Successfully Copied

आखाँ वरिपरिको चाउरी हटाउन ‘ब्लेफरोप्लास्टी’

आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् ।

दिवा हमाल लामिछाने 

कन्सल्टेन्ट अकुलोप्लास्टी, नेत्रधाम आई केयर सेन्टर

आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् । खासगरी आँखा वरिपरिको छाला चाउरिने, झोल्लिने र बोसो बाहिर देखिन सक्छ । यसो त आँखामुनि झोलजस्तो आकृति देखिनुको कारण बढ्दो उमेर मात्र नभएर थाइरोइड हर्मोन तथा आनुवंशिकका कारण पनि हुनसक्छ । आखाँमुनि देखिने यस्ता आकृतिले दृष्टि वा स्वास्थ्यलाई खासै असर त गर्दैन, तर मानिसको सौन्दर्य बिगारिदिनसक्छ । तर, आँखामाथि देखिने झोल्लिएको छालाले दृष्टिलाई नै प्रभावित गर्ने हुँदा त्यसलाई हटाउँदा दृष्टिमा सुधार आउँछ । 

मंगोलियन समुदायको आँखाको मुन्द्री (लिड क्रिज) नभएको वा भए पनि सानो हुनुका साथै दुई आँखाको मुन्द्री एक–अर्कामा मिल्दोजुल्दो नभएको पाइन्छ । यसले उनीहरूको स्वास्थ्यमा असर नपारे पनि सौन्दर्य चाहिँ बिगारेको हुन्छ । आँखा वरिपरि देखापर्ने यस्ता समस्याको सही उपचार गर्नुपर्छ । यसको उपचार पद्धति भनेको ‘ब्लेफरोप्लास्टी’ हो । आँखाका प्लास्टिक सर्जनले यो पद्धतिबाट उपचार गर्छन् । ‘ब्लेफरोप्लास्टी’ दुई प्रकारको हुन्छ । 

अपर लिड ब्लेफरोप्लास्टी : यसमा माथिको ढकनीको झोल्लिएको छालालाई हटाई अनुहार सुहाउँदो मुन्द्री बनाइन्छ । यसले मानिसको व्यक्तित्व र सौन्दर्यमा निखार ल्याउँछ । यसमा ढकनीको क्रिजको आकार इच्छानुसार बनाउन सकिन्छ । माथिल्लो ढकनीको मुन्द्री (टर्सल प्लेटफर्म) सानो भए पनि त्यसलाई अनुहार र व्यक्तित्वसँग मेल खानेगरी आकार दिन सकिन्छ । 

लोअर लिड ब्लेफरोप्लास्टी : तलको ढकनीको ब्लेफरोप्लास्टीले मानिसको सौन्दर्य, जवानी र व्यक्तित्व सुधार्नमा सहयोग गर्छ । यसले आँखाको तल्लो ढकनीको बोसोलाई समायोजन गरी मांसपेशी र छालालाई बलियो बनाउँछ । एकैपटक चारै ढकनीको उपचार यो पद्धतिबाट गर्न सकिन्छ । यो लोकल एनेस्थेसिया दिएर गरिन्छ । त्यसैले यो शल्यक्रिया पीडामुक्त हुन्छ । यो शल्यक्रिया गर्न ३०–४० मिनेट लाग्छ । यसको असर आवश्यकतानुसार झोल्लिएको छाला हटाउँदा छालाको क्रिजमा पारेर कटाइ गरिन्छ भने बोसो मात्र हटाउँदा आँखाको ढकनीको भित्री भाग ट्रान्सकन्जङ्क्टिभल गरिन्छ । आँखाका वरिपरि देखिने समस्याहरूको उपचार सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्श लिई गर्न सकिन्छ । 

 Image