Successfully Copied

व्यवसायी मालती

दार्जीलिङको चिसो वातावरणमा आफ्नो बाल्यकाल बिताएकी मालती राईले स्नातकसम्मको अध्ययन पूरा गरी एअर होस्टेजको जागिर सुरु गरिन्।

दार्जीलिङको चिसो वातावरणमा आफ्नो बाल्यकाल बिताएकी मालती राईले स्नातकसम्मको अध्ययन पूरा गरी एअर होस्टेजको जागिर सुरु गरिन्। उनको जीवन पाइलटसँग बाँधियो। काम गर्दै जाँदा घरायसी कारणले उनले एअर होस्टेजको जागिरलाई तिलाञ्जलि दिइन्। सूर्यविनायकमा जन्मिएकी मालतीको पारिवारिक परिवेश व्यापार नै थियो। सन् २००२ देखि उनले स्पेशल अचारको अवधारणा विकसित गरिन्। उनले तयार पारेको डल्ले खुर्सानीको अचार अहिले निकै लोकपि्रय छ। अहिले उनी डल्ले खुर्सानीको लेदो अचार तथा कागतीमा चोबिएको डल्ले खुर्सानीको अचार उत्पादन गर्छिन्। उनको अचार भाटभटेनी सुपरमार्केटका साथै बेलायत, हङकङ, अस्ट्रेलिया तथा अमेरिकामा पनि निर्यात हुन्छ। राईले अहिले अरूलाई समेत रोजगारी दिएकी छिन्। मालती भन्छिन्, 'कामका लागि उमेरलाई मापदण्ड बनाउनु हुँदैन। काम गर्ने जोस-जाँगर भए जहिले पनि सफल हुन सकिन्छ।'

सिर्जनशील खुश्ब

काठमाडौंको व्यापारिक परिवारमा जन्मिएकी खुश्बु बाल्यकालदेखि नै रमाइलो प्रकृतिकी थिइन्। उनी साइकल लिएर घुम्न निकै मन पराउँथिन्। जेम्स स्कुलबाट एसएलसीसम्मको अध्ययन गरेकी प्रधानले अमेरिकाको रिजस युनिभर्सिटीबाट रिटेल मर्चेन्डाइजको कोर्स गरिन्। १० वर्षको अमेरिका बसाइमा त्यहाँका राम्रा व्यापारिक केन्द्रमा काम गरिन्। अमेरिकाको एक्सप्रेस डिजाइन कम्पनीमा म्यानेजरको हैसियतमा जिम्मेवारी सम्हालिन्। नेपाल फर्किएपछि केही समय इन्डेक्स फर्निचरसँग आबद्ध भइन् तर सिर्जनात्मक एवं कलात्मक कार्यमा रुचि राख्ने खुश्बु त्यसमा अटाउन सकिनन्। खुश्बु परिधान डिजाइनमा लागिन्। परम्परागत परिहन बनाउन रुचाउने खुश्बु अहिले औपचारिक रूपमा बुटिक नखोले पनि घरायसी रूपमा अर्डर लिएर विभिन्न परिधान तयार गर्छिन्। अमेरिका र नेपालको जीवनशैलीबीच तुलना गर्दै उनी नेपाली जीवनशैली सहज भएको बताउँछिन्। देशका लागि केही गर्ने सोचका साथ नेपाल फर्किएकी प्रधान यहाँ प्राप्त हुने परिवारको सहयोग तथा सद्भाव प्रशंसनीय भएको अनुभव सुनाउँछिन्।

कमाल केमिकाको

भर्खरै सम्पन्न वल्र्ड इलाफेन्ट पोलो च्याम्पियनसीप इभेन्ट २०१३ मा ५ जनाको टिममा रहेकी एक मात्र नेपाली केमिका भण्डारी (४९) को अग्रसरताले उक्त टिमले दोस्रो स्थान हासिल गर्‍यो। टाइगर टप्स बर्दिया नेसनल पार्कमा सम्पन्न उक्त इभेन्टमा क्यानाडा, अस्ट्रेलिया, बि्रटेन, साउथ अफ्रिका, श्रीलंका, नेपाल आदि मुलुकले भाग लिएका थिए। वल्र्ड इलाफेन्ट पोलो एसोसियसनले आयोजना गरेको उक्त इभेन्टमा सहभागी हुन केमिकालाई अमेरिकाबाट नेपाल झिकाइएको थियो। चितवनको रामपुर क्याम्पसबाट एगि्रकल्चरमा बी.एस्सी. गरेकी केमिकाले हिमालयन माउन्टेनबाइक रेस २००१ मा दोस्रो स्थान हासिल गरेकी थिइन्। क्याम्पस पढ्दा कपर्दी, भलिबल, बास्केटबल, सर्टकोर्ट, ब्याडमिन्टन खेल्ने केमिका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा टेक्निकल अफिसरको कार्यभार सम्हाल्दाताका वुमेन इन स्पोर्टसको महासचिव समेत थिइन्। सन् १९८८ मा फिलिपिन्स पुगेकी केमिकाले त्यहाँको इन्टरनेसनल स्टुडेन्ड एसोसियसनद्वारा आयोजना गरिने बलिङ स्पर्धामा ४ पटकसम्म प्रथम स्थान हासिल गरेकी थिइन्। २०३८ सालमा उनले प्रथम राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा कपर्दीमा दोस्रो स्थान हासिल गरेकी थिइन्। विगत ११ वर्षदेखि अमेरिका बसोबास गर्दै आएकी केमिका भन्छिन्-'नेपालले मलाई खोजेको अवस्थामा जस्तोसुकै काम थाती राखेर भए पनि उपस्थित हुनेछु।’

 

 Image