लक्ष्मी आचार्य, गायिका
गीत–संगीतमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि गीत–संगीतमा रुचि राख्थें । कैलालीको टीकापुरमा हुर्किएँ । सुदूरपश्चिमको देउडा गीतले मलाई सानैदेखि आकर्षण गर्यो । भेगीय हिसाबले पनि म गीत–संगीतमा तानिएँ ।
गायिका बन्न कस्तो संघर्ष गर्नुपर्यो ?
सुदूरपश्चिमबाट काठमाडौं आउनकै लागि ठूलो संघर्ष गर्नुपर्यो । त्यतिबेलाछोरीलाई सहज रूपमा बाहिर पठाउने चलन थिएन । गीत गाउने रहर बोकेर यहाँ आउँदा अर्को संघर्ष गर्नुपर्यो । सुदूरपश्चिमकी चेली भनेर मलाई सामान्य रूपमा हेरियो । देउडा सुन्ने र गाउने प्रवृत्ति फस्टाएको थिएन । स्टुडियो हेर्न र त्यहाँसम्म पुग्न धेरै संघर्ष गरें । लामो संघर्षपछि नै स्टुडियो पुगेकी हुँ ।
आफूलाई देउडा गायिका भन्न रुचाउनुहुन्छ?
सांगीतिक क्षेत्रमा लोकदोहोरीबाट मेरो करिअर सुरुवात भएको हो । लोकगीतसँगै आइटम गीत र देउडा गाउन थालें । अरु गीतभन्दा देउडा गाउन रुचाउँछु । बालापनदेखि देउडासँग नजिक भएकाले पनि यसमा छुट्टै रुचि छ । देउडा गीत मनैदेखि गाउँछु ।
देउडा सुन्ने जमात कस्तो पाउनुहुन्छ ?
देउडा गीत सुदूरपश्चिममा मात्र सीमित छैन । देश–विदेश सबैतिर देउडा गुञ्जिन थालेको छ । देउडामा फ्युजन हुन थालेको छ । नयाँ स्वरूपमा देउडा आउन थालेको छ । नयाँ पुस्ताले पनि रुचाउन थालेको छ । अरु समुदायले पनि देउडा सुन्ने र हेर्ने ट्रेन्ड बढेको छ ।
तपाईंलाई देउडा गीतको मौलिकता बिगारेको आरोप छ नि ?
टिपिकल देउडा चलेनन् । त्यसकारण संगीतमा फ्युजन गरेर देउडालाई नयाँ स्वरूपमा ल्याउने प्रयास गरेकी हुँ । यसको उद्देश्य देउडा धेरैले सुनून् र हेरून् भन्ने हो । म ढुक्कका साथ भन्न सक्छु, देउडा सुनिएको नै हाम्रो कारणले हो । फ्युजन गरेकाले नै आज देउडा एक लेभलमा पुगेको छ । पुराना पुस्ताले त आरोप लगाउनुभएको छ, तर खोइ त उहाँहरूले गीत सुनाउन सक्नुभएको ? यसमा बुझाइको कमी छ । देउडाको शब्द र लयलाई हामीले बिगारेका होइनौं । संस्कृति नमर्ने गरी भाषालाई फराकिलो ढंगले प्रस्तुत गर्न संगीतमा फ्युजन मात्र गरिएको हो । यसको मौलिकता मरेको छैन ।
सुदूरपश्चिममा भइरहेको छाउपडीको संस्कृति र घटनालाई कसरी हेर्नुहुन्छ ?
छाउपडी सदियौंदेखि चल्दै आएको एउटा परम्परा हो । यस्तो समयमा छुट्टै बस्नुपर्ने भनेर धर्म–संस्कृतिसँग नै जोडिएको छ । त्यसकारण छोरीहरू बाहिर बस्छन् । सुदूरपश्चिमका घर नै छाउपडीजस्ता हुन्छन् त छोरीहरू कहाँ बसून् ? सामाजिकदेखि राजनीतिक अभियन्ताले सुदूरपश्चिमलाई छाउपडीको कुरूप रूप दिएका छन्, जुन गलत छ । जनचेतना र शिक्षाको कमी छ । उनीहरूलाई जनचेतना जगाउन आवश्यक छ ।
सुदूरपश्चिमको राम्रो पक्ष के लाग्छ ?
भाषागत विविधिता र सांस्कृतिक सुन्दरता । संस्कार र संस्कृतिले धनी छ सुदूरपश्चिम ।