Successfully Copied

लकडाउनमा दाँतको समस्या परेमा 

जंकफुड र कोल्ड ड्रिंक्सले दाँतमा असर पार्छ । सकेसम्म यस्ता खानेकुरा खानुहुँदैन । कोल्ड ड्रिंक्स सेवन गर्नु परे स्ट्रको प्रयोग गरेमा सिधा दाँतमा लाग्दैन ।

कोभिड–१९ को संक्रमणले मुलुक लकडाउन रहेको एक महिना भन्दा बढी भयो । अहिलेको विषम परिस्थितिमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु सबैका लागि हितकर छ । मैतीदेवीकी निशा थापालाई केही दिन अघि किराले खाएको दाँत दुखेको थियो । दन्त चिकित्सकका अनुसार मनतातो नुन पानीले कुल्ला गरेको र पेनकिलर खाएकाले दुखाई कम भएको छ । निशाको जस्तो समस्या अन्यलाई पनि पर्न सक्छ । लकडाउनका अवस्थामा अस्पतालबाट पनि संक्रमण हुन सक्ने भएकाले धेरै गाह्रो नभएसम्म अस्पताल नजानु उपयुक्त हुने दन्त चिकित्सक लक्ष्मी मानन्धर बताउँछिन् ।  

अहिले सबैजना घरमै भएकाले लगातार खानेकुरा खाइरहने गर्छन् । धेरैले गुलिया खानेकुरा पनि घरमै बनाएर खाने गरेका छन् । यस्तो गर्दा खानेकुरा अड्केर दाँत दुख्ने तथा कीरा लाग्न सक्छ । त्यसैले खानेकुरा खाइसकेपछि कुल्ला गर्नुपर्छ । बिहान बेलुकी खाना खाएपछि दाँत माझ्नुपर्छ । यसैगरी फ्लसिङ पनि गर्नुपर्छ । 

कतिपय बालबालिकाको दाँत हल्लेर फुकाल्नु पर्ने हुन्छ । अहिले अस्पताल जानुभन्दा पनि संभव भएसम्म घरमै दाँत खोल्नु उपयुक्त हुन्छ  । 

प्रत्येक मानिसले दाँत ६/६ महिनाको अन्तरालमा चेक गराउनुपर्छ । कतिको दाँत चेक गराउने समय भएपनि अहिलेको अवस्थामा केही समय ढिला भएपनि केही फरक पर्दैन । कतिको दाँत किराले खाएर दु:ख दिएको, गिजा सुन्निन सक्छ । यस्तो अवस्थामा आफूले देखाइरहेको दन्त चिकित्सकको परामर्शमा औषधी खाने र समयसमयमा मनतातो नुन पानीले कुल्ला गर्नुपर्छ । यस्तो गर्दा पनि सुन्निएको र दुखाई कम भएन भने मात्र अस्पताल जानुपर्छ ।  

                                            डा. लक्ष्मी मानन्धर पौडेल , स्माइल डेन्टल  

अहिले कसलाई कोभिड–१९ पोजेटिभ तथा नेगेटिभ छ भन्ने थाहा हुँदैन । त्यसैले दन्त चिकित्सक पनि सुरक्षित हुनुपर्छ । दन्त चिकित्सामा बिरामीको मुख खोलेर काम गर्ने भएकाले संक्रमित हुने संभावना उत्तिकै रहन्छ । बिरामीको दाँतमा स्प्रे गर्दा छिटा पर्न सक्छ । त्यसैले चिकित्सकले यस्तो अवस्थामा काम गर्दा विशेष होशियार अपनाई पिपिई तथा भाइजर लगाउनु उपयुक्त हुन्छ । 

कसरी गर्ने दाँतको सुरक्षा ? 

– गुलिया, चिल्ला खानेकुरा खाइसकेपछि संभव भए ब्रस तथा नभए सफा पानीले कुल्ला गर्नु पर्छ । लगातार खानेकुरा खाइरहनुहुँदैन । 

– सुगर फ्रि चुईगम खाए पनि दाँत रिफ्रेस रहन्छ । 

– खाना खाएपछि दूध, दही, चीज खाएमा क्याल्सियम प्राप्त भई दाँत सुरक्षित रहन्छ । 

– जंकफुड र कोल्ड ड्रिंक्सले दाँतमा असर पार्छ । सकेसम्म यस्ता खानेकुरा खानुहुँदैन । कोल्ड ड्रिंक्स सेवन गर्नु परे स्ट्रको प्रयोग गरेमा सिधा दाँतमा लाग्दैन ।

– दाँतमा अड्किएको खानेकुरा निकाल्नका लागि डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । यसो गर्दा सास गन्हाउने र कीरा लाग्न पाउँदैन । 

– दाँत दिनको दुई पटक तलमाथि गर्दै मध्यम खालको ब्रसले माझ्नुपर्छ । फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ । 

– एउटा कुनाबाट अर्को कुना, पछाडिबाट अगाडि अगाडिबाट पछाडि गर्दै दुई मिनेट दाँत माझ्नुपर्छ । 

– दाँत माझेपछि जिब्रो पनि सफा गर्नुपर्छ । 

 Image