Successfully Copied

मसरुम चिल्ली

च्याउ राम्ररी सेलाइसकेपछि अदुवा–लसुनको चपलगायत आवश्यक मसला राखेर मेरिनेट गरी कर्नफ्लोरले कोट गर्दै ५ मिनेटजति तेलमा फ्राई गर्ने ।


आवश्यक सामग्री
एकजनाका लागि
डल्ले च्याउ: २ सय ग्राम
धूलो खुर्सानी : १ ठूलो चम्चा
कागतीको जुस : आधा चम्चा
भेंडेखुर्सानी, प्याज तथा हरियो खुर्सानी : १ सय ५० ग्राम
अदुवा/लसुनको चप : १ ठूलो चम्चा
हरियो धनियाँ : एक सानो मुठा
बिएमसी मसला : १० ग्राम
जिरा–धनियाँ धूलो : २० ग्राम
हरियो खुर्सानी : एउटा
सुपको साग : एक सानो मुठा
टोमेटो केचप : एक चम्चा
नुन :  स्वादअनुसार

विधि
डल्ले च्याउलाई राम्ररी पखाली दुई टुक्रा पारेर काट्ने र ७ मिनेट बोइल गर्ने । त्यसपछि निकालेर सेलाउन दिने । च्याउ राम्ररी सेलाइसकेपछि अदुवा–लसुनको चपलगायत आवश्यक मसला राखेर मेरिनेट गरी कर्नफ्लोरले कोट गर्दै ५ मिनेटजति तेलमा फ्राई गर्ने । गोल्डेन ब्राउन हुन थालेपछि झिकेर पुनः सेलाउन दिने । त्यसपछि अर्को सफा प्यान बसालेर अलिकति तेल तताउने र भेंडे खुर्सानी, प्याज तथा हरियो खुर्सानी सते गरी त्यसमा अघि निकालिएको मसरुम हालेर केहीबेर चलाउने । अब यो स्वादिष्ट स्न्याक्स सर्भ गर्नका लागि तयार छ ।


पोर्क सेकुवा

आवश्यक सामग्री
एकजनाका लागि
बंगुरको मासु : २ सय ग्राम
तोरीको तेल : १ सय मिलि
लसुन/अदुवाको पेस्ट : १ ठूलो चम्चा
धूलो खुर्सानी : १ ठूलो चम्चा
दही : आधा ठूलो चम्चा
सेकुवा मसला : २० ग्राम
नुन : स्वादअनुसार

विधि
छालासहितको बंगुरको मासुलाई सफा पानीले पखालेर इच्छानुसार टुक्रा पारेर काट्ने । सफा भाँडोमा मासुलाई राखिसकेपछि अदुवा–लसुनको पेस्ट, धूलो खुर्सानी, नुन, दही, सेकुवा मसला मिलाएर मज्जाले मोल्ने । राम्ररी मसला मोलेपछि न्यूनतम ४ घण्टाका लागि मेरिनेट गर्न छाडिदिने । त्यसपछि झीरमा उनेर कोइलामा विस्तारै पकाउने । पछिल्लो समय हरेक उत्सव, पार्टी–पर्व एवं खुसियालीमा निकै रुचाइएको यो परिकार सबैको प्रिय बनेको छ ।


भरत बस्ताकोटी
सञ्चालक, घलेदाइको सेकुवा कर्नर, सिनामंगल
सेकुवा खाने चलन अझ बढ्दै गएको देखिन्छ, कारण के होला ?

सेकुवा नेपालीका लागि अत्यन्तै प्रसिद्ध स्वादयुक्त ब्रान्ड हो ।साथीभाइ जम्मा भएर रमाइलो गरौं, फ्रेस होऔं भन्नका लागि अहिले सेकुवाले समेत जोड्ने गरेको छ । हाम्रो सेकुवा कर्नर एयरपोर्टको गेटैमा भएकाले छिटो तयार हुने खाजाका रूपमा यसलाई उपयुक्त ठानेका छन् ।
घलेदाइको सेकुवा कर्नरको विशेषता के हो ?
हाम्रो विशेषता भनेकै यहाँको मसलाले ल्याउने स्वाद हो । हामी २५ भन्दा बढी किसिमका मसला प्रयोग गर्छौं, जसको एक पटककै ९–१० रुपैयाँ हजार मूल्य पर्छ । अर्को, हाम्रो सेकुवा बनाउने विधि नै फरक छ । मटनलाई औषधीय गुणयुक्त मसलामा मोलेर सबेरैदेखि छोडिदिन्छौं । कम्तीमा पनि ५ घण्टा रेस्टमा छोडिसकेपछि निकाली झीरमा उनी कोइलामा राम्ररी पोलेर सेकुवा तयार पारिन्छ । घलेदाइको सेकुवा एयरपोर्ट एरियाकै सबैभन्दा सस्तो सेकुवा कर्नर पनि हो । हामीकहाँ पार्किङको सहज सुविधा छ ।
यहाँको सिग्नेचर डिस के हो ?
सेकुवा, टाइगर चिकेन र मसरुमका परिकार विशेष छन् ।
नेपालमा रेस्टुरेन्ट कल्चर किन यत्ति साह्रो बढेको होला ?
व्यस्त जीवनशैली, बढ्दो आम्दानी, देखासिखी, सामाजिक सञ्जालको प्रभावका कारण नेपालमा यो कल्चर बढेजस्तो लाग्छ ।

 Image