Successfully Copied

साउनको शृंगार मेहन्दी

मेहन्दी परम्पराका पछाडि सामाजिक कारण पनि छ । खासगरी खेती–किसानीमा आधारित समाजमा मेहन्दीलाई औषधीय मूल्यसँग जोडेर हेरिन्छ । नेपाली परम्पराअनुसार लुतो फाल्ने र तिउरी फूल लगाउने चलन निकै पहिलेदेखि चलिआएको छ ।


साउन शृंगारको महिना पनि हो । यतिबेला चुरा, पोते, टीकासँगै मेहन्दीले आफूलाई चिरिच्याट्ट बनाउने प्रचलन छ । साउन सुरु भएसँगै खासगरी नारीका हातहरू मेहन्दीले सजिन थाल्छन् । त्यसैले घरदेखि फुटपाथसम्म मेहन्दी लगाउनेको होडबाजी चल्छ । गृहिणी, विद्यार्थी, कर्मचारी, व्यवसायी सबै नारीको हातमा देखिने एकरूपता नै मेहन्दी हो ।
मेहन्दी किन लगाइन्छ ? यसको सामाजिक, सांस्कृतिक अर्थ र महत्व फरक छ । पूर्वीय दर्शनमा नारी सौन्दर्यलाई विशेष महत्व दिइएको छ । त्यसमा पनि सोह्र शृंगारको बयान छ । नारीको सोह्र शृंगारमध्ये एउटा हो, मेहन्दी ।

मेहन्दी लगाउने परम्परासँग विभिन्न जनविश्वास जोडिएको छ । यसलाई खासगरी प्रणय सम्बन्ध सुमधुर बनाउने शृंगारका रूपमा लिइन्छ । अविवाहित नारीले असल वा खोजेजस्तै श्रीमान् भेटियोस् भनेर त विवाहितले आफ्नो दाम्पत्य सम्बन्ध प्रगाढ होस् भनी मेहन्दी लगाउने गरेको जनविश्वास छ । त्यसैले त मेहन्दीको रंग जति गाढा उति नै सम्बन्ध पनि गाढा हुने विश्वास छ ।
मेहन्दी परम्पराका पछाडि सामाजिक कारण पनि छ । खासगरी खेती–किसानीमा आधारित समाजमा मेहन्दीलाई औषधीय मूल्यसँग जोडेर हेरिन्छ । नेपाली परम्पराअनुसार लुतो फाल्ने र तिउरी फूल लगाउने चलन निकै पहिलेदेखि चलिआएको छ । असारमा हिलोका कारण शरीर चिलाउने, बिबिरा/खटिरा आउने हुन्छ । यसलाई हटाउन साउन १ गते विधिपूर्वक विभिन्न वनस्पतिको प्रयोग गरी ‘लुतो फाल्ने’ चलन छ । हिलोमाटोमा काम गर्दा, धान रोप्दा छालामा हिलोले खाने, खटिरा आउने, संक्रमण हुने जोखिम हुन्छ । यस्तो अवस्थामा तिउरीलगायतका वनस्पति पिसेर मेहन्दीका रूपमा लगाउने चलन पनि छ । छालासम्बन्धी हुने विभिन्न संक्रमण निको बनाउने औषधिका रूपमा पनि यसलाई लिइन्छ । वर्षायाममा छालाको समस्या बढी हुने चिकित्सकको भनाइ छ । त्यसैले तिउरीको पातमा फर्सीको फूल, सिमीको पात आदि मिसाएर पिस्ने गरिन्छ । त्यसलाई नङ एवं हातमा लगाउने गरिएको छ । अर्कोतर्फ यतिबेला धान एवं कोदो रोपेर किसानहरू फुर्सदिला हुन्छन् । फुर्सदको यो समयमा सुकिलो भई आफूलाई शृंगारले सजाउने प्रवृत्तिसँगै मेहन्दी लगाउने परम्परा सुरु भएको कतिपयको भनाइ छ । महिनाभर खेतको काम गरेर थाकेको शरीरलाई आराम दिँदै स्वास्थ्य र सौन्दर्यको पनि ख्याल गर्न मेहन्दी लगाउन थालिएको बताइन्छ ।

मेहन्दीको फेसन
अहिले भने मेहन्दीले फेसनको रूप लिएको छ । साउन लागेसँगै सबैजसो नारीले हातमा मेहन्दी लगाउँछन् । तयारी बजारमा मेहन्दी छ्यापछ्याप्ती पाइन्छ भने मेहन्दी लगाइदिने व्यापार पनि फस्टाउँछ । मेहन्दीका पनि विभिन्न शैली प्रचलनमा छन् । त्यसमध्ये अरबिक र ब्राइडल बढी चल्तीमा छन् । पछिल्लो समय गोल्डेन अरबिक, लेटेस्ट अरबिक, सुपर्ब हिनाको ट्रेन्ड चलेको बताइन्छ ।
सदाबहार चल्तीमा रहने अरबिक चाहिँ प्रायः एक लाइनमा सजाइएको हुन्छ । लेटेस्ट अरबिकमा माछा, कलश, गणेश, दुलहा–दुलहीको डोलीजस्तो आकृति हुन्छ । यो हातको कुहिनादेखि माहिली औंलासम्म लगाइन्छ । हातको एउटा औंलामा मात्र डिजाइनले छुन सक्छ । विवाहका लागि गरिने ब्राइडल डिजाइन पनि साउनमा प्रयोग गरिन्छ ।

उपयोगी तिउरी

साउनमा लगाउने खास वनस्पति तिउरी हो । तर, सबैतिर सहज उपलब्ध नहुँदा वा तिउरी बनाउने झन्झटका कारण पनि बजारमा तयारी मेहन्दीले ठाउँ ओगटेको छ । यसका फूल हल्का गुलाबी, रातो र सेतो रंगमा समेत देख्न सकिन्छ । नेपालमा पाइने झन्डै ५१ प्रकारका प्रजातिमध्ये मुस्किलले तीन वटा प्रजातिलाई मात्रै बगैंचामा लगाउने गरिएको छ ।
खासगरी प्राकृतिक रूपमा घरमै मेहन्न्दी तयार गर्नु राम्रो हो । तर, अहिले सहजै तयारी मेहन्दी पाइने भएकाले नयाँ पुस्तामा तिउरी लगाउने प्रचलन निकै घटेको छ । गाउँघरमा पनि निकै कमले मात्रै तिउरीको प्रयोग गर्छन् । तयारी मेहन्दीमा भने रसायन हुने भएकाले छालामा समस्या ल्याउन सक्ने विज्ञले बताउँदै आएका छन् ।

 Image