Successfully Copied

सेलिब्रेटीको रोजाइमा रत्न

स्नेहा आफ्नो सत्गुरुको कपरको औंठी सधैं लगाउँछिन् तर गहना लगाउँदिनन् ।

महिलाहरूले परापूर्वकालदेखि नै विभिन्न खालका सुन, चाँदी, पित्तल एवं अन्य धातुका गहना तथा मणिमाणिक्य, हीरामोतीजस्ता रत्नका गहनाहरू बनाएर हातमा, कानमा, घाँटीमा लगाएर हिँडेको पाइन्छ । अहिले महिलाहरूमा गहनाप्रतिको रुचिमा परिवर्तन देखिए पनि त्यसप्रतिको रुचि भने कायमै छ ।प्रथम मिस नेपाल रुवी राणा शाह सानैदेखि सजिएर हिँड्थिन् । गहना नारीको सौन्दर्यको पहिलो प्राथमिकतामा पर्ने बताउने रुवी गहनाविना महिलाहरू अपूरो हुने बताउँछिन् । उनलाई सबै खालका गहनामा उत्तिकै रुचि छ । त्यसमा पनि सबैभन्दा सुन मन पर्छ तर डायमण्डबाट क्लासिक लुक्स प्राप्त हुने भएकाले उनी ठाउँअनुसार डायमण्डका सेट लगाउँछिन् ।

सुन लगाउँदा आफूले लक्ष्मीको जस्तो रूप प्राप्त गर्ने हुँदा उनी प्राय: सुनै लगाउन खोज्छिन् । रुवी क्याजुअल पहिरनमा सानो टप र बाला, पाइन्टमा कट वर्क गरेको सुनको बाला तथा फर्मल पाइन्टमा रोडियम वर्क गरिएको गहना लगाउँछिन् । रुवीलाई औंठी भने डायमण्डकै मन पर्छ । उनी स्टोनप्रेमी हुन् । उनलाई ठूल्ठूला स्टोन मनपर्छन् । रुवी स्टोनमा पनि पन्ना, मुगा, टोपास, ओपल राखेर ज्वेलरी बनाइरहेकी हुन्छिन् । सिफन तथा नेटका भरेका साडीमा डायमण्ड, काञ्जिपुर साडीमा सुन तथा प्लेन साडीमा मीनाकारी गरेको सेट लगाउन रुचाउँछिन् । समय–समयमा कुनै न कुनै गहना किनिरहने रुवीले अहिलेसम्म आफूसँग भएको पुरानो गहना बिगारेर नयाँ गहना बनाएकी छैनन् ।

सुनका गहनाको मूल्य बढ्दै जाने भएकाले पनि कुनै नयाँ डिजाइन देख्नासाथ बनाइहाल्ने उनको स्वभाव छ । सानै उमेरमा पुतली हो पुतलीजस्ता बाल गीत गाउँदै सयौं गीत गाइसकेकी गायिका संगीता शाक्य गहनाप्रति असाध्यै रुचि राख्छिन् । पहिले कार्यक्रममा विदेश जाँदा गहना किनेर राख्ने संगीता सुन भने सिंगापुरमा किन्थिन् । सुन र डायमण्डका गहनाको कलेक्सन गर्न रुचाउने शाक्य मोतीका गहनामा आफूलाई क्लासी तथा स्मार्ट देखिने बताउँछिन् । बजार जाँदा कतै राम्रो सेट देखियो भने किनिहाल्ने स्वभावकी संगीतामा स्टोनहरूप्रति भने सामान्य मात्र रुचि छ । पहिरनअनुसार कलर म्याचिङ गरी स्टोन लगाउने संगीता पन्ना, माणिक, जर्केन आदि लगाउँछिन् । संगीतासँग धेरैजसो घाँटी तथा कानमा लगाइने लकेट तथा औंठीका सेटहरू छन् । डायमण्डको पनि केही कलेक्सन छ । गहना लगाएपछि आफू नै झलमल्ल भएको उनको अनुभव छ ।

गायिका तथा आइटी विशेषज्ञ सुनी जोशीलाई डायमण्ड, सुन तथा मोतीका सेट सारै मनपर्छन् । राशिअनुसार पन्ना लगाउनुपर्ने भएकाले उनी पन्ना पनि छुटाउँदिनन् । सामाजिक कार्यक्रममा जाँदा मोतीको सेट लगाउन रुचाउने सुनी आफूलाई डायमण्ड सबैभन्दा राम्रो लाग्ने बताउँछिन् । उनमा बजारमा आएका नयाँ–नयाँ डायमण्डका सेट देख्नासाथ किनिहाल्ने स्वभाव छ । जोशीसँग एन्टिक गहनादेखि लेटेस्ट नयाँ गहनाहरू पनि छन् । सुनी गहना भने नेपालमा किन्दिनन् । डायमण्ड सुरतमा र सुन दुबईबाट किनेर ल्याउँछिन् । उनीसँग रुवी, ओपल, ह्वाइट टोपाज, इम्ब्रल्ड, जर्केन, क्रिस्टल आदि स्टोनको पनि राम्रै कलेक्सन छ ।

सुनी घरतिरको पार्टी तथा विवाहहरूमा सुनको हेभी गहना लगाउँछिन् । सानो नेकलेस लगाई सुनकै लामो माला लगाउने जोशी सुनको असर्फी, एन्टिक पिसका हारहरू बढी कलेक्ट गर्छिन् । उनी बाहिर जाँदा सुनको बिस्कुट ल्याउँछिन् । पछि मनपर्ने डिजाइन आउँदा त्यसैबाट गहना बनाउँछिन् । सुनी गहनाको डिजाइनमा यतिसम्म क्रेजी छिन् कि कतै जाँदा कसैले लगाएको गहना मन पर्‍यो कि मोबाइलबाटै खिचेर ज्वेलरी सप पुग्छिन् र त्यस्तै बनाउन लगाउँछिन् । उनीसँग बैंककको समुद्रको छेउबाटै किनेर ल्याएको मोतीको कलेक्सन पनि छ । 

मेकअप आर्टिस्ट स्नेहा राणालाई गहनाप्रति खासै रुचि छैन । उनी घडीलाई नै ज्वेलरीका रूपमा लिन्छिन् । अरुले गहना किनेजस्तै उनी घडीमा खर्च गर्छिन् । विवाह तथा पारिवारिक भेटघाटमा भने गहना लगाउनैपर्ने बाध्यताका कारण मात्र लगाउने राणा बताउँछिन् । उनलाई डायमण्ड, पर्ल तथा इम्ब्रल्ड गहनाहरू मनपर्छन् । स्नेहासँग हजुरआमा, आमाहरूले दिएका एन्टिक गहनाको कलेक्सन पनि छ तर उनले मोर्डन एवं नयाँ गहना भने बनाएकी छैनन् । स्नेहा आफ्नो सत्गुरुको कपरको औंठी सधैं लगाउँछिन् तर गहना लगाउँदिनन् । गहना लगाएर सुन्दर देखिनभन्दा भित्री खुसीले सुन्दर देखिन रुचाउने राणा गहना लगाउनुको साटो कलेक्सनमै रमाउँछिन् ।

 Image