Successfully Copied

‘जनताका एजेन्डामै केन्द्रित हुनुपर्छ’

इन्दिरा रानामगर, सांसद, रास्वपा


२०२७ सालमा झापामा जन्मिएकी निवर्तमान उपसभामुख इन्दिरा रानामगर झापा–२ मा निर्वाचित सांसद हुन् । स्व. प्रताप तथा स्व. मनमाया रानामगरकी कान्छी छोरी उनले १२ वर्षको उमेरमा महारानीगञ्ज प्राथमिक विद्यालयमा कक्षा ४ मा भर्ना भई औपचारिक शिक्षा आरम्भ गरेकी थिइन् । समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण रानाले मानवीय सेवाको क्षेत्र रोजिन् । पारिजातको मानव अधिकारवादी संस्थामा स्वयंसेवक बनेकी इन्दिरालाई कारागार भ्रमणका क्रममा कैदीबन्दीका सन्तानहरूको अलपत्र अवस्थाको दृश्यले गहिरो प्रभाव पार्‍यो । त्यसैले उनले राजनीतिमा प्रवेश गर्नुअघि गैरसरकारी संस्था ‘बन्दी सहायता नेपाल’ (पीए नेपाल) स्थापना गरी जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानहरूलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्रदान गर्ने अभियान थालिन् । ३ दशकदेखि यो क्षेत्रमा सक्रिय उनले सयौं बालबालिकाको उद्धार गरेकी छिन् । २२ वर्षअघि दुई कोठा भाडामा लिएर उनले काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन् । झापा, पाल्पा, काठमाडौं आदि ठाउँमा बाल संरक्षणगृह सञ्चालनमा छन् । तिनलाई पढाउन उनले दुई प्राथमिक विद्यालयसमेत चलाएकी छन् ।
दोस्रो पटक संसद् भवनतर्फ लम्किँदै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
सम्पूर्ण नेपाली जनताप्रति आभारी छु । म अरुजस्तो ‘टेस्ट’ गर्नपर्ने फ्रेस मान्छे भएर जनताले यत्तिको विश्वास गरेका हुन् भन्ने मलाई लाग्दैन । किनभने उपसभामुखका रूपमा एक कार्यकाल पूरा गरिसकेकाले जनताले कामको परिणाम र स्वच्छ छवि हेरेर विश्वास गर्छन् भन्ने लागिरहेको छ ।
समानुपातिकबाट उपसभामुख बन्नुभयो, प्रत्यक्षमा ल्याएको भारी मतले के बनाउला ?
यो पार्टीभित्रको आपसी छलफल र समझदारीमार्फत काम साझेदारी गर्ने कुरा हो । पार्टीले दिएको भूमिकालाई जहाँ–जुन ठाउँमा रहे पनि इमान्दारिताका साथ निर्वाह गर्नेछु ।
आगामी नयाँ नेतृत्वका मूल एजेन्डा के होलान् ?
मूलत: हाम्रो अभियान भनेकै भ्रष्टाचारमुक्त असल शासन, रोजगारी र विकास हुन् । जनताका एजेन्डामा केन्द्रिकृत भएर सकारात्मक परिणाम दिनु नै हाम्रो मूल एजेन्डा हो ।
महिलाका क्षेत्रमा के–कस्तो परिवर्तन ल्याउने योजना छ ?
सर्वप्रथम त महिला जो–जहाँ–जुन क्षेत्रमा छन्, त्यहीँबाटै स्वयं जागरुक हुनुपर्छ । राज्यको नीति महिलामैत्री बन्ने मात्रै नभएर प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । धेरै भन्दा धेरै महिलालाई उपल्लो पदमा पुर्‍याउन अवसर दिनुपर्छ, बलिया नीति र कानुन बन्नुपर्छ अनि अहिलेका साना नानी र किशोरीहरूलाई घरैबाट सशक्त बनाउँदै लगेर त्यो जनशक्ति अहिलेदेखि तयार पार्दै लैजानुपर्छ । 

 Image