Successfully Copied

‘नेल आर्टको ठूलो सम्भावना’

नेल आर्ट अर्थात् नङलाई सजाउने कला अहिले नेपालमा लोकप्रिय बन्दै गएको छ । सौन्दर्यप्रेमीका लागि मात्र नभई, करिअर र उद्यमका रूपमा यसले छुट्टै स्थान बनाइरहेको छ । श्रुति खड्गी श्रेष्ठलाई पहिलेदेखि नै सौन्दर्यप्रति गहिरो रुचि थियो । नेल आर्टले उनलाई विशेष आकर्षित गर्‍यो किनकि यसमा रचनात्मकता

सौन्दर्य सेवाप्रति गहिरो रुचि, आत्मनिर्भर बन्ने चाहना र महिलालाई सीपयुक्त बनाउने उद्देश्यले उनलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । उनले दुबई, थाइल्यान्ड र जापानका प्रतिष्ठित स्थानबाट एड्भान्स टेक्निकहरू सिकेकी छिन् । विभिन्न अनलाइन कोर्स र कार्यशालामा भाग  लिँदै आएकी छिन् । नेल आर्टलाई नै मुख्य पेसा बनाएर यस क्षेत्रमा काम गरिरहेकी उनैसँग गरिएको संक्षिप्त कुराकानीः

अहिलेसम्म कति जनालाई तालिम दिनुभएको छ ? कस्ता कोर्स उपलब्ध छन् ?
अहिलेसम्म पाँच हजारभन्दा बढी विद्यार्थीलाई तालिम दिइसकेकी छु । विद्यार्थीहरू नेपालसँगै भारत, दुबई, जापान र कोरियाबाट पनि आएका छन् । यहाँ बेसिक नेल आर्ट, एड्भान्स जेल नेल टेक्निक, एक्रेलिक नेल एक्सटेन्सन, नेल आर्ट डिजाइन स्पेसलाइजेसन तथा ल्यास र ब्राउ आर्ट तालिम उपलब्ध छन् ।

हाल नेपालमा कस्ता नेल आर्ट ट्रेन्डहरू लोकप्रिय छन् ?
मिनिमलिस्टिक नेल आर्ट, फ्लोरल डिजाइन, फ्रेन्च टिप, क्युटिकल आर्ट, क्याट आइज इफेक्ट र थ्रिडी नेल आर्टजस्ता डिजाइन प्रचलनमा छन् ।

ग्राहकहरूले कुन–कुन डिजाइन बढी रोज्छन् ?
ग्राहकहरू प्रायः क्लासिक फ्रेन्च टिप, फ्लोरल डिजाइन, ज्वेलरी इन्स्पायर्ड आर्ट, क्याट आइज इफेक्ट र थ्रिडी आर्ट रोज्छन् ।

जेल, एक्रेलिक र डिप पाउडरमध्ये कुन बढी सुरक्षित र टिकाउ हुन्छ ?
सही प्रविधि र गुणस्तरीय सामग्री प्रयोग गरिएमा जेल नेल अधिक सुरक्षित र टिकाउ हुन्छ । एक्रेलिक पनि दीर्घकालीन रूपमा उपयुक्त हुन सक्छ ।

नियमित नेल आर्ट गर्दा नङलाई असर गर्छ ?
प्रोफेसनल टेक्निक र गुणस्तरीय प्रोडक्ट प्रयोग गरियो भने नङलाई असर पर्दैन । तर, खराब रेमुभल र सस्तो प्रोडक्टले नङ कमजोर बनाउन सक्छ ।

ग्राहकहरूमा के–कस्ता भ्रम वा अपेक्षा देखिन्छ ?
धेरै ग्राहकहरू छिटो, सस्तो र उत्कृष्ट नतिजा एकैचोटि चाहन्छन् । तर गुणस्तरीय सेवा समय, परिश्रम र सही मूल्यमा मात्र सम्भव हुन्छ ।

नेल आर्ट गराउँदा ग्राहकले के कुरामा ध्यान दिनुपर्छ ?
सैलुन सफा छ कि छैन जाँच गर्नुपर्छ । प्रयोग गरिएका उपकरणहरू स्टेरिलाइज छन् कि छैनन् सुनिश्चित गर्नुपर्छ । नेल आर्टिस्टलाई आफ्नो स्किन र नङको अवस्था प्रस्ट भन्नुपर्छ साथै कुनै एलर्जी वा संक्रमण भए जानकारी गराउनुपर्छ ।

घरमै नङ बलियो बनाउन के गर्ने ?
नियमित क्युटिकल आयल लगाउनुपर्छ । बायोटिनयुक्त खाना सेवन गर्नुपर्छ । पञ्जा लगाएर घरको काम गर्नुपर्छ । अत्यधिक रसायन र पानीबाट बचाउनुपर्छ । सधै बेस कोट प्रयोग गर्नुपर्छ ।

महिलाहरूमा सौन्दर्यप्रतिको धारणा कस्तो देख्नुभएको छ ?
अहिले महिलाहरू सौन्दर्यलाई आत्मप्रेम र आत्मविश्वाससँग जोड्न थालेका छन् । पहिले विलासिता मानिने सेवा अहिले आवश्यकताका रूपमा स्वीकार गर्न थालिएको छ ।

नेपालमा नेल आर्ट सेवा वा विलासिता ?
पहिले नेल आर्टलाई विलासिता मानिन्थ्यो । तर अहिले धेरैले यसलाई व्यक्तित्वको अभिव्यक्ति र सौन्दर्य हेरचाहको अंगका रूपमा लिइरहेका छन् ।

यो पेसाले महिलाको सशक्तीकरणमा कस्तो भूमिका खेलेको छ ?
मैले सिकाएका धेरै महिला अहिले आत्मनिर्भर छन् । उनीहरूले आफ्नै सैलुन सञ्चालन गरिरहेका छन् । फ्रिलान्सरका रूपमा कमाइ गरिरहेका छन् र विदेशमा समेत अवसर खोजिरहेका छन् ।

नेल आर्टले महिलामा आत्मविश्वास कति बढाउँछ ?
सानो देखिने परिवर्तनले पनि ठूलो प्रभाव पार्छ । आकर्षक नेल डिजाइनले महिलामा आत्मविश्वास र खुसी बढाउँछ ।

पेसागत यात्रामा के–कस्ता चुनौतीहरू आए ?
सुरुमा परिवार र समाजले यो पेसालाई दीर्घकालीन रूपमा लिने विश्वास गरेनन् । साथै गुणस्तर कायम राख्ने, ग्राहक विश्वास जित्ने र नयाँ ट्रेन्डमा अपडेट हुने चुनौतीहरू पनि थिए ।

पुरुष ग्राहकहरूको सहभागिता कस्तो छ ?
अहिले पुरुषहरू पनि बेसिक नेल केयर, क्लिन जेल र मेनिक्योरमा रुचि देखाइरहेका छन् । सौन्दर्य सेवामा लिङ्गभेद क्रमशः कम हुँदै गएको देखिन्छ ।

नेपालमा नेल आर्ट उद्योगको भविष्य कस्तो छ ?
नेपालमा नेल आर्ट उद्योगको सम्भावना धेरै ठूलो छ । गुणस्तरीय तालिम र सही बजार व्यवस्थापन गरियो भने यो सेवा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिन्छ ।

कोर्सको शुल्क कति लाग्छ ?
४ हजारदेखि ७५,००० सम्म लाग्छ । 

 Image