सुनिता गाइसी
प्रकृति मानवका लागि वरदान नै हो । मानिसलाई आवश्यक सम्पूर्ण कुरा प्रकृतिले नै प्रदान गरेको हुन्छ । त्यसैले त आदिमकालमा मानिस जंगलमा बस्थे, त्यहीँ उपलब्ध कन्दमूल र फलफूल खाई आफ्नो जीवन निर्वाह गर्थे । मानव समाजको विकाससँगै मानिसका आवश्यकता क्रमशः बढ्दै गएर विभिन्न अध्ययन–अनुसन्धानहुन थाले । तर आधुनिकीकरणमा जति नै अगाडि बढे पनि कतिपय जाति र जनजातिले आफ्नो थातथलो बिर्सेका छैनन् । कास्की कालाबाङको गुरुङ समुदाय अहिले आफ्नो भूमिमा रहेर संस्कृति संरक्षणमा लागिरहेको छ ।
पोखरा सुन्दर नगरीका रूपमा परिचित छ । पोखरा बजारबाट १३ किलोमिटर पश्चिमतिर प्राकृतिक रूपमा सुन्दर डाँडामा कालाबाङमा गुरुङ गाउँ छ । यस क्षेत्रमा ६६ घरधुरी गुरुङहरूकाछन् भने केही दलित र बाहुन–क्षेत्रीका पनिघर छन् । यस क्षेत्रका मानिसले समुदायको आर्थिक विकास गर्न, आफ्नो संस्कृति जोगाउन कालाबाङ घरेडी सामुदायिक होमस्टे संचालन गरेका छन् । यहाँ १४ वटा घरमा होमस्टे छ । धेरै गुरुङ,केही दलित र क्षेत्री–बाहुन मिलेर होमस्टे संचालन गरेका छन् ।
यहाँ आउने पाहुनालाई सामूहिक रूपमा स्वागत गर्ने अनि पालैपालो सबैकहाँ पाहुना राख्ने नियम बनाइएको छ । यसले गर्दा होमस्टेका सहकर्मीबीच मनमुटाव र झैझगडाको वातावरण छैन । होमस्टेका संचालक प्रकाश गुरुङले होमस्टेले गाउँको मुहार नै फेरिएको र महिलाहरू पनि निकै सक्रिय रहेको बताए । पाहुनालाई परम्परागत परिकार, आफ्नै बारीमा उत्पादित तरकारी, फलफूल खुवाउन पाउँदा निकै खुसी लागेको अर्की संचालक सुकुमाया गुरुङ बताउँछिन् । पाहुना आउँदा खानपान, स्वागतमा लाग्ने र खाली समय खेतीपाती, घाँस–दाउरागर्ने उनले सुनाइन् ।
होमस्टेले गर्दा नै नयाँ–नयाँ कुरा सिक्न पाएको, नचिनेका मानिससँग पनि निर्धक्क साथ बोल्न सकेकाले आत्मबल विकास भएकामा यस क्षेत्रका दिदीबहिनी पनि मक्ख छन् । होमस्टेकै कारण सडक पनि राम्रो भएको छ भने अन्य सेवा–सुविधा पनि विस्तार भइरहेका छन् ।
सांस्कृतिक रूपमा पनि गुरुङहरू इमानदार, संस्कृतिका धनी, मेहनती भनेर चिनिन्छन् । यो क्षेत्रमा पुग्दा पनि एकदम आनन्दको अनुभव हामीले गरेका थियौं । बोलीमा मिठास, सरलता र आत्मीयताले धनी छ, गुरुङ समुदाय । गुरुङहरूलाई तमु पनि भनिन्छ । यिनीहरूको मातृभाषा गुरुङ हो । यिनीहरू आफ्नो समुदायमा यही भाषा बोल्छन्, अन्य समय वा पाहुनासँग नेपाली भाषामा कुराकानी गर्छन् ।
१५ शताब्दीमा गण्डकी प्रदेशमा तमुहरूको राज्य थियो । पछि पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि त्यो राज्य विशाल नेपालमा गाभियो । पेसागत रूपमा गुरुङ समुदायका मानिस कृषि, पशुपालन र सैन्य सेवामा बढी लागेका छन् । युवाहरू हाल विभिन्न पेसामा आबद्ध भएकाले गाउँमा बूढाबूढी र केटाकेटीहरू मात्र धेरै भेटिन्छन् ।
गुरुङ समुदायको आफ्नै पहिरन छ । महिलाले मखमलको चोलो, जामा, मुगाको माला र कानमा गहना लगाउँछन् भने पुरुषहरू शिरमा कालोटोपी, कछाड र कम्मरमा पटुकी बाँध्ने गर्छन् । परम्परागत पोसाकमा यिनीहरू निकै सुन्दर देखिन्छन् । कालाबाङ होमस्टेले पनि आफ्नामा आउने पाहुनालाई केही रकम लिएर गुरुङ पहिरन लगाउन पाउने व्यवस्था गरेको छ । यसरी परम्परागत पहिरन लगाउन पाएर होमस्टेमा आउने पाहुना पनि मक्ख पर्ने गरेकाछन् ।
यो समुदायका मानिस मनोरञ्जनका लागि रोदी बस्छन्, तर यो प्रथा हाल हराउँदै गएको छ । मानिसहरूको हातहातमा मोबाइल हुनाले सबै त्यसैमा मग्न रहन थालेका छन् । यो समुदायको मुख्य मानिसलाई चिवा भनिन्छ । योसमुदायको संस्कृतिबारे चासो राख्ने विद्यार्थी देशका विभिन्न ठाउँबाट आउने गरेको पनि सञ्चालक प्रकाश गुरुङबताउँछन् ।
(गाइसी ख्वप कलेज समाजशास्त्र विभागकी उपप्राध्यापक हुन् ।)