२०५५ साल मंसिर ८ गतेबाट पहिलोपटक नेपालमा यात्रु बोक्ने केवलकारका रूपमा मनकामना केवलकार सञ्चालनमा आयो । त्यसपछि लामो समयसम्म कतैपनि केवलकार बनेनन् । पछिल्ला केही वर्षयता भने व्यवसायीहरूबीच केवलकार बनाउन प्रतिस्पर्धा नै चलेको छ । धार्मिक रूपले महत्वपूर्ण मानिएका पर्यटकीय गन्तव्य केवलकार निर्माणपछि चर्चामा छन् । धेरै समय पैदल हिँडेरगन्तव्यमा पुग्नुपर्ने बाध्यतालाई केवलकारले छिटो र सहज बनाइदिएका छन् भने पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्दै आएका छन् । जहाँ केवलकार चलाएइको छ, त्यहाँ लक्जरी होटल रिसोर्ट निर्माण गरिएका छन् भनेकतै निर्माणको क्रममा छन् । अहिले नेपालमा व्यावसायिक रूपमा छ वटा केवलकार सञ्चालनमा छन् । बन्दिपुर (डुम्रे–बन्दिपुर) केवलकार सञ्चालनको तयारीमा छ भने बुटवल–पाल्पा–नुवाकोट जोड्ने सिद्धार्थ केवलकार निर्माणाधीन छ । विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यलाई केन्द्र बनाएर आधादर्जन स्थानमा केवलकार निर्माण गरिँदैछ ।
मनकामना
चितवनको कुरिनटार (इच्छाकामना गाउँपालिका–४) बाट गोरखाको मनकामना (सहिद लखन गाउँपालिका–३) जोडेर २६ वर्षअघि मनकामना केवलकार निर्माण गरिएको हो । २०५३ कात्तिक २२ मा मनकामना दर्शन प्रा.लि. स्थापना भयो । २०५४ माघ अन्तिमबाट निर्माणको काम सुरु भई २०५५ मंसिर ८ बाट मनकामना केवलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपालमा केवलकार चिनाउने काम मनकामना केवलकारले गरेको हो । मनकामनातर्फ एक हजार तीन सय दुई मिटरको उचाइमा केवलकार चढेर पुगिन्छ । मनकामना केवलकारले वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ। केवलकार सञ्चालनमा आएयता अहिलेसम्म एक करोड ८५ लाख बढी यात्रुले सेवा लिइसकेका छन् । यो केवलकारमा ३४ वटा गोन्डला (डब्बा) छन् । केवलकार चढेको भाडा ७ सय ७० रुपैंयाँ पर्छ । केवलकारमा सेवा लिने कुल यात्रुमा ७० प्रतिशत नेपाली, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु ४ प्रतिशत छन् । यो केवलकारको दूरी ३.०१ किलोमिटर छ। १० देखि १२ मिनेटमा कुरिनटारबाट मनकामना पुगिन्छ । एउटा गोन्डलामा छ जना यात्रु अट्छन्। केवलकार चढेर मनमकाना मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटकको भीड लाग्छ । अहिले ५५ करोडको लागतमा मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम भइरहेको छ। ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब,सभा हल र रेस्टुरेन्ट हुनेछन् । रिसोर्ट सन् २०२४ को अन्त्यसम्ममा सञ्चालनमा आउनेछ ।
चन्द्रागिरि
काठमाडौं उपत्यकामा पहिलोपटक निर्माण गरिएको केवलकार चन्द्रागिरि केवलकार हो । यो केवलकार थानकोटबाट भालेश्वर मन्दिर जोड्नेगरी २०७३ साउन १ गते सञ्चालनमा आएको हो । केवलकार निर्माण गर्न दुई वर्ष लागेको थियो । यसमा यात्रु बोक्ने ३८ वटा गोन्डला छन् । दूरी २.५ किलोमिटर छ । केवलकार चढेको करिब १२ मिनेटमा गन्तव्यमा पुगिन्छ । केवलकार सञ्चालनमा आएसँगै भालेश्वर मन्दिरक्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । दुई हजार पाँच सय ५१ मिटर उचाइमा भएकाले यो ठाउँमा पुगेर काठमाडौं उपत्यका नियाल्न सकिन्छ ।यो ठाउँमा पुस–माघमा हिउँ पर्ने भएकाले हिउँ खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । बाहिरी जिल्लाबाट आउनेहरू प्रायः यो ठाउँलाई गन्तव्य नबनाई यात्रा तय गर्दैनन् । केवलकार चढेको भाडा ८ सय २५ रुपैंयाँ छ । यो ठाउँमासुविधासम्पन्न लक्जरी होटल सञ्चालनमा छन् । होटलमा एक सयवटा कोठा छन् । केवलकार सञ्चालनमा आएको दुई वर्षपछि रिसोर्ट सञ्चालनमा आएको हो । भ्यु टावरबाट काठमाडौं उपत्यकासहित लस्करै देखिने हिमालहरू नियाल्न सकिन्छ । नेपालीसहित भारतलगायत विभिन्न मुलुकबाट पर्यटक यो ठाउँमा आउँछन् । पछिल्लो समय यो ठाउँ घुम्ने र रमाउने गन्तव्य बन्दै आएको छ । कतिपय गर्मी छल्नकालागि पनि चन्द्रागिरिको डाँडामा पुग्ने गरेका छन् । सानाबालबालिकालाई छुट्टै खेल्ने र रमाउने ठाउँको निर्माण गरिएको छ ।
कालिञ्चोक
दोलखास्थित कालिञ्चोक केवलकार सबैभन्दा उच्च ठाउँमा निर्माण गरिएको छ । दोलखाको चरिकोटबाट १८ किलोमिटर दूरी छिचोलेपछि पुगिने यो केवलकार चढेर करिब ३ हजार ८ सय मिटर उचाइसम्म पुगिन्छ । २०७५ कात्तिक १७ गतेबाट यो केवलकार सञ्चालनमा आएको हो । निर्माणको काम गर्न तीन वर्ष लागेको थियो । यसमा चारवटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । यो कुरी बजारबाट कालिञ्चोक मन्दिर नजिकसम्म ९ सय ९५ मिटर लामो दूरीमा सञ्चालित छ । केवलकारबाट झरेर वरिपरिको हिमशृंखला नियाल्दै करिब १० मिनेट पैदल हिँडेर मन्दिरसम्म पुग्न सकिन्छ । ५ मिनेट केवलकारको यात्रा गरेपछि डाँडामा पुगिन्छ । यो ठाउँमा मन्दिर दर्शनसँगै केवलकार चढ्न आउने आन्तरिक पर्यटक बर्सेनि बढिरहेका छन् । सार्वजनिक बिदाका दिन केवलकार चढेर मन्दिरसम्म जाने यात्रुको भीड लाग्छ । नेपालीसँगै भारत र बंगलादेशबाट समेत धार्मिक पर्यटक कालिञ्चोक पुग्ने गरेकाछन् । बिहान ५ बजेदेखि नैमन्दिर जाने पर्यटकको भीड लाग्छ । हिउँ पर्ने मौसममा काठमाडौंदेखि हिउँ खेल्न र घुम्न जानेहरू धेरै हुन्छन् । छिनछिनमै मौसम बदलिरहने यो ठाउँमा पुग्नेहरू रोमाञ्चित बन्छन् । वरिपरिको दृश्यले मोहित बनाउँछ । अहिलेसम्म यसको लगानी ६० करोड रुपैयाँ पुगिसकेको छ । केवलकारको भाडा प्रतियात्रु छ सय रुपैंयाँ तोकिएको छ । केवलकार सञ्चालनमा आएपछि यो क्षेक्रमा होटलहरू खुल्ने त्रम बढेको छ ।
अन्नपूर्ण
कास्कीको सेदीबगरबाट पर्यटकीय गन्तव्य सराङ्कोट जोड्नेगरी अन्नपूर्ण केवलकार निर्माण गरिएको छ । यसको निर्माण थाल्दै गर्दा कोभिड–१९ को महामारी देखा परेपछि समय लम्बियो । त्यसैले चार वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको यो केवलकार २०७९ फागुन ६ गतेबाट सञ्चालनमा आएको हो । यो जापानी प्रविधिमा निर्माण गरिएको केवलकार हो । यसमा १७ वटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । यसको दूरी २.४ किलोमिटर छ । सेदीबगरबाट सराङ्कोट पुग्न केवलकारमा ९ मिनेट लाग्छ । असार अन्तिमदेखि भदौबाहेक यो केवलकार बिहान ५ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुन्छ । त्यतिबेला वर्षाको समय भएकाले सूर्य नदेखिने हुँदा ९ बजेबाट मात्र केवलकार चलाइने गरिएको छ । अघिपछि सबेरै केवलकार चढी सराङ्कोट पुगेर सूर्योदय हेर्नेको भीड लाग्छ । फोटो र भिडियो खिच्न पर्यटकबीच प्रतिस्पर्धा हुन्छ । यो आन्तरिक तथा बाह्य पर्यटक लक्षित केवलकार हो । सेदीबगरबाट केवलकार चढेर १ हजार ५ सय ६४ मिटर अग्लो सराङ्कोट पुगिन्छ । नेपालीहरूकालागि केवलकारको भाडा ७ सय रुपैयाँ पर्छ भने अन्य सार्क मुलुकका पर्यटककालागि एक हजार रुपैयाँ र अन्य देशका पर्यटककालागि १२ डलर तोकिएको छ । यहाँ ६० फिट अग्लो पाँचवटा मुख भएको गणेशको मूर्ति बनाइँदैछ । यसले धार्मिक पर्यटकको आवागमन बढाउने छ । अहिलेसम्म यो केवलकारमा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । अहिले सराङ्कोट पुग्न केवलकार सजिलो माध्यम बनेको छ ।
मौलाकालि
नवलपरासीको गैंडाकोटबाट मौलाकालिका मन्दिर जोड्नेगरी केवलकार निर्माण गरिएको छ । २०८० वैशाख १ गतेबाट सञ्चालनमा आएको मौलाकालि केवलकार निर्माण गर्न १३ महिना लागेको थियो । यसमा १२ वटा यात्रुबाहक गोन्डला छन् । केवलकारले गैंडाकोटस्थित मौलाकालिको फेदीबाट मौलाकालिका मन्दिर जोड्ने काम गरेको छ । १ हजार २ सय मिटर दूरी रहेको केवलकार चढेर ५ मिनेटमा मन्दिर पुगिन्छ । केवलकारबाट मौसम खुल्दा गैंडाकोट र नारायणगढ बजार देख्न पाइन्छ । चितवनको सौराहा, मेघौली, कसरालगायतका पर्यटकीय क्षेत्र घुम्न जानेहरू प्रायः मौलाकालिका मन्दिरलाई गन्तव्य नबनाई फर्कदैनन् । गएको एक वर्षमा दुई लाख ७५ हजार धार्मिक पर्यटकले केवलकार चढेका छन् । केवलकार सञ्चालनमा आएपछि नेपालीहरू मात्र होइन विदेशी पर्यटक पनि घुम्न आउने गरेका छन् । मौलाकालिका मन्दिर ५ सय ६१ मिटर उचाइमा छ । तर मौलाकालि केवलकार भने ५ सय २७ मिटर उचाइमा छ । केवलकारबाट झरेर थोरै पैदल हिँडेपछि मन्दिरमा पुगिन्छ । शान्त वातावरण भएकाले मन्दिर वरिपरिको दृश्यले सबैलाई लोभ्याउँछ । प्रायः यो ठाउँमा केवलकार चढेर मन्दिर दर्शनका लागि आउनेहरूको भीड लाग्छ । त्यस्तै केवलकार छेउमै ठूलो रिसोर्ट निर्माण भइरहेको छ । दुई महिनाभित्र मौलाकालि डाँडामा होटल सञ्चालनमा आउनेछ । केवलकारको भाडा पाँच सय ५० रुपैंयाँ छ ।
लुम्बिनी
लुम्बिनी केवलकार २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको हो । यसको निर्माण गर्न १४ महिना समय लागेको थियो । यसले रूपन्देही र पाल्पा जोड्ने काम गरेको छ । यो लुम्बिनी प्रदेशमा निर्माण गरिएको पहिलो केवलकार हो । यसमायात्रु बोक्ने गोन्डला २५ वटा छन् । यो केवलकारले बुटवलको गोलपार्कबाट पाल्पाको वसन्तपुर जोड्छ । यसको दूरी २.६१५ किलोमिटर छ । बुटवलबाट केवलकार चढेर १२ मिनेटमा वसन्तपुर पुगिन्छ । केवलकार चढेको भाडा ७ सय ५० रुपैयाँ छ । यो केवलकार नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर निर्माण गरिएको हो । यसले वसन्तपुरमा पर्यटकीय गतिविधि बढाउन सघाउ पुर्याएको छ । त्यहाँ कामाख्या भगवतीको मन्दिर छ । त्यसैलेदर्शन गर्न आउने धार्मिक पर्यटकको भीड लाग्छ । बुटवल–भैरहवाको गर्मी छल्न वसन्तपुर पुग्नेको लर्को लाग्छ । यो केवलकार ९ सय ६० मिटर उचाइमा निर्माण गरिएको छ । यसलाई नेपाली र भारतीय पर्यटकले गन्तव्य बनाउँदै आएका छन् । यो केवलकार तयार हुँदासम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो ठाउँमा १ सय ५० वटा कोठा क्षमताको पाँचतारे होटल निर्माणको क्रममा छ । अत्याधुनिक सुविधासहित तीन वर्ष भित्र यसको निर्माण पूरा गर्ने लक्ष्य छ ।