साहसिक यात्राका लागि पदमार्ग
उच्च हिमाली यात्राका लागि नेपालमा यस्ता ‘ट्रेकिङ रुट’ हरू छन्, जहाँ हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव बटुल्न सकिन्छ ।
झन्डै १४ सय वर्षअघि चिनियाँ पैदलयात्रु ह्वेयङ साङ् तिलौराकोट (प्राचीन कपिलवस्तु) स्थित बुद्धस्थल (प्राचीन कपिलवस्तु) आएका थिए । उनी नौवर्ष भन्दा बढी समय हिँडेरै नेपाल र भारतका प्रायः सबै बौद्धस्थल अध्ययन–भ्रमण गरेका थिए । साङ्ले तिलौराकोटबारे यात्रा विवरण लेखे । त्यसै आधारमा बुद्धको जन्मस्थल लुम्बिनी प्रमाणित गर्न सहयोग पुग्यो । शाक्यवंशीय राजधानी तिलौराकोटको पहिचान गर्न पनि उनको यात्रा विवरण आधार बन्यो । उनले आफ्नो स्थलगत भ्रमणका क्रममा तिलौराकोटको मात्रै भ्रमण गरेनन्, गोटिहवा र निग्लिहवाको निरीक्षण पनि गरेका थिए । उनको यात्रा विवरणमा एउटा महत्वपूर्ण तथ्य उल्लेख छ, त्यो हो–तिलौराकोट उत्तर सेताम्य हिउँ परेका पहाडी भू–भाग देखिनु । त्यतिखेर सेताम्य हिमाल देखिएको तथ्य उनले आफ्नो यात्रा विवरणमा उल्लेख गरेको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए । ‘साङ्ले यात्रा विवरणमा उल्लेख गरेजस्तै हिमाल लामो समयपछि देखियो,’ उनले भने, ‘जुन साँच्चै मनमोहक र रोमाञ्चित गर्ने खालको थियो ।’ प्रदूषण र जलवायु परिवर्तनकाकारण दुईदशक यता राम्रो देखिएको थिएन ।


यसैगरी २६ सय वर्षअघि ज्ञानको खोजीमा भिक्षु भेषमा राजकुमार सिद्धार्थ भारतको राजगृह पुगेको प्रसंग पनि चाखलाग्दो छ । त्यसताका राजकुमार त्यहाँ भिक्षा माग्दै हिँडेका थिए । तर, उनलाई राजकुमार भनेर कसैले चिन्न सकेका थिएनन् । नगरमा प्रतिभावान् भिक्षुको आगमन भएको छ भनेर मगध नरेश बिम्बिसारको कानसम्म पुग्यो । खबर सुन्नासाथ रथमा चढेर भिक्षु भएको ठाउँमा पुगे । उनले सादर वन्दना गर्दै भनेका थिए, ‘तिमी को हौ ? कहाँबाट आएका हौ?’ जबाफमा राजकुमारले भनेका थिए,‘म शाक्य राज्यबाट शान्तिको खोजीमा हिँडेको व्यक्ति हुँ । म त्यहाँबाट आएको हुँ जहाँबाट सेताम्य मनोरम हिमाल देखिन्छ । हिमालको काखमुनि घर छ । त्यतैबाटबगेर आएको पानी पिउँथ्यौँ ।


जुनबेला सेतो हिमालको व्याख्या राजकुमार सिद्धार्थले राजा बिम्बिसारलाई गरेका थिए । त्यसताका साताभित्रै तिलौराकोट आसपासबाट गजबले हिमाल देखियो । तिलौराकोट आसपासबाट पाँचवटा हिमाल देखिएका थिए । दायाँतिरबाट सबैभन्दा पहिलो ७ हजार २१९ मिटर अग्लो अन्नपूर्ण साउथ, त्यसपछि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलो र ७ हजार १३४ मिटर अग्लो तिलिचो हिमाल देखिएको थियो । त्यसैगरी ७ हजार ६१ मिटर अग्लो नीलगिरी हिमाल र ६ हजार १६७ मिटर अग्लो धौलागिरी हिमाल देखिएको थियो । सबैभन्दा राम्रो अन्नपूर्ण पहिलो र धौलागिरी हिमाल देखिएका थिए ।
पोखराबाट देखिने हिमालको आनन्द तराईको कपिलवस्तुबाट पाउँदा अद्वितीय रोमाञ्चकता थपिएको थियो । मौसम सफासँगै बिहान र साँझ सूर्यको किरण हिमालमा पर्दा उस्तै सुन्दर देखिन्थ्यो ।
अचेल बेला–बेला तिलौराकोटबाट झुल्कने हिमालले पनि उत्तिकै मन जित्ने गरेको छ । पछिल्लो समय महिनायता सात पटकजति हिमाल उघारिएर तिलौराकोटबाट आँखा अघि देख्दा स्थानीय रोमाञ्चित बनेको गोपीकृष्ण शर्माले बताए ।

