Successfully Copied

साहसिक यात्राका लागि पदमार्ग

उच्च हिमाली यात्राका लागि नेपालमा यस्ता ‘ट्रेकिङ रुट’ हरू छन्, जहाँ हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव बटुल्न सकिन्छ ।

हिमाली सौन्दर्यलाई नजिकबाट नियाल्दै लामो पदयात्रा गर्ने धेरै पदमार्ग नेपालमा छन् । जुन साहसिक पदयात्राका लागि विश्वमै नाम कहलिएका छन् । उच्च हिमाली यात्राका लागि नेपालमा यस्ता ‘ट्रेकिङ रुट’ हरू छन्, जहाँ हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव बटुल्न सकिन्छ । नेपालमा ३५ वटा पदमार्ग चलनचल्तीमा छन् । तीमध्ये पर्यटकको बढी रोजाइमा पर्ने अन्नपूर्ण पदमार्ग र सगरमाथा बेस क्याम्प हुन् । अन्नपूर्ण क्षेत्र नेपालकै चर्चित पदयात्रा हो । पोखराबाट उत्तरपट्टि रहेको यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पर्छन् । लमजुङको बेसीसहरदेखि मुस्ताङको जोमसोमसम्मको रुट संसारकै उत्कृष्ट पदयात्रा मार्गभित्र पर्छ । यो पदमार्गमा दर्जनौं साना मार्ग समेटिएका छन्, जुन हिमाली गाउँमा गएर जोडिएका छन् । नेपालमा पदयात्राका लागि सुरक्षित र प्रसिद्धमध्ये १० पदमार्ग :

पञ्चासे पदयात्रा (३–४ दिन)

अन्नपूर्ण क्षेत्रको धार्मिक रूपमा प्रख्यात पहाडहरूमध्ये पञ्चासे एक हो । अन्नपूर्ण हिमालको दृश्य हेर्नका लागि प्रसिद्ध छ । यहाँको विविधता र प्राकृतिक सौन्दर्यले जोकोहीलाई आकर्षित गर्छन् । पदमार्गमा धान रोपेका खेत, विभिन्न प्रकारका वनस्पति एवं घाँसे मैदानले दृश्यलाई थप लोभलाग्दो बनाइदिन्छ । पञ्चासेमा धार्मिकस्थल सिद्ध बाबा, पञ्चासे ताल, बौद्ध स्तूप एवं गुफा छन् । पोखराको दृश्यावलोकन गर्न सकिने, विभिन्न चुचुरोका दृश्य, गुराँसको जंगल, विभिन्न प्रजातिका चराचुरुङ्गी, ग्रामीण क्षेत्रको अनुभव नै यहाँको विशेषता हो । सेतो गुम्बा, पुम्दी, कालबाङ, भुम्दी, फुर्लुङ हुँदै पञ्चासे पुग्न सकिन्छ ।

सिकलेस पदयात्रा (५ दिन)

विशाल चुचुराहरूको काखमा रहेको पहाडी बस्तीमा पुग्न सिकलेस पदयात्रा राम्रो विकल्प हुन सक्छ । यो पदयात्रामा गुराँसको जंगल र मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । पदयात्राका क्रममा रोधीघरको बसाइमा त्यहाँका स्थानीयले गायन र नृत्यले तपाईंको स्वागत गर्नेछन् ।

स्थानीयले बनाएका हस्तकला र पर्यटन गतिविधि तपाईंलाई नौला लाग्न सक्छन् । साथै यस क्षेत्रको समृद्ध जैविक विविधता हेर्न लायकको छ । नेपालकै सबैभन्दा बढी गुरुङ जातिको बसोबास रहेको यो क्षेत्रमा लामो समयदेखि संरक्षित उनीहरूको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । यहाँबाट अन्नपूर्ण हिमाल र लमजुङ हिमाललाई आँखै अगाडि देख्न सकिन्छ । यो क्षेत्र ‘अल्लो’ उत्पादनका लागि प्रसिद्ध मानिन्छ । सिकलेस पदयात्रा पोखराबाट सुरु हुन्छ । त्यँहाबाट घलेखर्क हुँदै सिकलेस पुगिन्छ ।

नर फू उपत्यका ट्रेक (१८ दिन)

नर फू उपत्यका अन्नपूर्णको उत्तरी क्षेत्रमा रहेको जंगली पदमार्ग हो । यो ठाउँ पुग्न ढुङ्गे र जंगली बाटो पार गर्दै यात्रा गर्नुपर्छ । नर फू उपत्यकाको यात्रा अन्नपूर्ण सर्किट ट्रेलपछि जगत्बाट सुरु हुन्छ । प्राचीन गाउँ र हाई अल्टिच्युडमा रहेको उपत्यकामा मध्यकालीन तिब्बती संस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ । त्यहाँको विशेषता भनेको आश्चर्यजनक चट्टानको संरचना, हिमनदी एवं साँघुरा नदीहरू हुन् । थोरंगा ला र कांगलाजस्ता उच्च पहाडलाई छिचोल्दै नर फू उपत्यका पुग्न सकिन्छ । यहाँबाट अन्नपूर्ण परिदृश्य, मनास्लु, धौलागिरी, तिलिचो आदि हिमाली दृश्यहरू निकै आकर्षक देखिन्छन् । कोटो, फू, नर फेदी, नर, नगवाल, पिसाङ आदि ठाउँहरू हुँदै पदयात्रा पूरा गर्न सकिन्छ ।

गोक्यो उपत्यका पदमार्ग (१२ दिन)

गोक्यो उपत्यका आइस ताल र हिमनदीहरूको उपत्यका हो । यो ताल विश्वकै सबैभन्दा उचाइमा रहेको ‘फ्रेस वाटर’ पाइने ताल हो । यसलाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको छ । यो तालको आकर्षण भनेको पाँचवटा ताल एक–अर्कासँग जोडिएका छन् । गुराँस तथा विभिन्न प्रजातिका वनस्पती एवं जीवहरू अवलोकन गर्दै गोक्योको यात्रा तय गर्नुपर्ने हुन्छ । यो पदयात्रामा सबैभन्दा चाखलाग्दो भनेको पदमार्गमा भेटिने झरनाहरू हुन्, जसमा पानी पूरै जमेको हुन्छ । यो उपत्यकाले हाई अल्टिच्युडमा रहेको जमिन र पानीका तालहरू संरक्षण गर्छ । यो उपत्यका तिब्बती बौद्धधर्मालवम्बीको मठ एवं संस्कृतिको घर हो । गोक्यो ताल लुक्लाबाट नाम्चेबार, थामे उपत्यका, रेन्जो हुँदै जानुपर्छ । गोक्यो गाउँमा पुगेपछि स्थानीयले तपाईंको स्वागत गर्नेछन् ।

मार्दी हिमाल (६ दिन)

मार्दी हिमाल अन्नपूर्ण क्षेत्रको एक साहसिक पदमार्ग हो । यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पदयात्राका क्रममा जैविक विविधता, जीवजन्तुसँग भेट हुनेछ । कतै रुखमा बसिरहेका रेड पाण्डा त कतै नेपालको राष्ट्रिय पंक्षी डाँफे देख्न सकिन्छ । धौलागिरी र माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा वन्यजन्तु देखिनु यो यात्राको आकर्षण हो । राई, लिम्बू, क्षेत्रीको मिश्रित बसोबास रहेको यस क्षेत्रमा एक अनौठो अनुभव संगाल्न सकिन्छ । प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधताको आकर्षक संयोजनले मार्दी हिमालको पदयात्रा विशेष बनाइदिन्छ । मार्दी हिमालको पदयात्रा पोखराको फेवातालको किनारबाट सुरु हुन्छ । यो क्षेत्र पुग्न करिब चार हजार दुई सय मिटरको उचाइ छिचोल्नुपर्छ ।

सगरमाथा बेस क्याम्प (१५ दिन)

सगरमाथा क्षेत्र दृश्यावलोकनका लागि बेस क्याम्प उपयुक्त क्षेत्र हो । यो विश्वकै सबैभन्दा प्रख्यात पदयात्रा मार्ग हो । जब तपाईं यो पदमार्गमा यात्रा गर्दै अघि बढ्दै जानुहुन्छ, तपाईंले नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ संस्कृति, नयाँ रहनसहनसँग साक्षात्कार गर्नु हुनेछ ।

बौद्ध धर्मावलम्बीहरूको बसोबास रहेको यस क्षेत्रमा उनीहरूको संस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ । यो पदमार्गको खास विशेषता भनेको विश्वकै अग्लो हिमाल सगरमाथालाई आफू सामुन्ने देख्नु हो । बेस क्याम्पका लागि तपाईंको यात्रा लुक्लाबाट सुरु हुन्छ, जुन विश्वकै जोखिममध्येको एक एयरपोर्ट हो । त्यसपछि फाक्दिङ, नाम्चे, डिबोचेमा, डिंगबोचे आदि ठाउँमा बास बस्दै यात्रा गर्नुपर्ने हुन्छ ।

मनास्लु पदमार्ग (१४ दिन)

मनास्लु पदयात्राले ९० को दशकमा पदमार्गका रूपमा आधिकारिकता पाएको हो । यो नेपालको उत्कृष्ट पदमार्गमध्येको एक हो । यसलाई ज्यानमारा हिमाल (किलर माउन्टेन) को उपमा दिइएको छ । मनास्लुलाई तल्लो र माथिल्लो क्षेत्र भनी दुईभागमा विभाजन गरिएको छ । मनास्लुको हिउँ पग्लिएर बनेका ताल, गुम्बा, माने, चैत्य आदि थप आकर्षक छन् । पदयात्राका क्रममा तीन हजार मिटरभन्दा बढी उचाइमा थुप्रै ताल तलैया भेटिन्छन्, जुन निकै आकर्षक देखिन्छन् । यात्राका क्रममा चुम भ्याली भेटिन्छ । यो ठाउँको विशेषता भनेको त्यहाँ कुनै पनि किसिमको हत्या–हिंसा नहुनु हो । यो क्षेत्र अहिंसाको नामले परिचित छ । चीनसँग सीमा जोडिएको चुम भ्यालीमा कुनै पनि प्रकारको मारकाट हुँदैन । यहाँका कुनै पनि होटल तथा रेस्टुराँहरूमा मासुजन्य परिकार पाक्दैन । त्यतिमात्र नभएर यो ठाउँ भौगोलिक वनावटले पनि उत्तिकै सुन्दर छ । बौद्ध धर्मावलम्बीहरूको बसोबास रहेको यो ठाउँ सांस्कृतिक रूपमा सु–सम्पन्न छ । यहाँ पुग्न गोरखा सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्छ ।

उपल्लो मुस्ताङ (१४ दिन)

तपाईंलाई लामो पदयात्रा गर्ने रहर छ, हिमाली सौन्दर्यलाई नजिकबाट नियाल्ने मन छ भने उपल्लो मुस्ताङको पदयात्रामा निस्कन सक्नुहुनेछ । उपल्लो मुस्ताङ बुद्ध धर्मावलम्बीका शाक्य समुदायका लागि महत्वपूर्ण क्षेत्र हो । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्व बोकेको दरबार, गुफा, छोर्तेन, कोरला नाका यस क्षेत्रका मुख्य आकर्षण हुन् । यहाँ विश्वकै सबैभन्दा पुरानो गुम्बा पनि छ । सयौं वर्ष पुरानो पुरातात्विक संरचना देख्न सकिन्छ । जब उचाइमा रहेको लोमान्थाङ पुगिन्छ, अन्नपूर्ण, धौलागिरी हिमाल आफूभन्दा पनि होचो देखिन्छ । यो तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो हो । उपल्लो मुस्ताङको यात्रा बोलेरो जिपमा जोमसोमबाट सुरु हुन्छ । त्यसपछि छुसाङ, छुसाङबाट लोमान्थाङ । लोमान्थाङबाट सीधै तिब्बत सीमासम्म जान सकिन्छ जिपमार्फत । जोमसोमबाट पैदल जाने हो भने ६ दिनमा लोमान्थाङ पुग्न सकिन्छ ।

उपल्लो डोल्पा ट्रेक (२१ दिन)

पश्चिम नेपालमा यातायातको त्यति सुविधा नभए पनि त्यहाँको प्राकृतिक सौन्दर्य भने लोभलाग्दो छ । नेपालको पश्चिम क्षेत्र हिमताल, प्राचीन गुम्बा, मनमोहक दृश्यले भरिभराउ छ । त्यहाँको यात्रा गर्ने पदयात्रीले विश्वकै प्राचीन जंगली दृश्यावलोकनसमेत गर्न सक्छन् । रैथाने जनजीवन नजिकबाट नियाल्न मन हुनेले पश्चिम नेपाल पुग्नैपर्ने हुन्छ । त्यसबाहेक से फोक्सुन्डो, रारा ताल, अनाम हिमाल, से गुम्बा, हुम्ला, प्राचीन बौद्ध सभ्यता यहाँका थप आकर्षक हुन् । डोल्पा धार्मिक, सांस्कृतिक एंव ऐतिहासिक महत्व बोकेको जिल्ला हो । नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरा सुन्दरी मन्दिर, बौद्ध धर्मावलम्बीको प्रसिद्ध गुम्बा त्यहाँका मुख्य केन्द्र हुन् । उच्च हिमाली भेग, माथिल्लो डोल्पाका फाँटहरू मनै लोभ्याउने छन् । त्यहाँ पुग्न हवाई उडान गर्नुपर्छ । पदयात्री डोल्पाको दुनै र जुम्ला विमानस्थल ओर्लिएपछि यात्रा सुरु गर्न सक्छन् ।

पुनहिल (५–८ दिन)

धौलागिरी हिमाल हेर्ने सबैभन्दा उपयुक्त स्थान हो, पुनहिल । त्यस्तै, यो ठाउँ अन्नपूर्ण हिमश्रृंखलाको भ्यु पोइन्टका रूपमा पनि लिइन्छ । समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरीलगायत १५ वटा हिमालको दृश्यावलोकन गर्न पाइन्छ । वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुलेका गुराँसे जंगलले सबैको मन लोभ्याउँछ । नेपालमा पाइने ३२ प्रजातिका मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबीलगायत आठ प्रकारका गुराँस पाइन्छन् । अन्नपूर्ण क्षेत्रबाट सुरु हुने यो यात्रा पोखरा पुगेर टुंगिन्छ । कास्कीको घोरेपानीबाट आधा घण्टाको उकालो चढेपछि पुनहिल पुगिन्छ । पुनहिलसम्मको पदयात्रा मात्र पनि गर्न सकिन्छ र त्यहाँबाट अन्नपूर्ण हिमालको आधार शिविरसम्मको यात्रा गरे पनि हुन्छ । पोखरादेखि पुनहिल पुगेर फर्कन जम्मा पाँच दिन लाग्छ । त्यसभन्दा माथि अन्नपूर्ण हिमालको आधारशिविर पुगेर फर्कन भने आठ दिन लाग्छ ।

‘अहिले पदयात्राका लागि उपयुक्त समय हो ।’

सम्वृद्धि मल्ल

म्यानेजर , कान्तिपुर होलिडेज

नेपालको पदमार्गमा बाह्रैमास निस्कन सकिन्छ । तर, माघदेखि पदयात्रमा निस्कने उपयुक्त समय हो । अहिले मौसम त्यति धेरै चिसो हुँदैन । पूर्वी नेपालमा माघदेखि जेठसम्म पदयात्रामा निस्कन उपयुक्त हुन्छ । यतिबेला पानी नपर्ने भएकाले यात्रामा सहज हुन्छ । पश्चिम क्षेत्रको यात्रामा निस्कन जेठ–असार (जून–जुलाई) उपयुक्त मौसम हुन्छ । नेपाल पदयात्राकै लागि भनेर विदेशीहरू आउँछन् । पछिल्लो समयमा भने नेपालीहरूमा पनि ट्रेन्ड बढेको छ । पदयात्रामा निस्कदा थोरै तयारी गरेर गए सहज हुन्छ । कहिल्यै नहिँडेका मानिसहरूलाई भने गाह्रो हुन सक्छ । हाई अल्टिच्युड क्षेत्रमा जाँदा टाउको दुख्ने, दिमागमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन्, त्यसैले हतार नगरी बिस्तारै हिँड्नुपर्छ । लेक लाग्न सक्छ ।

पदयात्राका लागि

- वसन्त ऋतुमा न गर्मी न चिसो हुन्छ । यो मौसम यात्राका लागि निकै राम्रो हुन्छ । साथै यही बेला लालीगुराँस फुल्ने भएकाले पदमार्गमा पर्ने जंगल निकै मनमोहक देखिन्छ । प्राकृतिक सौन्दर्य नियाल्दै यात्रा गर्न निकै रमाइलो र आनन्द महसुस हुन्छ ।

- यात्रा गर्नका लागि अहिले एकदम उचित समय हो । अहिले मौसम चिसो हुने भएकाले हिँड्न सजिलो हुन्छ । साथै मौसम सफा हुने भएकाले हिमशृंखला तथा वरिपरिको दृश्य आकर्षक देखिन्छ ।

- अहिले हिउँ पर्ने भएकाले हिमाली भाग पूरै हिउँले ढाकेको हुन्छ । हिउँसँग खेल्न र सुन्दर हिमशृंखलाको दृश्य हेर्न सही समय हो ।

- आफू जान लागेको गन्तव्यका बारेमा पूर्णरूपमा जानकारी लिनुपर्छ ।

- आवश्यक लत्ताकपडा तथा अन्य सामग्रीको जोहो गरेर मात्र यात्रामा निस्कनुपर्छ ।

- प्राथमिक उपचारका सामग्री एवं औषधि आफूसँगै बोक्नुपर्छ ।

- सकेसम्म यात्रामा हिँड्दा गाइड वा साथीसँग निस्कनुपर्छ ।

- यात्राका बेला लेक लाग्न सक्छ । त्यसका बारेमा पूर्ण जानकारी लिनुपर्छ । हाई अल्टिच्युडमा पुग्दा टाउको दुख्ने, खान मन नलाग्ने, वान्ता हुने सामान्य लक्षणहरू देखिन सक्छन् ।

- बिस्तारै आराम गर्दै यात्रा गर्नुपर्छ । बीच–बीचमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन पानी पिइरहनुपर्छ ।

 Image