Successfully Copied

धरतीको स्वर्ग स्विट्जरल्यान्ड

स्विट्जरल्यान्ड हाम्रा निम्ति ‘ड्रिम कन्ट्री’ हो । हाम्रा नेताहरूले देश विकासको प्रसंगमा ‘नेपाललाई पनि स्विट्जरल्यान्ड बनाउँछौ’ भनेर बारम्बार भन्ने गरेका छन् ।

स्विट्जरल्यान्ड हाम्रा निम्ति ‘ड्रिम कन्ट्री’ हो । हाम्रा नेताहरूले देश विकासको प्रसंगमा ‘नेपाललाई पनि स्विट्जरल्यान्ड बनाउँछौ’ भनेर बारम्बार भन्ने गरेका छन् । वास्तवमा के आकर्षण छ त स्विट्जरल्यान्डमा ? मध्य युरोपको एउटा सुन्दर देश हो–स्विट्जरल्यान्ड । पर्यटनको दृष्टिले यसलाई आदर्श मुलुक मानिन्छ । अल्पस पर्वत शृंखला नजिक रहेको स्विट्जरल्यान्ड प्राकृतिक भू–बनोट, कञ्चन नदी तथा तालका कारण विश्वमै लोकप्रिय छ । यहाँको संस्कृति अर्को लोभलाग्दो पक्ष हो । कला र संस्कृतिले समृद्ध यो देशमा प्रशस्तै म्युजियम तथा ऐतिहासिक स्थल छन् । यहाँ एकातिर सुन्दर हिमनदी छ भने अर्कातिर मनमोहक हरियाली बगैंचा छ ।

स्विट्जरल्यान्डको यात्रामा हिमपहाडलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त हुन्छ । यहाँ हिम गुफा अवलोकन गर्न सकिन्छ । यी हिमपहाडहरूमा भव्य रेस्टुराँहरू छन् । यहाँ केवल कार चढेर टिटलिस पर्वत ऋंखलाको सुन्दरता नियाल्न सकिन्छ । यही यात्रामा जर्मनीको ब्ल्याक फरेस्ट पनि अवलोकन गर्न पाइन्छ । यसका साथै हिमपार्कमा घुम्न सकिन्छ, जसको रोमाञ्चक अनुभव भिन्न हुन्छ । मान्ट्रो, इन्टरलेकन, ल्युसर्न, सेन्ट मेरिज, जरमेट, बेसल, बर्न, जेनेभा आदि यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् । स्विट्जरल्यान्डको सुन्दरताले त्यहाँ पुग्ने जोकसैको मन लोभ्याउने सामथ्र्य राख्छ ।

ज्युरिक

यो स्विट्जरल्यान्डको सबैभन्दा ठूलो सहर हो । यो ठाउँ पर्यटनका लागि विशेष मानिन्छ । यो सुन्दर सहरमा केही लोभलाग्दा पर्यटकीय स्थल छन् । खासगरी जुलोजिकल गार्डेन ज्युरिकको प्रमुख आकर्षण हो । केही पशुपंछीका कारण यसको गणना युरोपको सबैभन्दा राम्रो चिडियाखानामा हुन्छ ।

यसका साथै म्युजियम अफ आर्ट, ओपेरा हाउस, स्विस नेसनल म्युजियम, बेलवयर पार्क, राइन फल्स, ओल्ट टाउन पनि दर्शनीय स्थल हुन् । भ्रमणका साथ ज्युरिकमा किनमेल पनि गर्न सकिन्छ ।

इन्टरलेकन ओस्ट

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानमा थुप्रै बलिउड चलचित्रको छायांकन भएको छ । यो सहरमा पर्यटकले स्विट्जरल्यान्डको इतिहास र वर्तमान दुवैसँग साक्षात्कार गर्न सक्छन् । सूर्योदयको समय देखिने यहाँको चम्किलो पहाडले पर्यटकको मन लोभ्याउँछ ।

बेसल

यहाँको प्राकृतिक सुन्दरता एवं ऐतिहासिक आकर्षणले भ्रमणलाई सार्थक बनाउँछ । राइन नदीको किनारमा अवस्थित बेसल जर्मनी र फ्रान्स नजिक छ । विविध संस्कृति, बहुआयामिक इतिहास, आधुनिक कला र वास्तुशिल्प यहाँ सबै छ । बेसलको ऐतिहासिक म्युजियम, आर्ट म्युजियम तथा आर्किटेक्चरका कारण यो सहरलाई स्विट्जरल्यान्डको ‘आर्ट एन्ड डिजाइन क्यापिटल’ भनिन्छ ।

जेनेभा

एल्पस पर्वतको काखमा अवस्थित जेनेभा युरोपको सर्वाधिक सुन्दर सहरमध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसंघको युरोपीय मुख्यालय समेत रहेको यो सहर विश्वप्रसिद्ध पर्यटकीय स्थल हो । यहाँको सबैभन्दा आकर्षक स्मारक हो–जेट ड्यु । यहाँ विश्वकै सवैभन्दा अग्लो पानीको फोहोरा अवलोकन गर्न सकिन्छ । जेनेभाको घडी उद्योगको प्रतीक ‘फ्वालर क्लक’ पनि हेर्नलायक छ । यसको सेकेन्ड काँटा विश्वकै सबैभन्दा ठूलो मानिन्छ ।

बर्न

यो स्विट्जरल्यान्डको राजधानी हो, जहाँ केही स्मारक, म्युजियम, बगैंचा तथा सुन्दर पर्यटन स्थल छन् । यहाँबाट एल्पस पहाडको सुन्दरता नजिकबाट अवलोकन गर्न सकिन्छ । बर्नको केन्द्रमा ऐतिहासिक पुरानो सहर छ, जसलाई युनेस्कोले कल्चरल वल्र्ड हेरिटेज साइट घोषणा गरेको छ ।

विख्यात वैज्ञानिक अल्बर्ट आइस्टाइन बर्नको जुन अपार्टमेन्टमा बसेका थिए, त्यसलाई अहिले म्युजियमका रूपमा विकास गरिएको छ ।

लुगानो

यहाँ राष्ट्रिय महत्व राख्ने डेढ दर्जन जति प्राचीन सम्पदा छन् । लाइब्रेरी, नेसनल रेकर्डिङ अर्काइभ, चर्च, म्युजियम आदि त्यसमा सामेल छन् । लुगानो पहाड प्राकृतिक सौन्दर्यका लागि प्रख्यात छ । यो संस्कृति, ऐतिहासिक संरचना, कला र संगीतको सहर हो । यहाँ केही उत्सव पनि मनाइन्छ । इन्टरनेसनल फिल्म फेस्टिभल विन्टरथुर, लोकार्नो इन्टरनेसनल फिल्म फेस्टिभल, रोयल अरिना फेस्टिभल, ज्युरिक फेस्टिभल यहाँका विशेष उत्सव हुन् ।

कहिले जाने ?

त्यसो त स्विट्जरल्यान्ड एकदमै सुन्दर मुलुक हो । यद्यपि त्यहाँ भ्रमणका लागि जाडो सिजन उपयुक्त हुँदैन । जाडो मौसममा त्यहाँको सुन्दरताको सही दृश्य देख्न पाइँदैन । स्विट्जरल्यान्डको यात्रामा अनेकौं साधन प्रयोग गर्न सकिन्छ । कतै केवलकार त कतै वोटिङको मज्जा लिन सकिन्छ । कतै ट्रेन त कतै कारबाट यात्रा गर्न सकिन्छ । यहाँ भाडामा सुविधाजनक कार सजिलै उपलब्ध हुन्छन् । हरेक स्थानमा अलग–अलग साधनमा सयर गर्न सकिन्छ । उच्च हिमपहाडमा पनि पर्यटकले मनग्य सुविधा उपभोग गर्न पाउँछन् । स्विट्जरल्यान्डका सहरहरूमा सर्वसुविधा सम्पन्न टुरिस्ट सेन्टरहरू छन् । त्यहीँबाट स्विट्जरल्यान्डको पर्यटनसम्बन्धी सबै जानकारी हासिल गर्न सकिन्छ ।

 Image