहिलेसम्म मलका लागि खर्च गरेकी छैन । तरकारी र फलफूलको बोक्राबाटै मल तयार गर्छु’ उनी भन्छिन्, ‘यसो गर्दा घरबाट निस्केको फोहोरको सदुपयोग हुनुका साथै अर्ग्यानिक खान पनि पाइयो ।’ लकडाउनको समयदेखि ग्रो ब्यागमा तरकारी रोप्न थालेकी उनी आफैले रोपेर फलाएको तरकारीको स्वाद नै बेग्लै हुने बताउँछिन् ।


पछिल्लो समय हरेकले केही न केही तरकारी आफ्नो करेसाबारीमा रोप्ने गरेका छन् । करेसाबारी नभएकाहरूले पनि बोरा, गमला वा ग्रो ब्यागमा तरकारी रोप्छन् । ग्रो ब्याग कपडा, ऊन, रिसाइकल मटेरियल वा प्लास्टिकबाट बनेको हुन्छ । सकेसम्म प्लास्टिकको प्रयोग गर्नु हुँदैन । किनभने यो ब्रेथेवल हुँदैन । ग्रो ब्याग विभिन्न रंग र सेड्समा उपलब्ध हुन्छ । मौसम र आफ्नो इच्छानुसार छनोट गर्न सकिन्छ । ग्रो ब्यागको प्रयोग गरी घरमा विभिन्न किसिमका तरकारी रोप्न सकिन्छ ।


फाइदा
ग्रो ब्यागमा गार्डेनिङ गर्दा धेरै फाइदा हुन्छ । यसमातरकारी रोप्दा जमिनमा जस्तो धेरै पानीको आवश्यकता पर्दैन । त्यसैगरी कहिलेकाहीँ पानी धेरै हुँदा पनि आत्तिनुपर्दैन । ग्रो ब्याग हावादार हुने भएकाले पानी छिटै सुक्छ । गर्मी महिनामा ग्रो ब्यागमा तरकारी रोप्नु एकदमै उपयुक्त हुन्छ । ग्रो ब्याग हावादार हुने भएकाले बिरुवा सुक्दैन र मर्दैन । यसका साथै ग्रो ब्यागमा रोप्दा तरकारी चाँडै बढ्छ ।


ग्रो ब्यागको छनोट
ग्रो ब्यागमा के तरकारी रोप्ने होसाइज र फेब्रिक छनोट गर्नुपर्छ । ग्रो ब्यागमा तरकारी रोप्नुअघि पानी जाने प्वाल छ वा छैन जाँच गर्नुपर्छ । त्यसका साथै ग्रो ब्यागको साइजमा विशेष ध्यान दिनुपर्छ । ठूलो बिरुवाका लागि गहिरो र फैलिएको ग्रो ब्यागको आवश्यकता पर्छ । पानी र घामको कारण छिट्टै बिग्रन सक्छ । त्यसैले ग्रो ब्याग बलियो छनोट गर्नुपर्छ ।

तरकारीको सही छनोट
ग्रो ब्यागमा जुनसुकै तरकारी रोप्न सकिँदैन । धेरैलाई ग्रो ब्यागमा सबै प्रकारको तरकारी रोप्न सकिन्छ भन्ने लाग्छ । त्यसकारण तरकारी राम्रोसँग सपि्रँदैन वा बिरुवाले फल दिँदैन । सधैं ग्रो ब्यागमा रोप्न मिल्ने तरकारीको छनोट गर्नुपर्छ । तरकारी रोप्नुपूर्व ग्रो ब्यागमा रोप्न मिल्छ वा मिल्दैन भनेर रिसर्च गर्नुपर्छ । ग्रो ब्यागमा धेरै गहिरो जरा नजाने प्रकारको तरकारी रोप्नुपर्छ ।


माटोमा विशेष ध्यान
ग्रो ब्यागमा तरकारी रोप्नुअघि माटोको बोरमा ध्यान दिनुपर्छ । ग्रो ब्यागमा तरकारी रोप्दा गुणस्तरको माटोको मिश्रण तयार गर्नुपर्छ । यसमा भर्मिकम्पोस्ट, कोकोपिट, पिटमस, निमको धूलो आदि पनि मिसाउन बिर्सनुहुँदैन । यसमा ड्रेनेज क्षमता र नमी बढी हुन्छ । बिरुवा रोपेपछि १५–१५ दिनको फरकमा मल हालिदिनुपर्छ । बेला–बेला फर्टिलाइजरको पनि प्रयोग गर्नुपर्छ । यसले बिरुवा राम्रो हुनुका साथै फल दिन्छ र कीरा पनि लाग्दैन ।


नियमित पानी राख्ने
ग्रो ब्यागमा माटो छिट्टै सुक्ने भएकाले नियमित रूपमा बिरुवालाई पानीको आवश्यकता पर्छ । मौसम, बिरुवाको साइज र कुन तरकारी रोपेको छ त्यही हिसाबले पानी हाल्नुपर्छ । भर्खरै रोपेको बिरुवालाई त्यति धेरै पानीको आवश्यकता पर्दैन तर फल दिन थालेपछि बिरुवालाई धेरै पानीको आवश्यकता पर्छ ।


ग्रो ब्यागमा के–के रोप्ने ?
सिमी, साग, बन्दा, काउली, ब्रोकाउली, काँक्रो, टमाटर, लौका, गाजर, खुर्सानी, भान्टा, भिन्डी, चुकन्दर, धनियाँ, मुला, पुदिना, भेंडेखुर्सानी, कागती, प्याज, कर्कलो आदि ।

 Image