‘सुदूरपश्चिम कञ्चनपुर जिल्लामा जन्मिएकी देवकी विष्टमा सानैदेखि नेतृत्व गर्ने रहर थियो । सानैदेखि युवा क्लबहरूमा सक्रिय थिइन् । गाउँ घरमा पनि केही गर्नुपर्छ भन्ने सोच उनको थियो । प्लस–टु पढ्दै गर्दा जिल्लामा भू–उपग्रहको माध्यमबाट रेडियो चल्ने भयो । जिल्ला विकास कार्यालयको नेतृत्वमा चल्ने रेडियोका लागि जनशक्तिको आवश्यकता थियो । रेडियोमा को बोल्न सक्छ ? कसले काम गर्न सक्छ ? भनेर खोजी गर्दा पहिले नाम आयो, देवकी विष्ट । सेटेलाइट रेडियोका लागि १० दिनको तालिम दिइयो ।
नेपाल सरकार र द्वन्द्वरत पक्ष शान्ति प्रक्रियामा जाने भन्ने छलफल भइरहेको थियो । उनको पत्रकारिताको यात्रा शुरु भइरहेको थियो । माओवादी द्वन्द्वकाललाई छिचोल्दै उनले रिपोर्टिङ गर्थिन् ।त्यसताका ‘साउथ एसिया’ को तीन घण्टा मध्ये आधा घण्टाको समय नेपालका लागि थियो । काठमाडांैमा रहेको कम्युनिकेसन कर्नरसँग मिलेर कञ्चनपुरमा रहेको स्थानीय विकास मञ्चले महिलाका स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषयमा कार्यक्रम बनाउनु पथ्र्यो । उनी बिहान कलेज, त्यसपछि १० बजे देखि ३ बजेसम्म स्कुल पढाउने र ४ बजेदेखि जिल्ला विकासले दिएको एउटा कोठामा रेडियो कार्यक्रम बनाउँथिन् । विदाको दिन त दिनभरी रेडियो कार्यक्रम बन्थ्यो ।
छोरीहरूले पत्रकारिता गर्नु, राति घर आउनु समाजका लागि अनौठो थियो । १७ वर्षको उमेरमा उनी एक्लै हिंड्दै विभिन्न पहाडी भेगमा गएर रेडियो कार्यक्रम बनाउँथिन् । उनले भनिन्, ‘त्यसताका छोरी मान्छेले पत्रकारिता गर्नुलाई अनौठो मानिन्थ्यो ।’ यो गर्दै स्थानीय विकास मञ्चमा रेडियो काम गरीरहेका देवकी सहित अरु ६,७ जना साथी मिलेर शुक्लाफाँटा एफएमको लाइसेन्स ल्याउन रकम संकलन गरिसकेका थिए ।
त्यसपछि शुरु भयो सामुदायिक रेडियो ‘शुक्लाफाँटा एफएम ।’ सोही एफएमबाट उनको पत्रकारिताको यात्रा सुरु भयो ।
उनको काम गर्ने सोच र जाँगर देखेर एकदिन काठमाडौंबाट टेलिभिजन कार्यक्रम राज्यको रुपान्तरण सञ्चालन गर्ने किशोर नेपालसँग भेट भएछ । देवकी पनि रिर्पोटिङका क्रममा आफ्नै अफिसका बलबहादुर सरसँगै बर्दिया पुगेकी थिइन् । किशोरले भनेछन्, ‘तिमीले काठमाडौं आएर पत्रकारिता गर्नुपर्छ ।’ सुदूरपश्चिमकी उनलाई काठमाडौं सपनाको सहर थियो । काठमाडौं कस्तो छ भनेर उनले अरुबाट सुनेकी मात्र थिइन् । तर, काठमाडौंमा अवसर छ भन्ने चाहि सुनेकी थिइन् । कञ्चनपुरमा पत्रकारिता गर्दागर्दै किशोर नेपालले उनलाई पटकपटक भनेपछि काठमाडौंमा काम गर्ने अवसरको यात्रा २०६६ सालमा सुरु भएको हो । पत्रकारिता उनको परिवारका लागि नयाँ काम थियो । त्यसैले पनि उनको परिवारको चाहना थियो देवकी सरकारी जागिर कि त शिक्षक बनून् । त्यसबेला शिक्षक पेसा गाउँमा राम्रो पेसा थियो । उनको रहर भने प्रहरी अधिकृतको जागिर थियो । त्यसका लागि उनले प्रयास गरिन् तर अन्तर्वार्तामा गइनन् । किनभने उनलाई पत्रकारिताले तानिसकेको थियो । रेडियोको आवाजले उनलाई चिन्न थालिसकेको थियो ।
पत्रकारितामा भविष्य खोज्दै जब काठमाडौं ओर्लिइन् सुन्दर राजधानीको कल्पना गरेकी उनले अँध्यारो सहर देखिन् । किशोर नेपालकै टिमसँग काम गरिन् । प्रोजेक्ट सकिएपछि उनको ‘न्यूज २४’मा यात्रा सुरु गरिन् । त्यसपछि उनी‘वान मेन आर्मी’ को भूमिकामा पुगिसकेकी थिइन् । काठमाडौंमा बसेर काम गर्दा उनलाई फरक अनुभव भयो । मानिसहरूसँग घुलमिल गर्दा उनलाई थुप्रै कुरा सिकाइदियो । सुदूरपश्चिमका व्यक्तिबारे बनाइएको चित्रले पनि उनलाई अनौठो बनायो । उनले भनिन्, ‘सुदूरपश्चिमका व्यक्तिहरूप्रति यहाँकाहरूको मनमस्तिष्कमा एउटा बेग्लै चित्र हुने रहेछ, नजान्ने, पाखे रूपमा हेरिने रहेछ । तर मैले भने अलिक फरक रूपमा आफूलाई चिनाउँदै लगें ।’
उनले टेलिभिजन पत्रकारिता हुदैँ ‘हिमाल’ पत्रिका, एपिवान टेलिभिजन, ‘सौर्य दैनिक’सहित विभिन्न ‘अनलाइन न्यूज पोर्टल’ मा कामको अनुभव बटुलिन् । आफूमा क्षमता विकास गर्न कहिल्यै पछि हट्न नहुने उनी बताउँछिन् । कामका क्रममा उनले थुप्रै चुनौती झेल्दै अगाडि बढिरहिन् । समाचार संकलनदेखि फोटो पत्रकारितामा उनले थुप्रै समस्या झेल्दै आफूलाई अगाडि बढाइरहिन् । रिपोर्टिङ गर्दा होस् वा पत्रिकामा छाप्दा सबै विषयमा उनी नडराई प्रस्तुत भइन् ।
‘हिमाल खवर’ मा काम गर्दा काभ्रेमा भएको पारिवारिक बलात्कारको घटनालाई बाहिर ल्याइन् । पत्रिकामा उक्त घटना छापिएसँगै उनलाई मार्ने धम्कीसमेत आयो । बाटोमा हिँड्दा पछ्याउने क्रम बढ्न थाल्यो । आफ्नो सुरक्षाका लागि चक्कु बोकेर हिँड्न थालिन् । उनले भनिन्, ‘त्यो समाचारपछि थुप्रै धम्की आउन थालेपछि म आत्मरक्षाका लागि चक्कु बोकेर हिँड्न थालें ।’
संसद भवन नजिकै माओवादी आन्दोलनका क्रममा फोटो खिचेको ठाउँमा माओवादी लडाकुले उनको क्यामेरासँगै घाँटी समाते तर उनले त्यही फोटो पत्रिकामा छापिदिइन् । त्यसबेला पनि उनलाई उत्तिकै धम्की आयो । मार्छु र मर्छुसम्मको स्थिति उनले भोगिन् । उनलाई सबैले भन्थे–तिमीलाई मर्न डर लाग्दैन? जवाफमा उनले भन्थिन्, ‘काम गरेकी छु, कुनै अपराध गरेकै छैन ।’ सिके राउतले पहाडी महिलाहरू ‘वेश्या हुन् भनेपछि उनले त्यसको प्रतिवाद गर्दै ‘ब्लग’ लेखिन्, त्यो उनका लागि सधै स्मरणमा रहने ‘ब्लग’ बन्न पुग्यो । सबैतिरबाट उनलाई निशाना बनाइयो । आफ्नो ‘ब्लग’को प्रभाव त्यति पर्ला भनेर उनले सोचेकी थिइनन् । तर त्यसमा पनि निरन्तर धम्की उनले पाइरहिन् । पत्रकारिता पेसाले उनलाई निडर बन्न सिकाउनुका साथै जीवन जिउने कलासमेत सिकाएको छ ।
पत्रिका, फोटोपत्रकार, रिपोर्टर हुँदै उनको यात्रा ‘डकुमेन्ट्री’ तिर मोडियो । आफूले पनि थुप्रै कथा देखेको भन्न सकिने भएकाले पनि उनलाई ‘डकुमेन्ट्री’ तिर रहर जागेको हो । उनलाई लाग्यो, कथा छ क्यामेरादेखि भिडियो इडिटिङसम्मको सीप आफैसाग छ भने ‘डकुमेन्ट्री’ किन नबनाउने ? उनले आफैले निर्देशन गरी ‘डकुमेन्ट्री’ बनाइन् ‘देउकी प्रथा’ । सुदूरपश्चिममा प्रचलित यो प्रथा जो देवी देवताको सेवा गर्न कन्या–केटी चढाउने प्रचलन हो । कसैको भाकल पूरा गर्न अबोध बालिका किनेर देवताको मन्दिरमा चढाउने प्रथालाई नै उनले ‘डकुमेन्ट्री’ का रूपमा देखाइन् । बैतडीमा खिचिएको उनको उक्त ‘डकुमेन्ट्री’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त ग¥यो । यसका लागि थुप्रै चुनौती पनि झेल्नुप¥यो । सुटिङदेखि पात्रसम्म पुग्न उनका लागि त्यति सहज थिएन । सुटिङका क्रममा भाग्न पर्छ भनेर उनले तयारीका साथ भिडियो खिचिन् । उनले भनिन्, ‘क्यामेरामेनहरूलाई भन्यो भने त्यहाँसम्म जाँदैनन् भनेर जोखिमका बारेमा केही भन्न सकिन ।’
‘डकुमेन्ट्री’ हुँदै उनी श्रीमान् सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’ मा ‘प्रोडुसर’ का रूपमा जोडिइन् । चलचित्र क्षेत्रमा आफू मुसो भएर छिरेको र बाघ भएर निस्केको उनले अनुभव सुनाइन् । चलचित्रमा धेरै कुरा सिक्ने उनले मौका पाइन् । नेपाली चलचित्रमा पछाडि पर्नु लेखक र स्क्रिप्टमा लगानी नगर्नु मुख्य कारण रहेको उनको भनाइ छ ।