हालै एकदिन ‘गोर्खा आर्मी’ का बारेमा युट्युब सामग्री हेर्दै थिएँ । गोर्खा सैनिकहरूको सैन्य, पारिवारिक र वैवाहिक आप्रवासनबारे लैंगिक दृष्टिकोणबाट विद्यावारिधि गरेका समाजशास्त्री सञ्जय शर्मा र बज्यैहरूको आँखाबाट गोर्खा इतिहासबारे गतसाल कला प्रदर्शनी गरेकी सुजना थापा श्रीशको दुई अलग अन्तर्वार्ताले मलाई तान्यो । अन्तर्वार्तामा दुवैले जोड दिएका छन् कि नेपाली गोर्खा सैनिकको वीरता, संघर्ष र योगदानबारे जति चर्चा हुन्छ, उनीहरूका परिवारका महिला सदस्यबारे खासै चासो देखाइँदैन । जसले परिवार सम्हालेर पर्दापछाडि हिरोको भूमिका खेलिरहेका हुन्थे, गोर्खा सैनिक पति वा पुरुष सदस्यलाई होस्टेमा हैसे थपिरहेका हुन्थे । यसले मलाई पाँच महिनाअघि कुरा गरेर कम्प्युटरको एउटा कुनामा थन्काइराखेको पात्रलाई लेख्न प्रेरित गर्यो ।
उनी हुन्, ९७ वर्षीया धनशोभा लामा । उनी बर्मा युद्धको रापतापमा जन्मिइन्, हुर्किइन् । उनका बाबु युद्ध लड्न बर्मामा गएका थिए, सपरिवार उतै बस्थे । विवाह पनि बर्मा युद्ध लड्ने गोर्खा सैनिकसितै भयो । उनका पति हुन्, पुर्ख्यौली घर दोलखा भएका पहलसिंह लामा । चाबहिलस्थित घरमा एक घण्टाजति कुराकानी हुँदा धनशोभाले बर्मामा बाबु र पतिको सैनिक कार्यकालमा काटेका अनेक चक्कर र कथा सुनाइन् ।
बर्मा अर्थात् अहिलेको म्यानमार अझै अशान्त छ । उतिखेर अंग्रेजसँग स्वतन्त्र हुने लडाइँ उत्कर्षमा थियो । जमिन थर्किने गरी गोलाबारी चल्थ्यो । सैनिकहरू त सधैं यद्धस्तरमा हुनैपर्यो । उनको परिवार बसेको क्याम्प पनि कतिबेला सखाप हुने हो टुंगो हुँदैनथ्यो । डरैडर भएपछि धनशोभाका बाबुले बर्मा छाड्ने विचार गरे । त्यतिखेर उनी १४ वर्षकी थिइन् । उनीहरू सपरिवार बर्मादेखि भारतको मनिपुर, नागल्यान्डको जंगलैजंगल एक महिना हिँडेर नेपाल फर्केका थिए, यो सन् १९४१ तिरको कुरा हो । केही समय भारतको पूर्वोत्तर दार्जीलिङ–कर्स्याङ बसे । त्यसपछि काठमाडौंको वसन्तपुरस्थित झोछेँमा बस्न थाले ।
धनशोभा राम्री थिइन् । ‘राम्री केटीलाई घोडा चढेर वसन्तपुरतिर आएका राणाले आँखा लगाउने हुनाले झ्यालबाहिर नचिह्याउन’ घरबेटी डर देखाउँथे । धनशोभाका बाबु यसपछि सपरिवार धरान सरे । धरान बस्दा सन् १९४५ को मेमा पहलसिंहसँग धनशोभाको विवाह भयो । उनका माइला दाइ र पहलसिंह एकै पल्टनमा काम गर्ने भएकाले चिनजान र देखभेट हुने मौका पहिल्यै पनि जुरेको थियो । ‘लाहुरेको सहर’ भनिने धरानमा २०१० सालमा ब्रिटिश गोर्खा सैनिक कार्यालय (भर्ती केन्द्र) स्थापनाअघिदेखि नै गोर्खा सैनिक र उनका परिवारको चहलपहल हुन्थ्यो ।
कहिल्यै नफर्कनेगरी बर्माबाट बाबुसँग फर्केकी उनले विवाहपछि फेरि श्रीमान्सँग जानुपर्यो । एक दशकभन्दा बढी बर्माको टउन्गी, मिम्योलगायत क्षेत्रमा बिताउँदा पहलसिंहले लडाइँ लडे । उनी हप्तौं सम्पर्कविहीन भएर लडाइँमा गएका हुन्थे । कस्तो स्थितिमा छन् भन्ने कुरा घाइते भएर क्याम्प फर्किआएकाले बताएपछि थाहा हुन्थ्यो । बेलाबखत आकाशवाणीबाट खबर आउँथ्यो । यता क्याम्पमा बसेका महिला सदस्य र परिवारलाई आक्रमणको डर उत्तिकै हुन्थ्यो ।सुरक्षाको लागि जमिनमुनि लुक्नुपर्थ्यो । दुस्मनसँग लुकामारी गर्नु दैनिकीजस्तै भएको थियो । पहलसिंह ड्युटीमा जाँदा धनशोभालाई हतियार पनि छाडेर गएका हुन्थे ।
धनशोभा र पहलसिंहका सात सन्तानमध्ये जेठो छोरा र छोरी बर्मामै जन्मिए । छोरी पेटमा हुँदा दुस्मनहरूले क्याम्पमा आक्रमण गरेका थिए । त्यतिबेला जोगिनका लागि भागदौड गर्न नसकेर ज्यानको माया मारेको उनी कहिल्यै बिर्सिन्नन् । ‘म भाग्नै नसक्ने भएर एकठाउँ छलिएर बसें, दुस्मनले भेट्यो भने जे पनि गर्न सक्थ्यो,’ उनले सुनाइन्, ‘रातको समय थियो, शोभा कता छौ भनेर श्रीमान्ले बोलाउँदै आउनुभयो र बचाउनुभयो ।’
उनले अर्को घटना सुनाइन् । दुस्मनहरूले पहलसिंहलगायत बर्मा सरकारको पक्षबाट खटिएका सैनिकलाई मार्ने भनेर पक्राउ गरेर लग्यो । भोलि मार्ने तरखर थियो, नियन्त्रण गरेर राखिएको ठाउँ तोडेर पहलसिंह रातारात भागे । आफ्नासहित नेपाली गोर्खा सैनिकका महिला सदस्य र परिवारलाई ट्रकमा राखेर सुरक्षित स्थानतिर भगाए । भाग्दै गर्दा बाटोमा चेकिङमा परे । फेरि दुस्मनको फन्दामा परियो भनेर डराए । चेकिङमा बसेकाहरू बर्मा सरकारपक्षकै रहेछन्, सद्भावपूर्ण बिदाबारी गरे ।
सन् १९४८ मा बर्मा अंग्रेजबाट स्वतन्त्र भएपनि देशभित्र लडाइँ चलिरहेको थियो । स्थिति भयानक बन्दै गएपछि पहलसिंहले जागिर छोड्ने विचार गरे । यकिन मिति धनशोभालाई याद नभए पनि उनीहरू परिवारै बर्मादेखि कोलकातासम्म पानीजहाजमा आए । त्यहाँबाट रेल चढेर दार्जीलिङ–कर्स्याङ गए । उता धनशोभाका माइतीहरू बस्थे । त्यहाँ बसेर जीविका चल्दैनथियो । पहलसिंह परिवारै लिएर मुक्ति सेनाको जागिर खोज्दै काठमाडौं आइपुगे ।
यसपछि पहलसिंहको परिचय गोर्खा सैनिकमा मात्रै सीमित रहेन, मुक्ति सेनाका योद्धा बने । राणा शासनको अन्त्यपछि मुक्ति सेना रक्षा दल हुँदै २०१२ सालमा नेपाल प्रहरी फोर्समा रूपान्तरण भयो । उनी प्रहरी उपरीक्षक (एसपी) भए । बढुवा हुँदै प्रहरी महानिरीक्षक (आइजिपी) भए, २०१८ पुस देखि २०२३ साल असारसम्म सेवा गरे । उनकै पालामा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब (उतिखेर महेन्द्र पुलिस क्लब) को निर्माण गरिएको थियो । नेपालको २००७ सालदेखि हालसम्मका महानिरीक्षकहरूको (अवकाश प्राप्त) सूचीमा पहलसिंह सातौं प्रहरी महानिरीक्षकमा पर्छन् । त्यसपछि शाहीसेनामा उपरथी भएर भारतको कोलकातामा महावाणिज्य दूत भए । २०३३ सालदेखि २०३९ सालसम्म लोकसेवा आयोगको सदस्य र राजपरिषद् सदस्यसमेत भए । सन् १९८२ मा बैंककमा स्वास्थ्य उपचार क्रममा ६० बर्षमा उनको मृत्यु भयो । उनले पढ्ने गरेका पाँच सयभन्दा बढी किताब र उच्च पदमा रहेर सेवा गर्दा पाएका उपाधि चाबहिलस्थित घरमा सुरक्षित छन् ।
पहलसिंहले आइजिपी हुन्जेल सुरक्षाका लागि सुविधा लिए । त्यसपछि उक्त सुविधा लिएनन् । आइजिपी हुँदा पनि परिवारलाई काठमाडौंमा डेरामा नै राखेका थिए । काममा इमान्दारिता र जीवनशैलीमा सादगीपना उनको परिचय थियो । तीन वर्षअघि दि काठमाडौं पोस्टमा ‘बिर्सिएका हिरोहरू’ शीर्षकमा छापिएको लेखमा पहलसिंहका माइला छोरा प्रल्हादसिंहले बाबुलाई सम्झिएका छन् । बाबु आइजिपी हुँदा प्रल्हाद पुतलीसडकको पद्मोदय माविमा पढ्थे । उनी दिनहुँ हिँडेर विद्यालय जान्थे । विद्यालय नजिकै कार्यालय भएका बाबु सरकारी गाडीमा जान्थे तर प्रल्हादले कहिल्यै ‘लिफ्ट’ पाएनन् । ‘यो तिम्रो बाबुको निजी सवारी होइन, देशको आइजिपीको हो,’ प्रह्लादलाई भन्ने गरेको लेखमा उल्लेख गरिएको छ । प्रह्लाद र जेठा छोरा बितिसकेका छन् । अरु चार छोरा र छोरी व्यापार, व्यवसाय, सामाजिक काम गर्दै काठमाडौंमा बस्छन् ।
धनशोभाले पनि सामान्य जीवनशैली अपनाइन् । जतिखेरै ड्युटीमा खटिइरहने श्रीमान्ले परिवारलाई समय दिँदैनथे । छोराछोरीको देखभाल, पढाइलेखाइको तारतम्य मिलाउने जिम्मेवारी उनैको हुन्थ्यो । लडाइँमा दुस्मनलाई मार्नु बहादुरी ठानिन्थ्यो । प्रहरीको जागिरमा पनि गल्ती गर्नेलाई कुटपिट गर्नुपर्ने हुन्थ्यो । यो उनलाई पटक्कै मन पर्दैनथ्यो । ‘आर्मीपुलिसको काम मलाई मन परेन, कहिले परिवारलाई समय नदिने, जोखिम र दुस्मनी गर्नुपर्ने,’ उनले भनिन् । आफ्ना छोरालाई सैनिक प्रहरीको जागिरमा कहिल्यै उत्साहित पनि गरिनन् । ‘आर्मी र पुलिस फोर्सको जीवन गाह्रो छ, सजिलो छैन भन्नुहुन्थ्यो, सायद ठूलो परिवारलाई सधैंजसो एक्लैले धान्नुपर्दाको संघर्षले पनि त्यसो भन्नुभयो जस्तो लाग्छ, हामी छोराहरूलाई त्यता लाग्न हौस्याउनु भएन,’ उनका छोरा (ठूलो कान्छा) प्रभात योञ्जनले भने ।
एक त बुढ्यौली उमेर र त्यसमाथि १५ वर्षअघि मध्यम खालको ‘ब्रेन स्ट्रोक’ सामना गरेको बाबजुत पनि धनशोभा तगडा छिन् । उनले स्वस्थ जीवनका लागि खानपान, आराम र व्यायामबारे कुरा गरिन् । उनी हरेक दिन बिहान ५ बजे उठ्छिन् । त्यसपछि एक घण्टा ‘ओम मणि पद्मे हुम्’ मन्त्र जप्छिन्, ध्यान गर्छिन् । चिया पिउँछिन्, अखबार पढ्छिन् । अखबार पढ्ने उनको बानी सायद श्रीमान् प्रहरीमा जागिरे भएदेखि नै बसेको हुनुपर्छ । ‘गार्डेनिङ’ उनको सोख हो । फूलबारी वरिपरि घुम्दै, छोरी, छोराबुहारीसँग गफिएर दिन बिताउँछिन् ।