प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)
२५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् । उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २ मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन् । उनको अबको लक्ष्य रुसको कजानमा हुने १६ औं फिना विश्व च्याम्पियनसीपबाट सीधै सन् २०१६ को ओलम्पिकमा छनोट हुनु हो ।
यही अनुभवलाई शक्ति बनाएर अब हुने साफ च्याम्पियनसीपमा स्वर्ण पदक जित्न चाहन्छु–हरेक कोणबाट अब्बल यी किशोरी भन्छिन्–मेरो प्रमुख लक्ष्य सन् २०२० मा आयोजना हुने ओलम्पिकमा नेपालका लागि पदक जित्नु हो ।
मीराको सफलता
स्वदेशमा मात्र होइन विश्वमै चम्किने क्षमतावान् नेपाली छोरीको कुनै कमी छैन । यो कुरा साबित गरिन्–२४ वर्षीया मीरा राईले । गत महिना फ्रान्समा सम्पन्न ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि चुम्ने क्रममा मीराले निर्धारित दूरी १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पूरा गरिन् । आत्मविश्वासका साथ लक्ष्यमा पुग्ने दृढता भए अवश्य सफल भइने मीराको विश्वास छ । भोजपुरमा जन्मिएकी मीराले सन् २०१३ मा ५० किलोमिटरको फुल्चोकी अल्ट्रा म्याराथन तथा गत वर्ष हङकङ आइल्यान्ड ट्रेल रेसको उपाधि पनि जितेकी थिइन् । पूर्वमाओवादी लडाकु मीरा नेपाली नारी कर्मठ छन् र जुनसुकै क्षेत्रमा सफल हुन सक्छन् भन्ने कुराको प्रमाण हुन् ।
हिमाल चढाउने पासाङ
सगरमाथाकै वरिपरि आफ्नो बाल्यकाल बिताएकी पासाङ शेर्पाले सगरमाथा आरोहण गर्ने आफ्नो सपना पूरा गरिसकेकी छिन् । स्कुले शिक्षा लुक्लामै पूरा गरेकी शेर्पा उच्च शिक्षाका लागि काठमाडौं आइन् । यहाँ आएपछि उनलाई नेपालमा पर्वतारोही महिलाको संख्या कम भएको अनुभव भयो । फलत: उनले पर्वतारोहण संघका विविध तालिम लिइन् भने पछि फ्रान्स पुगेर थप तालिम पनि हासिल गरिन् । फ्रान्सबाट तालिम लिएपछि उनले विदेशमै हिमाल चढाउने कार्य आरम्भ गरिन् । त्यसै क्रममा पासाङले अमेरिका, फ्रान्स तथा इटालीका हिमाल पनि आरोहण गरिन् । उनले आफूलाई अमेरिकामा हिमाल आरोहण गराउने महिला आरोहीका रूपमा स्थापित गराइसकेकी छिन् । आरोहणका क्रममा उनी प्राय: महिला आरोहीका साथमा हुन्छिन् । हिमाल चढाउने कार्य चुनौतीपूर्ण हुन्छ त्यसैले यो पेसामा शारीरिक एवं मानसिक रूपमा फिट रहनुपर्ने पासाङ बताउँछिन् ।