Successfully Copied

राष्ट्रसेवामा निरन्तर

सशस्त्र प्रहरी बल नेपालमा ३ प्रतिशत र नेपाल प्रहरीमा १२ प्रतिशत महिला कार्यरत छन् ।

नेपालमा ३७ हजार संख्यामा सशस्त्र प्रहरी रहेका छन् । त्यसमा करिब ३ प्रतिशत मात्र महिलाहरुको संख्या छ । महिलाको यो प्रतिशत करिब २३ बर्षको गणना हो । २०५९ असारदेखि सशस्त्र प्रहरी बल नेपालले महिला भर्ना सुरु गरेको हो । यस्तै नेपाल प्रहरीमा भने १२ प्रतिशत महिला कार्यरत छन् । सशस्त्र र प्रहरी संगठनमा जनपद, प्राबिधिक क्षेत्र तथा कार्यलय प्रमुखमा महिलाहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।

मीना कुँवर

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक

२१ बर्ष अगाडि सशस्त्र प्रहरी बलको सेवामा प्रवेश गरिन् मीना कुँवर। सशस्त्र प्रहरी निरिक्षकबाट प्रवेश गरेकी उनी तहगत बढुवा हुदै सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षको तहमा पुगेकी हुन् हाल उनी सशस्त्र प्रहरी अस्पतालको डेपुटी डाइरेक्टरको भूमिकामा छिन् । आँखा बिशेषज्ञ मीनाको भुमिका चिकित्सा सेवामा मात्र सिमित छैन ।

अस्पतालको प्रशासनिक कामदेखि महिलासम्बन्धी नीतिनियम र व्यवस्थापनमा उनी सक्रिय छिन् । पछिल्लो पुस्तालाई सहज वातावरण निर्माणका लगि आफू अग्रसर रहेको उनको भनाइ छ । उनको ब्याचमा सशस्त्र प्रहरी भर्ना हुने उनी एक्लो महिला थिइन् । पछिल्लो समय महिला सहभागिता बढेकामा उनलाई खुसी लाग्छ । ‘संख्यात्मक रुपमा सहभागिता त बढ्यो तर सामाजिक संरचनाले कार्यजिम्मेवारी निभाउन भने त्यति सहज छैन,’ उनी भन्छिन् ।

महिलालाई परिवार सम्हाल्नदेखि बच्चा रेखदेखसम्मको जिम्मेवारी आइपर्छ । त्यसकारण पनि महिलाहरु डबल करिअरमा संघर्ष गरिरहेको उनी बताउँछिन् । ‘काम गराइमा पुरुषहरुको लाइनमा पुग्नु छ भने अर्कातिर परिवारको जिम्मेवारी पनि उठाउनु छ,’ महिलाका सकसबारे उनी भन्छिन्, ‘परिवारमा कार्यको बाँडफाँट नहुने भएकाले पनि महिलाका लागि सहज वातावरण बन्न सकेको छैन ।’
मीना मेडिकल अफिसरका रुपमा सशस्त्र मा प्रवेश गरेकी हुन् ।

संगठनमा लैंगिकताका रुपमा होइन कर्मचारी भएर काम गर्नुपर्ने हुनाले महिलालाई प्रमाणित गर्न चुनौती हुने उनी बताउँछिन् । उनी शान्ति मिसनका लागि सन् २००३ मा लाइबेरिया र २०११ सुडान डार्फर पुगिन् । ‘शान्ति मिसनले महिलाका लागि राम्रो अवसर प्रदान गरेको छ, अन्तराष्ट्रिय व्यक्तिहरुसँग काम गर्दा धेरै सिक्ने मौका पाइन्छ,’ उनले अनुभव सुनाइन्, ‘यस्ता मिसनले परिस्थितिसँग कसरी जुध्ने त्यो सिकाउँछन् ।’

झुपाकुमारी पन्थी
सशस्त्र प्रहरी नायब उपरीक्षक

गुल्मकी झुपाकुमारी पन्थी काठमाडौं कीर्तिपुरमा बसेर स्नातकोत्तर पढ्दै थिइन् । त्यही बेला प्रहरीमा जागिर खुल्यो, ख्यालख्यालमै फाराम भरेर परीक्षा दिइन् । नाम निस्किएपछि स्वास्थ्य परीक्षण, अन्तर्वार्ता सबै तह पार गरेर तालिमका लागि पोखरा पुगिन् । तर, यतिन्जेल उनले घरका कसैलाई थाहा दिएकी थिइनन् । प्रहरीमा सिफारिस भएर पोखरा पुग्दा पनि घरमा भनेकी थिइनन् । अहिलेजस्तो हातहातमा मोबाइल थिएन । द्वन्द्वकालको बाछिटाले पनि उनलाई हल्ला गर्ने मुड भएन ।

प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकी उनले तालिम समन्वयदेखि लैंगिक इकाई हेरिरहेकी छन् । २०६४ को संविधानसभा निर्वाचनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी उनी ट्रेनरका रूपमा स्थापित भइसकेकी छन् । इन्चार्ज भएर कमान्ड सम्हाल्दा भने चुनौती आउने गरेको उनको अनुभव छ । ‘व्यक्तिगत रूपमा राम्रो काम गरे पनि अरुको जिम्मेवारी पनि आफै उठाउनुपर्दा समस्या आइलाग्छ,’ उनी भन्छिन्, ‘कमान्डर भएपछि अरुले गरेको राम्रो नराम्रो दुवैको जिम्मा लिनुपर्ने हुन्छ ।’

२० वर्षको कामको अनुभवमा उनका लागि सबैभन्दा धेरै समस्या सामना गर्नुपरेको समय हो २०७१ को साउथ सुडान मिसन । प्लाटुन कमान्डरका रूपमा उनी मिसन पुगेकी थिइन् । द्वन्द्वग्रस्त सुडानमा हिंसापीडित महिलादेखि अङ्गभङ्ग भएका व्यक्तिहरू थुप्रै थिए । फोन, नेटवर्क, खानेपानीदेखि शौचालयको समेत व्यवस्था राम्रो थिएन । मिसनका क्रममा झुपालाई मलेरिया भयो, उनी जटिल स्वास्थ्य अवस्थामा पुगिन् । फर्केर आउनु नपरोस् भनेर कामना गरेकी उनलाई जिम्मेवारीले फेरि त्यहीँ पुर्‍यायो । दोस्रो पटक पनि उनको मिसन सुडान थियो ।

फौजी भएर अगाडि बढ्न महिलाका लागि सहज अवस्था नरहेको उनी बताउँछिन् । बच्चाको हेरचाहदेखि परिवारको व्यवस्थापन गर्दै जागिर गर्नु नै महिलाका लागि युद्धजस्तै रहेको उनको बुझाइ छ । तर, समाजको सकारात्मक पक्षले भने उनलाई काम गर्ने ऊर्जा थपिरहन्छ । ‘महिला प्रहरीप्रति समाजको नजर सकारात्मक छ, जसले फिल्डमा खटिनदेखि जिम्मेवारी निभाउन ऊर्जा थपिदिन्छ,’ उनी भन्छिन् ।

रञ्जु सिग्देल
प्रहरी उपरिक्षक

केटीहरुलाई जिस्काउने, बेलुनले हान्ने जस्ता बुलिङ कलेज पढ्दा रञ्जु सिग्देलले खुब देखिन् । यस्ता गतिविधि उनलाई मन पर्दैनथ्यो । कलेजमा आफूहरु खुम्चिएर बसेको महसुस हुन्थ्यो । साथीहरुलाई पनि आडभरोसा दिन्थिन्, प्रतिकार गर्न सिकाउँथिन् । फिल्म हेर्दा पनि महिला प्रहरी उनको नजरमा पर्थे । बिएस्सीको रिजल्ट आउनु र प्रहरीमा भर्ना खुल्नु उनका लागि एकसाथ भइदियो । २०५८ सालबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट उनले सेवा थालिन् । हाल उनी प्रहरी उपरिक्षकको जिम्मेवारीमा छन् ।

प्रहरीमा गएर महिलामाथिको दुर्व्यवहार न्यूनीकरण भूमिका खेल्ने उनको इच्छा थियो । संयोगवश पहिलो पोस्टिङ भयो, केन्द्रिय महिला सेल (हालको महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालय) । त्यहाँ उनले घरेलु हिंसाबाट पीडित महिलाका अनुभव सुनिन् । देखेको र भोगेको भन्दा धेरै फरक वातावरण पाइन् उनले । उनलाई एउटै कुरामा गर्व छ, न्यायका लागि काम गरेँ । एक युवतीको जीवन परिवर्तन गरेको भने उही कहिल्यै बिर्सन्नन् । ‘सम्बन्धको तनावले मर्छु भनेर आएकी युवतीलाई सही काउन्सिलिङ गरे बाटो देखाइदिएँ, उसको सोचाइमै परिवर्तन आयो,’ उनले सुनाइन् ।

विभिन्न तहमा रहेर २३ वर्ष बिताइसकेकी रञ्जु हाल प्रहरी शिक्षालय महाराजगञ्जमा समावेशक हुन् । उनी उपत्यकाभरिका अधिकृत तहमुनिका प्रहरीलाई तालिम सञ्चालन गर्ने जिम्मेवारीमा छिन् ।
सशस्त्र संगठनले नै लैंगिकताका क्षेत्रमा काम गर्ने अवसर निर्माण गरेको उनको भनाइ छ । राष्ट्रिय अनुसन्धानका महिलाका लागि तालिमको कोर्स डिजाइनमा पनि उनको भूमिका छ । महिला सेलमा रहँदा उनले बालबालिकाविरुद्ध अपराध, मानव बेचबिखन, बाल न्याय प्रणाली, प्रहरी–जनता संयुक्त तालिम सञ्चालन गरिन् ।

ट्रेनिङ अफिसरका रुपमा उनी २०१६ मा साउथ सुडान पुगिन् । संयुक्त राष्ट्रसंघले मिसनमा जानुपूर्व फ्याक्ट चेक सञ्चालन गर्छ, जहाँ उनले कोचिङ सञ्चालन गरिन् । संगठनदेखि शान्ति मिसनमा महिलाले आफुलाई अब्बल र पुरुषसँग प्रतिस्पर्धीका रुपमा उतार्दै अगाडि बढे पनि महिलाप्रतिको दृष्टिकोण अझै परिवर्तन हुन नसकेको उनी बताउँछिन् । ‘हामीलाई प्रहरीभन्दा पनि महिला प्रहरी भनिन्छ, पुरुषलाई कहिल्यै पुरुष प्रहरी भनेको त सुनिन्न,’ उनी भन्छिन्, ‘तालिमले मात्र मानिसको सोचाइमा परिवर्तन नआउने भएकाले यसका लागि व्यवहार नै परिवर्तन गर्न आवश्यक छ ।’


दिप्ती कार्की
प्रहरी नायब उपरीक्षक

बुबा र दाइ नै प्रहरी भएकाले पनि दीप्ति कार्कीले जीवनको करिअर प्रहरी संगठनमै देखिन् । जहाँ बुबाको सरुवा हुन्थ्यो, त्यहीँ पुग्थिन् उनी । प्रहरीलाई नजिकबाट चिनिन्, र अठोट गरिन्, म पनि बुबा जस्तै बन्छु । २०६३ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट उनको जागिर सुरु भयो । त्यसबेला समावेशिता लागु थिएन । खुल्लाबाटै प्रतिस्पर्धामा आइपुगिन् । ५२ जना पुरुषमा २ जना मात्र महिला थिए । ‘अहिलेको जस्तो छुट्टै ब्यारेकको ब्यवस्था थिएन बाहिर खुल्ला जिवन बिताइरहेको म तालिमको दौरानमा त्यहाको बातावरणसंग घुलमिल हुन केहि असजिलो थियो’ अनुभव सुनाउदै उनी भन्छिन् ‘त्यसैले हामीलाई १० वटा ब्यारेक सारिएको थियो ।’

उनले चुनौती चिर्दै आफ्ना लागि आफै संघर्ष गर्दै संगठनमा १८ बर्ष बिताइसकिन् । हाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब उपरीक्षकका रूपमा कार्यरत छिन् ।  यसअघि उनले भक्तपुर जगाती बृत्तको कमाण्ड सम्हाल्दै अपराध महाशाखा, सिआइबी जस्ता अनुसन्धान बिभागमा पनि काम गर्ने अवसर पाइन् ।

 संगठनमा महिला सहभागिता बढ्दै जाँदा महिलामैत्री वातावरण विस्तार हुँदै गएको उनले देखेकी छन् । ‘महिलाको उपस्थिति जति धेरै बढ्दै जान्छ, संगठन पनि महिलाप्रति उत्तरदायी बन्दै जाने रहेछ,’ उनी भन्छिन्, ‘प्रहरीमा अहिलेको अवस्थालाई नियाल्दा लैगिंक नीति, महिलामैत्री बातावरण र सबैमा लैगिंक चेतनाको बिकास भएको छ । यो संगठनले निर्माण गरेको बलियो पक्ष हो ।’समाजका धेरैले अहिले महिला प्रहरीलाई रोलमोडलका रुपमा लिनु परिवर्तनको संज्ञा दिन्छिन् उनी । ‘२०६४ मा चुनावको दौरान पुग्दा केटी प्रहरी भनेर हेर्न आउनेको जमात थियो, अहिले त्यो अवस्था छैन । महिलालाई स्वीकार्ने परिस्थिति निर्माण भइसकेको छ,’ उनी भन्छिन् ।

शान्ति मिसनको अनुभवले पनि आत्मविश्वास बढ्दै गएको उनको बुझाइ छ । सन् २०१४ मा उनी लाइबेरिया शान्ति मिसन पुगेकी थिइन् । मिसन अनुभव वृत्ति विकास आर्थिक दृष्टिकोणले महत्वपुर्ण रहेको उनी बताउछिन् ।द्धन्द्धग्रस्त क्षेत्रमा होस् या सेवा प्रवाह गर्ने क्रममा महिला प्रहरीमाथि नै आशा बढी राख्ने गरेको उनको भनाई छ । महिलाले गर्न सक्छन्, उनीहरु पनि समाजको रोलमोडल बन्न सक्छन् भन्ने भावना छ, तर आशा गरेअनुशारको सेवा प्रवाह गर्न नसक्दा दुःख पनि लाग्छ उनलाई । 

परिवारसँगसँगै दोहोरो जिम्मेवारी निभाउनलाई पारिवारिक सहयोग नै महत्वपुर्ण ठान्छिन्, उनी । ‘महिलाले पारिवारिक सपोर्ट पाउन सके मात्र अगाडि बढ्न सक्छन् र समाजको रोल मोडलका रुपमा स्थापित हुन सक्छन्,’ उनी भन्छिन् ।

 Image