Successfully Copied

पुराण वाचनमा महिला आकर्षण

गुरुकुल शिक्षाले धेरै महिलालाई पुराण वाचिकाका रूपमा अगाडि बढाउन सहयोग गरिरहेको छ ।




नीलम लोककल्याणीको दैनिकी अरु बालबालिकाको भन्दा फरक छ । उनी बिहानै उठेर पूजापाठका साथमा भजन गर्छिन् र क्याम्पस जान्छिन् । क्याम्पसमा पनि अरु विद्यार्थीभन्दा भिन्न छन् । उनी पढाइमा मात्र सीमित छैनन्, हरेक क्रियाकलापमा सहभागी हुन्छिन् । ‘श्रीराम जानकी बालिका आश्रम’ को सुन्दर वातावरणले यो अवसर पाएकी छन् । उनले आधुनिक शिक्षा र गुरुकुल शिक्षालाई एकसाथ अगाडि बढाइरहेकी छन् । उनी यहाा सानै उमेरमा आइपुगिन् । उनलाई आफ्नो परिवार र घरबारे केही थाहा छैन । आमा कस्ती हुनुहुन्थ्यो, त्यो पनि उनलाई सम्झना छैन । उनलाई कसैले आश्रममा ल्याइदिए अनि उनी आश्रममै हुर्किइन् । बाहिरी दुनियाँमा उनी भिजेकी छैनन् । १६ वर्षकी उनले हाल ११ कक्षामा कम्प्युटर साइन्स अध्ययन गरिरहेकी छन् । उनी पढाइमा मात्र सीमित नभएर पूजा पनि गराउँछिन् । उनले भागवतमा उपवाचिकाको भूमिका पनि निर्वाह गरिसकेकी छन् । गुरुकुलको शिक्षा र बाहिरी शिक्षामा बिल्कुल फरक रहेको उनको अनुभव छ । गुरुकुल शिक्षाले बाहिरी दुनियाँमा भिज्न र काम गराउन सहयोग गरेको उनले बताइन् । गुरुकुल शिक्षाले उनलाई धेरै कुरा सिकाएको छ । धर्म–संस्कृतिसागै उनले राम्रो संस्कार पनि सिकेको बताउँछिन् । उनी भन्छिन्, ‘संस्कृत गुरुकुल शिक्षा हाम्रा लागि निकै उपयोगी हुने रहेछ, यसले मानिसलाई सभ्य र संस्कारी बनाउन सहयोग गर्दाे रहेछ ।’


पहिले महिलाहरूले कर्मकाण्ड एवं पूजापाठ गर्नुहुँदैन । वेद र पुराणहरू वाचन गर्नुहुँदैन भन्ने मान्यता थियो । समय परिवर्तनसँगै यी भाष्यहरू पनि परिवर्तन हुादै गएका छन् । महिलाहरू पनि पुराण वाचनदेखि कर्मकाण्डमा सहभागी हुँदै गएका छन् । महिलाहरूलाई हेर्ने दृष्टिकोण फरक भएको छ । तर पनि सीमित संख्यामा मात्र महिलाहरू वाचिकाका रूपमा अगाडि बढेका छन् । गुरुकुल शिक्षाले धेरै महिलालाई वाचिकाका रूपमा अगाडि बढाउन सहयोग गरिरहेको छ । अहिले संस्कृत पढेर उदाहरण हुन थालेका छन् गुरुकुलका विद्यार्थीहरू । राधिका लोककल्याणीले भागवतकै उपवाचिकाको भूमिका निभाइसकेकी छिन् । पुरुषलाई भन्दा महिलाहरूलाई अझ बढी सम्मान मिल्न थालेको उनको भनाइ छ । उनी भन्छिन्, ‘अहिले महिलाहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक छ, महिलाहरूले पुराण वाचन गर्ने कुरा सुनेपछि धेरै मानिस खुसी भएर आउँछन् ।’ कर्मकाण्ड र पुराण वाचनले उनलाई धेरै सहयोग भएको छ । काम गरेको पारिश्रमिक तोकिएको हुँदैन । भक्तजनहरूले आफ्नो इच्छानुसार दिएको दक्षिणा स्वीकार गर्ने उनी बताउँछिन् । धादिङकी उनलाई परिवारको सम्झना आउँदैन गुरुकुल नै उनका लागि परिवार बनेको छ । १६ वर्षीया उनले शास्त्री प्रथम वर्षमा अध्ययन गरिरहेकी छन् । सानैदेखि संस्कृत पढेकाले उनले बालिका आश्रममा बसेर कलेजमा संस्कृत नै पढिन् । छ वर्षको उमेरमा आश्रममा आइपुगेकी उनलाई वाचिकाका रूपमा स्थापित हुनु छ । संस्कृत पढेर पुराण गरेर समाजलाई सभ्य र सम्मानजनक शिक्षा प्रदान पर्ने उनको इच्छा छ ।


छ वर्षको उमेरमै सोही आश्रममा आइपुगिन् सुनीता लोककल्याणी । उनलाई आमाले नै ल्याएर राखिदिएकी हुन् । काठमाडौंका आश्रममबाट उनी चितवन पुगेकी हुन् । अहिले उनी शास्त्री दोस्रो वर्षमा अध्ययन गरिरहेकी छन् । उनलाई गुरुकुलीय संस्कृत शिक्षाले जीवन निर्वाहमा सहज हुने विश्वास लाग्छ । उनी पनि साथीहरूसँग थुप्रै ठाउँमा कर्मकाण्डमा पुगेकी छन् । सामाजिक सञ्जालमा देखेर पनि उनीहरूलाई बोलाउनेहरूको संख्या बढेको बताउँछिन् उनी । भन्छिन्, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि हामीलाई धेरैले हेरेर बोलाउँछन् ।’ गुरुकुलमा पढाइबाहेक थुप्रै क्रियाकलाप हुन्छन् । नाच, गान, संगीत एवं भजन सबैमा सहभागी हुन पाउँदा बौद्धिक स्तर पनि बढ्ने उनको भनाइ छ । पछिल्लो समय विकृति र विसंगति बढ्दै गएको उनले देखेकी छन् ।अरुको संस्कृति हाबी भएकाले पनि यस्तो भएको उनको भनाइ छ ।

दुर्गा पराजुलीले तनहुँस्थित ‘मा कल्याणी वैदिक कन्या गुरुकुलम्’ मा कक्षा नौमा अध्ययन गरिरहेकी छन् । उनलाई संस्कृत पढ्नका लागि आमाले प्रोत्साहित गरेकी हुन् । भजन, सगीत एवं नृत्यदेखि हरेक कुरामा संलग्न हुन पाइने भएकाले पनि उनी खुसी भइन् । तर उनले सोचेजस्तो सहज थिएन संस्कृत पढ्नलाई । छ कक्षामा उनी भर्ना भइन् । न उच्चारण गर्न सक्थिन् नत उनले जिब्रो फड्काउन । उनले भनिन्, ‘संस्कृत पढ्न निकै कठिन हुने रहेछ, उच्चारण गर्न र बुझ्न कठिन थियो ।’ १८ वर्षीया पराजुली रुद्री पूजाका साथमा अरू पूजा पनि गराउँछिन् । अब उनलाई आचार्य पढेर वाचिका हुनु छ ।
दुर्गा थापालाई पनि संस्कृत भाषा जान्न र बुझ्न मन लग्यो । त्यसैले उनले छ कक्षादेखि कालिका विद्यापीठमा अध्ययन गर्न थालेकी हुन् । १६ वर्षीया दुर्गा थापालाई सुरुवाती समयमा आश्रममा बस्न केही कठिन महसुस भयो । उनले भनिन्, ‘माछामासु खान नपाइने गुरुकुलमा अनुशासनमा बस्नुपर्ने भएकाले केही कठिन भएको थियो, बिस्तारै बानी पर्दै गयो ।’ आश्रमको वातावरण उनलाई रमाइलो लाग्दै गयो । अहिले उनका परिवारमा पनि संस्कृत मोह बढ्दै गएको छ । उनका काकाकी छोरी बहिनीहरू पनि सोही आश्रममा आएका छन् । उनलाई बहिनीहरूसँग पढ्न र आश्रममा बस्दा परिवार आश्रमझैं लाग्छ । उनले पढेर असल वाचिका बन्ने सपना बुनेकी छन् । आश्रमको बसाइले उनी धेरै अनुशासित भएकी छन् । उनी घर जाँदा होस् वा बाहिर जाँदा नित्यकर्म गर्नेदेखि पूजापाठमा सधै अग्रसर हुन्छिन् ।

सुप्रियाचौलागाँई पनि कक्षा आठमा संस्कृत पढ्छिन् । काभ्रेपलाञ्चोककी उनकी आमाले आश्रममा पुर्‍याएकी हुन् । आमाले मोबाइलमा थाहा पाएर गुरुकुलमा उनलाई भर्ना गरिदिएकी हुन् । नयाँ भाषा सिक्ने र नयाँ ठाउँमा पुग्ने उत्साहका साथ आश्रममा आइपुगेकी हुन् । उनीसँगै उनकी बहिनी पनि त्यही आश्रममा आइपुगिन् । बहिनी तीन कक्षामा अध्ययन गरिरहेकी छन् । गाउँको विद्यालयमा अध्ययन गरेको भए यति अवसर प्राप्त हुँदैनथ्यो । उनी भन्छिन्, ‘यहाँ धेरै कुराको अवसर हुने रहेछ ।’ उनलाई पनि भविष्यमा कथावाचिका बन्नु छ ।

समाज सकारात्मक हुँदैछ -रामेश्वर खनाल महासचिव ,लोककल्याण सेवा प्रतिष्ठान
लोककल्याण सेवा प्रतिष्ठानको अवधारणा २०६७ सालदेखि सुरुवात भएको हो । यस प्रतिष्ठानअन्तर्गत ‘श्रीराम जानकी बालिका आश्रम’ सञ्चाल भएको छ । हाल यहाँ ३७ जना चेली छन् । यसको मुख्य उद्देश्य चेलीहरूलाई सक्षम बनाउनु हो । यहाँ आर्थिक अवस्था कमजोर भएका परिवारका चेलीहरूदेखि परिवारको पहिचान नभएका चेलीहरूलाई उद्धार गरेर अध्यापन गराइरहेका छौं । सिस्नुको झ्याङदेखि फोहोरको कन्टेनरमा फालिएका चेलीहरूले यहाँ आश्रय पाएका छन् । उनीहरू आश्रमको अनुशासनमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरूको पहिचानलाई पनि हामीले आश्रमबाट चिनाउने गरेका छौं । पहिचान नखुलेर नागरिकता बन्न नसकेको अवस्थामा नागरिकता पनि आश्रमबाटै बनाउने व्यवस्था गरेका छौं । यहाँ आश्रित चेलीहरूले दैनिक कर्मकाण्डदेखि भागवत वाचिकामा आफूलाई अगाडि बढाउँदै लगेका छन् । पितृसत्तात्मक समाजमा अझै पनि महिलाहरूलाई सहज छैन तर पनि केही हदसम्म सकारात्मक हुन थालेको पाइन्छ । महिलाहरूलाई खोज्नेहरूको समूह पनि बढ्दै गएको छ । यसले के देखाउँछ भने परिवर्तन बिस्तारै हुन्छ ।

संस्कृत शिक्षाले चौतर्फी विकास -राधिका देवी क्षेत्री प्राध्यापक ‘मा कल्याणी वैदिक कन्या गुरुकुलम्
२०७७ सालदेखि यहाँ संस्कृतको पढाइ सुरु भएको हो । हाल नौ कक्षासम्म अध्यापन हुन्छ । ३६ जना चेली यहाँ अध्ययन गरिरहेका छन् । यहाँ पूर्वदेखि–पश्चिम र उत्तर–दक्षिण सबैतिरका आठ वर्षदेखि १७ वर्षसम्मका चेलीहरू छन् । उनीहरू धेरैलाई अभिभावकले ल्याएर पढाइरहेका छन् । धर्म–संस्कृति बुझेर छोरीहरू सुरक्षित हुन्छन् भन्ने सोचाइले पनि अभिभावकहरूले चेलीहरूलाई यहाँ पठाउँछन् । यहाँ पढ्ने चेलीहरूले पूजाआजा पनि गराउँछन् । आश्रमको बसाइले चेलीहरूको चौतर्फी विकास भएको छ ।

 Image