तिहार भन्नेबित्तिकै सयपत्री र मखमली त छुट्ने कुरै भएन । गाउँदेखि सहरसम्मका घर फूलले मात्रै सजिँदैनन्, दियो र बत्तीले झिलिमिली बन्छन् । तर, तिहारमा नछुट्ने सयपत्री फूलको माला भने आयात गरिन्छ । यस्तै, कृत्रिम फूल र बत्ती पनि बाहिरबाटै ल्याइन्छ । मखमली फूलको माला भने निर्यात हुने गरेको फ्लोरिकल्चर एसोसियसन नेपालको भनाइ छ ।
तिहारको भाइटीकामा आवश्यक पर्ने मखमली फूल किसानले साउनदेखि नै टिप्न थाल्छन् । बाँकी रहेका फूल तिहारका केही दिनअघिसम्म पनि टिपिन्छ । मखमली फूल भने लामो समयसम्म पनि बिग्रँदैन । त्यसैले छिट्टै टिपेर माला तयार गरी किसानले असोजमै बजार पुर्याउँछन् ।
झन्डै २० वर्षदेखि मखमली फूलको खेती गरिरहेकी भक्तपुर गुन्डुकी अनिता बस्नेतले दसैंको घटस्थापनाअघि नै मखमली फूल टिपेर माला बनाउन थालेको बताइन् । टनेलमैफूलको खेती गर्ने उनी मखमली दसैंमा र सयपत्री तिहार नजिक टिप्ने गर्छिन् । ‘मखमली बिग्रँदैन, त्यसैले राम्ररी फुल्नासाथ टिपेर माला उन्छौं,’ उनले भनिन् । गत वर्षको तिहारमा उनले झन्डै ३० हजारवटा मखमलीको माला बेचेकी थिइन् । यसपटक पनि पोहोरको जस्तै व्यापार हुने उनको आशा छ । ‘ठमेलमा प्रतिमाला ३० रूपैयाँमा बेचेकी थिएँ । सयपत्री फूलप्रतिगुच्छा ८ रूपैयाँदेखि १५ रूपैयाँमा बिक्री हुन्छन्,’ उनले सुनाइन्, ‘तिहारमा सबै खर्च कटाएर ४ लाख रूपैयाँ बचत गरेकी थिएँ ।’ उनका अनुसार असोजमा अत्यधिक पानी परेकाले यसपालि मखमली फूल चाहिनेभन्दा बढी सेतो भएको छ भने सयपत्रीमा कीरा लाग्ने समस्या छ ।
भक्तपुरसँगै काठमाडौं, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सर्लाही, सप्तरी, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ । मखमलीको व्यावसायिक खेती भने विशेषगरी काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी, बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाममा भइरहेको छ ।
गएको तिहारमा मखमली, सयपत्री, गोदावरी र अन्य गरी ६४ लाख ७५ हजार वटा माला खपतहुने अनुमान एसोसियसनको थियो । तर, ३४ लाख ७५ हजार मात्रै खपत भयो । ‘गत वर्ष स्वदेशी सयपत्रीको माला ३० लाख थान खपत हुने अनुमान गरेका थियौं, तर नौ लाख थान मात्रै खपत भयो, झन्डै ७० प्रतिशत स्वदेशी माला खेर गयो,’ एसोसियसनका पूर्वअध्यक्ष मीनबहादुर लामाले भने । ३० लाख थान सयपत्री माला भारतबाट आयात गरिएको थियो । विभिन्न बाटो हुँदै नेपाल भित्रिएको सयपत्रीको माला सस्तो भएकाले उपभोक्ता त्यसतर्फ आकर्षित हुँदा स्वदेशी माला खेर गएको उनले बताए ।
एसोसियसनका अनुसार गत वर्ष तीन लाख २५ हजार वटा मखमली माला स्वदेशमै खपत भएका थिए भने एक लाख वटा माला निर्यात गरिएको थियो । यस्तै, गोदावरी फूलको माला २० हजार वटा र मिक्स माला ३० हजारखपत भएका थिए । हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै जाने भएकाले यस वर्ष गएको तिहारको तुलनामा माग बढ्ने अनुमान एसोसिएसनका अध्यक्ष दिलीप बादेको छ ।असोजमा परेको पानीले धेरै फूल बिग्रेको र कतिपयको नर्सरीमै बाढी पसेकाले यस वर्ष माग बढे पनि स्वदेशी उत्पादन घट्न सक्ने उनले बताए । ‘अविरल वर्षाले झन्डै १५ प्रतिशत क्षति भएको छ,’ उनले भने, ‘क्षतिसँगै कतिपय ठाउँमा धेरै पानी परेकाले फूल बिग्रिएको छ । सयपत्रीको आयात बढ्न सक्छ ।’
गएको तिहारमा मात्रै २४ करोड २१ लाख २५ हजार रूपैयाँ बराबरको फूल कारोबार भएको थियो । मखमली र गोदावरी फूलमा आत्मनिर्भर भए पनि सयपत्री फूल आयात गर्नुपर्ने अवस्था रहेको एसोसियसनका पूर्वअध्यक्ष लामा बताउँछन् । अर्कातिर सरकारले सयपत्री आयातका लागि आवश्यकताभन्दा बढी अनुमति दिने गरेको समेत उनको भनाइ छ । सयपत्री फूलको मालामा ८० प्रतिशत आत्मनिर्भर भए पनि सरकारले शतप्रतिशत नै आयातका लागि अनुमति दिँदा स्वदेशी सयपत्री किसान मारमा पर्दै आएको एसोसियसनले जनाएको छ । भारतीय फूलको दबदबा बढेपछि स्वदेशी फूलले बजार पाउँदैन ।
एसोसियसनका अनुसार फागुनमा गुलाबको फूल, तिहारमा मखमली, गोदावरीलगायत मौसमी फूलको खपत बढी हुन्छ । दसैंमा भने फूलसहितका गमला र साना बिरुवा धेरै बिक्री हुन्छन् । अहिले नेपालको ९० प्रतिशत माग आन्तरिक उत्पादन र १० प्रतिशत आयातीत फूलले धान्दै आएको छ ।