Successfully Copied

गर्मी छल्न कहाँ जाने ?

मौसमी तापमान बढेसँगै जोकोही शीतलता खोज्ने मुड मा हुन्छन् ।


मौसमी तापमान बढेसँगै जोकोही शीतलता खोज्ने ‘मुड’ मा हुन्छन् । यसका लागि कोही आफ्नो पहिरनशैली परिवर्तन गर्छन् भने कोही शीतलता प्राप्त हुने ठाउ“को खोजीमा हुन्छन् । यो रिपोर्टिङ त्यस्ता ठाउँहरूमा केन्द्रित छ, जहाँ चिसो हावाको स्पर्शबाट हाम्रो तन र मनले शीतलताको सुखानुभूति गर्न सक्छ ।


१.इलाम
प्रायः इलामको मौसम चिसो नै हुन्छ । पूर्वी तराई क्षेत्रमा चर्किएको गर्मी छल्न इलामसम्मको गन्तव्य उपयुक्त हुनसक्छ । इलामको कन्याम, श्रीअन्तु, सानो पाथीभरा, माइपोखरी, टोड्के झरना, सन्दकपुर यहाँका छुटाउनै नहने गन्तव्य हुन् । मेची राजमार्गमा पर्ने दुवै किनारमा देखिने हरिया चियाका थुम्काथुम्कीले मनै आनन्दित बनाउँछन् । यहाँबाट श्रीअन्तुसम्म पुग्न सकिन्छ । श्रीअन्तु सूर्योदय दृश्यका लागि मुलुककै कहलिएको गन्तव्य पनि हो । यहाँबाट अगाडि बढेपछि इलाम बजार पुगिन्छ । त्यसपछि माइपोखरी, टोड्के झरनाहुँदै सन्दकपुरसम्म पुग्न सकिन्छ । यहाँबाट हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
कन्याममा विभिन्न जातजातिको वेशभूषामा तस्बिर खिच्न सकिन्छ । घोडसवारीमा रुचि राख्नेहरूका लागि यो ठाउँले सुनौलो अवसर पनि प्रदान गर्छ । इलामको बम्बईसन, हाते चिया (अर्थोडक्स चिया), छुर्पी, ललिपप, अकबरे खुर्सानी, सुँगुरको मासु, तोङ्वा छुटाउन नहुने स्वाद हुन् ।
बसोबास र यातायात
स्थल र हवाई मार्गबाट इलाम पुग्न सकिन्छ । हवाईमार्गबाट झापाको भद्रपुरसम्म पुगेर त्यहाँबाट गाडीमा इलामको यात्रा गर्न सकिन्छ । पछिल्लो समय इलाम सदरमुकाममा पनि एयरपोर्ट सञ्चालनमा आएको छ । तर, बीचमा पर्ने गन्तव्यहरू कन्याम र श्रीअन्तु छुट्न सक्छ । यहाँ खानपानका लागि समस्या छैन । होटल तथा लजको राम्रो व्यवस्था छ । यहाँ ‘पेइङ गेस्ट’ का रूपमा पनि बस्न सकिन्छ ।



२. साधुटार
पाँचथर जिल्लामा पर्ने साधुटारकृत्रिम ताल हो । यसलाई सानो मनाङ पनि भन्ने गरिन्छ । यहाँसम्म पुग्नलाई पाँचथर सदरमुकाम फिदिमबाट १६ किलोमिटर टाढा पुग्नुपर्छ । मौसम खुलेको बेला तालमा कन्चनजङघा र कुम्भकर्ण हिमालको प्रतिबिम्व देख्न सकिन्छ । आकाशको छाया र हिमालको छाया पोखरीमा पर्दा त्यहाँको दृश्य एकदमै मनोरम देखिन्छ । लिम्बुजातिको बाहुल्यता रहेको यहाँ उनीहरूको संस्कृितलाई नजिकबाट नियाल्ने अवसर पाइन्छ ।
मौसम खुलेको बेला यहाँ फोटो एकदमै राम्रो आउँछ । यहाँबाट फिदिम हुँदै तिम्बु पोखरीसम्मको यात्रा तय गर्न सकिन्छ । यहाँको सुँगुरको मासु, तोङ्वा र सुकुटी प्रख्यात छ । किराँतीहरूको मौलिक परिकार बाचिपाको नौलो स्वाद चाख्न सकिन्छ ।
बसोबास र यातायात
यहाँसम्म पुग्न दुईवटै मार्ग रोज्न सकिन्छ । हवाईमार्गबाट सिधैं ताप्लेजुङसम्म पुग्न सकिन्छ । त्यहाँबाट सजिलै गाडी पाइन्छ । यहाँ खानपानका लागि समस्या छैन । होटल तथा लजको व्यवस्था छ ।

३. सिरानडा“डा
यहाँ जुनसुकै मौसममा पनि ज्याकेट वा स्वेटर लगाउनुपर्ने हुन्छ । साथै राति सुत्दा सिरकै ओड्नैपर्ने हुन्छ । गोरखा जिल्लामा अवस्थित सिरानडाँडा प्रकृतिको अनुपम उपहार हो । हरियो डाँडा, गाउँले जीवनशैली यस ठाउँका प्रमुख विशेषता हुन् । आकाश खुलेको बेला यहाँबाट हिमश्रृंखलाको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ । प्रायःजसो भुइँकुहिरोले ढाकिरहने सिरानडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य समेत हेर्न सकिन्छ । तामाङ संस्कृतिलाई नजिकबाट बुझ्न यो ठाउँ उपयुक्त हुनसक्छ । डाँडामा चौबीसे शासनकालको एउटा कोटगढी पनि छ । यो गढी पिकनिक स्पटका रूपमा चर्चित छ । यहाँ हिमाली समाज गुम्बा र नाप्रे मन्दिरलगायत धार्मिक तीर्थ पनि छन् । यहाँबाट निम्चेपोखरी, नागेपोखरी, दूधपोखरी र नारदपोखरी पदयात्रा गर्न सकिन्छ ।
यहाँ पुगेपछि चिया बगानहेर्न सकिन्छ । अर्गानिक तरकारी, खाना, लोकल कुखुराको मासु, लोकल रक्सी छुटाउनै नहुनेमा पर्छन् ।
बसोबास र यातायात
काठमाडौंबाट मुग्लिन, आबुखैरेनी हुँदै गोरखासम्म पुग्न सकिन्छ । यहाँबाट बाह्र किलो भन्ने ठाउँसम्म पुग्न १२८ किलोमिटर दूरी तय गर्नुपर्छ । त्यहाँबाट सिरानडाँडा पुग्न ४१ किलोमिटर अगाडि जानुपर्छ । सडक पिच भएकाले यात्रा गर्न सजिलो छ। काठमाडौंको नयाँ बसपार्कबाट हरेक दिन बस छुट्छ । सिरानडाँडा नजिकै रहेको नम्की गाउँमा होमस्टेको सुविधा छ। त्यहाँ सुविधासम्पन्न होटल तथा रिसोर्ट पनि खुलिसकेका छन् ।
४. भेंडेटार
भेंडेटार तराईबासीको गर्मी छल्ने प्रसिद्ध हिल स्टेशन हो । धरानबाट उक्लिएपछि भेडेटार पुगिन्छ । यहाँ पुग्दा चिसो सिरोटोले भव्य स्वागत गर्छ । त्यससँगै यहाँको सौन्दर्यले जोकोहीलाई मोहित बनाउ“छ । उच्च पहाडमा रहेको भेंडेटारमा वाह्रैमास चिसो हावा चल्छ । भेंडेटारको ‘भ्यू टावर’ अर्थात् ‘चाल्र्स प्वाइन्ट’ बाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूको समेत अवलोकन गर्न सकिन्छ । बेलायतका राजकुमार चाल्र्स शैलुङ डाँडामा बसेर हिमश्रृंखलाहरूको अवलोकन गर्दा उनले असाध्यै मन पराएकाले यो चाल्र्स डाँडाको नामले चिनिएको हो । भेंडेटारबाट माथि उक्लिएपछि अर्गानिक गाउँ थुम्की र नाम्जे पुग्न सकिन्छ । भेंडेटारबाट आठ किलोमिटर तल झरेपछि नमस्ते झरना पुगिन्छ । त्यस्तै भेंडेटारबाट पश्चिमतिर ऐतिहासिक साँगुरीगढी रहेको छ । यो धार्मिक पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।
यहा
ा ‘हर्स राइडिङ’, ‘साइक्लिङ’, ‘प्याराग्लाइडिङ’ र नमस्ते झरनामा ‘क्यानोनिङ’ गर्न सकिन्छ । यहाँ बंगुरको मासुको परिकार, बंगुरको सेकुवा र तोङ्बा प्रसिद्ध छ ।
बसोबास र यातायात
हवाई मार्गबाट विराटनगर हुँदै भेंडेटार पुग्न सकिन्छ । कोसी राजमार्गसँगै जोडिएको भेंडेटार पुग्न गाह्रो छैन । धरानबाट नियमित गाडी चल्छ । सुनसरीको धरानबाट १२ किलोमिटरको दूरीमा रहेको भेंडेटार पुग्न १५ मिनेट लाग्छ । यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएकोले यहाँ आउने पर्यटकहरूलाई खान र बस्नका लागि समस्या छैन । यहाँ केही होटल तथा होमस्टे पनि उपलब्ध छ । यहाँ पुग्नका लागि यातायातको सुविधा भएकाले यात्रा त्यति महँगो हुँदैन ।
५.हिले बजार
गर्मी छल्नका लागि हिले बजार उपयुक्त गन्तव्य हुनसक्छ । धनकुटाबाट अलि माथि उक्लिएपछि हिले बजार पुग्न सकिन्छ । वर्षैभरि चिसो हावापानी रहने भएकाले गर्मी छल्नकालागि उपयुक्त गन्तव्य हुनसक्छ । समुद्री सतहबाट झन्डै दुई हजार मिटर उचाइमा रहेको हिले बजार एक रमणीय ठाउँ हो । साथै यो व्यापारिक केन्द्र पनि हो । यहाँको अर्को आकर्षण भनेको बौद्ध गुम्बा पनि हो । हिले बजारबाट अघि बढेर तेह्रथुमतिर गएको छ भने भोजपुर जाने सडक पनि यहीँबाट छुट्टिएको छ ।
चिसो हावापानीमा रमाउन चाहनेका लागि तोङ्बा र सुकुटी पारखीका लागि हिले बजार नछुटाउनुपर्ने गन्तव्यमा पर्छ ।धनकुटाको धनकुटे बिस्कुट निकै प्रख्यात छ । त्यस्तै यहाँको परिकारमा अकबरे खुर्सानीको स्वाद पाउन सकिन्छ ।
बसोबास र यातायात
हवाई मार्गबाट विराटनगर हुँदै धनकुटा पुग्न सकिन्छ । कोसी राजमार्गबाट भेंडेटार हुँदै धनकुटा, हिले बजार पुग्न सकिन्छ । यहाँ खान, बस्नका लागि सुविधायुक्त होटल र लजको व्यवस्था छ ।
६.खप्तड
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । यो ठाउँ खप्तड बाबाले तपस्या गरेको ठाउँ हो । यहाँको प्रमुख आकर्षण भनेको फाँटहरूमा फुल्ने रंगीचगी फूलहरू हुन् । यतिबेला भुइँफूलले ढकमक्क ढाकिएको हुन्छ । यहाँ विभिन्न प्रजातिका वनस्पतिहरू पाइन्छन् । यसका साथै खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र वरिपरि रहेको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्र लिंग, गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । खप्तड क्षेत्रमा रहेका २२ वटा फाँट अर्को आकर्षण हुन् ।खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको चार पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा पर्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको खप्तड दह छ ।
यहाँबाट पैदल हिँड्दा ठूला–ठूला चट्टान र घना जंगल अवलोकन गर्दै जान सकिन्छ । रंगीचंगी फूलहरूको सौन्दर्य लिन छुटाउनु हुँदैन ।
बसोबास र यातायात
खप्तड गन्तव्य स्थलमध्ये चर्चित भए पनि यातायातको सुविधा सहज छैन । यहाँ पुग्न धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पैदल हिँड्नुपर्छ । खप्तड पुग्नका लागि धेरै बाटा छन् । सिलगढी पुग्नका लागि पूर्व–पश्चिम राजमार्गको अत्तरियाबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ । काठमाडौंबाट सिधैं हवाइजहाजबाट धनगढी पुग्न सकिन्छ । नेपालगञ्जबाट हवाई यात्रा गरेर पनि डोटी पुग्न सकिन्छ । खप्तडको यात्रामा निस्कँदा पाल, स्लिपिङ ब्याग, रेडिमेड खाना बोकेर जानु उत्तम हुन्छ । यहाँ बस्नका लागि धर्मशालाको पनि व्यवस्था गरिएको छ ।

७. जिरी
जिरीलाई नेपालको स्विट्जरल्यान्ड पनि भनिन्छ । यहाँको भू–बोट स्विट्जरल्यान्डको जस्तै देखिने भएकाले त्यहाँको सरकारले लामो समयदेखि विकासमा सहयोग गर्दै आएको छ । गर्मी मौससमा जिरीको भ्रमण उपयुक्त हुनसक्छ । नजिकै बहने तामाकोसी, चारैतिर हरियाली र अग्लो डाँडाबाट झर्ने झरनाहरूले जिरीलाई थप सुन्दर बनाएका छन् । जिरी सगरमाथाको प्रवेशद्वार पनि हो । जिरीबाट प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिर दर्शन गर्न सकिन्छ । यहाँका रैथाने बासिन्दालाई जिरेल भनिन्छ । यहाँ थुप्रै टे«किङ रुट छन् । चैत–वैशाख गुराँसले ढाकिएको हुन्छ भने पुस–माघमा हिउँले पुरिन्छ । त्यसबाहेक असोज–कात्तिक घुम्नका लागि उपयुक्त मानिन्छ ।
जिरीको सौन्दर्यलाई चिया बगानले थप बढाएको छ । यहाँको अर्थोडक्स चिय विश्वप्रसिद्ध छ । यहाँ थुप्रै चीज कारखाना सञ्चालनमा आएका छन् । जिरी घुम्न जाँदा चीज चाख्न नछुटाउनुपर्ने हुन्छ ।
बसोबास र यातायात
काठमाडौंबाट सडक मार्ग हुँदै एकै दिनको यात्रामा जिरी पुग्न सकिन्छ । यहाँ प्रशस्त होटल तथा लजहरू छन् ।

 Image