Successfully Copied

सेयरमा सबल महिला

धेरै महिला सेयर बजारलाई नै मुख्य पेसा बनाएर अगाडि बढिरहेका छन् । आफ्नो क्षमतानुसार सेयरमा लगानी गर्न सके आर्थिक रूपमा सबल हुन सकिने उनीहरू बताउँछन् ।



पछिल्लो समय सेयर मार्केटमा महिला लगानीकर्ताको उपस्थिति बढ्दो छ । घरायसी काम सकेर अनलाइनमार्फत नै कारोबार गर्न सकिने भएकाले पनि उनीहरूको आकर्षण बढेको जानकार बताउँछन् । ११ बजे खुलेर ३ बजे बन्द हुने भएकाले पनि घरायसी काम गर्ने महिलालाई सहज भएको छ । सानो पुँजीबाट ठूलो रकम बनाउन सकिने भएकाले महिला लगानीकर्ता उत्साहित भएको पाइन्छ । धेरै महिला सेयर बजारलाई नै मुख्य पेसा बनाएर अगाडि बढिरहेका छन् । आफ्नो क्षमतानुसार सेयरमा लगानी गर्न सके आर्थिक रूपमा सबल हुन सकिने उनीहरू बताउँछन् ।

जोखिम उठाउन ज्ञान आवश्यक
पूजा भट्टराई सापकोटा

पूजा भट्टराई सापकोटालाई आफ्ना लागि केही गर्नुपर्छ र आत्मनिर्भर हुनुपर्छ भन्ने हुटहुटी भइरहन्थ्थो । जागिर खाएर आर्थिक उन्नति हुन सक्दैन भन्ने सोच पनि उनमा विकास भएको थियो । उनका ठूला सपनाका अगाडि जागिर सानो देख्थिन् । जागिर नखाने तर केही गर्ने सोचले उनी सेयर बजारमा प्रवेश गरेकी हुन् । बजारमा प्रवेश गरेको पनि १६ वर्षभन्दा बढी भइसक्यो । दुई छोरी विद्यालय पठाएर उनी सेयर बजारमा जान थालेकी हुन् । केही नयाँ काम गर्ने जाँगर बोकेर उनी ब्रोकर हाउस पुग्थिन् र कुहिरोमा हराएको कागजस्तै बन्थिन् । उनले भनिन्, ‘सेयर बजार मेरा लागि एकदमै नौलो थियो, यहाँ कसरी कारोबार हुन्छ, बजार कस्तो छ, पैसा कसरी कमाइ हुन्छ, यस विषयमा पूरै अञ्जान थिएँ ।’
गोर्खा विकास बैंकको आइपीओबाट उनको लगानी यात्रा सुरु भएको हो । सुरुवाती समयमा उनको सामूहिक लगानी थियो, त्यो पनि छिमेकीले भनेका भरमा । ४० जनाको नाममा रहेको सुरुवाती सेयरको मूल्यले राम्रो आम्दानी गर्‍यो । उनलाई लागेको थियो–साँच्चै सेयरबाट छोटो समयमै राम्रो आम्दानी हुने रहेछ । मूल्य बुझ्न भने उनी पत्रपत्रिका पढ्नेदेखि लगानीकर्ताहरूको अन्तर्वार्ता सुन्ने गर्थिन् । सेयरबारे उनको कौतूहल पनि बढ्न थाल्यो । एउटी दिदीको साथीका रूपमा उनी पाँच लाख रुपैयाँ बोकेर ब्रोकर हाउस पुगिन् । दिदीकै सल्लाहमा सेयर किनिन् । ब्रोकर हाउसमा करोडौंभन्दा कमको कुरा कसैको थिएन । उनलाई हीनताबोध पनि भयो यति सानो पैसाले के गर्ने ? उनले भनिन्, ‘ब्रोकर हाउसमा त करोडौंको कुरा हुँदो रहेछ मलाई अचम्म लाग्थ्यो यत्रो पैसा मानिसहरूले कहाँबाट ल्याउँछन् म त पैसाको संसारमा आएजस्तो महसुस भयो ।’ स्क्रिनमा सिम्बोलहरू पढ्न र बुझ्न थालिन् । १–२ महिनासम्म सेयर बुझिन् र लगानी बढाउन थालिन् । ऋण र धन जोडेर छोटो समयमै ५० लाख रुपैयाँ लगानी गरिन् । ६ महिनामा लगानी १ करोड ५० लाख पुग्यो । उनलाई लाग्थ्यो– पैसाको जादु हुने ठाउँ हो, सेयर बजार । जति लगानी उति फाइदा । उनले लगानी गरेपछि बजार घटेको थिएन । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले जब ‘सेयर बजार जुवा घर’ हो अभिव्यक्ति दिए, तब सेयर बजार घट्न थाल्यो । पूजाले त्यतिबेला थाहा पाइन्, सेयर बढ्ने मात्र होइन घट्दो पनि रहेछ । उनको पोर्टफोलियो १२ लाखमा आइपुग्यो । उनमा बेचैनी बढ्न थाल्यो । कति दिन निद्रा लागेन । उनी भन्छिन्, ‘सेयर बजार घटेको पहिलोपटक थाहा पाएकी थिएँ, घट्दा पनि यसरी घट्ला भन्ने कहिल्यै सोचेकी थिएन ।’सेयरलाई माथि उठाउन पुनः ऋण लिइन् । परिवारलाई भनिनन् र एक्लै आँट गरिन् । साथीभाइको सल्लाहमा ब्रोकरको ग्यारेन्टीमा बैंकबाट ७० देखि ९० प्रतिशतसम्म ऋण पाइन्थ्यो । त्यसबेला माथि उठ्नका लागि उनले करोडभन्दा बढी ऋण लिइन् । बजार बुझ्दै गइन् । साथीभाइको सल्लाह लिइन् र आफ्नो डुबेको पैसा माथि उठाइन् । २० प्रतिशत माथि बोनस दिने कम्पनीहरूमा लगानी गरिन् । ऋण लिनासाथ बजार बढ्न थाल्यो । आफूमा भएको आँट र आत्मविश्वासका कारण उनले ६ महिनामै ऋण तिरेर लगानी सुधारिसकेकी थिइन् । उनले भनिन्, ‘जोखिम लिन सके कमाउन पनि सकिन्छ भन्ने बुझाइ थियो । त्यसबेला करोडमाथि ऋण लिएर जोखिम लिएकी थिएँ ।’ लगानी गरेका कम्पनीहरूको टार्गेट राखेर उनले कारोबार गरिन् ।
सेयर मार्केटमा धेरै लोभ गर्‍यो भने लगानी डुब्ने डर हुने उनी बताउँछिन् । थोरै नाफा राखेर उनी बजारमा रमाउन थालिन् । डुबिसकेको लगानी उठाएर राम्रो आम्दानीसहित उनले ०७२ मा सम्पूर्ण सेयर बेचिन्, पुनः सेयर मार्केटमा प्रवेश गरिन् । छोटो समयमा आफूले सेयर मार्केटबाट राम्रो आम्दानी गरेको उनको अनुभव छ । घरजग्गामा लगानी गरिन् । सेयर बजारले उनलाई आर्थिक रूपमा समृद्ध बनाएको छ । यसमा निश्चित टार्गेट राखेर कारोबार गर्न सकेमात्र सफल हुन सकिने उनको भनाइ छ । सेयर मार्केटले कतिबेला जोखिम लिने भनेर पनि जान्नुपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘सेयर बजारलाई बुझेर कारोबार गर्न सकेमा आर्थिक रूपमा समृद्ध र सफल हुन सकिन्छ ।’


आर्थिक आत्मनिर्भरको पाटो
दुर्गा तिवारी

आजभन्दा १७ वर्षअघि लोकसेवा तयारीमा जुटेकी थिइन्–दुर्गा तिवारी । तीन पटकसम्मको प्रयासमा पनि उनी सफल हुन सकिनन् । त्यतिबेला रवीन्द्र भट्टराईद्वारा सेयरको तालिम हुने सूचना पाइन् । १० दिनको तालिमले उनलाई सेयर बजार बुझायो । सुरुवाती समयमै उनको प्रवेश दोस्रो बजारबाट भयो । पाँच लाख लगानीमा थुप्रै कम्पनीमा सानो लगानी गरिन् । त्यसबेला कहिले बजार बढ्थ्यो, कहिले घट्थ्यो । उनलाई त्यसले केही प्रभाव पार्दैनथ्यो । सेयरमा पैसा हाल्थिन् चुपचाप बस्थिन् । यो क्रम तीन वर्षसम्म चलिरह्यो । उनी प्रवेश गर्दा बजार घट्दो दरमा रहेछ । त्यसबेला उनको पोर्टफोलियो ३० प्रतिशत मात्र बाँकी थियो । उनले भनिन्, ‘सेयर बेच्नुपर्छ भनेर जानकारी नै थिएन, लगानी घट्छ भनेर पनि थाहा पाइनँ । पोर्टफोलियो ३० प्रतिशत मात्र बाँकी हुदा पो थाहा पाएँ ।’ पैसा डुबेको महसुस भएपछि उनलाई सेयर बुझ्न उत्सुकता जाग्यो । सिक्नुपर्छ भन्ने हुटहुटीले सेयर बेच्न थालिन् । ब्रोकरकहाँ हरेक दिन पुग्थिन् । त्यसबेला सेयर बेच्न कि ब्रोकरकहाँ पुग्नुपर्थ्यो, नभए फोन गरेर सेयर कारोबार हुन्थ्यो । उनी भन्छिन्, ‘सेयर बजारमा त्यसबेला यतिसम्म हुन्थ्यो कि राम्रो कम्पनीको सेयर खुल्नुअगाडि नै बुक भइसक्थ्यो । सानो लगानीकर्ताले किन्न सक्ने स्थिति थिएन ।’
१०–२० रुपैयाँ नाफा लिएर उनी सक्रियताका साथ सेयर बेच्न थालिन् । सेयर किन्न होस् वा बेच्न, कम्पनीको वित्तीय अवस्था, रेसियोजस्ता आधारभूत कुरा हेर्नुपर्छ भनेर उनले बुझेकी थिइन् । तर, बजार प्रवेश गरेपछि उनी फरक अवस्थामा पाइन् । कम्पनीको अवस्थाले मात्र बजारलाई प्रभाव नपार्ने रहेछ । बजारमा किनबेच गर्दा बजारको टेन्ड्रअनुसार पनि चल्नुपर्ने उनले अनुभव गरिन् । ‘सेयर कारोबार गर्दा बजारको ट्रेन्डलाई पनि पछ्याउनुपर्ने रहेछ । कम्पनीको अवस्था राम्रो हुँदा पनि नचलेको अवस्था छ,’ उनी भन्छिन्, ‘अहिले कुन सेक्टरमा ट्रेन्ड छ, त्यसलाई पछ्याउन सक्नुपर्ने रहेछ ।’ परिवार र श्रीमान्को साथ भएमा सेयरबजारबाट राम्रो आम्दानी गर्न सकिने उनी बताउँछिन् । महिलासँग पर्याप्त पैसा नहुन सक्छ, बजारमा प्रवेश गर्न ऋणका लागि पनि परिवारको सहयोग भए सहज हुने उनको भनाइ छ । सानो पुँजीबाट पनि महिला आर्थिक आत्मनिर्भर बन्न सहज हुने भएकाले सेयर बजार उपयोगी हुने उनको अनुभव छ ।
उनका अनुसार बजारलाई नेगेटिभ रूपमा पनि हेर्ने चलन छ । आम्दानी डुब्छ, घरजग्गा डुब्छ भन्ने ट्रेन्ड अझै छ । यसले गर्दा महिलालाई परिवारको साथ भएमा सहज भयो । पछिल्लो समयमा संख्यात्मक रूपमा सेयर बजारमा महिलाको संख्या बढ्दै गए पनि गुणात्मक हिसाबले अगाडि बढ्न नसकेको उनी बताउँछिन् । उनका अनुसार सेयर बजारमा ४२ प्रतिशत महिला भएको तथ्यांक छ । तर सक्रिय कति छन् भन्ने कुरा ठूलो रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘संख्यात्मक रूपमा यो तथ्यांक राम्रो हो तर परिणात्मक रूपले सक्रिय हुन सकेका छैनन् । संख्यालाई हेरेर चित्त बुझाउने अवस्था निर्माण भइसकेको छैन ।’
सेयर बजारमा उनी सफल लगानीकर्ता हुन् । यसमा उनका श्रीमान्को पनि सहयोग छ । सुरुवाती समयमा घाटा खाए पनि सेयर बजारबाट उनले राम्रो आम्दानी गर्न सकेको उनी बताउँछिन् । कम्पनीलाई घाटामा बेच्नुपरेको अवस्था पनि छ । उनी भन्छिन्, ‘सेयरमा नाफा–घाटा दुवै हुन्छ । केही कम्पनी नाफामा जान्छन्, केही घाटामा । समग्रमा नाफा नै भइरहेको छ ।’ नेपालको सेयर बजार चक्रमा चलिरहेको उनी बताउँछिन् । उनका अनुसार पहिला ८ वर्षको चक्रमा तीन वर्ष बजार झर्ने र पाँच वर्षसम्म बजार बढ्ने ट्रेन्ड हुन्थ्यो तर पछिल्लो समय अनलाइन कारोबारले बजार छिटो बढ्ने र घट्ने ट्रेन्ड चलेको छ । तीन वर्षदेखि १८ सयदेखि २२ सयसम्मको अन्तरमा बजार चलिरहेको उनको भनाइ छ । विश्वको हरेक कुराले सेयर बजारलाई प्रभाव पार्ने उनी बताउँछिन् । राजनीतिक, लिक्विडिटीको अवस्था, सरकारी नीति, मौद्रिक नीतिजस्ता कुराले सेयर बजारले असर गरेको हुन्छ । उनका अनुसार हरेक कुराले प्रभाव पार्ने क्षेत्र सेयर बजार हो ।


महिलालाई छुट दिनुपर्छ
राधा पोखरेल

विद्यालय पढ्दै गर्दा आइपीओ भर्थिन्, राधा पोखरेल । परिवारका अन्य सदस्यबाट सिकेकी हुन् उनले । क्याम्पस पढ्दै गर्दा सहकारीमा निर्देशक बनिन् । त्यसबेला आफ्नो र बाबाको नाममा आइपिओ भरिन् । दुई हजार लगानीले ६ महिनामा ६० हजारसम्म पुग्यो । १२ वर्षअघि पुँजी बजारमा प्रवेश गरेकी उनी त्यसबेला सीमित कम्पनी थिए, आइपिओ पनि पर्थ्यो । सेयरमा राम्रो आम्दानी हुनासाथ सहकारी छाडिन् र लागिन् सेयर बजारतर्फ । सेयरमा सुरुवाती गाह्रो नै थियो । सीमित महिला थिए । ब्रोकरकहाँ पुग्थिन् र पछाडि बस्थिन् । कसैलाई सोध्न पनि डर लाग्थ्यो । रातो भए घटेको । हरियो भए बढेको । यही नै हो उनको सेयरको सुरुवातको बुझाइ । दोस्रो बजारमा उनको लत बसिसकेको थियो । पैसा थिएन तर लगानी गर्ने हुटहुटी थियो । यसका लागि उनले तराईको जग्गा बेचेर लगानी गरिन् । राम्रो आम्दानी हुने सोचले जग्गा बेचिन् तर सोचेजस्तो भएन । ‘त्यसबेला बाबालाई कन्भिन्स गरी जग्गा बेचेर लगानी गरें । त्यो हालसम्म पनि उठाउन सकिन । सेयर बजार सोचेजस्तो पनि नहुँदो रहेछ भन्ने बुझेकी छु,’ उनले सुनाइन् । पछि सेयरमा लगानी बढाउँदै गइन्, नाफा पनि कमाइन् । घरजग्गा, गाडी सबैथोक उनलाई सेयर बजारले नै दिएको हो । सेयर कारोबारले आफ्नो पहिचान बनेको उनी बताउँछिन् । सेयर बजार बुझ्दै जानु र लगानी बढाउनु उनको दैनिकी भयो । तीन करोड २५ लाखसम्म लगानी पुर्‍याइन् । सेयरबाट आर्थिक रूपले सबल हुँदै उनी नेपाल पुँजीबजार लगानीकर्ताको संघको उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी निभाइरहेकी छन् । लगानीकर्ताको जिम्मेवारी उनको काँधमा आएसँगै चुनौती पनि झेलिन् । उनी भन्छिन्, ‘उमेरका हिसाबले म सानै थिएँ । त्यसमा पनि अविवाहित मेरो क्षमताको कदरभन्दा पनि सौन्दर्यको कुरा हुन्थ्यो ।’ संघमार्फत उनी सेयर बजारमा सचेतना पुर्‍याउँदै थुप्रै जिल्ला पुगेकी छन् । सेयर लगानी र चेतनाबारे अझै सचेतना नरहेको उनको भनाइ छ । सेयरले घरजग्गा डुब्छ, पैसा डुब्छ भन्ने आमबुझाइ रहेको उनी बताउँछिन् । सेयर बजार पुँजीपति वर्ग र धनीवर्गका लागि हो भनेर गलत भाष्य निर्माण भएको उनको भनाइ छ । सानो लगानीबाट सेयर बजारमा प्रवेश गर्न सकिन्छ र सडकमा मकै बेच्नेहरूका लागि पनि सेयर उपयुक्त हो भन्ने बुझाइ आवश्यक रहेको उनी बताउँछिन् । नेपालको सेयर बजार परिपक्व छैन राज्यले आफूअनुकूल नीति नियमले पनि धेरै फरक पार्ने उनको भनाइ छ । ‘नेपालको सेयर बजार व्यवस्थित छैन, राम्रो स्टकमा लगानी गरे पनि सुरक्षित हुन सकिँदैन । त्यसकारण अरुका भरमा पर्दा लगानी डुब्ने सम्भावना हुन्छ । बजार बुझ्न सकेमात्र आर्थिक रूपमा समृद्ध हुन सकिन्छ,’ उनी भन्छिन् । सरकारले घरजग्गाले महिलालाई छुट दिएझैं सेयर बजारमा पनि छुट दिन आवाज उठाइहन्छिन् । उनी भन्छिन्, ‘महिलाहरूले लगानी गर्न पुरुषहरूको भर पर्नुपर्ने अवस्था छ, महिलालाई छुट दिएर सेयर बजारमा स्वामित्व बढाउन सके आत्मनिर्भर बन्न सहयोग हुन्छ ।’


गृहिणीका लागि सहज
शोभा दाहाल

२०७२ सालदेखि पुँजी बजारमा लगानी गर्न थालेकी हुन्— शोभा दाहालले । तीन बच्चा हुर्काएर आईपीओबाट बजार प्रवेश गरेकी हुन् । घरखर्चबाट जोगिएको रकम लगानीले उनलाई पुँजी बजार बुझाएको हो । आइपीओ भर्दै उनले दुई लाख ५० हजार रुपैयाँ दोस्रो बजारमा लगानी गरिन् । साथीको सल्लाहमै दोस्रो बजार प्रवेश गरेकी उनले राम्रो प्रतिफल निकाल्न सफल पनि भएकी छन् । उनले भनिन्, ‘मैले खाली समयको सदुपयोगका लागि सेयर बजार प्रवेश गरें, आइपिओ गर्दै दोस्रो बजारमा राम्रो प्रतिफल उठाउन सफल भएकी छु ।’सुरुको लगानी गर्दै नेप्से बढिरहेको अवस्था थियो, जब घट्दै गयो उनी आत्तिइन् । बजार घट्न थालेपछि लगानी डुब्ने डर हुने उनको अनुभव छ । सेयरमा थोरै नाफा लिएर उनले बेच्न थालिन् । १० प्रतिशत नाफा हुनासाथ बेच्थिन् । ‘सेयरमा धेरै कमाउने लोभ भए लगानी डुब्ने डर हुन्छ,’ उनको सुझाव छ, ‘त्यसकारण थोरै नाफामा पनि बेच्न सक्नुपर्छ ।’ सेयरको कमाइले नै उनले बच्चा पढाउनेदेखि घरखर्च चलाइरहेकी छन् । सेयर बजारमा प्रवेश गरेपछि उनले कसैसँग पैसा माग्नुपरेको छैन । परिवारका सदस्यको सेयर लगानी कारोबार सबै हेर्छिन् । छोराछोरीलाई पनि सेयर बजारबारे बुझाइरहेकी हुन्छिन् । सेयर बजारमा सिकेर ज्ञान हासिल गर्न गर्न नसकिने उनी बताउँछिन् । अनलाइन कारोबारले पनि धेरै सहज भएको उनको भनाइ छ । उनी घरमै बसेर दैनिक ११ बजेदेखि ३ बजेसम्म सेयर मार्केटमा हुन्छिन् । ‘पहिले ब्रोकरको हिसाबले बेच्नुपर्थ्यो । उनीहरूले रेट तोकिदिन्थे,’ उनी भन्छिन्, ‘सोहीअनुसार बेच्नुपर्थ्योर् । अहिले अनलाइनबाट नै कारोबार गर्दा धेरै सहज भएको छ ।’

 Image