Successfully Copied

रंगमञ्चका महिला हस्ती

नेपालमा नाटकको परम्परा धेरै पुरानो हो। लिच्छविकालदेखि नै सहरका डबलीहरूमा नाटक देखाइन्थ्यो।

नेपालमा नाटकको परम्परा धेरै पुरानो हो। लिच्छविकालदेखि नै सहरका डबलीहरूमा नाटक देखाइन्थ्यो। यसमा दरबारका नर्तकीहरू पनि समावेश हुन्थे। यो क्रम मल्लकाल हुँदै आधुनिक नेपालसम्म चलिरहेको छ। यति पुरानो चलन अहिले पनि उस्तै छ। राजनीतिमा धेरै पटक परिवर्तन आए पनि नाटक खेल्ने-खेलाउने परम्परा भने अहिले पनि उस्तै छ। नाटकमा प्रयोग हुने शैली परिवर्तन भए पनि नेपालीहरूमा नाटकप्रतिको मोह थपिँदै गएको छ। काठमाडौंमा खोलिएका नाट्यघर मात्र यसको प्रमाण होइन, त्यहाँ हुने दैनिक शो र त्यसमा लाग्ने दर्शकको भीडले पनि यही संकेत गर्दैछ।

 काठमाडौंका मुख्य स्थानहरूमा मण्डला, शिल्पी, सर्वनाम, थिएटर भिलेज गरी चार वटा रंगमञ्च छन्। यी चारवटै संस्थाले नियमित नाटक देखाइरहेका छन्। त्यति मात्र होइन, थप दुईवटा नाट्यघर यसै वर्ष खुल्ने तयारीमा रहेको बताइन्छ।

३३ वर्षअघि अशेष मल्लको 'सर्वनाम’ नाट्यघरले संस्थागत रूपमा नाटक देखाउन थालेको हो। मल्लले दर्शक जहाँ छन्, त्यहीँ गएर नाटक देखाउने काम गरे। सडकमै प्रदर्शन गरिने यस्ता नाटकलाई सडक नाटक नामकरण गरियो। यस्ता नाटकबाट अम्बिका प्रधान, राधा श्रेष्ठजस्ता महिला कलाकार जन्मिए। सर्वनामकै मीना खड्काले विगत १८ वर्षदेखि त्यहाँबाट उत्पादन हुने नाटकहरूमा अभिनय गर्दै आएकी छिन् भने भिनमाया प्रजापति १५ वर्षदेखि नाटकमै समर्पित छिन्।

टिकट काटेर नाटक हेर्ने चलनको सुरुवात भने गुरुकुलले गर्‍यो। गुरुकुल स्थापना हुनुअघि नै चन्द्रमाला, सूर्यमाला, श्रीमाला तथा निशा शर्मा चर्चित नाट्य कलाकार मानिन्थे। यी चार दिदी-बहिनीमध्ये निशा शर्माले सुनील पोखरेलसँग विवाह गरिन् र अभिनयलाई पनि निरन्तरता दिइन्। सुनील र निशाको पहलमा खुलेको गुरुकुलले पनि प्रशस्त महिला कलाकार जन्मायो। निशा शर्माको रंगमञ्च कला स्वदेशमा मात्र होइन, विदेशी भूमिमा पनि त्यत्तिकै प्रस्तुत हुने गरेको छ। गुरुकुलले अभिनयको कक्षा सुरु गरेपछि निशालाई सहयोग गर्ने धेरै महिला कलाकार थपिए।

अहिलेका सक्रिय नाट्यकर्मी अरुणा कार्की र सरिता गिरी १३ वर्षदेखि गुरुकुलमै छन्। गुरुकुलको पहिलो समूहका उनीहरू अहिले पनि रंगमञ्चबाटै राम्रो कमाइ गरिरहेका छन्। यी दुवैले सयभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। दोस्रो समूहकी प्रमिला कटुवाल, सरस्वती चौधरी, पशुपति राई पनि गुरुकुलमै सक्रिय छन्। ँअग्निको कथा’ बाट निकै प्रशंसा पाएकी सरिताले त्यसमा भिक्षुणीको भूमिका निर्वाह गर्दा आनन्द आएको बताइन्। ँमिस मार्गरिता’ मा एकल अभिनय गर्नु नै उनको करियरको टर्निङ प्वाइन्ट मानिन्छ। अहिले उनी नाटकसम्बन्धी वर्कसपका लागि जापान पुगेकी छिन्। त्यसअघि उनले नाटक रसोमनमा झाँक्रीको भूमिका गरेकी थिइन्।  

त्यसो त सरितासँगै अरुणा पनि रंगमञ्चमै जमिरहेकी छिन्। आफ्नो करियरमा 'डल्स हाउस’ ले नयाँ मोड ल्याएको मान्ने अरुणालाई इरियस र बुख्याँचा मन परेका नाटक हुन्। अरुणा अहिले ठूलोपर्दामा पनि उत्तिकै व्यस्त छिन्। मौन, साधुरो, कबड्डीजस्ता चलचित्रमा उनको अभिनय हेर्न पाइन्छ। यति हुँदाहुँदै पनि रंगमञ्चमा दर्शकका सामु अभिनय गर्दा आउने मज्जा चलचित्रमा नपाएको कार्कीले बताइन्। यता सरस्वतीको अभिनय जीवनमा नाटक 'एलुमुनिको तिर्खा’ टर्निङ प्वाइन्ट हो। त्यस्तै प्रमिलालाई डा. कनकमा आफूले गरेको अभिनय मन पर्छ। अहिले उनी पूर्व-पश्चिमको सडक नाटक यात्रामा व्यस्त छिन्।

अरुणा, सरिता र सरस्वती तीनै जना नाटकका साथमा चलचित्रमा पनि व्यस्त हुँदैछन्। अहिले थिएटरका कलाकारहरूले चलचित्रमा प्रवेश पाउनु र सफल पनि हुनुले थिएटरप्रतिको आकर्षण बढ्दै गएको सरिता गिरीले बताइन्। चलचित्र कागबेनीबाट रंगमञ्चका कलाकारहरू चलचित्रमा प्रवेश गरेका हुन्। आज नयाँ चलचित्रमा रंगमञ्चका कलाकार देखिएनन् भने अचम्म मान्नुपर्ने अवस्था छ। यति हुँदाहुँदै पनि जसरी रंगमञ्चका सौगात मल्ल, दयाहाङ राई, कर्मजस्ता कलाकार नायकका रूपमा स्थापित भए, त्यति महिला स्थापित हुन सकेनन्। 'नायकहरूको तुलनामा नायिकाहरू आउन नसक्नुमा रगंमञ्चका महिला कलाकारले आफूलाई फिट राख्न नसक्नु एउटा मुख्य कारण हो’ सर्वनामकी चर्चित कलाकार मीना खड्काको धारणा छ। मीना चलचित्र मुकुन्द इन्दिरामा इन्दिराको भूमिकामा देखापर्दैछिन्। चलचित्र मैनामा उनले गरेको अभिनयको ठूलो प्रशंसा भएको थियो। मीना १६ वर्षको उमेरमा नाटकको रिहर्सल हेर्न जाँदा एउटा सानो चरित्रबाट रंगमञ्चमा छिरेकी थिइन्।

मीनाले अहिलेसम्म ६० वटाभन्दा बढी नाटकमा अभिनय गरेकी छन्। उनलाई सर्वनामकै अम्बिका प्रधान र राधा श्रेष्ठको अभिनय मन पर्छ। त्यसो त सर्वनामका भिनमाया प्रजापति र  साधना पनि रंगमञ्चमा जमेका कलाकार हुन्। भिनमायाको पहिलो नाटक 'असुरक्षित मीराहरू’ हो।  उनलाई नाटक ँसकुनी पासा’ मा सूत्रधारको भूमिका मन पर्छ। सर्वनामकै साधना भने दुई वर्षदेखि नर्सिङ पेसा छोडेर नाटकमा व्यस्त छिन्। साधनालाई सरिता गिरी, निशा शर्मा तथा भिनमायाको अभिनय मन पर्छ।

१५ वर्षअघि डा. शिव रिजालले संचालन गरेको संज्ञा थिएटरमार्फत नाटकमा छिरेकी लुनिभा तुलाधर अहिले शिल्पी नाट्य समूहमा व्यस्त छिन्। २००३ मा नेपाल टेलिभिजनमा प्रवेश गरेकी लुनिभा कान्तिपुर टेलिभिजनमा पोथी बास्यो र पवनकली कार्यक्रममार्फत लोकप्रिय भइन्। त्यसपछि उनी स्वेच्छाले टेलिभिजन छाडेर नाटक पढ्न भारततर्फ लागिन्। भारतमा रंगमञ्चसम्बन्धी अध्ययन गरेर फर्किएकी लुनिभा अनुप बरालको एक्ट्रेस स्टुडियो हुँदै शिल्पीमा जमेकी हुन्। लुनिभालाई एक्ट्रेस स्टुडियोकी मेनुका प्रधान तथा गुरुकुलकी सरिता गिरीको अभिनय राम्रो लाग्छ। अहिले शिल्पी नाट्य समूहमा रेनुका कार्की, सरिता शाह, पवित्रा खड्का, स्मिता देवान, मेधा कोइराला, विना भट्टराई आदि महिला कलाकार सक्रिय छन्। भारतबाटै रंगमञ्चसम्बन्धी अध्ययन गरेर आएकी समुना केसी भने फ्रिलाइन्सर कलाकारका रूपमा कार्यरत छिन्।

यता अनुप बरालले सञ्चालन गरिरहेको एक्ट्रेस स्टुडियोमा दिया मास्के तथा मेनुका प्रधान व्यस्त छन् भने  त्यहाँ नाटक सिकिरहेका युवतीहरू पनि प्रशस्तै छन्। भक्तपुर कमलविनायकस्थित सेलो थिएटरमा सुकुमाया मोक्तान, शान्ति वाइवा तथा शर्मिला योञ्जन संलग्न छन्।

नाटकमा लागेका कलाकारलाई बेलाबेलामा नेपाली चलचित्रबाट राम्रो भूमिकाको अफर आउँछ। त्यसबाहेक बेलाबेलामा नेपाली नाटकको प्रतिनिधित्व गर्दै विदेशमा नाटक देखाउने अवसर पनि जुर्छ। त्यसैले निशा शर्मादेखि समुना केसीसम्मका दर्जनौं कलाकार अहिले नाट्य क्षेत्रमा लोकप्रिय छन्। त्यसमा पनि अरुणा कार्की, सरिता गिरी, सरस्वती चौधरी, प्रमिला कटुवाल, पशुपति राई, सर्वनाममा मीना खड्का, भिनमाया प्रजापति, साधना, शिल्पीमा लुनिभा तुलाधर, रेनुका कार्की, सरिता शाह, पवित्रा खड्का, स्मिता देवान, मेधा कोइराला, विना भट्टराई, थिएटर भिलेजमा मनीषा थापा, शारदा अधिकारी, मण्डलामा सिर्जना सुब्बा, सिर्जना अधिकारी, शारदा अधिकारी, जुनु केसी, शारदा अधिकारी तथा एक्ट्रेस स्टुडियोका दिया मास्के र मेनुका प्रधानलाई लोकप्रिय र सक्रिय नाट्य कलाकार मानिन्छ।

 Image