Successfully Copied

विवाहपछि आर्थिक योजना

नयाँ–नयाँ विवाह र नयाँ वातावरण युवतीहरूका लागि मात्र होइन युवाहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ ।

नयाँ–नयाँ विवाह र नयाँ वातावरण युवतीहरूका लागि मात्र होइन युवाहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ । घरगृहस्थीको जिम्मेवारीमा श्रीमान्–श्रीमतीबीच राम्रो तालमेल मिलाइएन भने घरको बजेट बिग्रने तथा सम्बन्धमा चिसोपन आउने सम्भावना हुन्छ । त्यसैले पैसाको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ । भनिन्छ–विवाह सबै सम्बन्धभन्दा उत्कृष्ट तथा उच्च सम्बन्ध हो । यसले दुई जिन्दगीलाई एउटा सूत्रमा जोड्छ तर त्यो परिवार कहिलेकाहीँ आर्थिक पक्षका कारणले क्षतविक्षत हुन्छ । परिवारको गाडीलाई सजिलै अघि बढाउन आर्थिक पक्ष सबल हुनुपर्छ । पैसाकै कारणले परिवारमा झगडा हुन्छ । त्यसैले विवाहपछि पैसाको उचित व्यवस्थापन गर्नुपर्छ । यसका लागि केही कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

लक्ष्य निर्धारण

विवाहको सुरु–सुरुमा केही समय उत्साहित भएर अधिक खर्च गरिन्छ जसले बजेट बिगार्छ । त्यसैले दम्पतीले लाज नमानी पैसाका विषयमा सल्लाह गर्नुपर्छ । पाँच वर्षको योजनासहित बजेट बनाउनुपर्छ । घर, बिजुली, अन्य सामान, पानी, शिक्षा आदि कुरामा खर्च गर्दा तलबको केही भाग बचत गर्नुपर्छ ।

संयुक्त खाता

विवाहपछि श्रीमान्–श्रीमतीले संयुक्त खाता खोल्नुपर्छ । यसमा आफ्नो खर्च हुने पैसा जम्मा गर्न सकिन्छ । उक्त खाताको पैसा घरेलु खर्चबाहेक आवश्यकता परे मात्र खर्च गर्नुपर्छ । यो खाताको पैसा अरू ठाउँमा खर्च गर्नुहुँदैन ।

महिनाको बजेट

घर खर्चको बजेट बनाउनुपर्छ । सुरुमा आफ्नो साथीलाई सुख दिन आफ्नो हैसियतभन्दा बढी खर्च गरिन्छ । उनलाई सुविधा दिन कुनै कसर छाडिँदैन । समय सदैव एउटै रहँदैन । बिस्तारै बजेट बढ्दै जान्छ । त्यसपछि बजेटका कारणले झगडा सुरु हुन्छ । यसले परिवारमा समस्या उत्पन्न गर्नसक्छ ।

लगानी योजना

विवाहपछि नयाँ जोडी हनिमुन तथा रमाइलोबीच लगानी गर्नुपर्ने कुरा बिर्सन्छन् । उनीहरू यसलाई जीवनको महत्वपूर्ण अङ्ग मान्दैनन् । उनीहरू लगानी तथा बचत चाँडै आवश्यक छैन भन्दै आफ्नो जम्मा पुँजी रमाइलो एवं मोजमज्जामै खर्च गर्छन् । यद्यपि महिनाको १ हजार मात्र बचत गर्ने बानी बसालियो भने रमाइलोमा रमाइलो बचतमा बचत पनि हुन्छ ।

दायित्व निर्वाह

विवाहअघि वा पछि आफ्नो जीवनसाथीको ऋण छ भने त्यसलाई आफ्नो पनि दायित्व मान्नुपर्छ । जसलाई चुकाउनु दुवैको जिम्मेवारी हुन्छ । दुवै मिली भएको ऋणलाई घटाएर फेरि बचत तथा लगानी गर्न सकिन्छ ।

रमाइलो गर्नु आवश्यक

आर्थिक योजनाको अर्थ रमाइलो गर्नै हुँदैन भन्ने होइन । मनोरञ्जनलाई पनि कुनै योजनाभित्र पारेर अघि बढ्नुपर्छ । कुनै पनि पक्षले कुनै पनि पक्षलाई असर नगर्ने गरी जीवनको गाडी अघि बढाउनुपर्छ । वर्षमा एकपटक लामो बिदा मनाउन देश–विदेश जानुपर्छ । यसका लागि हरेक महिना केही रकम जम्मा गर्नुपर्छ । साप्ताहिक पारिवारिक भ्रमणलाई पनि आफ्नो योजनामा सामेल गर्नुपर्छ ।

विशेषज्ञको राय

जसरी विवाहपछि विभिन्न कार्य आयोजित गरिन्छ, हनिमुन मनाइन्छ । त्यसैगरी जीवनको आर्थिक क्रियाकलाप अघि बढाउन विशेषज्ञको सल्लाह लिनुपर्छ । उनीहरूको सल्लाह लिएर अघि बढ्दा राम्रो योजनामा सहभागी हुन सकिन्छ ।

आपत्कालीन रकम

हरेक महिना जीवनमा आउनसक्ने आपत्कालीन समयका लागि बचत गर्नुपर्छ । त्यसका लागि कुनै पनि खर्च कटौती गर्न सकिन्छ वा आफ्नो तलबबाट मिलाउन सकिन्छ । घरको कुनै–कुनै खर्च अचानक आउँछ । रिपेयरिङ, स्वास्थ्य उपचार, घरायसी सामान वा अन्य विभिन्न समस्या आदि अचानक आइलाग्न सक्छन्, त्यसका लागि सदैव तयार रहनुपर्छ ।

 Image