Successfully Copied

केश झर्ने समस्या

कोभिड संक्रमणले बिरामी हुने व्यक्तिहरूमा विश्वव्यापी रूपमै केश झर्ने समस्या धेरै छ ।

डा. स्मृति श्रेष्ठ

केश सुन्दरता र स्वास्थ्यको प्रतीक हो । राम्रो र स्वस्थ केश सबैको चाहना हुन्छ । हाम्रो छाला र केशको आफ्नै चक्र हुन्छ । केश बढ्छ, राम्रो हुन्छ, बूढो भएर झर्छ र फेरि उम्रिन्छ । यो चक्र टाउकाको केशमा दुई वर्ष लामो हुन्छ अर्थात् दुई वर्षसम्म केश लामो हुन सक्छ । शरीरको केशमा यो चक्र केही महिनासम्म सीमित हुन्छ भने आँखीभौं त अझ केही हप्तामै झर्छ । तर कुनै कारणवश यो समय थपघट हुनसक्छ ।

कति केश झर्नु सामान्य हो ?

केशको चक्रअनुसार दैनिक सय वटा केश झर्नु सामान्य हो । तपाईंको केश कति बाक्लो वा पातलो छ, मौसमी परिवर्तन र टाउकाको छालाको सफाइअनुसार यो संख्या केही फरक पर्न सक्छ । वर्षाको मौसम र पुस–माघको शिशिर याममा अलिक बढी केश झर्छ भने अहिलेको मौसम वसन्त ऋतुको आगमनसँगै केश पनि कम झर्छ । उमेरअनुसार पनि क्रमशः केश पातलिनु स्वाभाविक हो । पचास वर्षको उमेरपछि र महिनावारी सुकेपछि केश अझै पातलो हुन्छ । दैनिक सयभन्दा बढी केश झर्नु, केशको जरा मसिनो हुँदै जानु, तालु भएर टाउकाको छाला देखिनु, कुनै एउटा ठाउँको केश पूरै झर्नु चाहिँ सामान्य होइन । यस्तो भएमा चिकित्सकको सुझाव लिनु राम्रो हुन्छ ।

केश झर्ने कारण

चायाँको समस्या

केशमा चायाँ पर्नु धेरैलाई हुने समस्या हो । यसकारण केश धेरै झर्छ । वायुमण्डल र कोभिडका कारण पनि यो वर्ष धेरैको केशमा चायाँ परेको छ । यसका लागि मेडिकलमा पाइने चायाँ जाने स्याम्पु नियमित प्रयोग गर्न सकिन्छ । यो स्याम्पु सातामा दुई पटक प्रयोग गर्दा चायाँ हट्छ । स्याम्पु लगाउँदा टाउकाको छालामा मात्र लगाएर केही बेर राख्ने अनि पखालेर कन्डिसनर लगाउनुपर्छ । तैलीय छाला हुनेले सातामा तीन–चार पटकसम्म लगाउन मिल्छ, दुईपटक मेडिकल स्याम्पुले नुहाउने, बाँकी समय सामान्य स्याम्पु लगाउनुपर्छ । मेडिकल स्याम्पुले केश रुखो, सुक्खा बनाउन सक्छ । त्यसैले कन्डिसनरले केश नरम र सुरक्षित राख्छ ।

चायाँ पर्दा तेल लगाउन त्यति लाभदायक हुँदैन । तैलीय छालामा फंगसका कारण आउने चायाँ तेल लगाउँदा झनै बढ्न सक्छ । सुक्खापनले गर्दा आउने चायाँमा साताको एकपटक नरिवल तेल लगाउन सकिन्छ ।

कोभिड संक्रमण

कोभिड संक्रमणले बिरामी हुने व्यक्तिहरूमा विश्वव्यापी रूपमै केश झर्ने समस्या धेरै छ । बिरामी परेको केही सातादेखि केही महिनासम्म केश झर्न सुरु हुन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्म चल्छ र आफैं कम हुन्छ । यो अवधिमा केशको विशेष स्याहार गर्ने र खानपानमा ध्यान दिनुपर्छ । यसरी झरेको केश केही महिनापछि आफैं पलाउँछ ।

तालुपना

तालुपना वंशानुगत समस्या हो । यो बुवा वा आमातर्फ दुवैको नाताबाट सर्न सक्छ । पुरुष र महिला दुवैलाई तालुपना हुन्छ भने महिलामा अलि ढिलो थाहा हुन्छ । केश जाँच्ने विशेष यन्त्र (ट्रिकोस्कोप) को सहयोगले सुरुवातको अवस्थामा नै तालुपना पत्ता लाग्न र रोकथाम गर्न सकिन्छ । धेरैले सोचेजस्तो केश झर्नु र तालुपना एउटै कुरा चाहिँ होइन । केश झर्ने धेरै कारण हुन्छन् भने तालुपनामा केश झर्नैपर्छ भन्ने हुँदैन । यसमा केशको रेसा पातलो हुने, नबढ्ने, पातलो हुँदै जाने र अन्ततः टाउकोबाट नै हराउँदै जान्छ । यसको उपचार सम्भव छः विभिन्न औषधि, पीआरपी थेरापी, स्टेम सेल थेरापी र केश प्रत्यारोपण विधिबाट तालुपनाको सफल उपचार सम्भव छ ।

अन्य कारण

बिरामी पर्नु, ठाउँ परिवर्तन हुनु, धेरै घाममा काम गर्नु, हर्मोनको गडबडी, महिनावारीको समस्या, भिटामिनको कमी, तौल घट्नु, रक्तअल्पता, मोटाउनु, मधुमेह, थाइराइड, औषधिहरू र अरू कडा रोग लाग्दा पनि केश झर्छ । यीमध्ये हर्मोनको समस्या हरेक ४ जनामध्ये १ जना केटी मान्छेमा युवावस्थामै सुरु हुन्छ । पिसिओएस हुँदा केश पातलो हुने र तालुपना हुन्छ । अन्य लक्षणहरू अनुहारमा रौं पलाउनु, डन्डिफोर आउनु, मोटोपना बढ्नु र महिनावारी गडबढ हुनु पनि हो ।

के गर्ने के नगर्ने ?

‘अमेरिकन सोसाइटी अफ डर्माटोलोजी’ का अनुसार दिनमा दुई पटकसम्म नरम काइँयोले केश कोर्नुपर्छ । यसो गर्दा टाउकाको तेल टुप्पासम्म पुग्छ । नियमित केश काट्ने र हाँगा पलाउन नदिने, केशमा रंग लगाउँदा ६ साताभन्दा छिटो नलगाउने, आफ्नो केशको रंगसँग मिल्दो रंग मात्र लगाउने गर्दा केश सुरक्षित हुन्छ । स्याम्पु गर्दा केशको छालामा मात्र लगाउने र पानीले पखालिन दिने, धेरै केश माड्ने वा बटार्ने गर्नु हुँदैन । कन्डिसनर भनेको मोस्चराइजर जस्तै हो । यसले केश सुरक्षित राख्छ, हरेक पटक केश धोएपछि कन्डिसनर लगाउनुपर्छ । टाउकोमा तेल लगाउँदा साताको एकपटक वा महिनाको दुई पटक मात्र लगाउने, नरिवल तेल वा आर्गन तेल लगाउने, कास्टर तेल पनि राम्रो मानिन्छ ।

केश सुकाउँदा ड्रायरको प्रयोग सातामा एकपटक मात्र गर्ने, आइरन गर्दा पनि सातामा एकपटक मात्र हो । स्थायी रूपमा केश सीधा वा कर्ली बनाउँदा एउटै केशमा पटक–पटक केमिकल नलगाउने कुरामा ध्यान पुर्‍याउनुपर्छ । हेल्मेट नियमित प्रयोग गर्ने महिलाहरूले नियमित हेल्मेटको भित्री भाग सफा राख्ने, धेरै टाइट हेल्मेट नलगाउनु राम्रो हो ।

 Image