Successfully Copied

वृद्धावस्थामा सहजीकरण कसरी ?

कुनै पनि वृद्धवृद्धाले आफूलाई एक्लो महसुस गर्नु हुँदैन । डा. गंगा पाठकका अनुसार प्रकृतिको नियम यस्तै हो भन्ने सोचेर यथार्थको सामना गर्नुपर्छ । आफूले गर्न सक्ने सानाठूला काम सधैं गरिरहे समय बितेको पत्तो हुँदैन ।

अहिलेको युगमा धेरै युवा विदेशमा छन् । आफूलाई जन्म दिने बुवाआमालाई नेपालमै छोडेर उच्च शिक्षा तथा राम्रो अवसरका खोजीमा विदेसिनेहरूको संख्या पनि उत्तिकै छ । यसले गर्दा आमाबुवालाई बुढेसकालको सहारा नभएर एक्लो महसुस हुन्छ । रिटायर जीवन बिताउने यस्ता आमाबुवाको स्थिति नाजुक छ । कतिपय बुवाआमालाई विदेशमा भएका छोराछोरी आफ्ना बालबच्चा हेर्न पनि यहीँ पठाउँछन् । यस्तो स्थितिमा आमाबुवालाई थप अप्ठ्यारो छ । उमेर वृद्धिसँगै पहिलेको जस्तो जोस–जाँगर हुँदैन, रोगले पनि आक्रमण गर्छ । उनीहरू बच्चालाई स्कुल पठाउन तथा हेर्न सक्दैनन् । बूढाबूढी भएपछि समस्या हुने कुरा प्रा. डा. लीलादेवी केसी बताउँछिन् । समस्यालाई कसरी लिने तथा त्यसको समाधानको पूर्वतयारी हुनुपर्ने उनको धारणा छ । छोराछोरीले यो गरेनन् भन्नुभन्दा आफ्ना लागि आफै गर्नुपर्छ । बुढेसकालमा रोग लाग्ने भएकाले  रोगबाट जोगिन पहिलेदेखि नै फिजिकल फिटनेसमा ध्यान दिनु आवश्यक छ । वृद्धावस्थामा कुनै न कुनै काममा व्यस्त रहनुपर्ने केसीको धारणा छ ।

डा. गंगा पाठक

उमेर वृद्धिसँगै वृद्धवृद्धामा नसा कमजोर हुने, बिर्सने रोग लाग्ने डा. गंगा पाठक बताउँछिन् । डिमेन्सिया, अल्जाइमर, पार्किन्सजस्ता नसासम्बन्धी रोग पनि यही उमेरमा लाग्छन् । मस्तिष्कको नसा कमजोर हुँदा यी रोग लाग्छन् । यसैगरी ढाड दुख्ने समस्या पनि देखा पर्छ । उनीहरू मानसिक रूपमा त कमजोर नै हुन्छन् । धेरै बुवाआमालाई अहिले डे केयरको पनि व्यवस्था छ जसलाई केही हदसम्म राम्रो मान्न सकिन्छ । छोराछोरी व्यस्त रहने हुँदा यो आवश्यकता र बाध्यता बन्दै गएको छ । यस्तो सेन्टरमा बूढाबूढीलाई समय कटाउन पनि सजिलो हुन्छ । नयाँ साथी भेटेर सुखदु:खका कुरा गरेर दिन बिताउन पनि सहज हुन्छ ।

समाधानका उपाय

कुनै पनि वृद्धवृद्धाले आफूलाई एक्लो महसुस गर्नु हुँदैन । डा. गंगा पाठकका अनुसार प्रकृतिको नियम यस्तै हो भन्ने सोचेर यथार्थको सामना गर्नुपर्छ । आफूले गर्न सक्ने सानाठूला काम सधैं गरिरहे समय बितेको पत्तो हुँदैन । त्यसो गर्दा दिमाग पनि खाली हुँदैन । अवकाशपछिको योजना पहिले नै बनाउनुपर्छ । बाबुआमाले छोराछोरीले हेरेनन् भनेर गुनासो गर्नुभन्दा उनीहरूको प्रगतिमा खुसी हुनुपर्छ । विश्वव्यापीकरणको जमानामा छोराछोरी आफ्ना बाबुआमा पालेर स्वदेशमै बस्छन् भन्ने पनि छैन । त्यसैले रिटायर्डमेन्ट होस् वा वृद्धावस्थाको पूर्वतयारी पहिले नै गर्नु आवश्यक छ । सधंै सकारात्मक कुरा सोच्नुपर्छ अनि मात्र रोगमुक्त भएर आफूखुसी जीवन जिउन सकिन्छ । ध्यान गर्नुपर्छ । मन्दिर दर्शन, नाचगान तथा भजनमा सहभागी भएर आफूलाई व्यस्त राख्नुपर्छ । बुबाआमा अशक्त भए छोराछोरीले पनि आमाबुवाको हेरचाह गर्नु आवश्यक छ ।

अन्त्यमा 

विकसित राष्ट्रहरूमा  वृद्धवृद्धाका  लागि सरकारी स्तरबाटै विभिन्न योजना तर्जुमा गरिनुका साथै अनेकौं सुविधा उपलब्ध गराइएको हुन्छ । छुट्टै वृद्ध अस्पताल, वृद्ध भत्ता, स्वास्थ्य इन्स्योरेन्स, स्तर र ओहदाअनुसार गास–बास, अवकाशपछि क्षमताअनुसारको काम, मनोरञ्जनका लागि विभिन्न क्लब तथा सजिलै पढ्न सकिने ठूलो अक्षरमा लेखिएका अखबार, सुलभ सार्वजनिक यातायात आदिको व्यवस्था मिलाइएको पाइन्छ तर हाम्रो देशमा वृद्धहरूलाई कुनै पनि राष्ट्रिय योजनामा समावेश गरिएको छैन । सरकारले दिने वृद्ध भत्ता पनि निकै कम छ र सबै ठाउँमा त्यसको पहुँच छैन । नेपालमा अहिलेसम्म वृद्धहरूका लागि कुनै ठोस योजना तर्जुमा गर्न त्यति ध्यान दिइएको पाइँदैन तसर्थ वृद्धहरूको अवस्था निकै दयनीय छ । 

 Image