Successfully Copied

सिनेम्याटोग्राफर सवनम

सवनम मुखिया नेपाली प्रथम महिला सिनेम्याटोग्राफरहुन् । उनले फोटोग्राफीको रहर पूरा गर्न फोटो खिच्दै सिनेम्याटोग्राफीको यात्रा तय गरेकी हुन् । सर्टफिल्म र डकुमेन्ट्रीले उनलाई क्यामेरामा दक्षता भएको साबित गरिदियो ।


सवनम मुखिया नेपाली प्रथम महिला सिनेम्याटोग्राफरहुन् । उनले फोटोग्राफीको रहर पूरा गर्न फोटो खिच्दै सिनेम्याटोग्राफीको यात्रा तय गरेकी हुन् । सर्टफिल्म र डकुमेन्ट्रीले उनलाई क्यामेरामा दक्षता भएको साबित गरिदियो । आफ्नै निर्देशन र लेखन रहेको यो झेली चलचित्रमा सिनेम्याटोग्राफीको भूमिका निभाइन् । सिनेम्याटोग्राफीमा रुचि बढ्नुको पछाडि उनको बाल्यकालमा फर्कनुपर्ने हुन्छ । उनलाई सानैदेखि फोटोग्राफीमा रुचि थियो । म्यागेजिनका फोटाहरू काट्ने र डायरीमा टाँस्ने गर्थिन् । उनलाई लाग्थ्यो कुनै दिन यस्तै फोटो सिक्नेछु । त्यतिबेला विद्युत् प्राधिकरणकी जागिरेउनी बेलुका फोटोग्राफी सिक्न जान्थिन् । कक्षा ८ मा पढ्ने बेलादेखि उनलाई फोटोग्राफीमा रुचि बढेको हो । ‘एनालग क्यामेरा’ बाट उनले साथीहरूको जबर्जस्ती फोटो खिच्थिन् । विगत सम्झदै उनले भनिन्, ‘मेरो रहरका लागि साथीहरूले जबर्जस्ती फोटो खिचाउँथे ।’ तालिमले पनि उनको फोटोग्राफीमा थप निखारता बनाउँदै लग्यो । उनलाई तालिम र अनुभव मात्र नभई यो विषयमा थप अध्ययन पनि गर्नुथियो । त्यसैले उनले कलेज अफ फिल्म स्टडिजबाट सिनेम्याटोग्राफीमा ब्याचलर पूरा गरिन् । अध्ययनका क्रममा उनले ‘टियर अफ फियर’ डकुमेन्ट्री बनाइन् जुन बलिप्रथाको विषयमा थियो ।

महिला भएर यस्तो भिडियो नबनाऊ भनेर उनलाई धेरैले भने पनि आँट र साहस बटुलेर बनाइन् । यो डकुमेन्ट्रीले सर्ट फिल्ममा ‘किम्फ जुरी अवाडर्’ जित्न सफल भयो । यसले उनलाई छिट्टै चर्चाको शिखरमा पुर्‍यायो । त्यसबेला डकुमेन्ट्री सिडीहरू बिक्री हुन्थे । प्रदर्शनीमा थुप्रै टिकट बिक्री भए। यसले उनलाई राम्रो आम्दानी गराउन सफल भयो । उनले भनिन्, ‘डकुमेन्ट्री बनाएर पनि आम्दानी गर्न सकिने रहेछ भन्ने महसुस भयो ।’ उनले चलचित्रमा छायांकन पनि गरेकी छिन् । उनले पहिलो छायांकन गरेको फिचर ‘झेली’ हो । उनको यात्रा सिनेम्याटोग्राफरदेखि निर्देशकसम्मको यात्रा हो । उनले थुप्रै म्युजिक भिडियो पनि निर्देशन गरेकी छिन् । चलचित्र छायांकन गर्न सहज नभए पनि उनी निरन्तर यसमा लागिरहेकी छन् । प्राधिकरणको जागिर खोजेर फिल्म क्षेत्रमा रमाइरहेकी छन् । यो पेसामा दुःख पनि उत्तिकै छ । शारीरिक दुःख पनि उत्तिकै छ । काम गर्नका लागि टिमभएपनि मुख्य जिम्मेवारी सिनेम्याटोग्राफरको हुने उनी बताउँछिन् । उनको अनुभवले भन्छ, यो काममा हरेक पल र क्षण खटिनुपर्छ । उनी भन्छिन्, ‘चलचित्र क्षेत्रमा सिनेम्याट्रोग्राफीको काम सबैभन्दा दुःखको काम हो हरेक पल खटिनुपर्छ, डान्स निर्देशक आउँछ उसले नृत्य हेर्छ । द्वन्द्व निर्देशकले द्वन्द्वमात्र हेरे पुग्छ तर सिनेम्याटोग्राफर यस्तो काम हो जसले हरेक कुरा हेनुपर्छ । क्यामेरा टिम हरेक पल खट्नुपर्दछ । क्यामेरा निकालेदेखि प्याक नगरेसम्म खट्नुपर्ने हुन्छ ।’ अर्को चुनौतीको विषय भनेको क्यामेरा जोगाउनु पनि हो । भीडभाडमा जाँदा वा चलचित्र खिच्दा होस् फोटोग्राफरदेखि सिनेम्याटोग्राफरलाई क्यामेरा जोगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जब निर्देशक र सिनेम्याटोग्राफीको सम्बन्ध सुमधुर भए मात्र काम गर्न सहज हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सिनेम्याटोग्राफरले निर्देशकको भाव बुझ्न सक्नुपर्छ,निर्देशकको भाव बुझ्न सके मात्र काम गर्न सहज हुन्छ ।’ एनालग क्यामेरा प्रयोग गर्दै उनी डिजिटल समयमा आइपुगेकी छन् । डिजिटल उपकरण भित्रिएसँगै काममा धेरै सहज भएको उनको भनाइ छ । प्रविधि भित्रिए पनि यो क्षेत्रमा महिलाहरूको उपस्थिति भित्रन नसकेको उनी बताउँछिन् । यो पेसाले घरपरिवारभन्दा पनि काममा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । चलचित्र छायांकन गर्न लामो समय बाहिर बिताउनुपर्ने हुन्छ, जसले गर्दा महिलाहरूलाई परिवारबाट साथ, सपोर्ट कम हुन्छ जसले गर्दा यो क्षेत्रमा महिलाहरूको उपस्थिति उल्लेख्य हुन नसकेको उनको भनाइ छ ।

 Image