Successfully Copied

स्वास्थ्यमैत्री बिरुवा

इन्डोर बिरुवा आन्तरिक सजावटको एक हिस्सा हो । अन्य बोट–बिरुवाको तुलनामा भित्र राखिने बिरुवाको हेरचाह गर्न सजिलो हुने भएकाले इन्डोर प्लान्ट लोकप्रिय छ । यी बिरुवाले घरको सौन्दर्यमात्र बढाउँदैनन्, हामीलाई स्वस्थ राख्न पनि सहयोग गर्छन् ।

इन्डोर बिरुवा आन्तरिक सजावटको एक हिस्सा हो । अन्य बोट–बिरुवाको तुलनामा भित्र राखिने बिरुवाको हेरचाह गर्न सजिलो हुने भएकाले इन्डोर प्लान्ट लोकप्रिय छ । यी बिरुवाले घरको सौन्दर्यमात्र बढाउँदैनन्, हामीलाई स्वस्थ राख्न पनि सहयोग गर्छन् । बोट–बिरुवाले वातावरण स्वच्छ राख्न सघाउनुका साथै घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छन् । बोट–बिरुवाले हावालाई शुद्धीकरण गर्ने भएकाले वायु प्रदूषण घटाउँछन् । विभिन्न अध्ययनले घर तथा अफिसभित्र रोपिएका बोट–बिरुवाले हावामा भएको नाइट्रोजन डाइअक्साइडको स्तरमा २० प्रतिशतसम्म कमी ल्याउने गरेको देखाएको छ । 

एरिका पाम
यसले हावालाई शुद्ध गर्छ । कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यासलाई हटाएर हावामा आर्द्रता कायम राख्छ । आकर्षक गमलामा यो बिरुवालाई रोपेर शयनकक्ष, बैठक वा भान्साकोठा सजाउन सकिन्छ । यो बिरुवा अग्लो हुने भएकाले जुनसुकै ठाउँमा राखे पनि आकर्षक देखिन्छ । यो सात फिटसम्म अग्लो हुन्छ भने बाहिर राख्दा अझ अग्लिन्छ । एरिका पाममा धेरै छिटो धूलो बस्ने भएकाले बेलाबेलामा सफा गर्नुपर्छ । त्यसका अतिरिक्त दुई/तीन महिनाको फरकमा यसको बोटलाई बाहिर घाममा निकाल्नुपर्छ । 

पाइन प्लान्ट 
हेर्दा आकर्षक देखिने यो बिरुवालाई धेरै हेरचाह गर्नुपर्दैन । तरसमय–समयमा यसलाई छाँटकाँट गर्नुपर्ने हुन्छ । यसलाई घरको जुनसुकै ठाउँमा सजाउन सकिन्छ । यो बिरुवाको विशेषता भनेकै राति अक्सिजन फ्याँक्नु हो । 

घिउकुमारी
यसले हावा शुद्ध गर्छ । यतिमात्र नभएर यो केश र छालाका लागि पनि फाइदाजनक मानिन्छ । यसलाई धेरै हेरचाह गर्नुपर्दैन । यो सजिलैसँग सर्ने र हुर्कने हुन्छ । यसलाई समय–समयमा छाँटकाँट गर्नुपर्छ । घिउकुमारीको बिरुवालाई धेरै पानी चाहिँदैन तर माटो ओसिलो हुनुपर्छ । तीनदेखि चारदिनको फरकमा एकपटक पानी दिए पुग्छ । 


 

स्पाइडर प्लान्ट
यो बिरुवाले हावामा भएको विषालु ग्यासलाई निस्क्रिय बनाउँदै हावा शुद्ध गर्छ । यसका धेरै भेराइटी हुन्छन् । आफ्नो इच्छानुसार जुनसुकै भेराइटीको बिरुवा लगाउन सकिन्छ । यसलाई हेंगिङ प्लान्टका रूपमा सजाउन सकिन्छ । वालकोनी वा बैठक कोठामा यसलाई राख्न सकिन्छ । यो बिरुवा कृत्रिम लाइटमा पनि सजिलै हुर्कन्छ । 

पोथोस
यो बिरुवा अत्यन्तै आकर्षक हुन्छ । यसले पनि हावा शुद्धीकरणको काम गर्छ । टेबलमाथि, र्‍याकमा, झ्याल वा सिँढीमा यसको बिरुवा राख्न सकिन्छ । यो लहरिएर जान्छ र फैलिन्छ । यसलाई डोरीले सहारा दिएर फैलाउन सकिन्छ । यसलाई शयनकक्षको कुनै ठाउँमा राख्दा पूरै कोठामा ताजगी प्रदान गर्छ । 

स्नेक प्लान्ट
यो बिरुवामा हावा शुद्धीकरण गर्ने क्षमता अन्य बिरुवाको तुलनामा बढी हुन्छ । यसले टक्सिनलाई निकाल्छ र राति कार्बन डाइअक्साइडलाई हटाइरहन्छ । इन्डोर प्लान्टमा स्नेक प्लान्ट बढी रुचाइन्छ । यो निकै आकर्षक देखिन्छ । यो बिरुवालाई धेरै घाम चाहिँदैन साथै पानी पनि कम दिए पुग्छ । धेरै पानीले यसको जरा कमजोर भएर कुहिन सक्छ । 

जरबेरा डेजी
यो बिरुवाले हावाको दूषित कणलाई हटाउँछ । स्नेक प्लान्टले जस्तै रातिको समयमा कार्बन डाइअक्साइडलाई अक्सिजनमा बदल्न सक्छ । हावा सफा गर्ने बिरुवाका रूपमा परिचित जरबेरामा फूल पनि फुल्छ । यसले यो बिरुवालाई थप आकर्षक बनाइदिन्छ । यसको फूल धेरैदिनसम्म ताजा रहन्छ । यो बिरुवालाई शयनकक्षमा पनि सजाउन सकिन्छ । 

बोस्टोन फर्न 
धेरैजसो बिरुवाले दिउँसो प्रकाश संश्लेषण गर्छन् र कार्बन डाइअक्साइडलाई अवशोषित गरी अक्सिजन निकाल्छन् । यो बिरुवाले बेजिन र फर्मल्डेहाइड जस्ता हानिकारक ग्यासलाई शोषित गर्छ । घरभित्रको प्रदूषित वातावरणलाई हटाउँछ । यो बिरुवालाई पानी बढी चाहिन्छ । त्यसैले अन्य बिरुवाको तुलनामा यसलाई बढी पानी दिनुपर्छ । यसको माटो सुख्खा हुन दिनुहुँदैन । यो बिरुवालाई शयनकक्ष वा वालकोनीमा पनि राख्न सकिन्छ । 

मनी प्लान्ट
यो बिरुवा घरमा लगाउँदा यसले सकारात्मक ऊर्जा पैदा गर्छ । यसले हावा शुद्धीकरण गर्छ । यो बिरुवा हाम्रो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसले कार्बन डाइअक्साइड लिएर अक्सिजन फाल्छ । त्यसले हावामा प्रदूषणको स्तर कम गराउँछ । मनी प्लान्टलाई इनडोर र आउटडोर दुवै ठाउँमा लगाउन सकिन्छ । सीधा घाम पर्ने ठाउँमा यसलाई राख्दा बिरुवाको पात पहेंलो हुन सक्छ । यसलाई पानीमा पनि उमार्न सकिन्छ । 

ड्रसिना
यो बिरुवाको विशेषता भनेकै मौसमको हिसाबले रहनु हो । गर्मीमा यसले आर्द्रता नियन्त्रण गर्छ भने जाडोमा प्रदूषण कम गराउँछ । यो बिरुवालाई जुनसुकै ठाउँमा लगाउन सकिन्छ । 

पिसलिली
यो बिरुवाले हावामा भएको विषालु ग्यास हटाएर हावा शुद्ध गर्छ । यो इन्डोर प्लान्टका लागि सही हुन्छ । यसलाई हप्तामा एकपटक पानी दिए पुग्छ । यसको सेतो रंगको फूल पनि फुल्ने भएकाले यो बिरुवा अझ आकर्षक देखिन्छ । यो उज्यालो कम भएको कोठामा पनि राम्रोसँग सप्रिन्छ । यसलाई बैठक कोठामा सजाउँदा कोठा सुन्दर देखिन्छ । 

लेडी पाम
यो बिरुवाले प्रदूषण हटाउँछ र घरमा ताजापन पैदा गर्छ । लेडी पामले हावामा भएको विषालु ग्यास हटाउन सहयोग गर्छ । वरिपरिको हावाको गुणलाई सुधार्ने काम पनि गर्छ । यो गर्मीमा आकर्षक देखिन्छ र यसले घरमा शीतलता प्रदान गर्छ ।

 Image