Successfully Copied

परिवेश बदलिँदै छ हिलेको

धनकुटाको हिलेबजार पूर्वाञ्चलकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। समुद्री सतहबाट १ हजार ९ सय ५२ मिटरको उचाइमा

धनकुटाको हिलेबजार पूर्वाञ्चलकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। समुद्री सतहबाट १ हजार ९ सय ५२ मिटरको उचाइमा अवस्थित हिलेबजार अहिले पूर्वाञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रूपमा उदाइरहेको छ। बजार विस्तारको छोटो समयमै आर्थिक, सामाजिक अनि सांस्कृतिक छलाङ मार्दै गएको धनकुटाको हिलेबजार परिवर्तनसँगै अघि बढ्दैछ। प्रायः जोकोहीले हिलेबजार भन्नेबित्तिकै तोङ्वा र सुकुटीका पारखीहरूको सहर भनेर परिभाषित गरे पनि अहिले त्यो परिभाषामा परिवर्तन आएको छ। हिलेबजार शैक्षिक, आर्थिक, सामाजिक अनि सांस्कृतिक रूपले पनि सम्पन्न हुँदैछ।

चिया बगानको रमणीय दृश्य

सदरमुकाम धनकुटाबाट उकालो लागेपछि हिलेबजार छिर्ने क्रममा कुवापानीको आसपासमा रहेको चिया बगानले मनमोहक सौन्दर्य छरेको देख्न सकिन्छ। चिया बगानका रमणीय दृश्यका साथमा वनभोजका लागि आउने, क्यामेरामा फोटो कैद गर्नेहरूको समूह दिनहुँ बढ्दैछ। गुराँसे टिस्टेट पनि सार्‍है रमणीय छ। चियाबारी टी गार्डेन र कुवापानी टी प्लान्टेसन चियासम्बन्धी अध्ययन-अनुसन्धान गर्नेहरूको गन्तव्य पनि बन्दै गएको छ।

वक्रकुण्ड महादेवको मन्दिर

धनकुटाको हिलेबजारस्थित उत्तरपानी प्रस्थान गर्ने खेलमैदान नजिकै झ्यालढुंगामा अवस्थित वक्रकुण्ड पञ्चेश्वर महादेवको महत्व धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ। उक्त स्थानका ढुंगाहरूमा गाईका दाँत, गाईका खुट्टाको छाप, सर्पको आकार, विष्णु भगवान् आदिका १ सयभन्दा बढी आकृति देख्न सकिन्छ। ढुंगामा भएका आकृतिका आधारमा विभिन्न प्रकारका देवी-देवता एवं धार्मिक क्षेत्रको नामकरण गरिएको यो मन्दिरलाई २०६७ साल साउन २९ गते नागपञ्चमीका दिन विधिवत् रूपमा वक्रकुण्ड महादेवस्थान घोषणा गरिएको थियो। पवित्र तीर्थस्थल छिन्ताङ जाने मूल बाटो पनि यही हो।

व्यापारिक केन्द्र

केही वर्ष पहिलेदेखि होटलका रूपमा प्रसिद्ध हिलेबजार अहिले व्यापारिक केन्द्र अर्थात् डिलरहरूको प्रमुख बजार भएको छ। यहाँ ५ दर्जनभन्दा बढी खुद्रा पसल र करिब १ सयभन्दा बढी अधिकृत बिक्रेता (डिलर तथा सव डिलर) छन्। हिलेबजारमा रहेका डिलरहरूबाट दिनहुँ उपभोग गरिने वस्तुहरूदेखि लिएर मोटरसाइकल, ट्याक्टर आदि विविध सामग्री खरिद गर्न सकिन्छ। यहाँका डिलरहरूबाट भोजपुर, संखुवासभा र तेह्रथुमसम्म सामान पुग्छ।

सुविधा सम्पन्न होटल तथा रेस्टुराँहरू

धनकुटा हिलेबजारमा करिब दुई दर्जभन्दा बढी साना होटलदेखि लिएर सुविधा सम्पन्न होटल तथा रेस्टुराँ खुलेका छन्। सुविधा सम्पन्न होटलहरूअन्तर्गत होटल मकालु भ्यू, मन होटल, हिले भ्यू होटल, लेकाली होटल, गुम्बा होटल, गजुरमुखी होटल तथा कुवापानीको होटल काञ्जिरोवा आदि छन्। यी होटलहरूमा इन्डियन, चाइनिज, कन्टिनेन्टल तथा इटालियन खाना उपलब्ध हुन्छ। होटल कान्जिरोवाको लगानी नै लगभग ४ करोड पुगेको संचालक उमेश घिमिरे बताउँछन्। यो होटलमा दैनिक ५० भन्दा बढी ग्राहक आउने म्यानेजर नवराज विष्ट बताउँछन्। हिलेबजारकासुविधा सम्पन्न होटलहरूले आन्तरिक तथा वाह्य पर्यटकहरूलाई स्तरीय सुविधा प्रदान गर्दै आएको होटल मकालु भ्यूका संचालक फुर्वा घिसिङ बताउँछन्।

सुविधा सम्पन्न यातायात

धनकुटाको हिलेबाट पवित्र धार्मिक स्थल छिन्ताङ, गुराँसको राजधानी तीनजुरे, पर्यटकीय स्थल गुफापोखरी, विश्वकै गहिरो उपत्यका तुम्लिङटार र संखुवासभा जानका लागि कोशी पहाडी ट्याक्सी संघले तीन दर्जनभन्दा बढी ट्याक्सी संचालन गरेको छ। सुविधाजनक यात्राका लागि अधिकांश यात्रुले हिलेबजार आउनेबित्तिकै सेतो रंगको वान टेन ट्याक्सीलाई आफ्नो पहिलो रोजाइ बनाउने गरेको कोशी पहाडी ट्याक्सी संघका अध्यक्ष अमित लो बताउँछन्।

 Image