Successfully Copied

बहुगुणी मसला

नेपाली समाजमा प्राचीन समयदेखि नै मसलाको प्रयोग हुँदै आएको छ । मसलाले खानाको स्वाद मात्र बढाउँदैन, यो स्वास्थ्यको हिसाबले पनि गुणकारी हुन्छ । दसंैका बेला मसलाको प्रयोग बढी हुन्छ । दसैंमा तयारी तथा घरमै बनाइने मसला प्रयोग गरिन्छ ।

नेपाली समाजमा प्राचीन समयदेखि नै मसलाको प्रयोग हुँदै आएको छ । मसलाले खानाको स्वाद मात्र बढाउँदैन, यो स्वास्थ्यको हिसाबले पनि गुणकारी हुन्छ । दसंैका बेला मसलाको प्रयोग बढी हुन्छ । दसैंमा तयारी तथा घरमै बनाइने मसला प्रयोग गरिन्छ । दसैं लाग्नासाथ विभिन्न परिकार बनाउने क्रम सुरु हुने भएकाले सबै प्रकारका मसला प्रयोगमा ल्याइन्छ । मसलाले भोजनमा रहेको विकार पनि कम गर्छ । खानामा सन्तुलित मात्रामा मसला प्रयोग गरियो भने त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । नेपालमा सबै खालका मसला प्रयोग हुँदै आएको छ । खाद्य पदार्थअनुसार मसलाको प्रयोग पनि फरक हिसाबले हुन्छ । मूल्यको हिसाबले सबैजसो मसला तरकारीभन्दा महँगा हुन्छन् । अहिले बजारमा विभिन्न ब्रान्डका तयारी मसला पनि उपलब्ध छन् । 

 

दालचिनी 

दालचिनी गरम मसलामा प्रयोग गरिन्छ । पुलाउ बनाउँदा दालचिनीको प्रयोग हुन्छ । चिया तथा खिरमा पनि दालचिनी प्रयोग गरिन्छ । दालचिनीले कुनै पनि खाद्य पदार्थको स्वाद बढाउँछ । दालचिनीबाट एक प्रकारको वासना आउँछ । मिल्क सेक बनाउँदा पनि दालचिनी प्रयोग गर्न सकिन्छ । गर्मी गर्ने हुँदा दालचिनी जाडो मौसममा बढी उपयोगी हुन्छ । 

 

मरिच 

मरिचलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यो रुघा लाग्दा तथा पेट फुल्दा प्रभावकारी हुन्छ । गरम मसलामा मरिचको उपस्थिति महत्वपूर्ण हुन्छ । मरिच आवश्यकताअनुसार प्याकेटमा पनि खरिद गर्न सकिन्छ । नेपाली स्वादअनुसार मरिचलाई खिर तथा चियामा प्रयोग गरिन्छ । त्यसैगरी घरमा लस्सी बनाउन पनि मरिच प्रयोग गरिन्छ । 

 

जाइफल 

जाइफललाई गरम मसलाको एक अंश मानिन्छ । यसको प्रयोग विशेष प्रकारको परिकार एवं क्वाँटीमा पनि हुन्छ । जाइफल मसलाभन्दा औषधिका रूपमा बढी प्रयोग गरिन्छ । बालबालिकाहरूलाई चिसो लाग्दा जाइफल घोटेर ख्वाए रुघा निको हुन्छ । दूधमा जाइफलको धूलो घोलेर खाँदा निद्रा नलाग्ने समस्या समाधान हुन्छ । दसंैमा राम्रोसँग मासु पकाउन जाइफल प्रयोग गरिन्छ । जाइफल झान्दा कुनै पनि खाद्य पदार्थ अझ स्वादिलो हुन्छ । 

 

जिरा 

भान्सामा प्रयोग गरिने मसलामध्ये जिरालाई अग्रपंक्तिमा राखिन्छ । जिराबिना मसलाको स्वाद पूरा हुँदैन । यो तिख्खर तथा मीठो वासनायुक्त हुन्छ । नेपालीबाहेक भारतीय तथा मेक्सिकन परिकारमा पनि यसको प्रयोग हुन्छ । जिरामा प्रशस्त आइरन पाइन्छ । यो पाचनका लागि पनि उपयोगी मानिन्छ । जिराको प्रयोग विविध तरिकाले गरिन्छ । यसको गेडा दाल झान्न प्रयोग हुन्छ । जिराले झानेको दालको स्वाद अलग हुन्छ । जुनसुकै रूपमा प्रयोग गरे पनि यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । जिरा डाइबिटिज तथा कब्जियतका लागि पनि लाभकारी हुन्छ । जाडो मौसममा नियमित रूपमा जिरा प्रयोग गर्न सकिन्छ । 

 

ज्वानो 

ज्वानो निकै लाभकारी मसला हो । नेपाली संस्कारअनुसार सुत्केरी महिलालाई ज्वानोको रस ख्वाइन्छ । यो पाचक, रुचिकर, गरम तथा तिख्खर हुन्छ । यसको नियमित सेवनले ग्यास तथा घाँटीको समस्या समाधान हुन्छ । तरकारी पकाउँदा ज्वानो प्रयोग गरिन्छ । यसमा मरिचको जस्तो उष्णता, चिराइतोको जस्तो तीतोपन, हिङको सबलताजस्ता गुण समावेश हुन्छन् । यसलाई मसलामध्ये उच्च गुणयुक्त मानिन्छ । यसको प्रयोग गरिष्ठ भोजन पचाउन गरिन्छ । 

 

आलस 

यो मसलाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । एक शोधअनुसार आलस स्वास्थ्यका हिसाबले उत्कृष्ट छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ जुन माछामा मात्र हुन्छ । आलस शाकाहारीका लागि निकै फाइदाजनक मानिन्छ । यसलाई भुटेर अचार बनाउन प्रयोग गरिन्छ । खाना पकाउँदा यसको तेल पनि प्रयोग गरिन्छ । यसले शरीर दुख्ने समस्या कम गर्छ । यसको नियमित प्रयोग भने गर्नु हुँदैन । 

 

केसर 

केसरलाई सबैभन्दा महँगो मसला मानिन्छ । यसले जाडो महिनामा तातो तथा गर्मीमा चिसोपन प्रदान गर्छ । दूधमा राखेर सेवन गर्दा यसले निकै फाइदा गर्छ । यसले टोनिकको काम गर्छ । जाडोमा दूधसँग प्रयोग गर्दा केसरले तातोपन दिन्छ । यो छालाका लागि पनि उपयोगी मानिन्छ । शाही खानामा यसको प्रयोग बढी हुन्छ । यसमा रंग तथा वासनाको संगम हुन्छ । 

 

सुप 

सुपको सेवनले पाचन शक्ति सबल बनाउँछ । हाम्रा पारम्परिक तरकारीमा यसको प्रयोग हुन्छ । यसलाई अचार बनाउँदा प्रयोग गरिन्छ । मुखलाई ताजा राख्न पनि सुप प्रयोगमा ल्याइन्छ । स्वाद तथा वासनाका कारण यसलाई विभिन्न मिठाईं बनाउन प्रयोग गरिन्छ । यसको नियमित प्रयोगले कब्जियतलगायत पेटका अन्य समस्या पित्त, ज्वरो तथा हातखुट्टाको जलन कम गर्छ । यसले खानाको पौष्टिकता तथा स्वाद दुवै बढाउँछ । 

 

तेजपत्ता 

यसको प्रयोग ल्वाङ, दालचिनी वा अलैंचीजस्तै गरी गरिन्छ । यसले खानाको स्वाद बढाउँछ । यसले विशेष गरी छातीको रोग, अपच, पेटको रोग आदिबाट जोगाउँछ । यसलाई भान्सामा झुन्डाएर राख्न सकिन्छ । मासु, क्वाँटी तथा आलुदममा यसको प्रयोग गरे ती परिकारको स्वाद तिख्खर हुन्छ । यसलाई गरम मसलामा पिसेर हालिन्छ । यसलाई तातो तेलमा झानेर दालमा प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई विभिन्न मसलामा मिसाएर प्रयोग गरिन्छ । यो स्वास्थ्यका लागि पनि उपयोगी छ तर यसको बढी प्रयोग हानिकारक हुनसक्छ ।

 Image