विशिष्ट हावापानी, सिमसार र घाँसेमैदान भएको कोशीटप्पु वन्यजन्तु आरक्षका चिनारी थुप्रै छन् । नेपालकै अति दुर्लभ मानिएको अर्ना (जंगली भैंसी) लगायत वन्यजन्तु तथा करिब पाँच सय प्रजातिका चराचुरुङ्गीको घर । हिउँदमा विदेशी पाहुना चराको मुख्य गन्तव्य । घडियाल, मगरगोही, सोस र अन्य थुप्रै जलचर पाइने ठाउँ । महेन्द्र राजमार्ग भएर पूर्वी नेपालबाट पश्चिम लाग्दै गर्दा कोशी ब्यारेजदेखि ठीक दायाँतिर सप्तकोशी नदीले बनाएको टापुमा (१७५ वर्ग किमि) फैलिएको यस आरक्षका सिमसार र घाँसेमैदान स्थानीय परम्परागत ज्ञानका केन्द्र पनि हुन् । मध्यवर्तीमा पर्ने सुनसरीको कोशी गाउँपालिका–३ कुशाहामा सदियौंदेखि बसोबास गर्दै आएका सरदार समुदाय आरक्षमा पाइने पटेर प्रजातिको घाँसबाट हस्तकलाका सामग्री बिक्री गरेर जीविका चलाउँदै आएका छन् । पटेर, रानी पटेर, मोथी, जलकुम्भी यहाँ पाइने मुख्य कच्चापदार्थ हुन् । सरदार समुदाय नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारु जातिअन्तर्गत अल्पसंख्यकमा पर्छन् । उनीहरूमा पुस्तौंदेखि परम्परागत कला, ज्ञान र सीपमा आधारित घरैको तानमा सुकुल, गुन्द्री, कुसन बुन्ने अभ्यास छ । ५७ वर्षीय उग्रनारायण सरदारका अनुसार कुशाहामा सय परिवारजति सरदार समुदाय छन् । उनीहरू सबैको गरिखाने जग्गा छैन ।
                              
                  ![]() 
                                   
                                 ‘जग्गा हुनेको पनि घरमा खानलाई चामल फलाएर मात्रै हुँदैन, सागसब्जी एवं  मासु आदि किन्नुपर्यो,’ उनले भने, ‘त्यही भएर पटेरको काम नगरेर जीविका  चलाउन गाह्रो हुन्छ, यो हाम्रो पेसाजस्तै हो ।’  सरदार समुदायका अधिकांश  पुरुषले निर्माण क्षेत्रमा मजदुरी गर्छन् । महिलाघरायसी काम गर्छन् ।  मेलापात र मजदुरीमा जान्छन् । बचेको समय रातमा पटेर बुन्छन् । पटेर  सामग्रीको काममा महिलाप्रत्यक्ष जोडिएका हुन्छन् भने पुरुषहरूको समेत  संलग्नता हुन्छ ।    यो रैथाने ज्ञान दशकयता भने बजारीकरणमा जोडिएपछि माग  समेत बढेको छ । यो समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्याएको छ । आरक्ष  संरक्षण र पर्यापर्यटन प्रवर्द्धनमा काम गर्दै आएको राष्ट्रिय प्रकृति  संरक्षण कोष र काठमाडौंस्थित नेपाल नँट्क्राफ्ट सेन्टर संस्थाले १५ वर्षअघि  समुदायका महिलालाई सिमसारबाट गुणस्तरीय कच्चा सामग्री संकलन गर्न,  परम्परागत ज्ञानको प्रयोग गरेर संकलित कच्चा सामग्रीको प्रशोधन गर्न,  बुट्टेदार बनाएर आकर्षक र थरीथरीका सामग्रीबनाउने सीप र क्षमताको विकास  गर्ने तालिम प्रदान गर्न सुरुवात गरेपछि बजारीकरणमा जोडिएका छन् । सीप  विकास, प्रवर्द्धन र अर्थोपार्जनमा सघाउन कोशीटप्पु सिमसार बहुउद्देश्यीय  सहकारीको स्थापना गरेर महिलाहरूलाई संगठित गरिएको छ । पटेर प्रशोधन तथा  बजारीकरण समिति छ । फलामका तानहरूको व्यवस्था गरिदिएर महिलाहरू एकैठाउँ  जुटेर बुन्ने व्यवस्था पनि छ । यसैगरी गत असोजबाट उत्पादित हस्तकलाको  प्रदर्शनी कक्ष (चिनो घर) पनि सञ्चालनमा छ । चिनो घर वर्ड लाइफ इन्टरनेसनल  संस्थाको सहयोगमा निर्माण गरिएको थियो । 
तालिम पाएदेखि स्थानीयले  ढकिया, डालो, झोला, टोपी, सजावटका विभिन्न सामग्री बुन्छन् । चिनो घरमा  राखिएका हस्तकला सुनसरी, उदयपुर र सप्तरी जिल्लाको सीमामा पर्ने आरक्षमा  घुम्न आएका पर्यटकले कोसेली स्वरूप लैजान्छन् । उत्पादित सामग्री  नँट्क्राफ्ट सेन्टरको समन्वयमा काठमाडौं र विदेशमा पनि निर्यात हुन  थालेकोनँट्क्राफ्ट सेन्टरकी प्रमुख कार्यकारी अधिकृत माया राईले बताइन् ।  
 
                              
                  ![]() 
                                   
                                कलिलोमा  घाँसका लागि प्रयोग हुने पटेर छिप्पिएपछि हस्तकला सामग्री  बुन्ने  कच्चापदार्थ हुने गर्छ । कुशाहामा जेठ र मंसिरलाई पटेर काट्ने  सिजनका रूपमा  मानिन्छ । त्यसलाई सुकाएर घरमा ल्याएपछि सफा गरेर  मागअनुसारको सामग्री  बुन्छन् । तालिम पाएदेखि बुट्टेदार बनाउन पटेरमा रङ  लगाउँछन् । यसका लागि  पटनाबाट रङ ल्याएर आगोमा पटेरसँगै पकाउँछन् ।  ‘काठमाडौंबाट तालिम दिनेहरू  आएर थरीथरीको बुन्न सिकायो,’ हेरालुसमेत रहेका  उग्रनारायणले भने, ‘पहिले  आफै बजार लिएर जान्थ्यौं भने अहिले अर्डर आउँछ  एकैपटकमा सय/पाँच सय वटा माग  आउँछ, बरु अर्डर पुर्याउन गाह्रो हुन्छ ।’  अर्डरमार्फत बेच्दा पैसा पाउन  ढिलाइ हुने भएकाले स्थानीयले हाटबजारमा नै  पुगेर बेच्न रुचाउने गरेकाले पनि  माग पुर्याउन नसकिरहेको बताए । 
घरैघरै  किन्न आउने ग्राहक पनि  पाइन्छन् । गत पुसको कठ्याङ्ग्रिने एक बिहान ५६  वर्षीय कालु सरदार र ५३  वर्षीया राजो सरदारको घरैमा एक ग्राहक पटेरको  गुन्द्री किन्न आइपुगेका थिए ।  हिउँदमा पटेरको गुन्द्री न्यायो हुने,  पर्यटकहरूले बस्न रुचाउने र किन्न  पनि सस्तो हुने भएकाले स्थानीय होटल,  रेस्टुरेन्ट, होमस्टेले खरिद गर्छन् ।  गाउँमा एउटा गुन्द्रीको तीन सय  रुपैयाँका दरले बिक्री हुन्छ । झट्ट हेर्दा  झन्झटिलो र कमाइ थोरै लाग्ने  भए पनि जानेको सीप आयस्रोतसँग जोडिँदा  जीविकोपार्जनमा सघाउ पुगेको छ ।  ‘हजुरआमा, आमा पुस्ताले छोरी, बुहारीहरूलाई  बुन्न सिकाउने, उनीहरूले नयाँ  पुस्तालाई यसरी गर्दै बेचेर घरखर्च चलाउने  गर्दै आयौं,’ राजोले भनिन् । 
                              
                  ![]() 
                                   
                                उनीहरूको  बस्ने घरबाहेक खेती गर्ने  जमिन छैन । गत असोजमा घरैमा खाना   खाएर सुतेका  छोरा पनि बितेपछि उनले तीन  वर्षअघि खाडी मुलुकको कमाइबाट  हालेको जग र  पिल्लर मात्रै छ । कालु र राजो  पिल्लरमा पटेर, घाँस, बाँसले  बेरेर ओत  लाग्दै आएका छन् । ‘छोरो सहारा बन्ला  भन्ने थियो, छोडेर गइगयो,  अब यही  पटेरबाहेक अरु गरिखाने उपाय पनि छैन,’  कालुले भने । 
स्थानीय  समुदायमा  आम्दानीको अवसर बनेको पटेर हस्तकला  जलकुम्भी जस्ता मिचाहा  प्रजातिका  वनस्पतिहरूको सदुपयोगको माध्यम बनेको  राष्ट्रिय प्रकृति  संरक्षण कोष, कोशी  संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र  गौतमले बताउँछन् ।  आरक्षले समेत  मध्यवर्तीका महिलालाई आयआर्जनमा प्रोत्साहन  गर्दै आएको छ ।  ‘संरक्षित  क्षेत्रमा वर्षको एकपटक मात्रै खडखडाइ काट्न  पाउने भनेर  कानुनी व्यवस्थाले  भन्छ, यहाँ पटेरमा महिलाकै बढी संलग्नता हुने  भएकाले  उनीहरूकै आर्थिक  उन्नति होस् भनेर बाह्रै महिना काट्न दिन्छौं,’  आरक्ष  कार्यालयका वरिष्ठ  संरक्षण अधिकृत रामदेव चौधरीले भने, ‘ओसार्ने बेला   टेम्पो लिएर जानुपर्ने  हुँदा खर्च हुने गरेको छ भन्ने कुरा आएपछि दुई–तीन   ट्याक्टर पुग्नेगरी खबर  गर्नुहोस्  । हामी निःशुल्क ढुवानी गरिदिन्छौं  पनि  भनेका छौं,’ उनले थपे ।
                              
                  ![]() 
                                   
                              
                  ![]()