समयले यति छिटो फन्को मारिसकेको छ कि डेढ दशकअघिसम्म पनि केटी मान्छे घरबाट निस्कँदा ठूला आँखाले हेर्ने समाज अहिले उनीहरूप्रति गर्व गर्छ । युवतीहरूको पहिरन एवं चालढाल देखेर टीकाटिप्पणी गर्ने यो समाज कुनै समय बाइक लिएर निस्कने युवतीहरूप्रति नकारात्मक सोच राख्थ्यो तर अहिले त्यस्तो छैन, अहिले लेडी बाइक स्टन्ट राइडरहरूले समाज परिवर्तन भएको अनुभूति गरेका छन् । बाइक स्टन्ट खेल साहसिक खेलमध्ये एक हो ।
बाइकलाई वृत्ताकार शैलीमा फनफनी घुमाउनु, बेतोडले बत्तिइरहेको बाइकमाथि लम्पसार पर्नु, अगाडिको टायर हावामा उडाउनु आदि बाइक स्टन्टका केही उदाहरण हुन् । विदेशमा ५० औं वर्षदेखि लोकप्रिय यो खेल नेपालमा भने १० वर्षअघि मात्र प्रारम्भ भएको हो । खेलकुद परिषद्अन्तर्गत एड्भेन्चर स्पोर्टस्का रूपमा खेलिने यो खेललाई जोखिम र साहसको मिश्रण मानिन्छ । यसमा युवतीहरू पनि सक्रिय छन् ।
खेलकुद परिषद्मा सन् २००८ मा रजिस्टर गरिएको यो साहसिक खेल दर्ता हुनुअघिदेखि नै खेल्न थालिएको हो । सन् २०११ मा दीपेश श्रेष्ठले राइडर युनिफाइ दर्ता गरी विधिवत् रूपमा बाइक स्टन्ट सिकाइरहेका छन् । त्यही वर्षदेखि नै नेपालको बाइक स्टन्टमा महिला खेलाडीको उपस्थिति देखिएको हो । सुवानी थापा नेपालकै प्रथम लेडी स्टन्ट राइडर हुन् । उनी फोटोग्राफीकी सौखिन थिइन् । चोभारको मलपोखरीमा बाइक स्टन्ट सञ्चालन भैरहेको जानकारी पाएर सुभानी क्यामेरा बोकेर त्यहाँ पुगेकी थिइन् । आश्चर्यजनक ढंगले गरिएको स्टन्टले उनको ध्यान खिच्यो । शुभानीलाई निकै रमाइलो लाग्यो र एकपटक आफूलाई पनि प्रयास गर्न मन लागेको कुरा सुनाएपछि दीपेशले गर्न सक्छ्यौ गर न भनेर प्रोत्साहित गरे र सुभानीले क्यामेरा छाडेर बाइकको हेन्डिल समातिन् ।
एकैपटकमा उनले ल्यान्डस्केप स्टन्ट फलो गरेर देखाइदिइन् । बाइकको एक साइडमा उभिएर देखाइने स्टन्ट हो, ल्यान्डस्केप । यसका लागि राइडर र बाइकको सन्तुलन मिल्नुपर्छ । ल्यान्डस्केप स्टन्ट गर्न निरन्तर अभ्यास आवश्यक हुन्थ्यो तर शुभानीका निम्ति एउटै प्रयास पर्याप्त भयो । त्यसपछि शुभानी बाइक स्टन्टमा थप आकर्षित भइन् । सुभानीले स्टन्टको आधारभूत कला सिकिन् र दरबारमार्गमा आयोजित ‘डान्स पार्टी विथ स्टन्ट शो’ मा प्रस्तुत भइन् । नेपालमै पहिलो पटक लेडी स्टन्ट राइडरको प्रस्तुतिलाई दर्शकहरूले रुचिपूर्वक हेरे । शुभानीले बाइक स्टन्ट गरेको देखेर धेरै युवती यसप्रति आकर्षित भए । यो खेलमा फेसियल एक्सप्रेसन, मुस्कान एवं आत्मविश्वासको समेत ठूलो भूमिका हुन्छ । आत्तिने, डराउने मानिसहरूले यो खेल खेल्न सक्दैनन् । ल्यान्डस्केपका अतिरिक्त स्केप, कम्पास, साइट स्केचबाहेक वर्न आउट र लेजे वोयजस्ता स्टन्टमा अहिले नेपाली महिला राइडरहरू पोख्त भैसकेका छन्।
इन्जिनको शक्ति र ब्रेकको सन्तुलनमा पछाडिको टायरलाई धूवाँको मुस्लो निस्कने गरी घुमाउनुलाई वर्न आउट भनिन्छ । यस्तै लेजे वोयअन्तर्गत बेतोडले बत्तिइरहेको बाइकमा लम्पसार परेर सुत्ने कला देखाइन्छ । बाइकलाई वृत्ताकार घुमाउनुलाई ‘ह्युमन कम्पास’ भनिन्छ । साइड स्केचमा एक छेउमा बसेर बाइकलाई फनफनी घुमाइन्छ । त्यसबाहेक ह्विली, हाइ चेयर, सिट डाउन ह्विली, ट्वेल्भ ओक्लक, वर्न आउट, स्टपी, लेजे वोय, फेन्डर ड्रगजस्ता स्टन्टमा युवतीहरूले आफूलाई अभ्यस्त बनाउँदै लगेका छन् ।
बाइक स्टन्ट आफैमा जोखिमपूर्ण खेल भए पनि यो असुरक्षित भने नभएको दीपेश श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्–‘नियमपूर्वक गर्ने हो भने अरु खेलजस्तै सामान्य नै छ तर जथाभावी खेल अभ्यास गर्नाले चोटपटक लाग्ने भय हुन्छ । यस किसिमका स्टन्ट गर्न कठिन अभ्यास, आत्मविश्वास र साहस चाहिन्छ । शारीरिक लचकता, तन्दुरुस्ती अनि एकाग्रता त हुनैपर्छ । डर र टेन्सनमा यो खेल खेल्नु भनेको दुर्घटना निम्त्याउनु हो ।’ युवाहरूको क्रेज रहेको यस्तो खेलले स्वत: लैङ्गिक विभेदका विरुद्धमा अभियान छेड्ने मेरिनाको मान्यता छ ।
नेपालमा महिनाका ४–५ वटा जति रोड शो, इभेन्ट, महोत्सव आदि भैरहेका हुन्छन् । साथमा अहिले चलचित्र तथा म्युजिक भिडियोहरूमा पनि बाइक स्टन्टहरू राख्ने चलनले युवतीहरूमाझ यसको लोकप्रियता अझ वृद्धि भएको छ । अहिले बाइक स्टन्टमा रेस नारी, रेसमाण्डु, जिम खाना आदि प्रतियोगिताहरू आयोजित हुन्छन् । इन्टरनेसनल फिमेल राइड डेमा नेपालमा पहिलो पटक कार्यक्रम आयोजित गरिएको थियो । काठमाडौंबाहेक धरान, इटहरी, बुटवल, पाल्पा, पोखरा, झापा, धुलिखेल तथा तनहुँका युवतीहरूसमेत बाइक स्टन्टमा सक्रिय छन् । अहिलेसम्म ५० जनाजति युवतीले बाइक स्टन्ट सिके पनि यसलाई निरन्तरता दिने २० जना मात्र छन् ।
कमाउन पनि सकिन्छ : १. बाइक प्रमोसन २. बाइक टेस्ट राइड ३. राइजिङको प्रशिक्षण ४. बाइक विज्ञापन ५.रोड शो ५. इभेन्ट आदिबाट ।
केही नाम चलेका लेडी बाइक स्टन्ट राइडर
शुभानी थापा
दीपा श्रेष्ठ
वर्षा बस्नेत
नीता डीसी
आज्ञा खनाल
सुजना श्रेष्ठ
लिन्दा बतास
दीक्षा श्रेष्ठ
आरजु सिंह ठकुरी
नवाङ्ग मोक्तान
शुभानी थापा
म सानैदेखि ग्याजेटमा रुचि राख्थें । कलेज पढ्न थालेपछि फोटोग्राफीमा रुचि बढ्यो र क्यामेरा किनेर फोटो खिच्दै हिँड्न थालें । यही क्रममा बाइक स्टन्टको फोटो खिच्न पुग्दा रहर जागेर दीपेश दाइसँग कुरा गरेपछि त्यही बाइकमा ल्यान्डस्केप स्टन्ट गरें । मेरो परफर्मेन्स हेरेपछि दीपेश दाइले तिमी गर्न सक्छ्यौ तर सिक्नुपर्छ भनेकै दिनदेखि बाइक स्टन्ट सिक्न थालें । आफूले कन्फिडेन्टका साथ गर्न सकेपछि मात्र घरमा बताएँ । मेरो साहसिक कामबाट परिवारका सबै सदस्य खुसी छन् । नेपालकी प्रथम लेडी बाइक राइडरका रुपमा पत्रपत्रिकाहरूमा नाम आएपछि सबैले प्रशंसा गर्न थालेका छन् । ग्रिन गभरमेन्ट नेपालमा कार्यरत भएकाले म कामको हिसाबले वातावरणविद् हुँ । त्यसैले मलाई इलेक्ट्रिक बाइकमा स्टन्ट गर्ने रुचि छ । यस्ता खेलले महिलाहरूको कन्फिडेन्ट लेबल पनि बढाउने भएकाले अझ धेरै युवती यो क्षेत्रमा आउनुपर्छ ।
वर्षा बस्नेत
शुभानी थापालाई लेडी राइडरका रूपमा पत्रपत्रिकाहरूमा देखेपछि प्रशिक्षकहरू को–को हुन् भनेर खोज्दै गएपछि राइडर युनिफाइ टिमसँग मेरो परिचय भयो । बाइक चलाउने र रेसमा रुचि भएकाले पनि सक्छु भनेर म यसमा लागेकी हुँ । होन्डा डिभा कप–२०१३ मा सेकेन्ड रनरअप भएँ भने जिमखानामा विजयी भएँ । त्यति मात्र होइन नेपालमा पहिलो पटक आयोजित इन्टरनेसनल फिमेल राइड डेमा पनि विजेता नै भएँ । मैले बीएसडब्लु तेस्रो वर्षमा पढ्दै साथीहरूसँग मिलेर एनजीओ खोलेकी छु । जसको अध्यक्ष म आफैं हुँ । तीन जना दिदीबहिनी मात्र भएकाले पनि घरमा मलाई छोराजस्तै भन्नुहुन्थ्यो । मेरो कामप्रति उहाँहरू गर्व गर्नुहुन्छ ।
दीपा श्रेष्ठ
म अहिले बीएस्सी नर्सिङ सकेर सारथी नेपालमा नर्सका रूपमा व्यस्त छु । अहिले म मास्टर एण्ड साइकोलोजी गर्दैछु । म पहिले स्कुटर चलाउँथें तर नेपालमा युवतीहरूले पनि बाइक स्टन्ट गर्छन् भन्ने थाहा थिएन । दरबारमार्गमा बाइक स्टन्ट हेर्न जाँदा शुभानीले बाइक स्टन्ट गरेको देखेर म हेरेको हेर्यै भएँ । त्यही दिन चोभार गएर सिट स्टन्ट गर्ने प्रयास गरी म पनि गर्न सक्छु भनेर राइडर युनिफाइ ज्वाइन गरें । मैले पोखरा, बुङमती तथा वसन्तपुरमा बाइक स्टन्ट गरें । रेसमाण्डु–३ मा विजयी भएपछि ममा अझ राम्रो गर्नुपर्छ भन्ने भावना जाग्यो । पहिले त घरमा थाहै नदिई ज्वाइन गरेकी थिएँ । शोहरूपछि पत्रपत्रिकामार्फत घरमा थाहा भयो । घरबाट सपोर्ट भए पनि एक्ली छोरी भएकीले हातखुट्टा भाँचिए भने के गर्ने भनेर चिन्ता गर्नुहुन्छ तर आमाबुवालाई लाइभ देखाउन लगेपछि उहाँहरूमा पनि कन्फिडेन्ट बढेको छ ।
मेरिना श्रेष्ठ
पहिले म बेल्जियम, पोर्चुगल तथा जर्मनीमा भएको आमाको होटलमा सघाइरहेकी थिएँ तर विगत ६ महिनादेखि नेपालमा राइडर युनिफाइको म्यानेजरका रूपमा व्यस्त छु । सानैदेखि मोटरसाइकल तथा गाडीमा रुचि राख्थें । मैले म्युनिकमा ५२ सम्मको कोर्स पूरा गरिसकेकी छु । मैले अन्तर्राष्ट्रिय स्टन्ट राइडरहरूसँग पनि सिकेकी छु । म आफूलाई म्युनिखमा पनि राइडरका रूपमा चिनाउन चाहन्थें । नेपाल आएपछि यहाँ पनि महिलाहरू स्टन्टमा अब्बल हुँदै गएको महसुस गरी उनीहरूका लागि केही गरौं भनेर यसमा ज्वाइन भएँ । म ग्लोबल वुमन हु राइड, फिमेल राइडर अराउन्ड वल्र्ड तथा वुमन इन एड्भेन्चरसँग आबद्ध छु ।
मैले बेलायत, भियतनाम तथा पोल्याण्डका एनआरएन युवतीहरूले स्टन्ट गरेको देखेकी छु तर त्यहाँको लेबलमा कोही पुगेको छैन । मेरै अगुवाइमा अस्ट्रेलियन राइडर गन्टरले यता आएर वा उतै लेडी स्टन्ट राइडरलाई लगेर प्रशिक्षण दिने पक्का भैसकेको छ । अहिले हाउस वाइफहरूलाई सडकमा कसरी सेफ्टीसँग बाइक चलाउने भन्ने प्रशिक्षण दिँदैछौं । सेफ्टीका लागि स्कुटरमा पनि फुल हेल्मेट लगाउनुपर्ने र पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने प्रावधान हुनुपर्ने कुरा बुझाउने जमर्काे गर्दैछौं । यसमा नेपाली युवतीहरूको उत्साह बढाउन अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउने एवं प्रशिक्षण दिने तयारी पनि छ ।
तस्विरहरू : महेश प्रधान