रुबिनाको सफलता
बाल्यकालदेखि नै उद्यम मन पर्ने रुबिनालाई अरुकोजागिर खानुभन्दा आफैं केही गरेर स्वरोजगार भई रोजगार दिने चाहना थियो । यही रुचिले उनलाई उद्यमतर्फ डोर्यायो ।

एक शिष्यले गुरुलाई सोधे, ‘गुरुवर धर्म र अध्यात्ममा के फरक छ ?’
गुरुले मुस्कुराउँदै मीठो स्वरमा उत्तर दिए, ‘धर्मले एकलव्य बनाउँछ, अध्यात्मले मन–चित्त चिनाएर भौतिकवादबाट टाढा लैजान्छ । आत्मा र चित्तलाई शुद्ध बनाउँछ । आफ्नो अस्तित्व चिनाउँछ ।’
‘धर्म’ ले विश्वास र अभ्यासको एक संरचित प्रणालीलाई जनाउँछ, जसलाई सामान्यतया विशिष्ट अनुष्ठान र शिक्षाहरूसहित समुदायले पछ्याउँछन् । तर, ‘अध्यात्म’ भनेको भौतिकवादभन्दा माथि उठेर अधिक व्यक्तिगत खोज हो, जुन कुनै निश्चित संगठित धर्म वा बाध्यकारी नियमको पालना नगरी मूलतः आन्तरिक शान्ति र जीवनको गहिरो बुझाइका लागि प्रायः ध्यान केन्द्रित हुन्छ । धर्म बाह्य अभ्यास हो भने अध्यात्म एक आन्तरिक यात्रा हो ।
‘लिभ एन्ड डेयर (मास्टर योर माइन्ड ः मास्टर योर लाइफ)’ मा लेखिएको छ–‘धर्म र अध्यात्मबीचको मुख्य भिन्नता यो हो कि धर्मले तपाईं र आत्माबीच बिचौलियाका रूपमा विश्वास, सिद्धान्त र पवित्र मानिसको एक समूह प्रस्तुत गर्छ (यद्यपि तपाईंले यसलाई जुन नाम दिनुहोस्) । अध्यात्मले तपाईंको हृदय र दिमागलाई मिल्ने गरी आत्मालाई परिभाषित र जडान गर्नमा तपाईंको व्यक्तिगत स्वायत्ततालाई बढावा दिन्छ । पछिल्लो समय संसारभर नै द्वेष, द्वन्द्व, हिंसासहितको काटमार मच्चिरहेको र मानिस भौतिकवादतर्फ केन्द्रित हुँदै गएको यो समयमा हामीले यहाँ त्यस्ता युवा जो अध्यात्ममा आफू मात्रै नलागेर अरूका लागि पनि प्रेरणा बनिरहेका छन्, तिनलाई कथामा उतार्ने प्रयास गरेका छौं । त्यसैले म भन्छु–सबैको चित्त शुद्ध हुनुपर्छ । चित्त शुद्ध भएपछि मनमा पवित्र भावना आउँछ । यही पवित्र भावनाले परोपकार एवं समाजसेवामा समर्पित गराउँछ ।’
मञ्जु ढकाल बञ्जारा (ओशो संन्यासी)
१९ वर्षदेखि फेसन डिजाइनिङमा सक्रिय मञ्जु ढकाल बञ्जारा बाल्यावस्थादेखि नै अध्यात्ममा रुचि राख्थिन् । भगवान् भनेको हामीजस्तै मान्छे होलान्, यसरी नै प्रकट हुन्छन् होला भन्ने उत्सुकताले उनलाई हरक्षण कौतूहल बनाउँथ्यो । ७ कक्षामा पढ्दा साउनमा आयोजना हुने कृष्ण झुलाको भजनमा उनी निकै नाच्थिन् ।
‘उतिबेला आमाबुवाको समय बिताउने ठाउँ भनेकै भजन मण्डली हुन्थ्यो । उहाँहरूले गरेको देखेर म पनि खुब ब्रत–पूजामा सहभागी हुन्थें । भगवान्प्रति अत्यन्त विश्वास थियो,’ धर्म र अध्यात्मप्रतिको आफ्नो विश्वासको फेहरिस्त लगाउँदै मञ्जु भन्छिन्, ‘सन् २०१५ मा आमालाई लामो क्यान्सर भयो । दिल्लीमा राखेर सर्जरी गरायौं । उहाँ मुटुको पनि रोगी हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँ कोमामा जानुभयो । ६१ वर्षको मान्छेलाई भगवान्ले किन यति छिटो यस्तो बनाए । अब भगवान्ले नै फिर्ता गरिदिनुपर्छ भनेर लामो जप, तप र ध्यान गरें । अन्ततः आमा बित्नुभयो । मेरी आमालाई यति छिटो किन लगेको ? भन्ने प्रश्नले पोल्न थाल्यो । वर्षदिनसम्म सामान्य पूजासम्म गरिनँ, विस्तारै यस्तै रहेछ संसारको नियम भनेर चित्त बुझाएँ ।’
त्यो घटनाले मञ्जुको जीवनमा टर्निङ प्वाइन्ट आयो । त्यसो त उनी धेरै पहिलेदेखि नै ओशोको डिस्कोर्स सुन्थिन् । उनका अनुसार ओशोको ‘जोर्बा द बुद्ध’ दर्शनले गृहस्थ जीवनलाई पनि रोकेको छैन, यसले कर्तव्य र जिम्मेवारीलाई धर्म ठानेको छ भने सँगसँगै जप–ध्यानलाई पनि प्राथमिकतामा राखेको छ । ‘उहिले हाम्रा अभिभावकले कुनै काम गर्दा ध्यान दिएर गर्नू भन्थे । ध्यान भनेकै त्यही हो । ओशोको जोर्बा द बुद्ध दर्शनले जागेर बाँच, अन्धभक्त नहोऊ, हरेक काम–कुरा ध्यान दिएर गर भन्ने ज्ञान सिकाउँछ । मलाई यो फिलोसोफीले छोयो । सन् २०१७ मा ओशोमा लागें । ओशो सिद्धान्तभित्र बुद्धिजम, मीरा, कवीर सबैका दर्शन मिसिएका छन् । यो सनातन सिद्धान्तले मेरो आत्मा छोयो र म सन् २०१९ मा आशो संन्यासी भएँ,’ उनी भन्छिन् ।
पूजा गरेर मागेपछि पाइन्छ भन्ने विश्वासमा पूजापाठमा मग्न हुँदै उनी हुर्किइन्, लाग्न पनि उनलाई त्यस्तै लाग्थ्यो रे, तर उनलाई आमाको मृत्युपछि त्यो मिथ्या हो कि भन्ने भान पार्न थाल्यो । ओशो संन्यासपछि उनको दृष्टिकोण बदलिएको छ । मानवचोला लिएर आएपछि उसले गर्नुपर्ने कर्तव्य के हुन्छ ? त्यसमा आफ्नो आँखा खुलेको उनको भनाइ छ । केही वर्ष पहिले उनको फेसन बुटिकमा आगलागी भयो, तीन करोडभन्दा बढीको धन नष्ट भयो । उनलाई लाग्यो–यो मैले यहीँबाट आर्जन गरेकी थिएँ, यहीँ सकियो त मेरो के गयो ? यो चेत र भावना ओशो दर्शनले दिएको उनी बताउँछिन् ।‘हाम्रो दर्शनले भौतिकवादभन्दा माथि उठेर अस्तित्वसँगको निकटमा बाँच्न सिकाउंँछ । त्यसो त पहिले पनि ध्यान गर्थें तर सचेत थिइनँ । संन्यासपछिका हरेक क्षण मेरा लागि ध्यानसरह छन् । परिवारभित्रका सम्बन्धअझ प्रगाढ भएका छन् । परिवारका सबै सदस्य साथीसरह बसेका छौं । भित्री आनन्द प्राप्त भएको छ,’ उनी भन्छिन् ।
ओशोका दुई मुख्य ध्यान छन् । बिहान एक घण्टा गरिने डाइनामिक र बेलुकी एक घण्टाको कुण्डलिनी । यति मात्रै गर्न सके पनि संन्यासी नै हुन नपर्ने र मै हुँ भन्नेहरूको पनि सोच बदलिने मञ्जुले बताइन् । ओशोमा त्यति कडा नियम छैनन् । जुन स्वभाव लिएर जन्मिएका छौं त्यही स्वभावमा बाँच भन्ने स्वतन्त्र अभिव्यक्ति ओशोको हो । म भन्ने अहंकारले नै व्यक्ति, समाज र संसारमै द्वेष, हिंसा, द्वन्द्व निम्त्याएको र मको अहंकार छोडे शान्ति र प्रेम बढ्ने उनको धारणा छ । भन्छिन्, ‘मेरो दैनिक व्यवहार देखेर मेरा घरका अन्य सदस्य पनि संन्यासी जीवन बिताइरहेका छन्, जो संन्यासी होइनन् ।’
ब्रह्मकुमारी बाला (ब्रह्मकुमारी राजयोग)
गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा जन्मिएकी बालुमाया सूर्यबहादुर र दिलमाया श्रेष्ठका पाँच सन्तानमध्येकी एक हुन् । सहयोगी बहुमुखी क्याम्पस गोकर्णबाट प्लस टु गरेकी उनका तीन दिदी र दाइ गृहस्थ जीवनमा रमाइरहेका छन् तर बालु भने सिंगल जीवनको आनन्दमा डुबिरहेकी छिन् । बाल्यकालदेखि निकै शान्त र एकान्तप्रेमी उनी नेवार परिवारमा जन्मिइन् । तर पनि उनलाई तामसिक भोजन मन पर्दैनथ्यो । उनी भन्छिन्, ‘त्यस्ता भोजनको वासनाले पनि म बिरामी पर्थें । म पेटमा रहुन्जेल मेरी आमाले खाने तामसिक भोजन उहाँलाई मन लागेन रे । त्यो अवधिभर उहाँले मांसाहार नै गर्नुभएनछ ।’
१८ वर्षको उमेरमा उनमा अचानक यस्तो सोच आयो, छोरीको जात अर्काको घरमा जानैपर्छ भने किन आफूले चाहेको जीवन नरोज्ने ? बालुमाया श्रेष्ठबाट सन् २००४ मा ब्रह्मकुमारी वाला भइन् र उनी ब्रह्मकुमारी राजयोगतिर लागिन् । अहिले २० वर्ष भयो उनी सेतो पहिरनमा भित्रैदेखि खुसी छिन् । सानैदेखि शान्तिको खोजीमा रहेकी उनी अरू धर्मको पनि अनुभव गर्दै ॐ शान्तितिर लागेको बताउँछिन् ।
‘पवित्रता र शान्ति नै मेरो खोजी थियो । जब म ब्रह्मकुमारीमा आएँ, तब आफूले खोजेको कुरा पाएँ । सेवा गर्ने मौका पाएँ,’ उनी भन्छिन् । ब्रह्मकुमारीमा बुझेर प्रवेश गर्नेलाई यो निकै सहज लाग्छ, तर नबुझेर लाग्नेलाई कठिन पनि हुन सक्ने उनको भनाइ छ । तन, मन, धन, बचन, कर्म, सम्बन्ध र सम्पर्क सम्पूर्णमा पवित्रता हुनुपर्ने ॐ शान्तिको मूल सन्देश हो भन्ने उनी बताउँछिन् । आफूले जीवनमा चाहेको सुख, शान्ति, आनन्द, सच्चा प्रेम सबै आफूलाई प्राप्त भएको उनको अनुभव छ । पहिले उनी निकै घमण्डी थिइन् तर ॐ शान्तिमा प्रवेश गरिसकेपछि शान्त स्वभावकी द्वेष र लालचरहित हुन पुगिन् ।
विश्वभरका १ सय ४० राष्ट्रमा यो संस्था रहेको छ भने नेपालभर १५ सय भन्दा बढी ब्रह्मकुमारी राजयोग संस्थाका शाखा–उपशाखा छन् । यसमा विशेषगरी महिला लाग्नुको कारण धार्मिक र आध्यात्मिकमा पुरुषको भन्दा बढी महिलाको श्रद्धा, भावना र विश्वास बढी हुनु हो भन्ने उनको बुझाइ छ । जति पनि क्लासमा आउने राजयोगका विद्यार्थीहरूले आफ्नो गच्छे र इच्छाअनुसार सेवा गर्छन् त्यसैका आधारमा संस्था चल्छ ।
‘ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय हो र सेतो लुगा ‘युनिफर्म’ हो । यहाँ आएपछि परिवार त्याग्नुपर्छ भन्ने छैन । परिवारसँग मेरो पनि आउनेजाने भइरहेको हुन्छ,’ ॐ शान्तिको मूल सिद्धान्तबारे उनी भन्छिन्,‘परमात्माले भनेका आधारमा कलियुग अन्तिम भइसक्यो, पुरुषोत्तम संगमयुग चलिरहेको छ तर धेरैलाई थाहा छैन । यो समय भनेको स्वयं सर्वात्माहरूका पिता सर्वशक्तिवान् परमपिता परमात्मा यस धरातलमा आनुभएको समयलाई पुरुषोत्तम संगमयुग भनिन्छ । यो बेला भनेको प्राप्तिको बेला हो अर्थात् सत्कर्मको बीउ रोपेर भाग्य बनाउने बेला हो । अहिले पृथ्वीमा चाहिने जनसंख्या पुगिसक्यो जति भए भए तिनैको सदुपयोग गरौं, अब पवित्र बन र राजयोगी बन भन्ने सन्देश नै ब्रह्मकुमारीको हो ।’
बिहान तीन बजेदेखि साढे चारसम्म योग, त्यसपछि स्नानादि, फेरि एक घण्टा राजयोग मेडिटेसन, साढे छदेखि साढे सातसम्म मुरली क्लास, फेरि आधा घण्टा राजयोग मेडिटेसन उनको दैनिक तालिका हो । बेलुका चारदेखि पाँचसम्म फेरि मेडिटेसन र सात्विक ब्रह्म भोजन प्रसादले उनको जीवन शान्त छ । ‘ज्ञान भएपछि नै ध्यान लाग्ने हो, जीवनमा कुनै पश्चाताप छैन, जीवन सफल भयो भन्ने लाग्छ,’ बाला भन्छिन्,‘मलाई आजको दिनसम्म विवाह, गृहस्थ जीवनको चाहना छैन । ॐ शान्ति π’
मीना चन्द, माधुरी राधिका देवी दास (वैष्णव)
सन् १९९३ मा काठमाडौंका गोपाल सिंह चन्द र तारा चन्दको घरमा मीना जन्मिइन् । आठ वर्षको कलिलो उमेरमा उनले आफ्ना बुवा गुमाइन्, जसले जीवनमा उनको दृष्टिकोणमाथि गहिरो प्रभाव पार्यो । आर्थिक कठिनाइमा हुर्केकी उनले सानैदेखि छात्रवृत्ति प्राप्त गरिन् । चुनौतीहरूका बाबजुद पनि पढाइलाई जारी राख्न उनलाई यसले सघायो । स्कुले दिनमा उनी नेपाल बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रममा छनोट भइन्, उनको असाधारण नेतृत्व र टोली कार्य–कौशलका कारण जुनियर राष्ट्रिय खेलाडी बनिन् ।
बाल्यावस्थादेखि नै अध्यात्मप्रति रुचि र चासो राख्ने मीना अहिले वैष्णव दर्शनमा लीन छिन् । बुवाको मृत्युपछि उनलाई लाग्न थाल्यो–यति धेरै माया गर्ने मान्छेले किन बेलैमा छाडेर जान्छन् ? उनमा भएको पीडा, छटपटी र मृत्यु के हो ? भन्ने प्रश्नले उनको ब्रह्म जिज्ञासा (परम सत्यको खोज) लाई प्रज्वलित गर्यो । ‘मैले आफ्नो वास्तविक पहिचान, जन्म, मृत्यु, उमेर र रोगका साथै पुरानो रहस्य खोज्न थालें । धेरै उपन्यास र धार्मिक पुस्तक पढ्न थालें । तर्क, तर्कमा आधारित किताबहरू खोज्दै थिएँ, त्यसपछि मैले गीताको विज्ञान फेला पारें । भक्ति सेवा, जसले सारा आयामभन्दा बाहिरका रहस्यहरू बताउँछ । गुरु परमपूज्य सुचारु गोपीको शरण लिएपछि मेरो आध्यात्मिक यात्रा गहिरो भयो । देवी दासी माताजी, भौतिक र आध्यात्मिक दुवैका ज्ञाता हुनुहुन्छ, उहाँको निर्देशनमा मैले गहिरो अनुसन्धान गरें र भक्ति विज्ञानलाई मेरो जीवनमा लागू गरें । यसले मलाई जीवनको सही मार्गतर्फ लाग्न ठूलो मद्दत गर्यो,’ मीना भन्छिन्, ‘धेरैजसो धर्म नियम, विनियम र परम्परामा केन्द्रित हुन्छन्, जसले समाजमा नैतिकता कायम राख्न मद्दत गर्छन् । यी दिशानिर्देशले मानिसलाई शान्तिपूर्वक सँगै बस्न प्रोत्साहित गर्छन् । विभिन्न धर्मका फरक–फरक चलन हुन सक्छन् । तर सबैको साझा लक्ष्य भनेको अरुलाई मद्दत गर्नु हो ।’
इंग्ल्यान्डस्थित क्याम्ब्रिज युनिभर्सिटीमा कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरिरहेकी उनी यो यात्रा अविश्वसनीय भएको र छोटो समयमै सफलता प्राप्त गरेको बताउँछिन् । आफूसँग भएका मान्यता र बलियो आध्यात्मिक आधारमा जरा गाडिएकाले यो स्थापित भएको उनको विश्वास छ । उनले पाएका उत्कृष्ट अवार्ड र उनको अब्बल क्षमताबारे बीबीसी युकेले समेत उनको स्टोरी छापेको छ ।
फल्यांका लिडरसीप अवार्डका लागि फाइनलिस्ट उनले जीएससी युवे आइबीएम सम्मेलन छात्रवृत्ति पाइन् र आफ्नो टोलीलाई विजयी बनाइन् । क्याम्ब्रिज वुल्भ्स सोसाइटी र सिटी क्याम्पसको अध्यक्षका रूपमा रहेकी उनले प्रतिष्ठित कार्यक्रममा गर्वका साथ विश्वविद्यालयको प्रतिनिधित्व गरिरहेकी छिन् । जस्तै बर्मिंघम टेक सप्ताह, सामाजिक अर्थव्यवस्था पुरस्कार, लक्ष्य घटना रोजगार र उज्यालो नेटवर्क सम्मेलनमार्फत ।
नेपालमा हुँदा उनको क्षमता सम्मान गर्दै फ्रेन्ड्स अफ निडी चिल्ड्रेन र नेपाली युवा फाउन्डेसनले शिक्षाको माध्यमबाट विपन्न विद्यार्थीलाई उत्थान गर्ने संस्थाको अनुभव बटुल्न सफल भइन् । उनलाई मार्गदर्शन गर्ने प्रमुख व्यक्तित्वहरूमध्ये एक प्रमदा शाह थिइन्, जसले उनलाई जीवनको सही मार्ग पहिल्याउन मद्दत गरिन् । मीनाले जेभियर इन्टरनेसनल कलेजमा आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरिन्, जहाँ उनले सक्रिय रूपमा नेतृत्वदायी भूमिका निभाइन्, अन्ततः विद्यार्थी नेतृत्वको अध्यक्ष बनिन् । उनको उत्कृष्ट शैक्षिक रेकर्ड र नेतृत्व कौशलले काठमाडौं विश्वविद्यालय, लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन् ।
शिक्षामा मात्र नभएर आत्म–अन्वेषणमा पनि रुचि थियो । उनले आध्यात्मिकता र आत्म–अनुसन्धानतर्फ बलियो झुकाव विकास गरिन्, जसले उनलाई भौतिक अस्तित्वभन्दा बाहिरको जीवनका बारेमा गहिरो सत्य खोज्न अग्रसर गर्यो । उनी भन्छिन्, ‘मैले कम्प्युटर साइन्समा डिस्टिंक्सनका साथ मास्टर्स पूरा गरें । यो सफलता मेरो एक्लो होइन । यो अटल विश्वास र आध्यात्मिक दृढताको परिणाम हो । यही शक्तिले मलाई हरेक चुनौतीको सामना गर्न सक्षम बनायो ।’
धर्म र आध्यात्मिकतालाई फरक रूपमा बुझ्ने उनी हाल बेलायतस्थित सट्रेक्स कम्पनीमा सफ्टवेयर विकासकर्ताका रूपमा काम गर्छिन् । नेपालमा रोयल गार्ड सेक्युरिटी सर्भिसेज प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशकका रूपमा समेत काम गर्छिन् । उनको व्यावसायिक करिअरका साथै, उनी वोल्भरह्याम्प्टन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजिटल जीवन विद्यार्थी राजदूतका रूपमा चयन भएकी थिइन्, जहाँ उनले प्रविधि र विद्यार्थी संलग्नतालाई ब्रिजिङमा प्रमुख भूमिका खेलेकी थिइन् ।
व्यावसायिक उपलब्धिबाहेक उनी आध्यात्मिकताका बारेमा भावुक छिन् र अरूलाई कसरी आफ्नो दैनिक जीवनमा आध्यात्मिक ज्ञानलाई एकीकृत गर्ने भनेर सिकाउँछिन् । उनको यात्राले व्यावसायिक सफलता र आध्यात्मिक ज्ञानको समर्पणलाई प्रतिबिम्बित गर्छ ।
वैष्णव दर्शनकी अनुयायी मीना धर्मको उद्देश्य कृष्ण (भगवान्) सँग हाम्रो सम्बन्ध विकास गर्नु हो भन्ने तर्क दिन्छिन् । उनका अनुसार मृत्युपछि उच्च गन्तव्य प्राप्त गर्ने विश्वास गरिन्छ, जस्तै स्वर्ग वा स्वर्ग ग्रहहरूमा बास । त्यसकारण, धर्मले अक्सर बाह्य अनुशासन र धार्मिकतालाई जोड दिन्छ भने अध्यात्मले भित्री चेतनालाई कार्य गर्नका लागि प्रेरित गर्छ । अस्तित्वको उच्च विमानमा सयर गराउँछ चाहे शरीर रहँदा होस् वा छोडेर पछि पनि । भन्छिन्,‘धर्म बाह्य अभ्यासमा केन्द्रित हुन्छ तर आध्यात्मिकता आन्तरिक रूपान्तरण तथा वास्तविक प्रकृतिको अनुभूतिका बारेमा केन्द्रित हुन्छ । आध्यात्मिकताको मुख्य पक्ष भनेको हामी भौतिक होइनौं भन्ने बुझाइ हो । धर्मले समाजमा नैतिकता र व्यवस्था कायम राख्न मद्दत गर्छ, जबकि अध्यात्मले आत्म–अनुभूति र शाश्वत आनन्दको नेतृत्व गर्छ । धर्मले प्रायः व्यक्तिलाई शरीरका रूपमा पहिचान गर्दछ ।’
आफ्नो बाह्य क्रम गर्दै ध्याप, तप–जप र साधनामा समेत लीन भइरहेकी मीना शुद्ध सात्विक आहारविहारले शरीर र चित्त शुद्ध बनाउने बताउँछिन् । यौवनदेखि बुढ्यौलीसम्म, आत्मा पनि मृत्युसँग अर्को शरीरमा सर्छ) । यस्तो परिवर्तनले आत्मा–साक्षात्कार गर्ने व्यक्ति विचलित हुँदैन । यस पदले पुष्टि गर्छ कि हामी शरीर होइन तर अनन्त आत्मा हौं,’उनले धर्मशास्त्रीय व्याख्या गरिन् ।
उनको बुझाइमा, अध्यात्मले हामी आत्मा हौं, भौतिक शरीर लिएर अस्थायी रूपमा बस्छौं । अन्तिम लक्ष्य भनेको अस्थायी धार्मिक अभ्यासभन्दा बाहिर जानु हो र कृष्णसँगको हाम्रो शाश्वत सम्बन्धलाई महसुस गरी साँचो शान्ति प्राप्त गर्नु हो । भन्छिन्, ‘म एक युवा भएकाले, म मेरा संगीहरूलाई जमिनमा बसेर ठूला सपना देख्न प्रोत्साहित गर्छु । जीवनको वास्तविक आधार भनेको हामी वास्तवमा को हौं भनेर जान्नु हो तर हामी यो भन्दा बढी छौं । आध्यात्मिकता ऐच्छिक छैन । यो जीवनको एक आवश्यक तत्व हो । यो सन्तुलनले हामीलाई हाम्रो परिवर्तनमा सहयोग गर्नेछ । हरे कृष्ण π’
निर्मला पनेरू अधिकारी (श्रीडी सत्य साई)
‘साईराम,’ कुरा सुरु नहुँदै निर्मला अधिकारीको मधुर स्वर गुञ्जियो । झापा धुलाबारीका स्व. पुष्पप्रसाद पनेरु तथा छुनादेवीका छ छोरी र दुई छोरामध्येकी एक हुन्, निर्मला । सानैदेखि नाचगानमा रुचि राख्ने उनी विद्यालयस्तरीय विविध कार्यक्रममा भाग लिन्थिन् । आमाले बिहान–बेलुका पूजा गर्दा उनी सहभागी हुन्थिन्, उनलाई पूजाआजा र भजन असाध्यै मन पर्थ्यो ।
उच्च शिक्षाका लागि काठमाडौं पसेकी उनी थेसिस बुझाउन नसक्दा त्रिविकीर्तिपुरबाट स्नातकोत्तर पूरा गर्न नसकेको बताउँछिन् । विवाहपछि छोरा जन्मिए । पछि छोराको रेखदेखमै दिन बित्न थाले । उनले छोरालाईस्कुल पढाउन थालिन् । ‘छोरा एकदिन बाहिर खेल्न निस्किँदा भीमसेनगोलाको सत्यसाई केन्द्रमा पुगेछ, जहाँ बालविकासको कक्षा हुँदोरहेछ । साईभजन, स्तोत्र, पाठमा ऊ रमाउन थालेछ । मलाई आएर दिनहुँ जान्छु भन्न थाल्यो,’ निर्मला भन्छिन्, ‘पहिले त अस्वीकार गर्यौं, उसले निकै कर गरेपछि के नै रैछ र जीवन भनेर पढाइदिएँ । दिन बित्दै जाँदा छोराले हामीलाई पढाउने भयो, मासु खानु हुँदैन, अरुलाई सहयोग गर्नुपर्छ, धर्तीका हरेक जीवात्माप्रति दया र करुणा हुनुपर्छ, के–के हो के–के π हरेक बिहान–बेलुका हामी मातापितालाई ढोग्न थाल्यो ।’
यस्तो देख्दा निर्मला दम्पती अचम्ममा परे । एकदिन छोराले आमालाई पनि साईभजनमा जान आग्रह गरे । छोराको कुरा टार्न नसकेकी निर्मला साथै लागेर गइन् । पहिलो दिन नै उनलाई विशेष अनुभूति भयो । साईभजनमा जाने क्रम बढ्दै गयो । त्यहाँ सुनेका भजनका वाणीहरूले उनमा अनौठो अनुभूति हुन थाल्यो । त्यहाँका सबै कुराले उनको ध्यान खिच्न थाल्यो । श्रीसत्यसाई बालविकास आध्यात्मिक शिक्षा कक्षामा हुने हरेक कृयाकलपाले स–साना बालबालिकाको ज्ञान, शिक्षा, अनुशासन, अध्यात्मलगायत चौतर्फी ज्ञानलाई समेट्ने गरिरहेको कुरा निर्मलाले गहिरिएर बुझिन् । ‘तब त मलाई कहिले पढाउने काम सकेर साईभजनमा सरिक होऊँ भन्ने हतार हुन थाल्यो, जहाँ म भित्रैदेखि शान्तिको अनुभव गर्थें । एकदिन हतार–हतार कक्षा सकेर हस्याङ–फस्याङ गर्दै साई केन्द्र पुग्दा त्यहाँका शिक्षकले बोलाएर ‘म्याम π हजुरले क्लास टिचरको जिम्मा लिनुपर्यो’ भन्नुभयो । म स्तब्ध भएँ । यो सबै साईबाबाको देन हो जस्तो लाग्यो र सहर्ष स्वीकार गरें,’ साईभक्त बन्नुको कारण खुलाउँदै निर्मला भन्छिन्, ‘त्यसदिनदेखि म श्रीसत्यसाई केन्द्र भीमसेनगोलामा सेवा गर्न पाइरहेकी छु । बाबामा ठूलो शक्ति छ । जसले भित्री आत्मादेखि नै उहाँको सेवा गर्छ भक्त हुन्छ, उहाँले आफ्नो भक्तको भलो गर्नुहुन्छ ।’
साईभक्त भएपछि आफूमा धेरै परिवर्तन आएको निर्मला बताउँछिन् । पहिले आफूलाई अरुसँग तुलना गर्ने, अरुजस्तै हुन खोज्ने उनको इच्छामा परिवर्तन आएको छ । अहिले उनी शुद्ध शाकाहारी भोजन प्रसादका रूपमा ग्रहण गर्छिन् । जस्तोसुकै दुःख–कष्ट आइपर्दा पनि आत्तिने बानी हराएको छ । उनी भन्छिन्,‘जति कठिनाइ आए पनि हावासँगै उडेर जान्छन् । बाबाले मलाई नडगमगाइकन अगाडि बढ्ने शक्ति दिनुभएको छ । जीवन जिउने कला, बाँच्ने आधार मलाई बाबाले नै प्रदान गर्नुभएको छ ।’
साई दर्शनले यो संसार एउटा रंगमञ्च मात्रै भएको र यसमा अभिनय गर्ने पात्र हामी हौं भन्नेमा विश्वास राख्छ । जीवन के हो ? जगत् के हो ? म को हुँ ? किन यहाँ आएँ ? भन्ने यथार्थ बोध गर्नमा साई दर्शनले स्पष्ट पार्ने निर्मलाको दावी छ । भगवान्को इच्छाविपरीत रुखको एउटा पात पनि हल्लिँदैन भन्ने बोध आफूलाई भएको उनी बताउँछिन् । जस्तोसुकै परिस्थितिमा पनि आफू विचलित नहुने शक्ति साईबाबाबाट प्राप्त गरेको निर्मलाको ठम्म्याइ छ ।
सन् १९२६ नोभेम्बर २३ मा दक्षिण भारतको आन्ध्रप्रदेशस्थित अनन्तपुर जिल्लाको पुट्टवर्ती नामक सानो गाउँमा जन्मिएका श्री सत्यसाईबाबाका जन्मनुअघिकै अनौठा लीला र रहस्य छन् । उनकी आमा ईश्वरम्बा इनारमा पानी भर्न जाँदा आकाशबाट एउटा नीलो चम्किलो पुञ्ज गर्भमा प्रवेश गरेको थियो भन्ने सुन्न र पढ्न पाइन्छ । तसर्थ उनको जन्म प्रसवबाट नभई प्रवेशबाट भएको मानिन्छ । जन्म मिति नजिकिँदै गर्दा घरमा भएका बाजाहरू आफैं बज्ने, जन्मेपछि झोलुंगोमा सुतिरहँदा शेषनागको भूमिका निर्वाह गरेको, सानैदेखि सबै प्राणीप्रति उदारभाव, शून्यबाट वस्तु सिर्जना गरी अनौठा र अलौलिक शक्ति प्रदर्शन गर्ने गरेका कथा साईबाबासँग जोडिएकाले नै उनी वास्तविक शक्तिशाली भगवान् भएको निर्मला बताउँछिन् । ‘मानवको कल्याण र उनीहरूको जीवनमा पूर्ण आनन्द सञ्चार गराउनु, दुःखीहरूको संकट निवारण गर्नु, उनीहरूको अभाव पूर्ति गर्नु नै मेरो कार्य हो भनेर बाबाले भन्नुभएको छ । आफ्नो कार्य अनन्त भएको र आफू ईश्वर प्राप्त गर्ने राजमार्ग मर्मत गर्न आएको बाबाले बताउनुभएको दिव्य उपदेशले मलाई भित्रैदेखि छोयो, जसको प्रभाव मेरो जीवनमा परिरहेको पनि छ,’ उनी भन्छिन् ।
प्रेम नै जीवन हो, प्रेमलाई सेवामा र सेवालाई पूजामा परिणत गरी ईश्वरसम्म पुग्ने बाटो तयार गर भन्ने साईबाबाको मार्गनिर्देशमा अहिले निर्मलाको जीवन खुसीपूर्वक बितिरहेको छ । धर्म शरीरसँग र अध्यात्म आत्मासँग सम्बन्धित भएको बताउने निर्मला धर्म सुतेको व्यक्तिका लागि हो भने अध्यात्म जान्नका लागि हो भन्ने तर्क प्रस्तुत गर्छिन् । धर्मले परिवार र समाज खुसी हुन्छ भने अध्यात्मले भगवान् खुसी हुनुहुन्छ भन्ने निर्मलाको बुझाइ छ । भन्छिन्,‘जीवन क्षणिक छ । कुन बेला कुन समय हाम्रो जीवन अन्त्य हुन्छ थाहा छैन । अतः समयमै निःस्वार्थ सेवा, करुणा, सहिष्णुता, क्षमाशीलता जस्ता गुणको पालना गर्दै जीवन सार्थक बनाऔं । हाम्रो अन्त्यकालमा हामीसँग जाने भनेका यिनै मात्र हुन् ।’