Successfully Copied

गन्तव्य भारत

दसैं–तिहारजस्ता चाडपर्वलाई थप स्मरणीय एवं रोमाञ्चक बनाउन कतिपयले घुमघामको योजना बनाएका हुन्छन् ।

दसैं–तिहारजस्ता चाडपर्वलाई थप स्मरणीय एवं रोमाञ्चक बनाउन कतिपयले घुमघामको योजना बनाएका हुन्छन् । वर्षभरि आफ्नो कार्यव्यस्तताका कारण फुर्सद नपाउने मानिसहरू पनि यतिबेला समय निकालेर सपरिवार घुम्न निस्कन्छन् । त्यसरी घुम्न नेपालमै धेरै उपयुक्त स्थान उपलब्ध छन्, जहाँ स्वच्छन्द भ्रमणको आनन्द लिन सकिन्छ । अलि टाढाको यात्रा गर्नेहरूका लागि छिमेकी मुलुक भारत राम्रो गन्तव्य हुनसक्छ । भारतमा पनि थुप्रै नयाँ अनुभवका साथै फरक परिवेश एवं फरक स्वादको आनन्द उठाउन सकिन्छ । भारत भ्रमण तुलनात्मक रूपमा कम बजेटमै सम्पन्न गर्न सकिन्छ । आउजाउ गर्न भिसाले छेक्दैन भने हवाई वा सडक मार्ग दुवैबाट सहजै पुग्न सकिन्छ । 

भारतमा अनगिन्ती पर्यटकीय स्थल छन् । कतै धार्मिक सम्पदा त कतै प्राचीन संरचनाले भरिएको छ भारत । कतै प्राकृतिक छटाहरूले भरिएको त कतै समुद्री तटहरूका कारण सुप्रसिद्ध । आ–आफ्नो रुचिअनुसार भ्रमणका लागि यीमध्ये कुनै पनि छनोट गर्न सकिन्छ । 

दार्जीलिङको सेरोफेरो 

पूर्वी इलामको पशुपतिनगर नाका वा झापाको काँकडभिट्टाबाट प्रस्थान गरेर दार्जीलिङ, सिक्किम, कालिम्पोङ र ग्यान्टोकको फन्को लगाउन सकिन्छ । यही बसाइमा मेघालय र आसाम पनि घुम्न सकिन्छ । नेपाली मूलका मानिसहरूको बसोबास रहेकाले यी स्थानमा भाषिक तथा सांस्कृतिक आत्मीयता महसुस गर्न सकिन्छ । 

दार्जीलिङ विश्वकै पर्यटकीय गन्तव्यमा परिचित छ । भिरालो पहाडमा उभिएको बस्ती तथा घना चिया बगानका कारण दार्जीलिङले जोकसैको मन लोभ्याउँछ । अंग्रेज शासनका क्रममा निर्माण भएका संरचना एवं विश्व सम्पदा सूचीमा सूचीकृत सानो रेलको अवलोकनले दार्जीलिङको यात्रालाई सार्थक तुल्याउँछ । दार्जीलिङ पुगेपछि मिरिक तथा कालिम्पोङ घुम्नैपर्छ । त्यहाँबाट टिस्टा नदी तरेर सिक्किमसम्म पुग्न सकिन्छ भने नागाल्यान्ड एवं मेघालय पनि नजिकका गन्तव्य हुन् । 

महलहरूको सहर : कोलकाता

पश्चिम बंगालको राजधानी कोलकाता पनि घुम्नका लागि उपयुक्त हुनसक्छ । यो भारतको दोस्रो सबैभन्दा ठूलो महानगर हुनुका साथै पाँचौं ठूलो बन्दरगाह पनि हो । कोलकाता बंगालको खाडीको शीर्ष तटदेखि १ सय ८० किलोमिटर टाढा गंगाको देब्रे किनारमा छ । 

यहाँ हुगली नदीको छेवैमा बनेको विशाल पार्क, इडन गार्डेनजस्ता थुप्रै हेर्न र घुम्न लायक स्थान छन् । रानी भिक्टोरियाको नाममा बनेको स्मारिका पनि यहीँ छ, जुन शिल्पकलाको बेजोड नमुना मानिन्छ । रंगीन काँचको झ्याल, भित्ताचित्र आदिले रंगिएको चर्च, रातो ढुंगाले बनेको मस्जिद, ईशापूर्व १८०० मा बनेको मार्बल प्यालेस, दक्षिणेश्वर काली मन्दिर, बोटानिकल गार्डेन, मदर टेरेसा होम्स आदिले कोलकाता भ्रमणलाई आनन्दित तुल्याउँछन् । 

ताजमहल हेर्न आगरा  

भारतको प्रमुख पर्यटकीय गन्तव्य हो–ताजमहल । विश्वमा मानव निर्मित सात आश्चर्यमध्येको एक ताजमहल हेर्न आगरासम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । दिल्लीका सम्राट् शाहजहाँले महारानी मुमताजका लागि निर्माण गराएको ताजमहलले अहिले विश्वभरकै पर्यटकलाई लोभ्याइरहेको छ । 

यमुना नदीको तटमा अवस्थित आगरा सहर खासगरी ऐतिहासिक स्मारकका लागि प्रसिद्ध छ । मुगल शासनकै क्रममा निर्माण गरिएको सुन्दर स्मारकले आगरालाई आकर्षक बनाएको छ । यहाँको हस्तशिल्प एवं सिंगमरमरको पत्थरमा कुँदिएको सुन्दर आकृतिले पर्यटकको मन तान्छ । आगराकै बसाइमा वाराणसीसम्मको फन्को लगाउन सकिन्छ । 

गंगा नदीको तटमा अवस्थित वाराणसीलाई हिन्दू धर्ममा सर्वाधिक पवित्र सहर मानिन्छ । यो संसारकै प्राचीनतम सहरमध्ये एक हो । वाराणसी हजारौं वर्षदेखि भारतको सांस्कृतिक एवं धार्मिक केन्द्रका रूपमा सुपरिचित छ । काशी विश्वनाथ मन्दिर, दुर्गा मन्दिर, संकटमोचन मन्दिर, व्यास मन्दिरजस्ता थुप्रै मठ–मन्दिर यहाँका प्रमुख आकर्षण हुन् । यहाँ हिन्दू एवं मुगल संस्कृतिको संमिश्रणसमेत अनुभव गर्न सकिन्छ । 

श्रीनगर, जम्मु कश्मीर 

घुमघामका लागि जम्मु कश्मीरको यात्रा पनि निकै रोमाञ्चक हुन सक्छ, खासगरी हिमाली सौन्दर्यमा रमाउनेहरूका लागि । अपार प्राकृतिक सुन्दरताले भरिपूर्ण जम्मु कश्मीर भारतकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ । सफा नीलो पानी, पहाड, ताल एवं स्वच्छ जलवायु यहाँका आकर्षण हुन् । यससँगै श्रीनगरको पनि यात्रा गर्न सकिन्छ । मठ–मन्दिर, झिल, परम्परागत कश्मीरी हस्तशिल्प यहाँका खास आकर्षण हुन् । श्रीनगरको डल झिलमा बार्‍है महिना पर्यटकको घुँइचो लाग्छ । हाउसबोट, तैरिरहेको बजार एवं भेजिटेवल गार्डेनले जोकसैको मन लोभ्याउँछ । मुगल गार्डेन, हजरतबल मस्जिद, शंकराचार्य मन्दिर आदि संरचनाले श्रीनगरलाई आकर्षक थलोका रूपमा स्थापित गरेका छन् । 

चेन्नाई, कन्याकुमारी हुँदै केरला 

तामिलनाडु राज्यलाई केन्द्र बनाएर घुम्ने हो भने, चेन्नाई र कन्याकुमारी फन्को लगाउन सकिन्छ । त्यसो त यहाँबाट केरला तथा बैंग्लोर पनि नजिक पर्छ । चेन्नाई तामिलनाडुको मुख्य सहरमात्र नभएर पर्यटकीय आकर्षणको थलो पनि हो । पुराना मन्दिर तथा संग्रहालय एवं समुद्री किनार यहाँका आकर्षण हुन् । यो सहर परम्परा र आधुनिकताको संगम क्षेत्र मानिन्छ । त्यसैगरी भारतको दक्षिण क्षेत्रमा अवस्थित तामिलनाडु द्रविड संस्कृतिको मूल थलो हो । भारतको दक्षिणी क्षेत्रमा पर्ने तामिलनाडुबाट आन्ध्र प्रदेश तथा केरला नजिकै छन् । त्यसैले तामिलनाडुको यात्रासँगै ती राज्यको भ्रमण पनि एकै पटकमा गर्न सकिन्छ । 

कन्याकुमारी आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो । विवेकानन्द रक मेमोरियलले कन्याकुमारीको पर्यटनमा थप टेवा पुर्‍याएको छ । अम्मन मन्दिर, गान्धी स्मारक, कोरटालम झरनाजस्ता थुप्रै आकर्षक स्थलले कन्याकुमारीको भ्रमणलाई सार्थक तुल्याउँछ । 

प्रविधि र प्राचीन कलाको संगम : कर्नाटक 

अध्ययनका लागि थुप्रै नेपाली बंैग्लोर (वेगलुरु) पुग्ने गरेका छन् । त्यसो त यो शैक्षिक गन्तव्यका रूपमा मात्र होइन, पराम्परागत द्रविड एवं आधुनिक वास्तुकलाको बेजोड मेलको उत्कृष्ट नमुना पनि हो ।  बैंग्लोरबाट १ सय ५० किलोमिटरको दूरीमा अवस्थित मैसूरमा भव्य महल छ भने बैंग्लोरमा विशाल क्षेत्रफलमा फैलिएको वृन्दावन गार्डेन पनि । बंैग्लोर कर्नाटकको राजधानी हो । 

त्यसो त कर्नाटक आफैमा आकर्षक गन्तव्य हो, जहाँ लालवाग, झरना, लोटल पुल, विश्वका पुराना रुख तथा प्राचीन राजदरबार, २ सय ५३ मिटर उचाइबाट खस्ने झरना, बाँदीपुर वन्यजन्तु आरक्षण केन्द्रजस्ता पर्यटकीय स्थलहरू छन् । कर्नाटकको गोल गुम्बज विश्वकै दोस्रो ठूलो गुम्बज हो । 

समुद्री तटमा रमाउन गोवा 

नेपालमा समुद्र छैन । त्यसैले समुद्री छालहरूसँग खेल्न नेपालीहरू गोवा पुग्ने गरेका छन् । हुन पनि गोवाको समुद्री तटले विश्वभरका पर्यटकलाई आमन्त्रण गरिरहेको छ । अद्वितीय प्राकृतिक सौन्दर्य, प्राचीन धरोहर एवं सांस्कृतिक विविधतालाई समेटेको सानो तर सुन्दर सहर गोवा समुद्री तटमा अवस्थित छ । गोवामा सि–फुड, परम्परागत कन्टिनेन्टल परिकारका साथमा बियर पिउनुको छुट्टै आनन्द छ । क्याडोलिमका गल्लीहरूमा पैदल यात्राको छुट्टै आनन्द लिन सकिन्छ । त्यसो त दुई पाङ्ग्रे सवारी साधन भाडामा लिएर पनि गोवाको यात्रा गर्न सकिन्छ ।

गोवा यात्राकै क्रममा महाराष्ट्रसम्मको फन्को लगाउन सकिन्छ । विभिन्न पहाड, सुन्दर समुद्री तट, घना जंगल एवं ऐतिहासिक किल्ला तथा प्राचीन धार्मिक स्थलको विविधताले ओतप्रोत छ यो स्थल । गोदावरी नदीको किनारमा अवस्थित नासिक महाराष्ट्रको महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थल हो । यहाँ राम, सीता र लक्ष्मणले आफ्नो वनवासको धेरै समय बिताएका  थिए । यहाँ पञ्चवटी सीता गुफा र रामकुञ्जजस्ता रामायणकालीन स्थल छन् । नासिकस्थित शिरडी साई बाबाको मन्दिर अर्को दर्शनीय स्थल हो । यही यात्राका क्रममा रजनीशको प्रसिद्ध ओशो आश्रम पनि अवलोकन गर्न सकिन्छ । 

जयपुर र उदयपुरको फन्को 

राजस्थानको यात्रामा जयपुर, उदयपुर, सवाईमाधोपु, अजमेर, जोधपुर, बिकानेर आदि पर्यटकीय स्थानको फन्को लगाउन सकिन्छ । जयपुरलाई ‘गुलाबी सहर’ को उपमा दिइएको छ । कलात्मक संरचना, मौलिक संस्कृति एवं ऐतिहासिक महत्वले भरिपूर्ण यो सहर चारैतिरबाट पर्खालले घेरिएको छ । यसभित्र प्रवेशका लागि सातवटा ढोका छन् । पछि एउटा थप ढोका बनाइएको छ, जसलाई ‘न्यु गेट’ भनिन्छ । यहाँ स्ट्याचु सर्कल, हवा महल, सिटी प्यालेस, तारामण्डल, आमेरको किला आदि थुप्रै पर्यटकीय स्थल छन् ।  

राजस्थानकै अर्को पर्यटकीय गन्तव्य हो–उदयपुर । विश्वकै आकर्षक सहरमध्ये एक मानिने उदयपुरमा झिल र मरुभूमिको अनौठो संगमले आगन्तुकहरूलाई लोभ्याउँछ । यहाँ १६ औं शताब्दीमा स्थापना भएको सिटी प्यालेक्स कम्प्लेक्स पनि छ । यो भव्य परिसर बनाउन ४ सय वर्ष लागेको थियो । यो प्यालेसभित्र प्राचीन संग्रहालय पनि छ । काँचको ग्लालरी, भिन्टेज कारको संग्रहालय, जगदीश मन्दिर यसका थप आकर्षण हुन् । 

उत्तराखण्डको फन्को 

भारतको उत्तराखण्डलाई केन्द्र बनाएर यात्रा गर्ने हो भने चारधामदेखि नैनीतालसम्मको फन्को लगाउन सकिन्छ । उत्तराखण्ड मूलत: चार धाम यमुनोत्री, गंगोत्री, केदारनाथ तथा बद्रीनाथका कारण प्रख्यात छ । यो धार्मिक पर्यटनका लागि सर्वोत्तम गन्तव्य हुन सक्छ । 

यमुनोत्री समुद्री सतहबाट १० हजार फिट उचाइमा उत्तराञ्चलको गढवाल मण्डलको हिमालय शृंंखलामा अवस्थित छ । यहाँ सप्तऋषि कुण्ड नामक सरोवरबाट यमुना नदी निस्कन्छ । यमुनोत्रीको यात्रापछि गंगोत्रीको दर्शन गर्नुपर्छ । केदारनाथ धाम भगवान् शिवजीमा समर्पित छ । बद्रीनाथ धाम उत्तराखण्डका ऋषि गंगा र अलकनन्दाको संगममा अवस्थित छ । बद्रीनाथको महिमा स्कन्द पुराण तथा महाभारतमा समेत उल्लेख पाइन्छ । 

यही बसाइमा यात्रा गर्न सकिन्छ–नैनीतालको । प्राकृतिक सौन्दर्यमा रमाउनेहरूका लागि नैनीताल उपयुक्त गन्तव्य हुनसक्छ । यहाँ नौका विहारदेखि फिसिङसम्मको आनन्द उठाउन सकिन्छ । नैनीतालमा त्यसबाहेक स्नो भ्यू, रोपवे, सात तालजस्ता थुप्रै सुन्दर स्थान छन् । 

 Image