Successfully Copied

भिक्षुमय लुम्बिनी

धम्मकाया फाउन्डेसन थाइल्यान्डको सहयोगमा अखिल नेपाल भिक्षु महासंघले लुम्बिनीमा प्रवज्या शिविर आयोजना गरेको थियो ।


मनोज पौडेल

छुट्टै किसिमको आनन्द,शान्त वातावरण । ‘बुद्धम्, शरणम् गच्छामि’ को गुञ्जायमान धुन । सबैतिर चिबर पहिरिएका पहेंला वस्त्रधारी । बुद्ध जन्मस्थल लुम्बिनी पूरै भिक्षुमय बनेको थियो । बिहानदेखि साँझसम्म उनीहरू ध्यान, प्रार्थना, धम्मयात्रा र दीप प्रज्ज्वलनमा सहभागी हुन्थे । पूर्व भोजपुरदेखि पश्चिम कैलालीसम्मका एक हजार २ सय ५० जनाले सामूहिक रूपमा प्रवज्या लिएर अल्पकालीन भिक्षु श्रामनेर बनेका थिए । २३ दिनसम्म ध्यान, साधना र धम्म शिक्षा लिएर उनीहरू फर्किए ।

रामनेर, भिक्षु जीवन प्रवेशको पहिलो खुट्किलो हो । भिक्षु जीवनको शुभारम्भ गर्नु हो । भिक्षु जीवनमा प्रवेश गरेका उनीहरूले बुद्ध शिक्षा, शील र चिबर लिएर भिक्षु जीवन धारण गरे । भगवान् गौतम बुद्धका अनुयायी बन्न कडा परिश्रम र संघर्ष गर्नुपर्छ भन्ने कुराको अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक माया–मोहबाट छुट्टै राखिएको थियो ।

 प्रवेशीश्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० शील सिकाइएको थियो । त्यसपछितच पञ्चक ध्यान सिकाइएको थियो । बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट–पीडाबारे जानकारी दिइएको थियो । त्यस्तै भिक्षु जीवन, करुणा, मैत्री, सद्भाव र भाइचारा आदि विषयमा ज्ञान दिइएको छ । उनीहरूले सिकेको ज्ञान राम्रोसँग व्यवहारमा उतारेको पाइयो भने दुई–चार महिनामै भिक्षु संघले पूर्ण भिक्षु बनाउन सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ ।

धम्मकाया फाउन्डेसन थाइल्यान्डको सहयोगमा अखिल नेपाल भिक्षु महासंघले लुम्बिनीमा प्रवज्या शिविर आयोजना गरेको थियो । कार्यक्रममा १० देखि ६२ वर्ष उमेरसम्मका कृषक, शिक्षक, व्यवसायी, चित्रकार, वकिल, संचारकर्मी र चिकित्सकसहभागी थिए । श्रामनेर बनेकालाई भिक्षाटनको महत्व बुझाउन लुम्बिनी, भैरहवा, देवदह र रामग्राममा १० किलोमिटर पैदल धम्मयात्रा गराइएको थियो । फागुन १६ गते सुरु भएको प्रवज्या चैत ८ गते सकिएको थियो ।

 Image